
काठमाडौंको भूगोलपार्कमा पोखराको पृथ्वीनारायण क्याम्पस !
तन्नेरी याद बुढ्यौलीको ऊर्जा
रामेश्वरी पन्त
समय उछिट्टिएर जहाँ पुगे पनि समयले छोडेका केही यस्ता छाप हुन्छन्, जसलाई जतिपल्ट ओल्टाईकोल्टाई ग¥यो त्यतिपल्ट नै रोमाञ्चक हुन्छ मन, त्यति नै पुलकित हुन्छ मन । समयले छोडेका तिनै छापहरूमध्येको एउटा सुन्दर छाप हो पोखराको पृथ्वीनारायण क्याम्पस र त्यहाँ सँगै पढेका साथीहरू, जोसँग बेलाबेला भेट्ने र गफिँदै रमाउने मौका फेरि यही समयले नै जुराइदिन्छ । समयले यसरी नै जुराइदियो हिजो पनि र साथीहरू भेट हुने भनेपछि अघिल्लै दिनदेखि मेरा खुट्टाले भुइँ छोडिसकेका थिए । सायद मेरैजस्ता भएहोलान् अरु साथीहरूका पनि ।
साथीहरूले तोकेकै समयमा ठीक साढे एकबजे भूगोलपार्क पुगेँ । नारायणी, विजया र गङ्गा पार्कमा रहेको एउटा बेन्चमा बसेर गफिइरहेको देखेँ । यस्तो लाग्यो त्यो भूगोलपार्क नभएर पोखराको पृथ्वीनारायण क्याम्पसको चौर हो । म पुगेपछि साथीहरूले हाँसेर अँगालोमा बेर्दै मेरो स्वागत गरे । विस्तारै अरु साथीहरू पनि आउने र उसैगरि हाँसो र खुशीले भरिएको सामुहिक अँगालोले स्वागत गर्ने क्रम चल्यो केहीबेर ।

समय त समय नै भैहाल्यो । खासमा हिजोको भेटको चाँजोपाँजोको सूत्राधार थिइन् धरा जो केही दिनअघि मात्र बेलायतबाट नेपाल आएकी थिइन् । यिनै साथीको स्वागतमा रमाउने चाँजोपाँजो मिलाएकी थिइन् धराभन्दा अलि पहिले अमेरिकाबाट नेपाल आएकी अर्की साथी नारायणीले र सबैलाई खबर गरेकी थिइन् । तर दुःखको कुरा, जसको स्वागतमा जम्माहुने भएका थियौं उनी नै आउन नपाउने भइछन् । केही जरुरी काम दिनभरमा निपट्नुपर्ने र सोही दिननै बेलायत उड्नुपर्ने भएछ । मन अलि खल्लो भयो । तैपनि तीन दशक अघिका (ठ्याक्कै भन्दा ३३ वर्ष अघिका) साथीहरू यसरी एकैठाउँमा भेटिनु चानचुने कुरा थिएन । भूगोलपार्कमा आठजना जम्मा भयौं र एक दुई पोज सामुहिक तस्वीर खिचेर बाँकी दुईजनालाई उतै भेट्नेगरि लाग्यौं खिचापोखरीको एक रेष्टुरेन्टतिर ।
यो तीन दशकमा को कता पुगियो, को कता ! ‘छोरा’ साथीहरू जो जता पुगे पनि आफ्नै घर, आफ्नै परिवारमा रमाइरहेका होलान् तर हामी ‘छोरी’ साथीहरू भने स्नातकको पढाई सकेर एकएक गर्दै हिंड्यौं अर्कैको घर सजाउन, अकैको वंश बढाउन र अर्कैको परिवारलाई आफ्नो बनाएर नयाँ संसार बसाउन ।
हामीले घर बसायौं, वंश बढायौं र बढायौं अनि आफ्नै उमेर । र करिब २५ वर्षपछि मात्र अचानक जुरेको थियो यस्तो भेट आजभन्दा पाँच वर्ष अघि र त्यसपछि पाएको थियो यसले निरन्तरता । हाम्रा यी भेट ती तीन दशक अघिका जस्ता चुलबुले थिएनन् र पनि हरेक पटक सुखद गराइदिन्थे तिनै चुलबुले दिनका एकएक संझनाहरूले ।
सुन्धारामा बाँकी दुईजना पनि आइपुगे । हुन त काठमाण्डौमा मात्रै पनि १५ जनाभन्दा बढी साथीहरू छन् तर सबै आउन सकेनन् । सायद सबैका आ–आफ्नै पारिवारिक समस्या होलान् जसले उनीहरूलाई यो सुन्दर अवसरबाट बञ्चित हुन बाध्य पारे । आउनेजति सबै आइपुगेपछि नआउनेहरू किन आएनन् भन्ने चर्चा चल्न थाल्यो । कसैको घरमा पाहुना आएछन्, कसैले नातिको कसैले नातिनीको धरालो गर्नुपर्ने भएछ । साथीहरू सबै मजस्ता फुर्सदिला कहाँ रहेछन् र ! प्रायः धेरै हजुरआमा बनिसकेका रहेछन् । हजुरआमा बनेर पनि छोराबुहारी विदेसमा हुनेहरूलाई नातिनातिनाहरूको धरालोबाट मुक्ति मिलेको रहेछ र आउन भ्याएका रहेछन् । एकजना साथी भने भर्खर विदेसमा नातिनीको धरालो गरेर केही समयको लागि नेपाल आएकी रहिछन् ।

दुईजना साथीको भने अब दुईचार महिनाभित्रै हजुरआमा बन्ने मेसो रहेछ । हामीले जिस्क्यायौं उनीहरूलाई र भन्यौं, ‘अब अर्को पटकको भेटमा तिमीहरू पनि छुट्ने भयौ ।’ हाँसोको फोहोराले हामी बसेको हल नै गुञ्जायमान भयो । ओहो ! हाम्रो हाँसोले कतै अरुलाई त डिस्टर्ब गरेन ! मैले यताउता नजर डुलाएँ । रेष्टुरेन्टवाला काउन्टरमा बसेर हामीतिरै हेर्दै मुस्कुराइरहेका रहेछन् । अरुहरूको ध्यान पनि हामीतिरै तानिएको थियो र पनि हाम्रो गफ र हाँसो रोकिनेवाला थिएन ।
सम्झौं त ! २०४६ सालमा स्नातक गरेका हामी अहिले कतिवर्षका भयौंहोला ? कमसेकम पनि ५५ वर्षका त पक्कै भयौंहोला । अनि बीस बाईस वर्षको उन्मुक्त उमेरका हामी र अहिलेका हामीमा कति फरक होला ? हो, यो उमेरमा सबैका केश पाके होलान्, गाला चाउरिए होलान् । कतिलाई अनेक रोगले च्यापेको होला, कतिको अनुहारको चमक धमिलिएको होला तर कत्ति पनि नबदलिएका दुई कुरा थिए– मित्रता र हाँसो । हो, यही मित्रताको घेराभित्र एकअर्काप्रति ठट्यौली गर्दै हाँस्यौं । हाँस्यौं मात्र होइन, आ–आफ्ना उमेरजन्य शारीरिक एवम् स्वास्थ्य समस्या सुनाउँदै गम्भीर पनि बन्यौं ।

हामीमध्ये कसैले सुगरको, कसैले प्रेसरको, कसैले थाइरोइडको औसधि सेवन गरिरहेका थियौं । कोही मृगौलाको रोगी त कोही मुटुको । घुँडा दुख्नु त प्रायः सबैको साझा समस्याजस्तै रहेछ । हाम्रो मात्रै होइन, सबैजसो महिलाको साझा समस्या हो घुँडाको दुखाई । अनि हामीमध्ये धेरैको महिनावारी सुकिसकेको हुँदा हड्डी मक्किने, ढाड र जोर्नीहरू दुख्ने साझा समस्याले नपिरोलेको कोही थिएन । यिनै समस्याको पोको फुकायौं केहीबेर ।
अनि फेरि केहीबेर घर परिवारका कुुरा चले । कसकसका छोराछोरी कहाँकहाँ के गर्दैछन्, कसका छोराछोरी विदेसमा छन्, कसका स्वदेसमै । अनि फेरि कसकसका छोराछोरी विदेस जाने प्रोसेसमा छन् । विदेस गएका र जानेवालाहरूका कुरा सुन्दा म भने मनैमन आफ्ना छोराछोरी विदेस नगैदिए हुन्थ्यो भन्ने कामना गरिरहेँ । तर मेरो कामनाले काम गर्न त यो देसमा योग्य र प्रतिभावान् युवाशक्तिलाई अड्याउने नीति राज्यले लिनुप¥यो नि ! अहँ ! पटक्कै छैन । राज्यसंस्था चलाउनेहरूको ध्यान सधैँ सत्ताकै वरिपरि छ । न अवसर छ न जेनतेन अडिएकाहरूलाई राज्यले उचित कदर गरेको छ । न योग्यता अनुसारको काम छ न काम अनुसारको दाम छ । अनि विदेस हान्निनुको विकल्प छ त ?
केहीबेर सबैजना पोखरा नै पुग्यौं र विगतका विद्यार्थी जीवनका पाना पल्टाउन थाल्यौं जहाँ मीठामीठा यादहरू मुस्कुराइरहेका थिए । उमेरले उकालो चढिरहँदा यस्ता यादहरूले डाँडाको देउरालीका वरपीपलले जस्तै शीतलता प्रदान गर्दारहेछन् । छहारी मात्र होइन, ढल्कँदो उमेरमा ऊर्जा थप्ने र रोमाञ्चकता भर्ने काम पनि गर्दारहेछन् । निकै रोमाञ्चक मूडमा गफिई रहँदा बिछोडिएका साथीहरूको याद पनि गर्न भ्यायौं ।
अचानक मैले सरीतातिर हेर्दै भनेँ, ‘सरीता ! यदि अहिले हामी ३३ वर्ष अघिको पृथ्वीनारायण क्याम्पसको चौरमा जम्मा भएको भए कस्ताकस्ता गफ गथ्र्यौंहोला ? सरीताले उस्तैगरि ठट्यौलो पारामा हाँस्दै भनिन्–‘कस्ता कुरा गर्ने, उही त हो नि ! को केटी को केटासँग गफ गर्दै हिंडेकी छ, कसको कोसँग लभ परेको छ, को केटा कस्तो छ, कुन सरले कसरी पढाउँछन्, कुन सरको बोली कस्तो छ, कुन सरको हाउभाउ कस्तो छ, कुन हलमा कुन सिनेमा लागेको छ, हिरो को छ, हिरोइन को छ, यस्तै गफ त गथ्र्यौं होला नि !’
एकचोटी फेरि हामी बसेको हल हाँसोले गुञ्जियो । सबैका नजर हामीतिरै सोझिए । तर हामी बेपरबाह भएका थियौं । हुन पनि हाम्रा गफ यस्तै त हुन्थे नि ! सरीताले भने जस्तै । पढाई नभएको बेला सबै साथीहरू (केटा केटी सबै) चौरमा जम्मा भएर गोलोगरि बस्थ्यौं र रमाइला कुरा गर्दै समय बिताउँथ्यौं । न कसैलाई घरको चिन्ता थियो न सासू भोकाएको । न कसैलाई श्रीमान्ले खान नपाएको पीर थियो न नातिनातिना हेर्ने झञ्झट । उन्मुक्त पञ्छी झैं विचरण गर्दै क्लास हापेरै भए पनि गु्रप गु्रप बनेर कहिले वेगनास त कहिले फेवा रुपाको यात्रा । कहिले पार्दीको पावरहाउसको यात्रा त कहिले काहुँ डाँडाको !
खानपिन र गफगाफमा तीन घण्टा बितेको पत्तै भएन । खाँदैगर्दा केही सामुहिक तस्वीर पनि लियौं । साथिहरू घडी हेर्न थाले । कसैलाई घर पुग्न सार्वजनिक सवारीमा एक डेढ घण्टा नै लाग्ने । कसैले सासू भोकाएको समस्या तेस्र्याए, कसैले बिरामी श्रीमान् भोकाएको । घरमा पुगेर खाना बनाएर खुवाउन ढिला हुनेले त्यहीँ नै अर्डर गरि प्याकिङ गर्न लगाए । सबैका आफ्ना आफ्नै समस्या थिए । सबैले फेरि ती समस्याहरू पोको पारेर हिंड्ने तरखर गर्नथाले ।
मेरो मनमा फेरि अर्को प्रश्न तेर्सियो, के हामी पुरुष भएको भए यी यावत् समस्याले हामीलाई अत्याउँथ्योहोला र ? यस्ता सबै समस्या त श्रीमतीको पोल्टामा हालेर निर्धक्क साँझसम्मै साथीभाइसँग खानपिन र रमाइलो गरि घर फर्किन्थ्यौं । कामकाजी नै हुन्, श्रीमतीलाई साँझ बेलैमा घर फर्कने आदेस हाम्रै हुन्थ्यो । बृद्ध बाबुआमाको सेवाको भारी पनि श्रीमतीमाथि नै बिसाउँथ्यौं र घरको मालिक हुनुको परंपरागत भुमिका निभाएर गर्व गथ्र्यौं । मैले आफ्नो मनमा खेलेका यी सबैकुरा साथीहरूलाई सुनाइनँ ।
साथीहरू भन्दैथिए, ‘रामेश्वरी ! हाम्रो आजको यो भेटको एउटा दमदार कथा लेख है !’ मेरो लेख दमदार बन्ला नबन्ला तर बेलाबेलामा भेट हुने त्यो ‘सुनौलो समय’का साथीहरूसँगको रमाइलो भेटघाटले एकपटक फेरि यो मनलाई भने दमदार रुपले तन्नेरी बनाइदिएको थियो । साँच्ची नै हामीसँग जस्तै हरेकसँग आ–आफ्ना रमाइला विगत हुन्छन्, बालपनदेखि तन्नेरीसम्मका साथीभाई हुन्छन् । अहिले त सामाजिक सञ्जालले ती हराएका साथीभाइहरूलाई एकएक गर्दै भेटाइदिने काम गरिरहेको छ । समय मिलाएर कहिलेकाहीँ जमघट गर्ने र आ–आफ्ना सुखदुःखका पोका फुकाएर हलुका हुने र बिगतलाई सम्झेर एकैछिन भए पनि रमाउने गर्नसक्यो भने यस्ता कुराले ओह्रालो लाग्दै गएको हाम्रो जीवन यात्रामा गेयरको काम गर्छ, टनिकको काम गर्छ, भलै हामीभित्र आ–आफ्नै अनेक समस्या होलान्, उल्झन होलान्, अव्यक्त पीरब्याथा होलान् ।
काठमाण्डौमै भएका तर चाहेर पनि आउन नपाएका साथीहरू, पोखरामै छुटेका साथीहरू र पोखरा बाहिर अन्यत्र छरिएर रहेका धेरै साथीहरूलाई सम्झँदै हामी बाहिर निस्क्यौं र एकपटक फेरि सबैले सामुहिक तस्वीर खिच्यौं र फेरि चाँडै नै यसैगरि भेट्ने वाचा गर्दै आ–आफ्नो बाटो लाग्यौं । हाम्रा तस्वीरहरू खुशीखुशी खिचिदिएका थिए रेष्टुरेन्टकै एकजना युवाले । सायद उनी त्यही रेष्टुरेन्टका मालिक या म्यानेजर केही हुनुपर्छ । हाम्रो लामो बसाई, उन्मूक्त हाँसो र हल्लालाई पनि सहर्ष स्वीकारेर तस्वीर खिचिदिएकोमा र शालीन सेवा दिएकोमा उनलाई फेरि यहाँबाट पनि धन्यवाद भन्न चाहेँ ।
साथी सम्झना चितवनदेखि अचानक आएकी थिइन्, जसको होस्टेलमा करिब छ वर्षसम्म बसेर मेरो छोरीले एमबीबीएसको पढाई पूरा गरेकी थिई, उनलाई एकैछिन भए पनि मेरो घरसम्म लिएर आउन पाउँदा झनै खुशी लाग्यो । केहीबेर बसेर उनी पनि आफ्नो गन्तब्यतिर लागिन् । हाम्रो समुहलाई ‘फ्रेन्ड्स फर–एभर’ हामीले यही नाम दिएका छौं । सम्झेर म त्यसैत्यसै रोमाञ्चित बनिरहेँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)