छोरीको त छँदैछौ, बुहारीको पनि आमा बन है

आमालाई पत्र

जुनु ढकाल
इलाम, हालः काठमाडौं

मेरी प्यारी आमा
असिम माया, सम्मान तथा मुटु भरीको सम्झना ।

म यहाँ आराम छु र त्यहाँ पनि तिमी लगायत बुवा, दाइर्, भाउजु, भाई, बुहारी र बहिनी अनि साना मेरा भदै भदैनीहरु सबैमा आराम कुसलको कामना गर्दछु । आमा तिमीसँग भेट नभएको पनि बर्षौं भयो । तर अहिले संचार माध्यमको प्रयोगले प्रत्यक्ष मुख हेरेर नै बोल्न पाइएको छ । भिडियोमा पटकपटक भेट भई रहेकोले भेटेर नै बोले जस्तो अनुभव भएको छ ।

आमा आज म तिमी समक्ष केही कुराहरु लेखेर पठाउन गई रहेको छु । हामी नेपाल जस्तो शान्त र स्वर्ग जस्तो मुलुकमा जन्म लिएका छौ । यो हाम्रो भाग्यको कुरा हो । यस भूमिलाई प्रकृतिले आफ्नो सुन्दरताको कुनै पनि कुरामा कमी हुन दिएकी छैनन । यस किसिमको सुन्दर, शान्त र बिशाल देशमा जन्मिएका तिमी हामी नारी पनि अति नै भाग्यशाली हौ । भनिन्छ नि कुनै पनि देशका नागरिक असल भए भने त्यो देश समृद्ध बन्दछ अनि कुनै पनि घरका सदस्यहरु त्यसमा पनि नारी सदस्यहरु असल भए भने त्यो घर स्वर्ग समान हुन्छ । घरमा सुख शान्ति र ऐश्वर्य आउने छ । त्यसैले आमा हाम्रो घरमा पनि सुख , शान्ति र आनन्द आएको देख्ने घरका सबै सदस्यको मन हुन्छ, इच्छा हुन्छ । तर सो घरलाई सोचे जस्तो संबृद्ध बनाउनका लागि स्वयं मेरो के भूमिका रहन्छ र मेरो कर्तब्य के हो भन्ने बिषय हामी घरमा रहने सबै सदस्यहरुले सोच बिचार र मनन गरेर सोही सोच अनुसारको ब्यवहार गर्न सकेमा कुनै पनि घरमा अशान्ति र झैझगडा हुनै सक्दैन ।

तिमीलाई लाग्न सक्छ, ‘कहिले यस्तो नभन्ने मेरी छोरी किन आज यस किसिमको कुराहरु लेख्दै छे !’ ‘मैले त केही बुझ्न सकिनँ’ भन्ने पनि लाग्दै होला तर आमा आज म तिमीलाई बुझ्ने किसिमका केही कुराहरु अगाडि लेख्दै छु । आमा म तिम्री छोरी हुँ, मलाई तिमीले आफ्नो पेटभित्र ९ महिनासम्म अनेक दुख कष्ट झेल्दै, आफ्नो जिवनको समेत पर्वाह नगरेर यो सुन्दर धर्ति देखाउन जन्म दिएकी छौ । मलाई जन्म दिँदा तिमी आधा मरेकी छौ । यो कुरा म आफू आमा बनेपछि अनुभव गरेकी छु । त्यसपछि आमा तिमीले मलाई हुर्कायौ, बढायो, उच्च शिक्षासम्म पढायौ, संस्कार सिकायौ अनि म योग्य भएको ठानेर तिमीले मेरो किरिया समेत सारेर पराईको जिम्मा लगायौ । मलाई घरको आँगन पोलेर बिधिवत रुपमा नौमती बाजा बजाउँदै पराई घरमा पठायौ । त्यस दिनबाट मेरो जन्म घर मेरो माइतीमा परिणत भयो । तिमीले माइतीमा सिकाएका हरेक संस्कारहरु मैले कर्म घरमा शुरु गर्न प्रयास गर्न थाले । तिमीले मलाई पढाएका नैतिकताका हरेक पाठहरु यस नयाँ घरमा लागू हन या नहुन मैले त्यसलाई प्रयोग गर्ने अभ्यास गर्न छोडिन ।

तिमी त्यहाँ मलाई सम्झेर बेला बेला भक्कानिएर रुन थाल्यौ होला । मेरो जन्मदेखि मलाई पराइ घर पठाएको दिन सम्मका हर पलहरु तिम्रो मन मस्तिस्कमा आएर तिमीलाई सताउन थाले होला । आफूलाई एक्लो महसुस गर्न थाल्यौ होला । मेरो यादमा तिम्रा हरेक रातहरु अनिँदा बन्न पुगे होला । हो, त्यस कठिन समयमा तिमीलाई सम्झाई बुझाई गर्न र साथ दिनका लागि भनेर तिम्रा छोरा अथवा मेरा दाई र भाईले भाउजु बुहारी भित्राएका हुन्छन् । तर आमा तिमीले त्यस समयमा ति भाउजु र बुहारीहरुलाई मेरो स्थान दिएर, मलाई दिने माया र स्नेह दिएर अनि मलाई जत्ति बिश्वास गरेर कहिले हेरेकी छौ ? आमा तिमीले जसरी मलाई कष्ट गरेर जन्म दियौ र पराइलाई जिम्मा दियौ नि त्यसै गरि ति भाउजु र बुहारीलाई पनि उनकी आमाले हामी कहाँ पठाएकी हुन् । जसरी मैले तिमीलाई छोडेर रुँदै यहाँ पराई घरमा आएकी छु नि, त्यसरी नै ति भाउजु र बुहारीले पनि उनीहरुको आमाको न्यानो अंगालो छोडेर हाम्रो घरमा आएका हुन् । यो कुरा आजसम्म तिमीले सोचेकी थियौ ?

आमा, अब म तिमीलाई केही प्रश्नहरु सोध्न चाहन्छु ।

मेरी छोरीले खाना खाई कि खाइन, मेरी छोरीलाई थकाई पो लाग्यो कि, मेरी छोरी बिरामी पो भई कि भनेर बारम्बार मेरो चिन्ता गर्छो नि, हो, त्यसरी नै ति भाउजु र बुहारीको बारेमा पनि चिन्ता गरेकी छौ त ?

अनि ति भाउजु बुहारी कुनै दिन बिहान ढिलोसम्म पनि उठेर आएनन् भने कति पटक तिमी उनीहरुको कोठामा गएर तिमीलाई सन्चो भएन कि नानी भनेर अहिलेसम्म कति पटक उनको निधारसम्म आफ्ना हात पुर्याएकी छौ आमा ? कति पटक म तिम्री आमा सरह हुँ भनेर उनीहरुलाई स्नेह दिएकी छौ ? अनि आजसम्म तिमीले ति बुहारीहरु कतै बाहिर गएर थाकेर आउँदा कति पटक तातो पानी दिएकी छौ ? अनि तिम्रा छोराहरु अथवा मेरा दाई, भाईले भाउजु बुहारीलाई कहिले काँही नमिठो बचन लगाए भने तिमीले कति पटक ति छोराहरुलाई सम्झाई बुझाई गरेकी छौ आमा ? मेरा बुहारीहरुलाई त्यसरी नमिठो बचन नगर, यिनीहरु पनि मेरा छोरी हुन्, उनीहरु पनि आफ्ना बाबा आमा र सबै परिवार छोडेर हामी कहाँ आएका छन् । हामीले नै माया नगरे उनीहरुलाई दिल दुख्छ, उनीहरु पनि हाम्रो कुल खान्दानमा आएर आफ्नो कर्तब्य निर्वाह गरिरहेका छन् । उनीहरुले नजानेका कुराहरु हामीहरुले सिकाउनु पर्छ । तिमीहरुले बुहारीहरुलाई हेलाहोचो गर्न मिल्दैन । उनीहरुले केही गल्ति गरे भने म सम्झाँउछु, यस्ता कुराहरु छोराहरु समक्ष आजसम्म कति पटक गरेकी छौ त आमा ?

मेरी आमा जसरी तिमीले मलाई र मेरा दिदि बहिनीहरुलाई चिनि जस्तो मिठो ठानेर माया गरिरहेकी हुन्छौ नि, तर ति भाउजु र बुहारीलाई किन नुन जस्तो स्वादिलो माया दिन सकेकी छैनौ ? आमा तिमीलाई यहाँ मेरो कुरा बुझ्न अलिक कठिन भयो होला । आमा फेरी पनि सुन चिनि जिब्रोको लागि स्वादिलो हुन्छ, यसलाई चिया तथा अन्य परिकारमा राखेर खाइन्छ, मलाई त्यही चिनी जस्तो मिठो माया गरी रहेकी छौ आमा । म कहिले काँही माइती घर आँउछु । तिमीसँग केही दिन बसेर मिठा कुराहरु गर्छु अनि फर्केर कर्म घर जान्छु । त्यो मेरो बाध्यता हो । न त तिमीसँग सधै बस्न सक्छु न त तिमीलाई सधै गुलियो खुवाउन सक्छु । तर ति पराई घरबाट हाम्रो घरमा ल्याइएका भाउजु अनि ति बुहारीहरुलाई तिमी नुन जत्तिको पनि महत्व दिन्नौ, किन आमा ? तिमी एक पटक मात्र कल्पना गर त, घरमा दैनिक पकाइएका दाल, तरकारी र अचारमा एक दिन मात्र पनि नुन नराखी खाँदा कस्तो महसुस हुन्छ ? ति परिकारहरु जत्ति नै मेहेनत गरेर पकाए पनि नुन बिना खल्लो र बेस्वादको हुन्छ । त्यसैले आमा ति बुहारीहरुलाई नुनलाई जत्तिकै महत्व दिन सिक । मलाई अरु केही चाहिदैन ।

अनि आमा सधै तिम्रो भोक तिर्खा हेर्ने, तिम्रो मैला भएको फरिया सफा गरिदिने, तिमी सिकिस्त हुँदा ओखती मुलो खोजी गर्ने अनि दैनिक घर बाहिर र भित्र पनि काममा खटिई रहने ति बुहारीहरुलाई कतिको हमत्व दिएकी छौ त आमा ? अहिले ति भाउजु बुहारी तिम्रो साथमा हुँदा तिमीलाई महत्व नभए पनि तिनिहरु तिमीबाट दिल दुखाएर टाढा भने तिनको महत्व तिमीलाई थाहा हनेछ कि नुन नहूँदा तरकारी कति खल्लो हन्छ । हुन त मेरी आमा तिमीले मैले भन्दा अगाडी सयौ भोटोहरु फटाई सकेकी छौ । मैले पढेर जानकारी लिएका भन्दा तिमीले ब्यवहारमा परेर हजारौ ज्ञान हासिल गरेकी छौ । हामीलाई तिमीले कयौ कष्ट कहेर जन्माई, हुर्काइ गरेकी छौ तर त्यो सृष्टिको नियम नै हो । यो संसारमा तिमी र म मात्र आमा पनि होइनौ । जहाँ घर, परिवार छ त्यहाँ आमा हुन्छन् नै मेरी प्यारी आमा तिमी आफू खुशी हुन र परिवारका अन्य सदस्यहरुलाई खुशी राख्नका निम्ती तिम्रो भूमिका अति नै महत्वपुर्ण छ आमा । छोरीले मलाई नराम्रो पत्र लेखी भन्ने नसोच है आमा । यो सबै मैले हाम्रो परिवारको हितको लागि भनी रहेकी छु ।

अझै केही कुरा भन्न बाँकी नै छ । आमा ति भाउजु बुहारीहरुलाई धेरै गर्नै पर्दैन । तिमीले तिनीहरु कतैबाट थाकेर हँसिलो अनुहार बनाएर मिठो बोल्दै एक मुठी तातो पानी दिए पुग्छ, उनीहरुले धोएर सुकाएका उनीहरुका लुगाकपडाहरु सुकेपछि मायाले उठाएर मिलाएर राखिदिए पुग्छ । उनीहरुलाई छोराले चर्को बोलेका बेलामा उनीहरुको साथ दिएर छोरालाई सम्झाई दिए पुग्छ । अनि मलाई जस्तै उनीहरुलाई नानी भनेर बोलाएर सन्च बिसन्च सोधी दिए पुग्छ । बुहारीलाई टाउको दुख्दा एक थोपा तेल लगाएर उनका् टाउको सुम्सुम्याउँदा तिमीलाई पहाड नै खसेर थिच्छ र आमा ? जसरी मसँग दुखसुख साटेर बोल्छौ नि त्यसरी नै उनीहरुसंग गन्थन गरेर बोल न आमा । भाउजु बुहारीलाई छेउमा राखेर तिमीहरुलाई केही सारोगारो परेको छ कि ? केही भए मलाई भन्नु है भनेर कहिलेकाँही उनीहरुलाई भरोसा दिए पुग्छ ।

तिमी आफ्नो छातीमा हात राखेर कसम खाउ त आमा, ति बुहारीलाई मेरो स्थान दिएकी छौ ? तिमी आधा रातमा बेहोस् भएका बेला म टाढा रहेकी छोरीले तिमीलाई अस्पताल लान सक्छु ? म त एकदिन तिमीलाई भेटेर गलियो बचन बाहेक अरु केही दिन सक्दिन । तिमीसँग घरमा २४ सै घण्टा सुख दुख साट्ने त ति भाउजु बुहारी नै हुन आमा । तिमी आफैबाट आजैबाट शुरु गर न मेरी आमा । उनीहरुलाई सकारात्मक नजरले हेर अनि उनीहरु प्रति सकारात्मक ब्यवहार गर । तिमीले त्यत्ति गरेपछि पनि उनीहरुले तिमीलाई पराई ठान्छन होला त ? तिमीले त्यति गर्दा पनि उनीहरुले नराम्रो देखे भने बल्ल म सम्झाउँछु उनीहरुलाई आमा । तर तिमी सकारात्मक अभ्यास त गरेर हेर । म उनीहरुलाई भन्ने छु कि सासु पनि आमा सरह नै हुन्, जसरी तिम्रो माइतीको आमालाई भाउजु बुहारीले हेला गर्दा तिम्रो मन रुन्छ, त्यसै गरी मलाई पनि आमाले दुख पाँउदा मन रुन्छ ।

तिमीले धेरै केही गर्नु नै पर्दैन आमा । आफू घरको लिडर भएर कसैको पक्षमा नलागी कहाँ कसलाई अन्याय परेको छ, कसले के गरिरहेको छ, उचित मुल्यांकन गरे सबैलाई सम्झाई बुझाई गरे पुग्छ । मेरा बुवा, दाई र भाइप्रति मेरो केही गुनासो छैन किनभने घरमा भएका महिलाहरु एक भएपछि पुरुषहरुको केही गुनासो रहँदैन । पुरष बाहिरी कामबाट थाकेर आउँदा महिलाहरु सबै मिलेर हाँसीखुशी काम गरिरहेका देखेपछि पुरुषहरुलाई पनि शान्ति मिल्छ । आमा घरलाई स्वर्ग बनाउनमा तिम्रो ठूलो हात छ । घरका महिलाहरुको लिडरको रुपमा तिम्रो भूमिका रहेमा घरमा अशान्ति कहिले हुन्न ।

आमा, लेख्दालेख्दै पत्र लामो बन्न गयो । यस पत्र भित्रका कतिपय शब्दहरुले तिम्रो मन दुख्छ होला है । तर आमा कुनै पनि घाउमा मल्हमपट्टि गर्दा सुरुमा पोल्छ अनि पोलेपछि नै घाउ छिट्टै थाक्छ । म माइती घरमा आँउदा मैले पत्रमा लेखेका कुराहरु ब्यवहारमा लागू भएको देख्न पाउँ । मलाई अरु केही चाहिन्न । अनि यो पत्र मेरा बुवा, दाई भाउजु, भाई बुहारी सबैलाई सुनाउनु है ।

हवस् त प्यारी आमा, आजलाई मेरो बगिरहेको कलम बन्द गर्न चाहन्छु । अब अर्को पत्र म मेरी भाउजुलाई लेख्नेछु ।

अहिलेलाई नमस्कार आमा
उही तिम्री मायालु छोरी करुणा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button