केही थान भैंसीजस्तै किन बन्दैन हरेक दिन बाकसमा फर्केको मान्छेको खबर ?

भैंसी र चिसो मान्छे!

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक

हालसालै छिमेकी मित्रराष्ट्र भारतले लगभग डेढ दर्जन जति भैंसी अनुदान स्वरुप उपहार के दिएको थियो । सामाजिक संजाल प्रयोगकर्ता हरुलाई ट्रोल र मिम बनाउन बढो राम्रो खुराक बन्यो । कतै भैंसी बोकाएको मान्छेको चित्र चित्रण गर्‍यो । कतैं भैंसिले मान्छे बोकाएको तस्बिरहरु भाईरल बन्यो ।

टेलिभिजनको काँचको पर्दादेखी पत्र-पत्रीकाको हेडलाईन हरु भैंसीमय बन्यो ।

मानौं ती भैंसीहरु यो भु-ग्रहबाट नभएर अन्तै कुनै ग्रहबाट आफैंले आविष्कार गरेको रकेट चढेर सिधैं यो लोकको नेपाल भन्ने देशमा ल्याण्ड गर्दैंछ ।

भैंसीको बखान सडकमा भयो । सदनमा भयो । सत्तापक्ष र प्रतिपक्ष बिच दोहोरी नै चल्यो भैंसीको बारेमा । क्या भाग्यमानी रहेछ ती नेपाल आऊँदै गरेको भैंसी । हेर्दा रसिलो-पोसिलो बलिष्ठ देखिने आकर्षक मुर्रा प्रजातिको भैंसी छिमेकी राज्य भारतको गुजरात र पंजाबमा मात्रै हुन्छन् रे ।

संयोग पनि क्या गजबको ! “बाघ कराउनु सिंगारी हराउनु” भने जस्तै ।

देशको कार्यकारी प्रमुखले पदभार समाले पछिको पहिलो भ्रमण छिमेकी राष्ट्रको भ्रमणमा रहिरहदा अनुदान स्वरूप उपहार प्रदान गर्दै गरेको मुर्रा जातको भैंसीबारे एकाएक खबर बन्नु ।
खुब उडायो देश हाँक्ने ठूलो ठालुलाई उडाउनेहरुले यहिँ कुरालाई लिएर लोकतान्त्रिक मुलुकमा चल्दैं गरेको गणतन्त्र ब्यवस्थाको मौका लुटेर ।

बिरलै पाईने मुर्रा प्रजातिको भैंसी नेपालमा आईपुग्छ होला । उस्को साखा सन्तानले सतहत्तरै जिल्लाको डाँडा-काँडा, पाखा- पखेरि ढाकुन् । खस्कदैं गएको राज्यको आर्थिक अवस्थालाई भरथेग गरुन् । शुभकामना छ चर्चामा छाएको भैंसीहरुलाई ।

बिडम्बना भनौ या अवसरको खोज ।

आफ्नो हैंकम भएको माटो छोडेर कहिल्यैं नदेखेको । कहिल्यैं पाईला नटेकेको माटोमा धेरै सपनाहरु हुर्काउनको लागि । दुरुस्तै त्यस्तै नभए पनी झट्ट हेर्दा उस्तै देख्ने भैंसीहरुको हेरचाह गर्दै जिन्दगीको डोरि तन्काउदैं गरेको किसान बहादुरहरुको सन्तानहरु अरबको पठ्यारलाग्दो रमल्ला घारितिर आफ्नो भैंसी बिर्सेर पराईको उट र भेंडाको सहारा बन्दैछ ।

देशान्तरको निर्जन एकलास मरुभूमिमा अवस्थित उट र भेंडाको सहारा बन्न आफ्नै सम्पत्तिमा बिकेर निर्यात भएको किसान बहादुरहरुको सन्ततिहरुको किन मुर्रा प्रजातिको भैंसीको जत्ती पनि खबर बन्दैन ?

चुनावी प्रचार-प्रसार ताका यतिदिन-उतिदिन भित्र यतिजना, उतिजनालाई फिर्ता ल्याउछु भन्नेहरु पनि शब्दहरु तौली-तौंली बोल्छ । ती टाढाको देशमा बेचिएर गएको मान्छेहरुको निम्ति ।
५०° डिग्री भन्दा माथि उक्लेको गर्मीको मार खेप्न नसकेर तातो मन-मुटु भएको मान्छे ढलेर चिसो मान्छे बनी रहेको छ । परदेशको अन्जान शहरको अस्पतालहरुमा । उनी परदेश चिसो मान्छे बन्न आको थिएन ।

अभाव र दबाबको लहरले किनारामा पुर्‍यायो । उनलाई प्रीय र प्यारो आफ्नो मान्छेहरुबाट । उनी खटीरहे मन भएको तन्नेरी मेशिन बनेर अनवरत । आफ्नोलाई भन्दा पराई मुलुकको ढुंगाजस्तो मन भएको मान्छे खुशी तुल्याउन । चाहेर पनि उनले कहिल्यै खुशी तुल्याउन सकेन ती पराई मान्छेलाई । र पनि कोशिश गर्न छोडेनन् ।

कोशिशहरु असफल भए पनी कल्पनाको संसारमा आफू सफल भएको अभिनय देखाउदैं दिन, हप्ता, महिना गर्दै केही बर्षहरु बिताए । सफल सपनाहरू फलाउन फुलाउन पुगेको पराईको प्रवासी भुमिमा ।

बिकराल अबिस्वास्निय हण्टरहरु खेपे । प्रचण्ड घामको राप सहे । नबुझीने भाषामा दिएको अपशब्दहरु पचाए । सहनु बाध्यता थियो । फर्किहाल्न संभव थिएन । आफ्नो परिचय समेटेको पासपोर्ट राहदानी एच.आर. अफिसको सुरक्षीत फलामे सन्दूकमा कैंदी बनेको छ । उनीहरुको तजबिजले मात्रै बाहिर निस्कन्छ । मानवअधिकार उनीहरुको हातमा छ । उनिहरुले जे चाह्यो त्यहिँ हुन्छ । उनीहरुको इच्छामा चल्दैछ जिन्दगी । आफ्नैहरुले ठगेर पठाएकोलाई पराईले ठग्नु कुन ठूलो कुरा भयो र ? कहिलेकाही त ठगिनु, दबिनु नै जुनी लिएको हो कि जस्तो लाग्छ । टुटेर फुटेर चकनाचुर भएको आशाको चोईटाहरुलाई समेटेर बनाएको सपनाहरूको महल गर्लम्म ढलिदिन्छ । भाग्यको पाप्राहरु अरबमा बगेको पसिनसँगै बगेर अरब सागरमा मिस्सिए कति कति ।

कर्मको निरन्तरताले हथेलिको कर्म रेखाहरु मेटिए । मन भित्रको मनलाई गरेको अत्याचार खेप्न नसकेर डिप्रेसनको शिकर हुन बिवस भए । आफ्नाहरुसँगको बियोगले आफुले आफैलाई एक्लो महसुस गर्न थाल्यो । बिस्तारै-बिस्तारै आफुले आफैलाई थलाए । आफैले आफैलाई एक्लो बनाए । थलिएर ढले । औसधिमुलो गर्न अस्पताल धाए । डाक्टरको कोशिश फेल भए । औसधिले काम गर्न छाडे । शिथिल अवस्थाको ज्यान बोक्दै सकि नसकिन घिसार्नुको विकल्प रहेन ।

यस्तै-यस्तै दिनचर्याको भोगी हुँदै-हुँदै घर फर्कने दिन नजिकिदै थियो । युगको एक दिन उनको निम्ति अन्तिम दिन भएर आए । अज्ञात रोगको शिकार बने । मृत्युको पहाड उसको जिबन माथी खसे । उ मरे । मरेपछी अस्पतालको मुर्दाघरमा थन्किएर बसेको छ उनि । स्वदेश फर्कने दिनको प्रतीक्षामा छ उनको सव । मृत्यु उपरान्त पाउनु पर्ने सनातन वैधिंक बिधि पाएर अन्त्यष्टी हुने दिनको पर्खाईमा छन् ।

उ तातो मान्छे थियो । अहिले चिसो मान्छेमा परिणत भएर अपरिचित शहरको अन्जान अस्पतालको अज्ञात मुर्दाघरमा चिसो बरफको ओढ्ने ओढेर बसेका छन् । कहिले आउने हो उनिको पालो रातो बाकसभित्र पसेर स्वदेश फर्कने दिन ।

के बित्दैहोला उनको सोकाकुल परिवारमा ? बा-आमाको के हालत भएको होला ? बिबाह भएर केही महिनामै छोडेर गएको जीवन संगिनी उसको मृत्युको खबरले अर्धचेत अवस्थामा कुनै अस्पतालको बेडमा ढलेको छ । उनको अनुहार फोटोमा मात्रै देख्न पाएको सानी छोरीलाई थाहा छैन । धेरै धन कमाउन गएको प्यारो बा को मृत्युको खबर । मृत्यु भनेको केहो बुझ्ने बेला भएको छैन । बुझ्ने भएपछि भोलिपर्सी सम्झी-सम्झी रुनेछिन । बाको स्मृतिमा काल्पनिक स्मरण लेख्नेछिन् ।

केही थान भैंसी भित्रीदा बनेको खबर जस्तै किन हुदैन ती हरेक दिन काठको बाकसमा भरेर फर्केको चिसो मान्छेहरुको खबर ?

खै त ती चिसो मान्छेहरुको कथा बोलेको ? खै त ती चिसो मान्छेहरुको सम्झना गरेको ? बोल्नु र गर्नु पर्ने मान्छेहरुले ? बोल्नुपर्ने, गर्नुपर्ने मान्छेहरु आ-आफै अस्तब्यस्त छन् । नढाटिकन भन्नू पर्दा ।

उनिहरुलाई बिश्वको अपरिचित शहरहरुको शरणमा परेर बिचल्ली भएको आफ्नो देशको नागरिकको उद्धार गर्नुत टाढाको कुरा । द्रब्यको नसामा चुर्लुम्म डुबेर आफ्नो देशको मान्छेलाई अनागरिक बनाउदैं निर्यात गर्दैछ । अमुक देशको शरणार्थी बनाएर ।

बडो टिठलाग्दो छ स्थिति मेरो देशको । बेच्नु, बिकिनु, लिलाम हुनु साधारण कुरा बनेको छ ।

देश हाँक्ने मुखियाहरु सडक भरी रंगि-बिरंगी रेमिट्यान्स कम्पनीको हुर्डिङ्गबोड हेरेर दंग छन् । एक्काइसौं सताब्दिको युगमा यो हबिगत भोग्नु बिवस छु हामी ।

खाना, नाना र छाना जस्तो जिन्दगीको निम्ति चाहिने आधारभुत आवस्यकता पुर्ती गर्न मरिहत्ते गरेर परदेशिएको क्रूर यथार्थलाई न मेटेर मेट्न सकिन्छ । न लुकाएर लुकाउनु सकिन्छ ।
भन्नेहरुले भन्ने गर्छन् आजको युग भनेको ग्लोबल भिलेज अरे ! भुमण्डलिकरण हुनु भनेको स्वभाविक अरे !

के यो कुरा सत्य होला र ?

दैनिक एक देखि दुई हजारसम्म कहिल्यै नदेखेको, कहिल्यैं नपुगेको देशमा सुन्दर सपनाहरु सजायर भारी मन बोकेर उडेको युवायुवती भुमण्डली करणको शिकार बनेर ग्लोबल भिलेजको यात्राको पाराखी बनेर देश छोडेका होलान् ?

भैंसीको जस्तै कहिले बन्ने होला खबर स्वदेश छाडी परदेश निस्केको युवायुवतीहरुको ।

देश बनाउन चाहिँने युवाशक्तीको निर्यात कहिलेसम्म ? कहिँलेसम्म थाम्छ देश रेमिट्यान्सले ?

अनगिन्ती छन् प्रश्नहरु । कस्ले दिने हो उत्तर प्रश्नहरुको । ध्यान पुगोस् संम्बन्धित निकायमा आशिन संम्बन्धित मान्छेहरुको ।

पौरख गरेर परिवारसँगै हाँसेर बाँच्ने वातावरण बनाइएको खबर सुन्न पाओस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button