विशेष सामाग्रीः महारानी, पटरानी, रानीसँगै अन्तिम भोग्या मानिएकी षोडसी पनि सती गई

ती सबै मृतदेहसँगै सती जान हिंडिरहेका थिए । महारानी, पटरानी, रानी र अरू पाँच जना युवती पनि थिए र सबभन्दा पछि त्यही अन्तिम भोग्या मानिएकी हिजोकी षोडसी थिई ।

“विश्वमित्र” काे पहिलाे अङ्ककाे एक प्रति लिएर ऊ गाेठालेकाे घर पुग्याे– ताेकिएकाे दिनकाे ताेकिएकै समयमा । तिनताक उनीहरू सबै, सगाेल खानदान पाकाेकाे पुरानै उही बस्दथ्ये– उही सुविख्यात “शारदा” छापिने घर । त्याे घर- परिवारकाे सबै पुरुष सदस्यसित ऊ परिचित थियाे– कान्छाे हिक्मत त २०१४ साल, बी. ए. सम्म उसका कलेज सहपाठी नै थिए, उनका दाजु, पछिका नाम चलेका वनस्पतिविद् समर, उनका दाजु फत्ये, पछिका मेडिकल डाक्टर पनि साथी समान थिए, उनका दाजु २००५ सालका नामी प्रजा पञ्चायती वक्ता एवम् सुविख्यात साहित्यकार, विजय र उनका पनि दाजु गैर- राजनीतिक तर उत्तिकै प्रख्यात कथाकार “गाेठाले” त २०३० काे दशकमा “साेभियत भूमि” काठमाडौंँमा जाेरगणेश प्रेसमा छापिन थालेदेखि गाढा सम्बन्ध नै बनेकाे । प्रकाशन आयकाे कुराभन्दा पनि राजनीतिक तात्पर्यका कारेण जाेखिमकै काम थियाे, तिनताक “साेभियत भूमि” छाप्नु भनेकाे ! चीनकाे विराेध चलिरहेकै थियाे साेभियत संघका कुनै पनि गतिविधिप्रति, अनि अमेरिकी सत्ताकाे “स्वतन्त्र विश्व” पत्रिका पनि नेपाली भाषाबाट शीतयुद्धकाे डङ्का बजाएकाे बजायै गर्ने गरी साेभियतहरूकाे विराेधमा अब्बल थियाे ।

तिनताक रङ्गीन सचित्र “साेभियत भूमि” छाप्ने गाेठाले पनि “विश्वमित्र” रङ्गीन अङ्क देख्दा प्रसन्न भएका ऊ सम्झन्छ ! हार्दिकताकाे वातावरणमा कुराकानी चल्दै जाँदा उसले उनीबाट “विश्वमित्र” का लागि एउटा कथाकाे अनुराेध गर्दा त्यसलाई सहर्ष स्वीकार गर्दै आफ्नाे भर्खरकाे रचना उत्तिखेरै दिए– मानाैँ याे अवश्यंभावी छ भनेर उनले काेठाकाे सहज ठाउँमा राखेका हुन् !

बाेलीबचन, शिष्टाचारमा आखिर मल्ल राजका खानदान कहाँ कम थिए र ! त्यसमाथि गाठाले त विनयशीलता पर्याय, यद्यपि उनकाे काकाका छाेरा सुरेन्द्र तथा शान्त पनि कम हाेइनन् ।

“विश्वमित्र”काे दाेस्राे अङ्कमा छापिएकाे याे कथालाई पाठक वा समालाेचकहरूले कसरी लिए त्याे जान्ने जमर्काे उतिबेला भएन ! तर नेपालकाे पत्रकारिता जगतकाे याे नाैलाे रवाफिलाे प्रकाशनप्रति ती सुविख्यात शब्दशिल्पीकाे सदाशयता भने निश्चय थियाे ! उनीप्रति भापपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै र उनकाे आत्मा जहाँ हाेस् त्यसलाई शान्ति प्राप्त भइरहाेस् भन्ने कामनासहित आज याे कथा पुनर्प्रकाशन गर्न उही “नेपालनाम्चा”मा प्रस्तुत गरिएकाे छ जुन यसप्रकार छ– अरविन्द रिमाल ।

इतिहासले बिर्सेकाे घटना

गाेविन्दबहादुर मल्ल (गोठाले)

सोह्र श्रृंगारले युक्त षोडसी राजाको कक्षतिर पाइला सादै थिई । उसको मेहदी लगाएको सुकोमल हात आज्ञाकारिणी परिचारिकाको पकडमा थियो । युवती हिंडिरहेकी थिई या डोरिईरहेकी थिई, त्यो उसलाई थाहा थिएन । ऊ राजाको कक्षतिर पाइला चालिरहकी थिई । बाटोमा रहेको बुट्टेदार खम्बाहरू एकपछि अर्को उसको आँखाबाट ओझल भइरहेका थिए । बाटो निसासिएर मौन थियो, तर युवतीको पाउजेब लगाएको खुट्टा आफ्नै गतिले अघिल्तिर बढ्दै थियो । राजाको कक्षको पर्दा सरसराएर खुल्यो । राजा रूपवती यौवनाहरूले घेरिएर अवस्थित थिए । भर्खर मात्रै रित्तिएको सुराको प्याला भुइँमा राखेर राजाले आफ्नो दृष्टि यो भरखर प्रवेश गरेकी षोडसी युवतीमाथि पारे । आँखीभौं समेत सेतो भएको राजाको जर्जर शरीरमा हलचल पैदा भयो र उनको सेतो मुठ्ठे जुँगा भएको ओठ मुस्कुरायो । परिचारिकाले युवतीलाई अलि बेसरी तानेर कक्षभित्र घुसाई र कर जोडेर प्रणाम गरी र बाहिर निस्की । युवती कक्षभित्र घुसिसकेकी थिई । राजाको इशारा पाएर यौवनाहरू हावभावसहित ओझेल भए । अब राजा र षोडसी मात्रै कक्षामा थिए ।

राजा अकेला थियो । त्यहाँ कक्षमा षोडसी पनि अकेली थिई । राजाले रित्तिएको सुराको प्यालालाई एकछिन् निहारे र युवतीलाई हेरे । युवती जड हो कि चेतन त्यसै उभिरहेकी थिई । त्यस्तै उसको दृष्टि जड हो कि चेतन राजाको सेताम्य जुंगा र चाउरिएको गालामा अवस्थित थियो । राजाले नजिक आउन युवतीलाई इशारा गरे तर युवतीले इशाराको अर्थ बुझिन । राजा सुस्तरि उभिए । झुकेको जर्जर कमरमा दुवै हातले थिचे । शरीरमा हुनुपर्ने जति स्फूर्ति थिएन, खालि आँखामात्र लोलुप थियो । युगानु युगको भोगको अतृप्ति समाएको थियो ।

राजाको बाहुले युवतीको कुम समायो र युवतीको कुम अनुभूतिहीन थियो । राजाको बाहुले युवतीलाई सुस्त-सुस्त शैयातिर डाेर्‍यायाे । युवती पनि त्यस्तै सुस्तसुस्त राजाको गतिसँगै तानिदै गई । शैयामा राजा थकित सुस्केरा हालेर बसे । युवती पनि त्यही गतिमा बस्न पुगी । राजाले एकछिनसम्म युवतीको रूप यौवनलाई अतृप्त आँखाले हेरिरहे । अहिले राजाले कवितात्मक किसिमले आफ्नो ओठ युवतीको अधरनिर पुर्‍याए । तर यो के ? राजाको ओठले युवतीको अधर चुम्बन गर्न, छुन सकेन । त्यो त्यसैबीचमा लत्रङ्ग झुण्डियो । राजा घुप्लुक्क शैयमा पछारिए । युवती अझै जड होकि चेतन पछारिएर फरफराएको राजाको शरीरलाई हेरिरही । अब राजाको शरीरले फरफराउन छोड्यो । त्यो शरीर एकदम स्थिर शान्त भयो । राजाको आँखा निस्तेज माथि हेरिरहेको थियो । आँखाको नानीमा केही हलचल छैन । आँखा त्यसै उदाङ्ग थियो । अब राजाको पार्थिव देहलाई श्मसान घाटतिर लगिंदै थियो । नाङ्गो बदन, सेतो घोती लगाएका चार ब्राम्हणले बोकेका थिए । श्मसान घाटतिर त्यो देह जाँदै थियो । पार्थिव देहको अघिअघि हृदय विदारक बाजा बजिरहेको थियो । देहको पछिपछि महारानी, पटरानी, रानी र अरू पाँच जना युवती पनि थिए र सबभन्दा पछि त्यही अन्तिम भोग्या मानिएकी हिजोकी षोडसी थिई । ती सबै मृतदेहसँगै सती जान हिंडिरहेका थिए । सती जानेहरू सबै अलंकारले विभूषित थिए । षोडसीले हिजो जुन अलंकार पहिरिरहेकी थिई अहिले पनि पहिरिरहेकी छ । हिजो जसरी सोह्र श्रृंगार गरेकी थिई अहिले पनि जस्ताको तस्तै छ । युवती जड हो कि चेतन राजाको पार्थिव देहको चालमा महारानी, पटरानी, रानी र अरू पाँच जना युवतीको पछिपछि लागिरहेकी थिई । पार्थिव देहको अघिल्तिर बजिरहेको बाजा यथावत् थियो । सती जानेका पछिपछि ब्राम्हणहरूको स्वधा स्वस्तिको गायन यथावत थियो । बाटोभरी मिश्रित कोलाहल जस्ताको तस्तै व्याप्त थियो ।

युवती हिंडिरहेकी थिई । अचानक युवतीको आँखा उठ्यो र लाम लागेर हेर्न उभिएका शिरैशिरका बीचमा स्थित एउटा अनुहारमा पर्‍याे अर्थात् त्यो अनुहारमा स्थित आँखामा पर्‍याे । स्थिर आँखाले युवतीको आँखामाथि दृष्टिपात गर्‍याे । एकै क्षणमा, एकै पलकमा सारा ब्रह्माण्ड ती दुवैको दृष्टिको मिलनमा समावेश भयो । बाजागाजा, स्वस्तिस्वधाको कोलाहलका बीचमा प्रलयको सृष्टि भयो । त्यो त्यही पुरूषको अनुहार थियो जोसँग युवतीको बिहे हुने निधो भएको थियो । अब ती सबै प्रलयको आहुतिमा विलीन हुने भए । श्मसान घाटतिरको प्रस्थान रोकिँदैन । त्यसले गति लिइनै रहेको थियो ।

राजाको पार्थिव देहलाई श्रृखण्डको चितामाथि राखियाे । दागबत्ती दिनुुअघिको कर्मकाण्ड सिद्धियो । रानी, महारानी र अरू सती जाने सबैले आफ्नो आभूषण फुकालेर ब्राम्हणहरूलाई दान गरे । षोडसीले पनि हिजै मात्र लगाएको आभूषण अलङ्कार सबै फुकालेर थापेका हातमाथि राखि दिई । राजाको पार्थिव देहको शिरलाई काखमा राखेर महारानी बसिन्, राजाको दायाँ कुम समाएर पटरानी बसिन्, बाँया कुम समाएर रानी बसिन् । दुई घुँडा समाएर पाँच जना युवतीहरू लहरै बसे र सबभन्दा तल राजाको पैँतला धोएर षोडसी बसी ।

प्रलयङ्कारी शब्द विशब्दसँग बाजा बज्यो । त्यस्तै महानादसँग ब्राम्हणहरूको स्वस्ति बाचा व्याप्त भयो । अझ त्यसलाई पनि स्पर्धा गरेर दर्शकहरूको चिच्याहट दिगदिगन्त व्याप्त भयो । हिजै मात्रै फरफराएको राजाको ओठमा युवराजले अग्निको स्पर्श गरिसकेका थिए । त्यो अग्नि पलक भरमै यथावत कोलाहलसँगसँगै महारानी, पटरानी, रानी र अरू युवतीमाथि फैलियो र त्यो अग्निले षोडसीलाई छोप्यो । क्षणभरमै धुँवा धुँवाको मुस्लो चिता र चिताको चारैतिर व्याप्त भयो । तर चारैतिरको कोलहललाई चिदैफार्दै, प्रहरी स्तम्भित पनि हुन नपाउँदै बिजुली चम्के भै चट्याङ खसे झैँ अधघको त्यो पुरूष दनदनाएको चितामाथि झर्न पुग्यो ।

त्यो पुरुषको हातले षोडसीको डढेको शरीरलाई अंगाल्न पुग्यो । त्यही बेगमा राजाको आधा सल्केको देह उछिट्टिएर चिताबाट झर्न पुग्यो । ब्राम्हणहरूले झम्टेर त्यो पुरुषलाई चिताबाट झार्न खोज्नु अघि नै त्यो पुरुष षोडसीलाई समाएको समायै अनुहार डढेर मरिसकेको थियो ।

(साभार, नेपाल राष्ट्रिय पाक्षिक “विश्वमित्र”, वर्ष १, अङ्क २, २०५१ साल, साउन १६-३०)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button