बालापनमा बाटैमा छोडेको ‘त्यो’ चप्पल

शान्ता भट्टराई

विवेकशील प्राणीको सबैभन्दा रमाइलो समय भनेको बाल्यावस्था नै हो, चाहे त्यो हुनेखाने परिवारको होस् या हुँदाखानेको । हुनेखानेको विलाशीपूर्ण, हुँदाखानेको सङ्घर्षमय तबरले बित्छ ; फरक यत्ति हो । पारिवारिक दायित्व लिन नपर्ने, खेलेर र बरालिएर समय बिताउन पाइने। सधैँ बालख हुन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो उबेला तर हिजोआजका बालबालिकाको त्यो खुशी पनि खोसे झैँ लाग्छ; बोली फुट्न नपाउँदैको ‘मन्टेश्वरी’को यात्राले । यदाकदा प्रारब्धले कसैकसैको बाल्यसुख खोसेको हुन्छ; टुहुरो बनाएर । त्यो अवस्था साह्रै पिडादायी हुन्छ तरपनि खेप्नैपर्ने हुन्छ, सहनैपर्ने हुन्छ। समयरुपी मलमले घाउमा खाटा बसाउँदै ल्याउँछ, सधैँ पिरोलिएर पनि जिन्दगी अघि बढ्दैन नै ।

जिन्दगीको सबैभन्दा रमाइलो समय बाल्यकालमा हल्काफुल्का बदमासी (बालबिज्याइँ) पनि गरिन्छ नै, कसैले जानाजान त कसैले साथीको लहैलहैमा लागेर । यसै सन्दर्भमा मैले बालापनमा गरेको सानो बदमासी (बालबिज्याइँ) सबैसामु पस्किन मन लाग्यो ।

कुराको सिलसिला यसरी अगाडि बढ्छ…

ठ्याक्कै समय अनि आफ्नो उमेर सम्झना छैन, म मामाघरमा थिएँ त्यो बेला । (जन्मघर र मामाघर नजिकै थियो, अहिले पनि छ) मामाघरको हजुरआमाले बोलाएरै म त्यस दिन त्यहाँ गएकी थिएँ जस्तो लाग्छ । नबोलाइ जाँदा पनि के फरक पर्छ र; सातपुस्ता खाने मावली भनिन्छ यसै पनि ।

त्यसैबिचमा हजुरआमाको बजार जाने काम परेछ । अरु नातिनातिनालाई छोडेर मलाई साथी लाने हुनुभयो । थाहा छैन, कुटुम्बको सन्तान भनेर मलाई प्राथमिकतामा राख्नुभएको पो थियो कि ! भने झैँ लाग्छ अहिले । “तँ मसँग बजार जान्छेस् ? जानेभए हिँड्”, हजुरआमाले त्यति भनेपछि म पनि फुरुक्क परेँ अनि उहाँसँगै बजार जान तयार त भएँ तर अफ्ठ्यारो के भयो भने, मैले चप्पल लगाएकी थिइनँ । घरबाटै चप्पल नलगाइ आएकी थिएँ या चप्पलको फित्ता छिनेको थियो या त आमाले किनिदिनुभएको थिएन; त्यो पनि मलाई अहिले सम्झना छैन। “लुगा त ठिकै छन्, चप्पल कसै (दाजु/दिदी)का ला’न त ।” हजुरआमाको आदेशको पर्खाइमा थिएँ । तत्पश्चात यसो यताउता पल्याक पुलुक हेर्दै दलानको डिलमा असरल्ल चप्पलमध्येबाट आफ्नो खुट्टामा मिल्दो चैँ लगाएर दुई चार पाइला के हिँडेकी थिएँ, “शान्ताले मेरो चप्पल लाएर गइन्‌ ! शान्ताले मेरो चप्पल लाएर गइन्‌!!” भन्दै मावली भाइ (कान्छो मामाको माहिलो छोरो; विमल, जो आज हामीमाझ छैन; अल्पायुमै भगवानको प्यारो भयो) बालसुलभ स्वभावबस हल्ला गर्नथाल्यो ।

चप्पल उसैको रहेछ, हल्ला त गर्ने नै भयो । कसैले थाहा नपाइ लाएर जाउँला, त्यसैगरी चप्पल सकुशल त्यहीँ छोडिदिउँला भन्ने मेरो बाल योजनाले फेल खाएको देखेर म बिलखबन्दमा परेँ तर पनि हजुरामासँग फुरुक्क परेर बजार जानु थियो नै। केटाकेटी मोरो, चप्पलको कुरालाई लिएर डरै लाग्यो । डराउँदै डराउँदै हजुरआमाको पछि लागेर हिँड्नुको विकल्प थिएन मसँग । बजार पुग्न बिचमा तावा खोला तर्नु पर्थ्यो । प्रत्येक वर्षा याममा त्यो (तावा) खोलाले एक दुईजना मान्छे बगाएकै हुन्थ्यो । (भलै, अहिले पक्की पुल बनेको छ । विकाशको क्रमले फड्को मारेसँगै अहिलेको पुस्तालाई आवतजावतमा सहज भएको छ ।) खोला तर्दा हजुरआमाले मलाई बोक्नुभयो या हात समातेर तार्नुभयो आफूसँगै; त्यो पनि मलाई याद छैन । कटारी बजार पुगेर हजुरआमाले के के किनमेल गर्नुभयो, कोही आफन्तसँग भेटघाट गर्नुभयो कि, ती कुनै पनि याद छैनन् ।

बजारबाट फर्किने क्रममा त्यो मनले के सोच्यो, बिच बाटोमा चप्पल ‘सरक्क’ छोडेर खाली खुट्टै हजुरआमाको पछि पछि लुरुलुरु हिँडिरहेँ । उहाँ आफ्नै सुरमा हिँडिरहनुभयो, नातिनी खाली खुट्टै हिँड्दै छे भन्ने कुरा थाहै पाउनुभएन । मामाघर पुगेपछि चप्पलको कुरालाई लिएर मामा माइजूले हल्काफुल्का गाली गर्नुभयो कि सम्झाउनुभयो त्यो पनि सम्झना छैन । “चप्पल लाएर गएपछि लगाएर आउनुपर्थ्यो, किन जानाजान बाटैमा छोड्यौ ?” चैँ भन्नुभाथ्यो कि झैँ लाग्छ अहिले । त्यसको हप्तादिन जति पछि सोही ठाउँमा (जहाँ मैले चप्पल छोडेकी थिएँ ) सोही चप्पललाई शल्यक्रिया गरिएको अवस्थामा देखेथेँ, सपना हो कि विपनामा हो अझै सम्झनामा छैन । हरियो रङको फित्ते चप्पलको बुढी औंला र चोर औँला छिराउने ठाउँभन्दा थोरै माथिको भाग पुरै काटिएको अवस्थामा थियो । यो चैँ प्रष्ट याद छ । जतनले लगाएर चप्पललाई सकुशल ल्याएकै थिएँ । अहिले सम्झिँदा ‘किन त्यसो गरेँहुँला?’ भन्ने लागिरहन्छ । डरै लागेर त होला नि! त्यसमाथि केटाकेटी बुद्धि । विगत सम्झिने क्रममा कहिलेकाहीँ सन्तानलाई यो कुरा सुनाउँदा ‘खिस्स’ हाँस्छन्, आमाको बुद्धि ! भनेर होला । भलै, त्यो केटाकेटी बुद्धि थियो ।

यो संस्मरणमा जोडिनुभएका दुवैजना आफन्त (मावली हजुरआमा, मावली भाइ) आज यस संसारमा हुनुहुन्न, दुवै आत्मालाई शान्ति मिलोस्, बैकुण्ठ बासको कामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button