
साथी केटीहरूसँग परिचय गर्न खप्पीस हुन् नभनी सुखै छैन
भन्नुस् म लाटो कि बुङ्गो ?
कमल बयेली
उनी मलाई दाइ भन्छन् तर उनी मेरा भाइभन्दा बढी साथी हुन् । के भन्दा ठिक हुन्थ्यो होला ? साथीभाइ ?
उनी स्वभावैले रमाइला छन् । आँखैले बोल्न सक्ने र आवश्यक परे हातको इसारमै उत्रने उनको स्वभाव दुुर्लभ नै लाग्दछ । उनी सडकमा हिँडिरहँदा पनि राम्री केटी देखेपछि फर्की फर्की हेर्थे । म उनको मुन्टो बटारेर सिधा पारिदिन्थें । उनको टाउको अटोमेटिकल्ली पुनः पछाडि फर्कन्थ्यो । म फेरि अगाडि बटारिदिन्थें । यो क्रम तबसम्म चलिरहन्थ्यो जबसम्म त्यो केटी नेपथ्यमा प्रवेश गर्दिनथी ।
साथी केटीहरूसँग परिचय गर्न खप्पीस हुन् नभनी सुखै छैन । उनी गाडीको सिटमा बस्दा होस् या बाटोमा हिँड्दाहिँड्दै किन नहोस् एकदम परिचित जस्तै गरेर कुनै नामले बोलाइदिन्थे । यसरी— “बैनी फलानी हैन ?” वा “बैनीलाई काँ देख्यादेख्या लाग्यो त !” संयोग परेको अवस्थाबाहेक नाम मिल्ने कुरा भएन । त्यसपछि उनी भन्थे, “ए सरी है बैनी, उस्तै उस्तै लागेर झुक्किएँ ।” अनि ख्यालख्यालमै परिचय सुरु हुन्थ्यो । साथी बनाइहाल्थे ।
हामी साँझ बिहान स्वयम्भू चोकको हाटतिर निस्कन्थ्यौं । त्यहाँ तरकारी फलफूलदेखि लत्ताकपडासम्म पाइन्थे । सन्ध्याकालीन वातावरणले हामीलाई सधैं अँगालो माथ्र्यो । प्रायः साँझको समय हामीलाई नै कुरेर बसेको जस्तो लाग्थ्यो । साँझको हावा खान पाइने अनि ताजा तरकारी पनि किन्न पाइने कारण मानिसहरू मेला लागेजस्तै उर्लिन्थे । यही मेसोमा हरियोपरियो हेरेर आँखा तेजिलो पार्न पनि पाइन्थ्यो । हरियोपरियो माने तरुनीबरुनी ! हरियोपरियोमा साथीको दिलचस्पी थियो । यस्तो लाग्थ्यो मानूँ म पनि आँखा तगडा बनाएर चस्मा थन्क्याउन चाहन्थें ।
एक साँझ हामी स्वयम्भूू चोकको सडकछेउमा उभिएका थियौं । त्यहीँ आएर रत्नपार्कको गाडी उभियो । एउटा झ्यालबाट एउटी ठिटीले बाहिर हेरिरहेकी थिई । अनायासै साथीका आँखा एउटीसँग ठोक्किए । दुई र दुई चार भएर बात मार्न लागे । म हेरिरहेको छु । मुस्कान साटासाट हुन थाल्यो । बस हिँड्ने बेला भयो । लौ साथी त त्यही बसमा चढेर गइदिए । म कालोपत्रेमा अलपत्र परें । उनी नफर्किँदासम्म त्यहीँ उभिइरहें खाँबोझैं । उनी अर्को बस चढेर फर्किए । भन्थे, फोन नम्बर ल्याएँ ।
त्यो शनिवारको दिन थियो । बिहान हामी स्वयम्भूू चोकतिर निस्केका थियौं । साथीका शिकारी आँखा एउटी ठिटीमा परे । ठिटी एक अर्धबंैसेको पछिपछि हिँडिरहेकी थिइन् । साथीले स्वभाव अनुसार नै निशाना साँधे । ठिटी मस्किइन् । ठिटीको मुस्कानले तानिहाल्यो । साथी पछि लागिहाले । मचाहिँ के गरेर बस्ने अब ?
अधैबैंसेले पछाडि सुर्काउनी झोला बोकेका थिए । उनको पहिरनको कुरा गर्नुपर्दा पुरानो—पुरानो सर्टपाइन्ट, स्टकोट र ढाका टोपी लाएका थिए । उनी ठिटीका बाउ हुनुपर्छ । हुलिया हेर्दा गाउँतिरबाट झरेका हुन् भन्न गाह्रो पर्दैनथ्यो ।
उनीहरूले डल्लुको बाटो ताके । अगाडि अर्धबैंसे, त्यसपछि युवती, बिचमा केही दूरी, त्यसपछि साथी र सबभन्दा पछि म । म अर्थात् पुच्छर । युवती पछाडि फर्कँदै मुस्कानले हान्थिन् । साथी ढलौंलाझैं हुन्थे खुसीले । म उनलाई पछाडिबाट थाम्थें । हामी निश्चित दूरीमा खिचिइरह्यौं । अर्धबैंसे तुलसीधारादेखि अगाडि वाचनालयबाट चागलतिर सोझिए । रेलको माउले रेलका नानीहरू तानिरह्यो । झोलुङ्गे पुलले विष्णुमती तारिदियो । हामी वसन्तपुर डबली पुुगिसकेका थियौं । भीडमा हेराहेर छलिन्थ्यो पटकपटक । न्यास्रो मानेझैं आतुरी गर्थे दुई जोर आँखाहरू । अर्धबैंसेको हाउभाउ हेर्दा युवतीलाई अघि हिँड्न भनेको बुझ्न सकिन्थ्यो । बाउलाई अगाडि नै हिँड्न मनाएपछि युद्ध नै जितेजस्तो विजयी आँखाले हामीलाई हेरिन् र एक–एक फाँको पुग्ने लज्जा पनि फ्याँकिन् । लज्जा भुइँमा खस्न नपाउँदै साथीले च्याप्प समाते र पाइन्टको चोर गोजीमा हाले ।
उनीहरू न्युरोड गेटबाट बाँया छड्किए । घुम्तीमा छलिएला भनेर हो कि तिनले फरक्क फर्केर हामी मोडियौं भन्ने सङ्केत गरिन् । उनीहरू खुलामञ्चतिर फर्किएर सडकछेउ अडिए । गाडी अलि पातलो भएको मौकामा भागाभाग गरेर बाटो पार गर्नुअघि ती झण्डै दश मिनेटसडक छेउमा उभिए । हामी बबुराहरू पनि ठिङ्ङ उभिइरह्यौं एउटा खास दूरीमा । यतिखेर भने तिनले हामीलाई हेरिनन् । सायद सडक पार गर्ने ध्याउन्नमा रहेकाले । पारि पुगेपछि मात्र तिनले आँखैले आमन्त्रण गरिन् । हामीले पनि सडकबाटै पार भएर आकशे पुललाई हेरेको हे¥यै पारिदियौं । अधैबैंसेले पछाडि फर्केर हेर्ने दुःख बेसाएनन् । उनलाई पछाडि के पाकिरहेको छ भन्ने केही पत्तै थिएन । तिनी लगामसहितको घोडा भइरहेका थिए ।
उनीहरू टुँडीखेल र खुलामञ्चबिचको नयाँ बाटो हुँदै अगाडि बढे । पुरानो बसपार्क पुग्न अब फेरि सडक पार गर्नुपर्ने थियो । त्यतिखेर त्यहाँ आकाशे पुल बनेको थिएन । सडकमा एक हुल पैदलयात्री बाटो काट्दै थिए । बाउछोरी पनि हुलमै हेलिए । एक छिन त कता हो कता जस्तो भयो । हुल कटेपछि ट्राफिकको घुइँचो लाग्यो । हामी वारि नै रोकियौं । ए, देखियो देखियो । अगाडिका दुई प्राणी पुरानो बसपार्कतिर लम्किँदै थिए । बाउ ढिलो हिँड्दििए भन्ने भाव छोरीमा देखिन्थ्यो । गाडी छुट्ने हतारोले होला अर्धबैंसे फटाफट गति बढाइरहेका थिए । बसपार्कमा गाडीहरू टनाटन थिए । हेर्दाहेर्दै उनीहरू गाडीको भीडभाडमा प्रवेश गरे । हामी बाटो पार गरेर बसपार्कतिर पुग्दा फेरि उनीहरूलाई देख्न सकेनौं । हिस्स बूढी खिस्स दाँत भयौं, एक अर्कालाई हेरेर हियाउने हाँसो प्रकट ग¥यौं ।
झुलुक्क देखेपछि साथीका शिकारी आँखामा स्फूर्ती देखियो । उनले हात हल्लाए । उता पनि हातै हल्लिइरहेको थियो । बनेपाको बसले गति लियो । तिनी परसम्म पनि झ्यालबाट टाउको निकालेर हेर्दै थिइन् । बस भद्रकालीको मोड नकटेसम्म साथीका आँखाहरू झिमिक्क भएनन् । म तन्द्राजस्तो कस्तो कस्तो महसुस गर्दै थिएँ ।
कथाकी पात्रलाई गाडीले लिएर गइहाल्यो । हामी दुई भाइले रक्सीले छाडेपछिको ह्याङजस्तो अनुभव ग¥यौं ।
उनीहरूले बस चढ्न छाडेर एक घण्टाको बाटो किन नापेका होलान् ! सायद उनीहरूसँग घर पुग्ने भाडा मात्र साथमा थियो होला ।
बर्सात्को महिना, बाटो जताततै हिलाम्मे थियो । चोकतिर चप्पल लाएर हिँडेका मान्छे । बेहालै भएछ । मैले उनलाई हेरेर हाँसे । उनको चप्पलले छ्यापेको हिलो टुपीसम्म पुगेको रहेछ । उनी पनि मेरो बी साइडतिर हेरेर हाँसे । हिलोका छिटाहरूलाई टाउकोसम्म स्वागत गरिएछ । हुलिया उस्तैउस्तै ।
जान त गइयो फर्किनलाई गोजीमा दाम थिएन । अब फेरि चप्पल पड्काउनुको विकल्प भएन । हामी भोटाहिटीबाट छिरेर असन हुँदै क्षेत्रपाटीको बाटो फर्कियौंं । बाटोमा सबैले आफैंलाई हेरेको जस्तो लाग्यो । म चाउरिएर मरिच भइसकेको थिएँ ।
अब भन्नुस् म लाटो कि बङु्गो ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)