परोपकारी शिव उत्तिकै पत्नीव्रत पनि

प्रा. डा. वीणा पौड्याल

विश्वका प्राचीन सभ्यताहरुमध्ये सिन्धु नदीको तटमा विकसित सिन्धुघाटीको सभ्यता (इ.पू. ३०००) पनि एउटा प्रमुख सभ्यता हो । सिन्धुघाटीको मोहनजोदारो र हरप्पामा उत्खननद्वारा प्राप्त भएका थुप्रै माटाका छाप (शिला) हरुमा लिङ्ग, योनी र योगीरुपका शिव चित्रण गरिएका छन् ।

चारवटा वेदमध्ये ऋग्वेदमा पनि लिङ्ग (शिश्नदेव) उपासना र आह्वानका ऋचाहरु छन् । वेदमा रुद्रको नामबाट पुकारिने शिवका नाम र कार्यमा क्रमिक विकास भएको पाइन्छ । उपनिषद् कालमा आइपुग्दा त शिवदर्शनको विकास भएको पाइन्छ । पौराणिक कालमा विकसित भएको त्रिवेद धारणाअनुरुप १. ब्रह्मा सृष्टिकर्ता २. बिष्णु पालनकर्ता र ३. शिव संहारकर्ताको रुपमा पुजिन थाले । यसमा सबैभन्दा आश्चर्यलाग्दो बिषय शिव र उनीप्रतिको आस्थालाई लिन सकिन्छ । संहार, प्रलयका देवता भएर पनि शिव व्यापक रुपमा पुजित हुनुको पछाडि उनको चरित्रको ठूलो भूमिका छ ।

पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको समुन्द्रमन्थनबाट अमृत, कामधेनु गाई, पारिजात, लक्ष्मी, कौस्तुभमणि, धन्वन्तरी, चन्द्रमा, अप्सरा, ऐरावत हात्ती, उच्चैस्रवा घोडा, सोमरस, पाञ्जजन्य शंख र कालकुट विष निस्कियो । देवता र राक्षस दुवैले उपयोगी र सुन्दर बस्तु बाँडे । कालकुट विष निस्किएपछि देवता, दानव र मानिसहरु प्राण रक्षाका लागि भागाभाग गर्न थाले । लोककल्याणकार्यका लागि सधैं अग्रसर शिवले आफ्नो ज्यानको वास्ता नगरेर कालकुट विषपान गरे शिवले परोपकारी भावनाले पान गरेको विष उनको योगशक्तिले गर्दा घाँटीभन्दा तल जान सकेन । विषपानपछि शिवलाई औडाहा तथा छटपटी हुन थाल्यो । विषको पोलाइ कम गर्न उनी यताउता भौंतारिन थाले । शीतल र चिसो ठाउँको खोजी गर्दागर्दै हालको गोसाइँकुण्ड पुगे । त्यहाँको हिमालमा त्रिशूलको तीन चुच्चो गाडे, तीन धाराबाट पानीको फोहरा छुट्यो ।

शिवका त्रिशूलको तीन धाराबाट छुटेको पानीको मुहान भएको नदीलाई नै त्रिशूली भनिन्छ । डाहा शान्त गराउन उनले पानी टत्र पिए र पानी जमेको खाल्डोमा उत्तानो परेर सुते । शिव सुतेको पानी जमेको अण्डाकार खाल्डोलाई नै गोसाइँकुण्ड (नीलकण्ठ कुण्ड) भनिन्छ ।

समुन्द्रको सतहबाट ४३०० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड मध्यहिमाल क्षेत्रको लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । सन् १९६७ मा स्थापना गरिएको यो संरक्षित निकुञ्ज विदेशी पर्यटक र स्वदेशी तीर्थयात्रीहरुलाई आकर्षित गर्न निकै सक्षम भएको छ ।

कालकुट विषको प्रवाहले गर्दा घाँटी नीलो रङको भयो र शिवलाई नीलकण्ठ भनेर सम्बोधन गरियो । पुराण, महाभारतमा वर्णित समुद्र मन्थनको घटनापछि परोपकारी रुपमा शिव चर्चित भए । शिवको परोपकारी पक्षसँगै अर्को महत्वपूर्ण पक्ष पत्नीव्रत धर्मको सदैव निर्वाह पनि एक हो, जुन अनुकरणीय छ ।

हिन्दूहरुका प्रमुख देवताहरुको वर्णन गर्दा सधैं एकभन्दा बढी पत्नीहरुको उल्लेख गरिएको पाइन्छ । शिवमात्रै त्यस्ता देवता हुन् जसका एकमात्र पत्नीको उल्लेख गरिएको छ । दक्षप्रजापतिकी छोरी सतीदेवीसँग विवाह गरेपछि शिवको सुखमय दाम्पत्य जीवनको उल्लेख पुराण र महाकाब्यहरुमा छ । दक्षप्रजापतिको यज्ञमा सतीदेवीले हामफालेर प्राण त्यागेपछि शिवले सतीको शरीर बोकेर यत्रतत्र घुम्न थालेकाले ब्रह्माले झिँगाको सृष्टि गरे । त्यो झिँगाले टोकेर सतीको शरीर टुक्राटुक्रा भएर झर्न थाल्यो । त्यसपछि मात्रै शिवले आफ्नो संहार कार्य सम्हालेको वर्णन पुराणहरुमा छ । सतीको मृत्युपर्यन्त पार्वतीको अर्को चोलामा मात्रै पुनः शिवले नै वरण गरेको आख्यान पुराणहरुमा छ ।

शिवको चरित्र विश्लेषण गर्दा उनको परोपकारी भावनालाई बढी उजागर गरौं । औषधीको रुपमा प्रयोग गरिएको गाँजा, धतुरोको मनोमानी रुपमा मात्रा बढाएर सेवन नगरौं । शिवको नाममा भाङ सेवन होइन त्याग र बलिदानको भावना शुरु गरौं । फेरि एकपल्ट रुद्र अर्थात दुःख हटाउने, महेश्वर अर्थात महान् ईश्वर र कालकाल अर्थात कालका पनि काल शिवलाई नमस्कार गर्दै परोपकारी भावनाको बीजारोपण आफ्नो मनमा आजैदेखि गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button