
सरी डियर ! अब त सिउँदोमा अर्कैको सिन्दुर र काखमा छोरा छ
कथाः अधुरो प्रेम
कल्याणी तिमल्सिना
सहरबाट केहि किलोमिटर टाढा धुलिखेल गाउँ निकै सुन्दर र मनमोहक थियो । गाउँको सुन्दरतासँगै त्यहाँका मानिसहरू पनि निकै स्वाभिमानी र भलादमी थिए । लाग्थ्यो, उनीहरूको यो बेग्लै संसार थियो । त्यही सुन्दर गाउँमा एउटी सुन्दर नानी पनि थिइन् । उनी आफ्ना बुवाआमाका साथमा थिइन् । उनी असाध्यै सुन्दर थिइन्, मानौं भगवानले उनलाई निकै समयसम्म मेहनत गरेर बनाएका हुनुपर्छ ।
नानी ठूली हुँदै गइन् । जब दश वर्ष पुगेर एघारमा प्रवेस गरिन् तव रजस्वला अर्थात मासिकधर्मको प्रकृयामा पुगिन् । बुवाआमा र समाजलाई नै देखिने गरेर उनको मनमा डरसँगै उल्लास पनि छाएको स्पष्टै छ । एउटा नितान्त नयाँ जीवनले पर्खिरहेको थियो । जीवनमा आउने परिस्थिति कस्तो होला, थाहा थिएन ।
आमाबुबाको काखमा खेल्दै गर्दा अब समाजमा रहेका गिद्धे नजरबाट पनि बच्ने दिन आइरहेको थियो । घरकी नानी अब आफ्नै नामबाट चिनिने भएकी थिइन् । आफू बाँच्नका लागि आफै केही गरी चिनिनु पर्छ भन्ने सोच बोकेर उनी उच्च शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्न कम्मर कसेर तयार भईन् ।
सुन्दर अनुहार, लामो कपाल, सरलक्क परेको जीउ, लामा लामा हातका औँला अनि त्यसमाथि रातो लुगा र थोरै हिल भएको जुत्ता लगाएर क्याम्पस पुग्दा सबैको आँखा उनी माथि नै झुमिन्थे । सबैको मुखमा वा क्या दामी, अप्सरालाई पनि मात दिने रुप भएकी यी को हुन् ? कस्की छोरी हुन् ? भन्दै एकोहोरो हेरिरहेन्थे केटाहरू, जबसम्म उनी ओझेल पर्दिन थिइन् ।
तर यो कुराले उनलाई केही फरक पारेन किनकी यो पहिलो पटक देखिएको दृश्य थिएन । होइन उनी त्यतिखेर सत्र वर्षकी थिइन् । नराम्रो मान्छे राम्रो देखिने उमेर हो त्यो । तर, उनी अप्सरा नै थिइन त के कुरा गर्नु र उफ । क्याम्पस आउजाउ गर्दा बाटोमा एउटा मान्छेसँग निरन्तर भेट हुन थाल्यो । त्यस अन्जान मान्छेसँग टाढिने कोसिस गर्दागर्दै पनि ती अन्जान मान्छेको हजारौं कोसिसका अगाडि उनी नजिक हुन पुगिन् । फेरि न कुनै नाम थाहा छ, न थर, न घर नै । तर एकान्तमा उसलाई आफ्नो सम्झनामा वर्णन गर्दै थोरै एक्लै रम्न रमाउन थालिन् । सायद त्यो माया थियो कि वा उमेरको झट्टी थियो, समयले बक्ने छ नै, जसले गर्दा सुरु भयो कठिनाइका दिनहरू । ठूलाठूला सपनाहरूको सुनौलो स्वप्नील भारी बोकेर उच्च शिक्षा लिन हिँडेका ती पाइलाहरू अब अन्तैअन्तै लम्किन कोसिस गर्दैथिइन्, जहाँ रोक्ने कोहि थिएनन् । उन्मत्त उमेर सवार साथमा । उनलाई अन्जान व्यक्तिको लत बसी छाड्यो । ती व्यक्ति अब परिचित भए हरतरहले । दीपक नामका धनी थिए । दिनहरूले धेरै नै नजिक ल्याइदिएका थिए । त्यसैले उनले एकदिन अनायासै बिहेको प्रस्ताव राखे । ती सुन्दरी चकित परिन । हेरिराखिन् उसलाई । दीपकले के भनेको भनी अलमल र असमजमा परिन र टोलाएर हेरिरहिन् । दिमागमा धेरै कुरा सल्वलाए । अनेक प्रश्नहरू उठे । त्यसको समाधान अनेक निस्किए दिमागमा । जुरुक्क उठिन त्यहाँबाट र बाटो लागिन्, बेल्दै नवोली । पछाडि फर्केर पनि नहेरी । सदाको लागि टाढा भइन् र सम्बन्ध जुन हुर्कदै थियो टुट्यो सदाको लागि । अनि फेरि ती दुईको भेट भएन ।
तर समय बित्तै गयो । उसैको सम्झना पो मनमा पलाउॅंदै गयो । बिर्सन कोशिस गरिन् तर सम्भव भएन । त्यो उमेर र उसका विनम्रताले गाँजिछाड्यो ।

ती सुन्दरी फेरि उसलाई भेट्ने आशा लिएर अगाडि आइन्, उसलाई खोज्न निस्कन । तर उनी निस्कँदा समय निकै पर पुगिसकेको थियो । हराएको चीज खोज्न निकै मुस्किल छ । यहाँ उनले नै त छोडेकी थिइन । तब त कहाँ भेटिन्थो सजिलै दीपकलाई ? खोज्नेक्रममा निकै दुःख पाइन् । सजिलोसँग पाएको माया आज निकै कष्ट गरेर खोज्दै छिन् । यसमा कुनै रहस्यमय कुरा अवश्य र पक्कै होला । आफ्नो स्थानबाट सकेको गरिन् तर भेटिनन् ।
उता घरमा बिहेको कुरा चल्यो । बिहे रोक्न अनेकौं कोशिस र हारगुहार गरिन्, सकिनन् । बा–आमाको कुरा मानेर बिहे गरिन् । किनकी दीपकलाई भेट्ने आशा उनको मारिसकेको थियो ।
उनको घर राम्रोसँग चलिरहेको छ, भगवानको कृपाबाट । एउटा राम्रो छोरा जन्मेको छ । सबै सोचे जस्तै भएको छ । सबै खुशीखुशीसँग रमाइरमाइ बसेका छन् ।
अचानक एक दिन सुन्दरीको मोबाइलमा एसएमएसको संकेतको धुन बज्छ । सुन्दरी पढ्छिन्, लेखिएको हुन्छ, “नानु, कस्तो छ हजुरलाई ?”
पढ्नासाथ ती सुन्दरीले थाहा पाउँछिन, त्यो मेसेज दीपकको हो । किनकी यो १३ वर्षमा सुन्दरीलाई कसैले नानु भनेर बोलाइएको छैन । दीपकले मात्र त्यो शव्द प्रयोग गर्ने गरेको थियो । उनी असमजमा परिन् ।
उनलाई मेसेजको जवाफ दिन आएन । किनकी सिउँदोमा सिन्दुर र काखमा छोरा छ । के लेखु के बोलुँ भइन ? खोज्दाको अनेक हन्डरहरूर त्यो प्रितीको समयलाई मनमा उरलधुरल गर्दै मनका शव्दहरूले पुकारिन् ।
“हजुरलाई निकै खोजें कहिॅं भेटिन । तब बा–आमाले बिहे गरिदिनु भयो” भन्दै रोएको इमोजी पठाइन् र सँगै लेखिन्, “म सँग मेरो छोरा पनि छ ।”
दीपकले जवाफ दिए, “हजुर खुसी हुनुहुन्छ नि ?”
जवाफमा लेखिन्, “खुसी त थाहा छैन सुखीचाहिँ छु, संसारको सुन्दर फूल मेरो काखमा खेल्दै गरेको देखेर ।”
अब बल्ल सोधिन्, “हजुरको घरमा को को हुनुहुन्छ नि ?”
उहाँको जवाफ निकै चोट पुग्ने गरी आयो, “बाबा बित्नु भयो, आमा एक्लै हुनुहुन्छ र मेरो मन, मुटु, कल्पना र सिङ्गो जीवनमा आज पनि हजुर हुनुहुन्छ ।”
सुन्दरीका आखाबाट आँसु छचल्कियो । लेख्ने कुरा यसै थिएन, अब झनै शब्द रहेन ।
“भगवानले हाम्रो भेट खोजेको बेला किन गराएन थाहा छैन । अहिले भेट किन गरायो, त्यो पनि थाहा छैन । नदीको दुई किनार भएको छ हाम्रो सम्बन्ध ।” लेखिन् र पठाइन् ।
जवाफ आयो, “यो जुनीमा हजुरलाई बाहेक अरूलाई आफ्नो मनमा अटाउन सकिन । यो हातले अरूको हात छुनै सकेन । माफ गर्नु, हजुरलाई बाहेक अरूलाई सोच्नै सकिन । यो जुनी हजुरको यादमा अर्को जुनी हजुरको साथमा ।”
अब वाक्यलाई निर्माण गर्न सकिनन् । आँखाहरूलाई समुन्द्र बनाएर सम्झिरहिन । मनमा यी शव्दांश उठिरहे अमर भएर, “पहिलो प्रेम सबैको जीवनमा निकै महत्वपूर्ण मानिन्छ र पहिलो प्रेम सदैव अधुरो नै रहन्छ । प्रेम हाँसिल गर्ने कुरा हैन, अनुभूतिको सङ्गालो हो, अधुरो प्रेम जीवन जिउने मीठो सपना हो ।”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)