
आफ्नाहरुको गणित प्लस भैरहनुपर्छ
अल्झिएका सम्बन्धहरु
प्रकाश वेल्वासे
दुनिया दङ्ग छ । खोज्दै गए लथालिङ्ग छ । छैन उमङ्ग बस तङ्गभङ्ग छ ।
एउटा प्रसङ्गमा चर्चा गरौँ न !
गरौँ । आज बिदेशका कुरा गरौँ । आउने जाने आफ्नाहरुका कुरा गरौँ । यिनै बिषयहरुमा रहेर देश जोडौँ । समाजको चरित्र खोतलौँ । र सम्बन्धहरुको पोस्ट्मार्टम गरौँ । बिषयलाई चिरौँ न सुस्त सुस्त…
हामी आफ्नाहरुलाई बिदेश पठाउँदा एयर्पोर्ट छोड्न जान्छौँ । जान्छौ नि है !
खादामाला ओडाउँछौँ । तस्बिर खिच्छौँ र शुभकामना दिएर पोस्टिन्छौँ । र अन्य आफ्नाहरुले हाम्रो पोस्ट मुनी बधाई/ शुभकामना व्यक्त गर्छौँ ।
एयरपोर्ट छोड्न जाँदा नजिकका आफन्त तथा साथीहरु भ्याए सम्म पुग्ने चलन हुन्छ ।
तपाई जानुभएको छ नि हैन । म पनि धेरै पटक पुगेको छु । खादा ओडाएको छु । तस्बिर पोस्टेर मेरा सन्जालका इस्टजनहरुसँग उहाँका (जाने वाला) लागि शुभकामना माग्देको छु । लौन बधाई द्याओ भन्देको छु ।
अनि हररर…
बधाई तथा शुभकामनाको ओइरो ! कस्तो गजब है । त्यसले जाँदै गरेकाहरु र पठाउँदै गरेकाहरुमा सकारत्मक चिन्तन जागरुक गरिदिन्छ ।
मलाई माया गर्नेहरु रहेछन् भन्ने भाव पैदा गरिदिन्छ ।
होइन त ! कि के भन्नुहुन्छ ? केहि भन्नुस् । भन्नुपर्छ …..
तर फर्कनेहरुको हकमा- फर्किएपछी लिन पुग्ने परिवारको सदस्य तथा साथी सर्कल मध्यबाट बढिका दुई तथा एकजना हुन्छ ।
उ फर्किएको खुसीमा खादामाला लगाइन्छ र ! कतै कतै देखिन्छ तर आम रुपमा त्यस्तो चलन चल्तिमा छैन । लिन जानेले सुटकेस ट्याक्सिमा हाल्न सघाईदेला बढिमा ।
अनि के छ नया भन्दै उस्लाई कहाँ पुर्याउने हो पुर्याउँछ । कुरो सक्यो ।
आउनेसँग तस्बिर खिचेर फलानो आयो है भनेर खुसी बाँडिन्छ र ! एकाध घटनाबाहेक त्यस्तो चलन चल्तिमा छैन ।
छोड्न जाँदा जुन माया र इज्जत दिएर सकेसम्म आफन्त पुग्नेगर्छौँ, लिँदा पुगिन्छ र ! एकाध घटनाबाहेक त्यस्तो चलन चल्तिमै छैन ।
यस्तो किन भैरहेको होला ?
किन बिदेशबाट आउनेहरुलाई स्वागत गरिन्न, जसरि बिदाई गरिन्छ ?
किन बिदेशबाट आउनेले, जाँदा म जान्छु भन्छ । तह परे पार्टिसाटि दिन्छ । उसैगरि म आउँछु/ आउँदै छु है भनेर आफ्नाहरुलाई भन्दैन ! साथिसर्कलमा कुरा पुर्याउँदैन !
किन होला ?
खासमा जाँदा भन्दा आउँदा उत्सब हुनुपर्ने होइन र ? साथिभाइसँग चा सा / कुत्तो सुत्तो त फर्किएपछी खाने/ खुवाउने गर्नुपर्ने होइन र !
उल्टो भैरहेको छ ।
बिदेश जाने गएपछी, पठाउनेहरु र जानेहरुबिच निकै दुरि बढ्छ । आफुले हबाईजहाज चडाउन पुगेको मान्छेले- उ आए गएको पत्तो पाउन्न ।
भुल्छ, गएकोले । भुल्छ, पठाउनेले ।
यत्रो प्रबिधीको युग छ । सबैको हातमा फोन छ । कुरा गर्दा रुप्पे लाग्दैन । तर पनि, जानेले- देशमा भएको आफ्नो सर्कल सर्लक्कै बाईकट गर्छ र सिमित परिवारका सदस्यसँग गुन्तुङ्ग गुन्तुङ्ग गरेरै युग बिताउँछ ।
पठाउनेले पनि, ए तँलाई कस्तो छ सोद्धैन । हाईसन्चो मानेर बस्छ ।
सन्जालमा देखिन्छन सबै, अहँ बोल्दैन कोही ।
हामी सबै ठुला भयौँ । सबैमा अभिमान पलायो । सम्बन्ध, भाईचारा, सरसहयोग, दु:ख सुख कहाँ हरायो हरायो ।
हामी बिपत्ता भयौँ । बर्बाद भयौँ ।
हातमा फोन छ, साथमा कोही छैन । जिवनमा समस्या छ, भरोसामा कोही छैन । सुनाउने कुराहरु मस्तै छन्, बोल्न अभिमानले दिँदैन ।
अनि आएपछी स्वदेश, सबै नया । आफन्त नया, साथिभाई नया । हिजो एउटै खाटमा सुत्ने रुचाउने साथि पनि बोल्न रुचाउन्न । उता गाउँतिर सबैले कहिले आईस सोधेपछि कहिले फर्किन्छस् सोधिहाल्छन् ।
अब यतै बस् भन्ने भेटिएलान् त ! एकाध घटना हुनसक्लान् । तर चलन चल्तिमा लाहुरेलाई गाउँमै राख्ने सोच कम हुन्छ ।
उसो त बिदेश गएको पनि उस्तै । पराई भुमिमा बसुन्जेल कसैलाई खोज्दैन । यता आएपछि कसैले खोज्दैनन् ।
उ बस्दैन । गै हाल्छ । पाहुना त हो भन्ने ठानेर पनि समाजले उस्को भुमिका र जिम्मेवारिबारे खास चाँसो दिन्न । बिचरा भन्छ । बिदेशले समाजमा सम्बन्धहरुको गहिरो खाडल खन्दिएको छ । यसैले पनि स्वदेश फर्किएकाहरुले देशमा आफु अनुकुल वातावरण पाउँदैनन् । केहि गर्छु भन्दा सहयोग र हौसला पाउँदैनन् । गरेका कामहरुमा जस र फल पाउँदैनन् ।
अनि थाक्छ मनस, टन्किन्छ । झिँझो छुट्छ र फेरि बिदेश…
यस्तै छ । छ, खसोखास छ । देखेका छौँ, ब्योरेका पनि छौँ ।
यसरि चल्दैन । बदल्नुपर्छ । सोँच बदले सवै बदलिन्छ । पठाउने/ जानेहरुबिच निरन्तर सम्पर्क स्थापित गरिरहनुपर्छ । जो जहाँ पुगे पनि आफ्नो समाज र सर्कलप्रती अपडेट भैरहनुपर्छ ।
कुनामा बसेर सन्जाल हेरेर मात्रै हुँदैन । त्यसले हामीलाई सधैव अन्धकारमा राखिरहन्छ । आत्मवल शुन्य हुन्छ । कतै बोल्दा, अस्पस्ट हुन्छ । बिचारहरु राख्न हिच्किचाहट हुन्छ । मन गुम्सिन्छ । दिमाग बिरामी पर्छ ।
तथापी देख्दा, दङ्ग देखिन्छ । खोतल्दा सबैथोक लथालिङ्ग हुन्छ । यस्तो हुनुहुँदैन, आफ्नाहरुको गणित प्लस भैरहनुपर्छ ।
अस्तु !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)