
दुई ब्याच सिनियर राष्ट्रपति

पेशल आचार्य
मान्छेका बारे लेखेर कहिल्यै सकिँदैन !
जीवनमा अनेक मान्छेहरूसँग संगत गरिएको छ । अनेक मान्छेहरूलाई अघि लगाएर हिँडिएको छ । सिक्ने र सिकाउने कामहरू धेरै भए । कहिले आफू चेलो भएर सिकिएको छ भने कहिले गुरु भएर सिकाइएको छ । यसर्थमा गुरुहरूबाट कम र चेलाहरूबाट धेर सिकिएको छ ।
यो लेख्ने मेसोका सन्दर्भ चाहिँ अहिले म विराटनगर बसाइकै कुरा सम्झिरहेको छु ।
२०४२ सालको समय । अहिलेभन्दा धेरै सस्तो थियो । म त्यो बेला विराटनगर मोरङ क्याम्पसमा आइए दोस्रो वर्षमा पढ्थेँ । एक हिसाबले म परिपक्व भएकै थिइनँ । डेरामा बस्नु पर्ने बाध्यता आइपर्यो । हुन त सुनसरीको इनरुवामा पनि कलेज थियो तर त्यहाँ पढ्न प्राविधिक समस्याले गर्दा सकिएन । मैले आइए प्रथम वर्ष भद्रपुरको मेची क्याम्पसमा पढेकाले त्यो सरकारी कलेजबाट ट्रान्सफर भएर बिराटनगरको मोरङ कलेज मात्र जान सकिन्थ्यो । घरै छेउको सुनसरी कलेज भने प्राइभेट प्रकृतिको हुनाले ट्रान्सफर भएर आउन मिल्दैनथ्यो । यी बाधाले गर्दा मैले बिराटनगरको मोरङ कलेज नपढी भएन ।
२०४२ साल जेठमा झापाबाट फेरि इनरुवा बसाइँ आयौं । खेतीपाती नै मुख्य पेसा थियो । त्यसैले पैसाको जोहो गर्न निक्कै हम्मेहम्मे प¥थ्यो । लगभग महिनाको ३ सय रुपैयाँ दिनुहुन्थ्यो घरबाट । त्यो पनि कहिले के कहिले के बेचेर मात्र प्राप्त हुने गर्दथ्यो । मैले घरमै बसेर पढेर जाँच दिन मात्र कलेज जान्छु भनेर बुवासँग भने तर बुवा मान्नु भएन ।
नमान्नुको कारण थियो । कारण के थियो भने मैले आइए प्रथम वर्ष रेगुलर क्लियर गरेको थिएँ । त्यो बेलामा रेगुलर पास गर्ने काम निक्कै महत्वको थियो । त्यसैले बुवाले ‘जसरी भए पनि तँलाई पढाउँछु’ भन्नु भयो । मैले कम्मर कसेँ ।
पार्वती सुब्बाका दुईभाइ छोरा प्रमोद पोखरेल र इनोद पोखरेल त्यो बेलामा बिराटनगरमा बसेर पढ्थे । दाजु प्रमोदले सेकेण्ड डिभिजनमा एसएलसी पास गरेका थिए त्यसैले बिराटनगरमा साइन्स पढ्थे । भाइ इनोदचाहिँ हाइस्कुल पढ्थे । कुन हाइस्कुल हो नाम बिर्सिएँ । देवकोटा चोकनेर थियो त्यो सरकारी हाइस्कुल । जे होस् म उनीहरूको डेरामा गएर मिसिएँ । डेरा सापकोटा बाहुनका घरमा थियो । त्यो घर तीन टोलियामा थियो । कलेजको नजिकै पनि भएको र सुविधाहरू पनि भएकाले त्यो घर रोजेका रहेछन् । सुरुमा म होटलमा खाएर उनीहरूका कोठामा शरणार्थीजस्तै भएर बसेँ । भाडा लिएनन् । गाउँकै साथीभाइ भएकाले खूब माया गर्थे । मैले अलि पछि आफैँ डेरा लिएर बस्न थालेँ । मसँग इनरुवाकै गीतारमण भट्टराई भन्ने अर्का एकजना साथी सँगै बस्न आए । उनी पनि प्रमोदसँग साइन्स नै पढ्दा रहेछन् ।
दाजु प्रमोद र भाइ इनोद दुवै दाजुभाइ बिन्दास पाराका थिए । जति पनि पैसा खर्च गर्दथे । उनीहरूका दाजु गोपाल पोखरेल जनकपुर चुरोट कारखानामा अधिकृत हुनुहुन्थ्यो । भाइहरूलाई पैसा खर्च गरेर पढाउन बिराटनगर राख्नु भएको थियो । त्यसैले मैले धेर खर्च गर्नु पर्दैनथ्यो । धेरैजसो म उनीहरूकै मेसमा खाना खान्थेँ । थोरजसो होटलमा खान्थे ।
प्रमोद पढ्न जान्दथे । तेज थिए तिनी । दुवैजना सँगै बस्दा पछिपछि अरू साथीहरू पनि मिसिन आइपुगे । केही समय काका नरराज आचार्य पनि सँगै बस्न आउनु भयो । वहाँ बिराटनगरमै जुटमिलमा काम गर्नु हुन्थ्यो । त्यसैले वहाँलाई त्यो कोठा नजिक हुन्थ्यो । हामी तीनजना मिलेर बसेका थियौं । कोठा भाडा एक महिनाको ९० रुपैयाँ थियो । अहिलेको हिसाबले सित्त्तै भनेझैँ हुन्थ्यो । सलेदोवाला स्टोभमा भात पकाएर खानु पर्दथ्यो । भर्खरभर्खर पित्तलको पहेँलो स्टोभको चलन आएको थियो । फलामका स्टोभहरू आएकै थिएनन् ।
सलोदोवाला स्टोभमा खाना बनाउन सारै गाह्रो हुने । सलेदो बाल्दा पिरो धूँवा आउने । ढिलो खाना पाक्ने र गाह्रो हुने हुन्थ्यो । तैपनि मजबुरीका नाम महात्मा गान्धी भनेझैँ जेनतेन काम चलाएका थियौं । पित्तलको स्टोभलाई ३ सय पचास पर्दथ्यो । खल्तीमा त्यति पनि पैसा नहुनाले किन्न सकिँदैनथ्यो ।
हप्ता दिनमा घर जान्थ्यौं । शुक्रबार बिहानैदेखि ब्याग कसेर चेन लगाउने खोल्ने गर्न थालिन्थ्यो । कहिलेकाहीँ त यति धेरैचोटी चेन खोल्ने र लगाउने गर्नाले चेन नै बिग्रन्थ्यो अनि हुपसियोले अड्काएर घरसम्म पुगिन्थ्यो ।
घरबाट आउँदा साग, चामल, आलु, गुन्द्रुक र केही नयाँ मिठो मसिनो तरकारी भयो भने आमाले हालिदिनु हुन्थ्यो । दिउँसोको कलेज पढेर शुक्रबार बेलुकी घर पुग्ने गरी बस समाइन्थ्यो । त्यतिखेर दुहवी इनरुवाको बाटो बनिसकेको थिएन । इटहरीबाट घुमेर इनरुवा जान करिब २ घन्टा जस्तो लाग्थ्यो । भाडा त्यस्तै १० रुपैयाँ जति पर्दथ्यो होला ।
कहिलेकाहीँ चामल सकिँदा पसलमा किनेरै काम चलाइन्थ्यो । त्यतिखेर बिराटनगरमा राम्रो मुस्लिम चामल चार रुपैयाँ ५० पैसामा पाइन्थ्यो । हामी मुस्लिम चामल मन पराएर किन्थ्यौं । त्यसको भात असाध्यै मिठो हुन्थ्यो । विकासे कुखुराको अन्डा १ रुपैयाँ २५ पैसा गोटा थियो । त्यस्तो सस्तो जमानामा पनि सधैँ अन्डा खान सकिन्नँथ्यो ।
एक रुपैयाँमा सिनेमा हेरिन्थ्यो । हामीले हेर्ने भनेको थर्ड क्लास हुन्थ्यो । नजिकैबाट घाँटी ठाडो पारेर हेर्दा टाउकै सड्किन्थ्यो । साथी इनोद पोख्रेल पढाइमा अलि कमजोर तर अरू कुरामा चलाख थिए । हामी सिनेमा खूब हेथ्र्यौं । बिराटनगर बसाइमा हेरिएका सुपर हिट सिनेमाहरूमा ‘लैला मजनु’, ‘राम तेरी गंगा मैली’ र ‘काला पत्थर’ मात्र सम्झना छ अरू बिर्सिएँ ।
सिनेमामा जीवन हुन्छ भन्ने कुरा मलाई बिराटनगरमा पढ्ने मेरा अरू साथीहरूले सिकाए । पछिपछि म बानी पर्दै गएँ तर घरमा धेरै सिनेमा हेरेको मन आमा र बुवाले मन पराउनु हुन्नथ्यो । त्यसैले मैले सिनेमालाई लतचाहिँ बनाइनँ । पछि बुझ्ने भएपछि कमकम हेर्न थालेँ ।
अहिले पनि त्यो बिराटनगर बसाइका सम्झनाहरू बाक्लै मनमा आइरहन्छन् । कलेजको पुस्तकालयमा चना चिउराको भरमा बिहान ७ बजेदेखि साँझको सातबजेसम्म पढिएको छ । एकपटकमा पाँच÷सात पुस्तकहरू घर ल्याउन दिने नियमले गर्दा जीवनमा धेरै किताबहरू पढियो । कतिपय किताबहरू त पछि दोहो¥याएर समेत पढियो । मैले साहित्य, इतिहास, समाजशास्त्र, भूगोल र राजनीतिशास्त्रका किताबहरू त्यो मोरङ कलेजमा पढ्दा धेर पढेँ । त्यसरी त बिए र एमएमा पनि पढ्न पाइएन ।
अहिले म इनोद र प्रमोदजस्ता साथीहरूलाई धेर सम्झन्छु । कलेजका माया गर्ने सरहरू डा. मेदिनीप्रसाद शर्मा, कविराज न्यौपाने, नगेन्द्र चापागाईं, भानुभक्त पोखरेल, बद्रीविशाल पोखरेल र केही विद्यार्थी नेताहरूलाई पनि सम्झन्छु । त्यो बेलामा स्ववियूका सभापति रमेश भट्टराई थिए । अहिले वहाँ त्रिविको प्राध्यापक हुनुहुन्छ । बेला बेलामा हामीलाई नेपाली विषयक तालिममा तालिम दिन आइरहनु हुन्छ । उहाँ सभापति, अजम्मर काङ्माङ् उपसभापति र विद्या पाण्डे कोषाध्यक्ष हुनुहुन्थ्यो । अहिलेकी राष्ट्रपति त्यतिखेर हामीसँगै एउटै कलेज पढ्नु हुन्थ्यो तर हामीभन्दा दुई ब्याच सिनियर ।
हामी आइए सेकेन्ड इयर हुँदा उहाँ बिए सेकेन्ड इयरमा पढ्नु हुन्थ्यो । त्यो बेलामा बिए पनि दुई वर्षे नै थियो । कलेज छोडेपछि रमेश, अजम्मर र विद्याहरूसँग कहिल्यै भेट भएन । अहिले एउटै कलेज पढ्न पाएको सम्झिँदा पनि गौरव बोध हुन्छ । त्यो समयलाई सम्झेर हामी मख्ख पर्छौं ।
बिराटनगरका अन्य धेरै सम्झना छन् । तिनलाई मिहीन पाराले पछि कुनै दिन सम्झने फिराकमा छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Nice, thanks.