नेपालनाम्चाले गराएको एउटा प्रिय भेट

दुर्गा कार्की

यो भन्दा अघिल्लो पटक मैले नेपालनाम्चामा त्रियोग हाइस्कुलका विद्यार्थीलाई वनदेवी प्रा वि का विद्यार्थीहरुको निकै हृदयस्पर्शी अनुभव सुनाउँदै गर्दा अत्यन्त मायालु तथा ज्ञानी स्वभावकी विद्यार्थी स्टेला रोएको घटना लेखेकी थिएँ, ‘त्रियोगमा वनदेवीको कथा सुनाउँदा रोएकी स्टेला मैनाली तिमी कहाँ छौ ?‘ स्टेला १० वर्षदेखि मेरो सम्पर्कमा थिइनन् । स्टोरी पोष्ट हुँदा मेरो तस्विरसँगै उनको तस्वीर पनि खोजेर छापेका थियौँ । एउटै ब्याचका साथीहरुलाई त्यो स्टोरी स्टेला सामु पुर्याईदिन अनुरोध पनि गरेँ ।

स्टेलाका साथीले यो कुरा उनलाई बताएछन् । फेसबुक चलाउन बन्द गरेकी चेलीले मसँग सम्पर्क गर्न मेरो फोन नं को खोजी गरिछन् । फोन नं प्राप्त गरेपछि अचानक मलाई अज्ञात नम्बरबाट फोन कल आयो । मेरी प्रिय चेली स्टेलाको सुमधुर अनि १० वर्षअघिकै झै लाग्ने अबोध स्वर मेरो कानमा गुञ्जियो । मेरी प्रिय चेली जसलाई प्रेम दिवसको दिन अर्थात भ्यालेन्टाइन डे का दिन मैले मेरी मायालु भनेर सम्झी लेख लेखेर नेपालनाम्चामा प्रकाशित स्टोरी पोष्ट गरेकी थिएँ ।

त्यसरी उनी मेरो सम्पर्कमा आउन सफल भइन् । हामी दुवै फोनमा भक्कानियौँ ।

भोलिपल्ट कतै भेट गर्ने प्रस्ताव स्टेलाले राखिन् । मैले कमल पोखरीस्थित लो कार्ब किङ रेस्टुरेन्ट रोजेँ ु किनकि मैले आजभोलि खानपान परिवर्तनपछि अरु रेस्टुरेन्टमा खाने गरेकी छैन । यो एफ डि एच क्लिनिकका डाक्टर दिलजान मनसुर (कर्ट) आफैद्वारा आफ्ना बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी सञ्चालन गरिएको हो ।

दिउँसो म कमलपोखरी पुगेँ प्यारी चेली भेट्न । म उनलाई भेट्न आतुर धिएँ, कुनै प्रेमीले आफ्नी प्रेमीकालाई भेट्न आतुर भए झैँ । एकै छिनमा स्टेलाको फोन आयो, म्याम हजुर कता ? म बाहिर के निस्केकी थिएँ, मेरी सर्वप्रिय चेली स्टेला देखा परिन् । हामी आत्तिएर अङ्कमाल गर्यौं । दुवै हर्षबिभोर भयौँ । मलाई स्टेलाले प्रेमको प्रतीक गुलाफको फूलले सजिएको गुच्छा दिइन र भनिन्, ह्यापी भ्यालेन्टाइन डे म्याम । चेलीले दुई पुस्तकसहित अरु कोसेली पनि ल्याएकी रहिछन् गुरुमाको लागि । मलाई मेरी प्यारी चेली भेटेकै लाख खुसी थियो । आँखाबाट आसु बर्बर्ति बगाउँदै रुन्चे हाँसो हाँस्दै कुरा गर्दै गयौँ । उनले एसएलसी पछिका १० वर्ष के गरिन् भन्ने सुनाइन भने मैले पनि आफ्ना महत्वपूर्ण समयका आफ्ना कार्य र अनुभव सुनाएँ । कथा भन्दै गरेको त्यो दिन, उबेलाको कक्षा अनि मेरी स्टेला मलाई झल्झल्ती स्मरण भयो । आज पनि मेरी स्टेला उस्तै अबोध अनि त्यत्तिकै प्यारी । उनीमा कत्ति परिवर्तन देखिनँ । हामीले केही तस्विर लियौँ, खाजा र कफी खायौँ । हामीलाई भेट गराइदिने नेपालनाम्चाका सँपादक अशोक सिलवाल सरलाई भिडियो कल गरेर एकसाथ कुरा गर्ने सोच बनाई फोन गर्यौँ ।

हामी तिनै जना भिडियोमार्फत एकसाथ जोडियौँ । समय बडो रोमाञ्चित बन्यो । हामीलाई यो अभूतपूर्व भेट गराइदिने अशोक सरलाई मुरी मुरी धन्यवाद दिई करिव २–३ घन्टा एकसाथ बिताएर फेरि पनि भेटने वाचा गर्दै विदा भयौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button