दुवै हात उठाएर घन्टाघरबाट घर पुगेँ

काठमाडौं कहर

भरत शर्मा
काठमाडौं

फागुन १ जनयुद्ध दिवस भन्दै सरकारले देशभर सार्वजनिक विदा दिने घोषणा गर्यो । बिहान सामाजिक सञ्जालमा विदा दिइएकोमा अनेक तर्क-वितर्क, विरोध र समर्थनका समाचार पढेर १० बजे कार्यालय गएको थिएँ । छुट्टीको दिन सडक खाली नै थियो ।

बिहानै ‘जनयुद्ध दिवसको अवसरमा’ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको एक पेज लामो सन्देश पनि पढेर घरबाट निस्किएको थिएँ । दक्षिण भारतीय यात्रीलाई पशुपतिनाथ प्लस मुक्तिनाथ यात्रा प्रबन्धका लागि आवश्यक पर्ने परिचयपत्र, यात्रासम्बन्धी विज्ञापनको डिजाइन बनाउने योजनासहित समा आर्ट्सका कलामित्र सुरेशमान उलकको कार्यालय पुगेँ । उनी पनि कलात्मक मुडमा एउटा चराचित्र बनाउँदै रहेछन् ।

ढोकामा पुगेर भनेँ, ‘सरकारले दिएको ‘जनयुद्ध विदा’मा किन कार्यालय ?’

उनले भने, ‘बाजे, म त मजदूर हुँ, मजदूरको लागि छुट्टी कहिल्यै हुँदैन ।’

त्यसपछि हामी यात्रा प्रबन्धका लागि चाहिने परिचयपत्र, पशुपतिनाथ, मुक्तिनाथ, आदिको विज्ञापन र साजसच्जा तयार गर्दै थियौं ।

म आफ्नो कार्यालयको काम सहकर्मीलाई टेलिफोनबाट निर्देशन दिदै गर्दै गएँ । समय बितेको पत्तो भएन । तीन बजिसकेछ । कार्यालय नजिक मित्र उलक र मैले खाजा खायौं । उनले ममः खाए । मैले चिया र पाउरोटीको बम । छुटिने बेला समाचार आयो, बालाजुमा प्रहरी र यातायात मजदूरबीच झगडा भएको छ । फेसबुक, टिकटकमा अनेक भिडियो आएपछि हामी कार्यालयमा बसेर बाँकी काम गरेर पाँचबजेतिर घर फर्कने तयारी गर्यौं ।

ठाकुर लामिछाने भेट भयो । उनले भने, ‘सडक जाम भएको खबर छ । तर मेरो मोटर होण्डाईको सर्भिस् सेन्टर गोँगबुमा सर्भिसको लागि छोड्नको लागि नाम टिपाएको छु । त्यहाँसम्म म तपाईलाई लिफ्ट दिनसक्छु ।’

मेरो सचिवालयका सहयोगी श्रीकृष्ण शर्मालाई फोन गरेँ ।

‘बालाजु क्षेत्र तनावग्रस्त छ, मोटर ल्याउन सकिन्न । मोटर यहीँ राखेर हिँडेर घर जाने हो, तपाई कता ?’ भन्दै ताजा विवरण र बालाजु क्षेत्रमा भएको गतिविधिको टिकटकको भिडियो पठाए ।

उनलाई भनेँ, ‘गोगबुसम्म जाने लिफ्ट पाएको छु, । तु मेरो ल्यापटप ब्याग लिएर दरबार स्कुल अगाडि आउनु ।’

त्यतिबेला हामी समा आर्टसको कार्यालय रहेको कमलाक्षी गणेशस्थानमा थियौँ । लक्काजवान चाइनाटाउनबाट दौडिएर १० मिनेटमा दरबार स्कूल अगाडि आएर उभिए ।

हामी कमलाक्षी गणेशस्थानबाट ५ः३० बजे हिडेको थियौं । जमल, लैनचौर, लाजिम्पाट र कान्ति अस्पताल हुँदै गोगबु पुग्न २ घण्टा १५ मिनेट लाग्यो । लाजिम्पाटको जाममा एम्बुलेन्सहरु कराउँदै गरको दृश्य, मोटरसाइकल र स्कूटरमा तेल सकिएर बाटोमा रोकिएको दृश्य, जामका कारण मोटर चलाउने डाइभरका मलिन अनुहार हेर्न लायक थिए । कलामित्र उलककी श्रीमती क्षेत्रपाटी अस्पतालबाट पठाउमा आएको तर लाजिम्पाट जाममा परेका रहेछन् । उनलाई पनि हामीले लिप्ट दिएर गोगबुतिर लाग्यौं ।

८ बज्न १५ मिनेट बाँकी हुँदा गोगबु पुगेका थियौं ।

‘गोँगबुबाट भित्री बाटो लोकतान्त्रिक चोक हुँदै घर आउनु, बालाजुतिर नजानु !’, फोनमा घरबाट श्रीमतीको आदेश आयो तर त्यो आदेश बेमतलबको थियो । मलाई बालाजु क्षेत्र हुँदै आउनु थियो ।

त्यहाँको अवस्था रणभूमि जस्तै थियो । प्रहरी र प्रदर्शनकारी कराउँदै थिए । मित्र उलक दम्पति र ठाकुर लामिछानेले ‘आज हाम्रो घरतिर जाउँ’ भनेर जिद्दी गरेका थिए । तर, मलाई भने बसपार्क, माछापोखरी क्षेत्रमा दृश्य हेर्न मन थियो ।

१२ बर्ष दैनिक पत्रकारिता गर्दा यस्ता भिडन्तहरुका दृश्य देखेर, समाचार लेख्दै जनआन्दोलन भाग २ को समय र त्यसअघि जनयुद्धका बेला माओवादीको प्रशिक्षण केन्द्रमा पाँच दिन तालिम लिन जाँदा उल्टै माओवादीलाई तालिम दिएर आएको अनुभव सँगालेको बहादुरीपन सम्झदै सहयोगी श्रीकृष्णलाई साथ लिएर गोँगबुदेखि निवाससम्मको पैदल यात्रा शुरु गरेँ ।

गोगबु क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको डफ्फा थियो । प्रहरीको साइटतिर जान लागेको श्रीकृष्णले भने, सानुबा प्रहरी भएकोतर्फ नहिँडौं । सडकको बीचबाट हिँडौं भनेको केही मोटरहरु हुइँकिएर आएका रहेछन् । त्यसपछि पसलको सटरसटर हुँदै हिँडेर बालाजुको नयाँ बसपार्क पुग्दा नपुग्दै तीन हुल प्रहरी प्रदर्शनकारी कराउँदै थिए । उनीहरु हानहान भन्दै थिए । प्रहरी लौरो लिएर कुददै थिए ।

हामी कहिले दायाँ, कहिले बायाँ हुँदै माछापोखरी आइपुग्यौँ । यही बीचमा नेपालनाम्चाको सम्पादक अशोक सिलवालको फोन आयो, ‘घर पुग्नुभयो ?’

मैले भनेँ, ‘म अहिले बालाजु क्षेत्रमा हिँडदै छु ।’

‘जोगिएर छिटो घर जानुस् अनि तुरुन्त अनुभव लेखेर पठाउनु’, सम्पादक हुन्, असाइनमेन्ट थपिदिए ।

नयाँबसपार्कको विष्णुमती पुल क्षेत्रमा हिँडिरहेका सर्वसाधारण आंतकित थिए । म भने प्रहरी देख्ने वित्तिकै हात माथि राखेर अगाडि बढेँ । माछापोखरी चोकनिर आगोको मुस्लो र सयौं सुरक्षाकर्मीको डफ्फा थियो । केही समय अगाडि त्यहाँ प्रर्दशनकारीले प्रहरीको बुथ, दुईवटा सवारीसाधन जलाईदिएका रहेछन् ।

सडकभरी सवारीसाधनका फुटेका सिसा र स्वास्थ्यलाई हानी गर्ने अश्रुग्याँसको गन्ध थियो । छिटोछिटो माछापोखरी चोकबाट बाइबासतिर लागेँ, केही मोटरसाइकलहरु पठाओ पठोओ भन्दै थिए । जोशमा हिँडिएको थियो । हिँड्नुको मज्जाको बीचमा बालाजुका अष्टनारायण चलचित्र हल अगाडि आएपछि लामो सास लिएर केही क्षेत्र जंगलको स्वच्छ हावा खान टक्क अडिएँ ।

त्यतिबेला शरीरमा खलखली पसिना आएको थियो । अनुहारमा धुलो र थकाइ मेटाउन एक किलो सुन्तला किनेँ । किलोको कति भाइ भनेर सडकको कुनामा बस्ने ब्यापारीलाई सोधेँ ।

‘१ सय ५० ।’

झनक्क रिस उठ्यो ।

‘१ सयमा १ किलो हुन्छ ?’

पहिले ‘हुँदैन’ भन्यो रात भएर होला पछि ‘हुन्छ’ भनेर दियो ।

त्यतिबेला ८ बजेर ४० मिनेट गएको थियो । केही मोटरसाइकल र गाडीहरु हुँइकिरहेका थिए । म आफ्नो सुरमा सुन्तलाको रसिलो स्वाद लिँदै पुरानो गुजेश्वरी मन्दिर क्रस गरेर बोहराटार हुँदै बासस्थान अर्यालटारसम्म आइपुगेँ ।

कहाँ पुगियो भन्दै कलामित्र सुरेशले दुईपटक फोन गरे । पर्यटन ब्यबसायी साझेदर कृष्णबहादुर थापाले ‘कहाँ पुगिदै छ, कता हो’ भनेर चाँसो दिए । गोँगबुदेखि अर्यालटारसम्मको यात्रा १ घण्टा १५ मिनेटमा पुरा भयो । ९ बजेर २५ मिनेटमा घर आइपुगेँ ।

बालाजु क्षेत्रमा जनयुद्ध दिवसको दिन जनयुद्धको जस्तो झल्को दिने गरी सर्वसाधरण जनता हात माथि उचालेर सडक वारपार गरिरहेका छन् भन्ने खबर पढेँ, जसको हिस्सा थिएँ, एकै छिनअघि म स्वयम ।

मैले त पत्रकारिता गर्दा सिकेको पाठ थियो, प्रहरी प्रदर्शनकारीको बीचमा सर्वसाधरण भएर हिँड्दा हात माथि राखेर हिँडनु पर्छ । त्यसरी पहिले पनि जोगिन गरेको थिएँ ।

भोलिदेखि सार्वजनिक यातायात बन्द घोषणा गरेको खबर छ ।

घरमा छोराले ‘मेरो कक्षा भोलि हुन्छ कि हुँदैन’ भनेर प्रश्न गर्दा उत्तर दिन सकिनँ तर राति १० बजे खबर आयो, ‘भोलि विद्यालयको बस चल्दैन । भौतिक कक्षा हुँदैन तर १० बजेदेखि अनलाइन कक्षा हुन्छ ।’

कक्षा ९ मा पढ्ने छोरोेले सोध्यो, ‘आज खास भएको कुरो के हो ?’

मैले भनेँ, ‘अहिले म लेख लेख्दै छु, । भोलि सबै कुरो बताउँला । अहिले सुत्ने बेला भयो ।’

यो सहरमा कहिले के हुन्छ भन्न नसकिने भयो । शुक्रबार राष्ट्रपतिको सवारीका बेला प्रहरीले डाक्टर कुटे । आज यातायात मजदूरले प्रहरीको प्रहरी बुथ र २ वटा मोटर जलाए । देशमा के हुन लागेको हो कुन्नी ?

पत्रकार भनेर सबैले मलाई सोध्छन् । उत्तर दिन नसक्ने भो गाँठे ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button