‘किताबका अक्षरले माया गर्दैन मैयाँ ! माया त सन्चो-बिसन्चो हुँदा निधार छाम्ने न्यानो हातमा हुन्छ’
'केको प्रेम ? कस्तो प्रेम ? उहाँलाई त किताबसित मात्रै प्रेम छ, मेरो होइन ।' अनि म भन्थेँ, 'उहाँले आफ्ना धेरै किताबमा हजुरलाई माया गरेर हजुरको संघर्ष र योगदानको बारेमा लेख्नुभएको छ नि त !' मेरो कुरा सुनेर रसिला आँखा बनाउँदै रुन्चे स्वरमा भन्नुहुन्थ्यो, 'किताबका अक्षरले माया गर्दैन मैयाँ ! माया त सन्चो-बिसन्चो हुँदा निधार छाम्ने न्यानो हातमा हुन्छ । उहाँलाई यस्तो फुर्सद नै कहाँ !'
आमा बिर्साउने आमा !
रामेश्वरी पन्त
गेटअगाडि पुगेर घण्टी थिचेको केहीबेरमा माथिबाट एउटा उज्यालो र हँसिलो अनुहार बरन्डामा निस्केर चाबिको झुप्पो तल झारिदिएपछि मैले ताला खोलेर भित्र छिर्थेँ र सिधै माथि उक्लन्थेँ । त्यो उज्यालो अनुहार माथि ढोकै अगाडि उभिएर मैलाई पर्खिरहेको हुन्थ्यो । म त्यहाँ पुग्नुको खुशी त्यो अनुहारमा कति झल्कन्थ्यो, अनुमान नै लगाउन सक्दिनथेँ । त्यो अपरिमित खुशी हृदयभरि समेट्दै हामी सङ्सङ्गै भित्र छिर्थ्यौं ।
भित्र अर्को वृद्ध अनुहार मेरो आगमनमा मुस्कुराइरहेको हुन्थ्यो । प्रायः म समयले साथ दिएसम्म निरन्तर त्यो घरमा गइरहन्थेँ । एककिसिमले म त्यो घरको एउटा सदस्यजस्तै बनिसकेकी थिएँ । अर्थात् त्यहाँ हामी तीनजना हुन्थ्यौं म बसुन्जेल र दोहोरा तेहेरा गफ चल्न थाल्दथे । अनि, समय बितेको पत्तै हुँदैननथ्यो तर पनि जबर्जस्ति कुरा टुङ्याएर उठ्नु र घरतिर लाग्नु बाध्यता हुन्थ्यो ।
समय न हो ! कसैको सुन्दैन यसले । बचेरा हुर्केर लाखापाखा लाएपछिको रित्तो गुँड कुरिरहेका ढुकुरका जोडी जस्ता ती वृद्ध जोडीमध्ये एकजनालाई एकदिन समयले खोसेर लग्यो । त्यो वियोगमा अर्को त्यसैत्यसै मुर्झाएर लामो समयसम्म जीवनहीन जस्तै जीवन बाँचेर एकदिन उसले पनि यो धर्ती, त्यो घर सदाको लागि छोडेर महाप्रस्थानको बाटो समात्यो । अर्थात् फुरुक्क पर्दै हँसिलो अनुहार लिएर बार्दलीबाट साँचोको झुप्पो खसाल्ने त्यो फुर्तिलो र सुन्दर वयोवृद्ध शरीरको अवसान भएको खबर एकाबिहानै फेसबुकबाट पाउँदा संसारै रित्तिएजस्तो महसुस भयो ।
सधैं बन्द हुने गेट खुलै थियो । सरासर भित्र गएँ । भित्र ढोकैअगाडि पिताम्बरीले छोपिएको एउटा सानो टेबुलमाथि रातो सारी, रातै ब्लाउज अनि निधारमा ठूलो रातो अबिर-अक्षताको टीका लगाएर अप्रतीम मुस्कान छोडिरहेको उही गोरो तस्वीर सयपत्रीको मालामा सजिएको थियो । अर्थात् एउटी महान आमा ! प्यारी अनि श्रद्धेय आमा रीता दीक्षितको निर्जिव तस्वीर मुस्कुराईरहेको थियो ।
रीता दीक्षित अर्थात् स्वर्गीय मदनमणि दीक्षितकी धर्मपत्नी । सबैले उहाँलाई यसै भनेर चिनाउने गर्छन् तर उहाँ स्वयम् एउटा परिचय हुनुहुन्थ्यो भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ । कुनै पनि पुरुषको सफलता र प्रशिद्धिमा कुनै न कुनै रुपमा महिलाको हात पक्कै रहेको हुन्छ तर ती महिला हमेशा ओझेलमा पर्न पुग्छन् ।
रीता दीक्षित पनि यस्तै ओझेलमा परेकी एक आदर्श, संघर्षशील, सहनशील, बौद्धिक र विवेकशील नारी हुनुहुन्थ्यो । जीवनमा आइपरेका अनेक दु:खकष्ट, आपदबिपद, अभाव र गरिबीलाई पनि सहज रुपमा लिएर तिनीसँग संघर्ष गर्दै परिवार र बालबच्चाको जीवनलाई सहज बनाउन धैर्यतापूर्वक आफ्नो जीवन समर्पण गर्नुभएकी उहाँको संघर्षको कथा बाहिर आउन सकेन । पतिको बामपंथी राजनीतिक यात्राले परिवारमा निम्त्याएको अभावको पहिरो टाल्न आफूले गरेका संघर्षका कथा सुनाउँदा आमाका नयन अश्रुपूरित हुन्थे भने ती कथा सुन्दा मेरो मन द्रभिभूत हुन्थ्यो । कम्युनिस्ट राजनीतिमा लागेपछि आफ्नो सम्पत्तिबाट बेदखल भएको र घर चलाउन र छोराछोरीको पेट भर्न माइतिको सहारा लिनुपरेको कथा भन्दैगर्दा उहाँले सङ्गै बस्नुभएका मदनमणिजीतिर देखाउँदै भन्नुहुन्थ्यो, ‘उहाँलाई त के मतलब थियो र घर कसरी चलिरहेको छ ? छोराछोरीले के खाए ? केही थाहा हुँदैनथ्यो । छोराछोरीले पढे कि पढेनन्, को को कति कक्षामा पढेका छन् ? त्यो पनि थाहा हुँदैनथ्यो । सारा जिम्मेवारी मेरै थाप्लोमा हुन्थ्यो । घरमा चामल सकिएको हुन्थ्यो, छोराछोरीलाई के ख्वाउने भन्ने चिन्ता परेको बेला कम्युनिस्ट भनेकाहरू मेरै घरमा खान आउँथे । के खुवाउनु मैले ? कनिका थियो, त्यही पनि पकाएर तिनको पेट भरिदिन्थेँ ।’ आमाले यसो भनिरहँदा हाँस्नुहुन्थ्यो र फेरि तुरुन्तै आक्रोशित हुँदै भन्नुहुन्थ्यो ‘साँच्ची मैयाँ ! मलाई त कम्युनिस्ट भन्ने बित्तिकै यति रिस उठ्छ कि के भन्नू ! यति दुख दिन्थे र मलाई ! कनिकाको भात पनि छोडेनन् । तर आज हेर्नू त यिनले के गरे देशको लागि ? हाम्रो दुखमा बरु खाइलागे, त्यसको बदला केही गर्न सकेनन् । यिनको त नामै सुन्न मन लाग्दैन ।’ उहाँले पकाएको कनिकाको भात खान कोको आउँथे त्यो पनि भन्नुहुन्थ्यो ।
साँच्चै भन्ने हो भने रीता आमा एउटा सिङ्गो इतिहास हुनुहुन्थ्यो । राणाहरू देखि प्रजातन्त्रका मशिहाहरूका चरित्रलिला सुनाउनुहुन्थ्यो । ‘को नेता कस्ता थिए, को साहित्यकारको आनिबानी कस्तो थियो, सबै भन्नुहुन्थ्यो । समय बितेको पत्तै नहुने । पटकपटक दोहोरिन्थे यस्ता कुरा । यता फेरि बुबाका कुरा पनि नसुनी नहुने ! उहाँका कुरा पूर्वीय दर्शन र साहित्यका हुन्थे । पालैपालो दुबैका कुरा सुनेर आनन्दित हुन्थेँ म ।
जबजब मलाई आमाको न्यास्रो लाग्थ्यो, म उहाँलाई भेट्न कालिकास्थान पुग्थेँ । म त्यहाँ पुग्दा आमाबुबा दुबै खुशी हुनुहुन्थ्यो । ९० पुग्नै लागेको आमाको त्यो बृद्ध शरीरको फूर्ति देख्दा त्यति उमेर भएजस्तो लाग्दैनथ्यो । म पुग्न पाएको होइन, ‘मेरो छोरीलाई चिया बनाउँछु’ भन्दै फुरुक फुरुक गर्दै भान्सातिर लाग्नुहुन्थ्यो । मैले भो भन्दा पनि मान्ने कहाँ हो र !
उता आमा भन्सातिर लाग्नुहुन्थ्यो, यता म बुबाको छेउमै बसेर पूर्वीय दर्शनका विविध प्रसङ्ग सुन्थेँ । पूर्वीय सभ्याताका नारीपात्रहरूको बारेमा सुनाउनुहुन्थ्यो । उहाँले आफ्ना प्रायः सबै पुस्तक मलाई पढ्न दिनुभएको थियो र पछिल्ला तीन पुस्तकमा त भुमिका लेख्ने अवसर दिनुभयो । यो अवसरको लागि निकै कृतज्ञ छु ।
उहाँले आफ्ना आत्मकथामा आफ्नी जीवन सङ्गिनी रीता दीक्षितको सहयोग, त्याग र योगदानको उल्लेख गरे पनि कताकता आमा भने सन्तुष्ट नभएका अभिव्यक्ति पटकपटक सुनाउनुहुन्थ्यो आमाले । कुरा गर्दै जाँदा एक अर्काको अभिव्यक्तिको पूरक बनेको देख्दा मैले भन्ने गर्थेँ, ‘हजुरहरूको यो प्रेमको दस्तावेज लेख्नुपर्छ आमा !’
तर मेरो कुरा टुङ्गिन नपाउँदै आमाले जङ्गिदै भन्नुहुन्थ्यो, ‘केको प्रेम ? कस्तो प्रेम ? उहाँलाई त किताबसित मात्रै प्रेम छ, मेरो होइन ।’ अनि म भन्थेँ, ‘उहाँले आफ्ना धेरै किताबमा हजुरलाई माया गरेर हजुरको संघर्ष र योगदानको बारेमा लेख्नुभएको छ नि त !’ मेरो कुरा सुनेर रसिला आँखा बनाउँदै रुन्चे स्वरमा भन्नुहुन्थ्यो, ‘किताबका अक्षरले माया गर्दैन मैयाँ ! माया त सन्चो-बिसन्चो हुँदा निधार छाम्ने न्यानो हातमा हुन्छ । उहाँलाई यस्तो फुर्सद नै कहाँ !’
‘अब हजुरको आत्मकथा पनि लेखाउनुस् आमा’ भनेर मैले भन्दा उहाँले भन्नुभएको थियो, ‘कसले लेख्छ मेरो कथा ? सीताको रामायण लेखियो, द्रौपदीको महाभारत लेखियो तर मेरो के लेखियो ?’ ‘मैले गरेका संघर्ष त महाभारत भन्दा पनि ठूला छन् मैया’ भन्दै सारीको सप्कोले आँसु पुछेको सम्झँदा आज पनि नमज्जासँग चिमोटिन्छ मेरो मुटु । साँच्चै भन्दा आमालाई आफ्ना दुख र संघर्षका कथा लेखाउन मन थियो । एकदिन त भन्नुभएको पनि थियो, ‘मेरो कथा छोरीले लेखिदिनुस् न ! म भन्दै जान्छु, तपाईं लेख्दै जानुस् ।’
आमाको कथा लेख्न पाए म पनि धन्य हुन्थेँजस्तो लाग्यो र हुन्छ पनि भनिदिएँ तर विविध कारणले यो कुरा त्यत्तिकै सेलायो । आमाको मनमा भने आफ्नो कथा व्यथा लेखाउने धोको खट्किरहेको थियो । यत्तिकैमा बुबाको निधन भयो । आमाले आफूलाई नितान्त एक्लिएको महशुस गर्नुभएछ क्यार, विस्तारै बिर्सिने समस्यातिर जानुभयो । मलाई अझै पनि विश्वास छ, उहाँकी सुपुत्री साहित्यकार ईल्या भट्टराईले आफ्नी आमाको कथा लेख्ने इच्छा पक्कै पूरा गरिदिनुहुने छ ।
राणा शासनको समयमा, राणा परिवारसँग नजिकिएको परिवारमा बालकै उमेरमा बिहे भएर भित्रिएकि भए तापनि आमाको ज्ञान, विवेक र उदार सोच देखेर म दङ्ग पर्थेँ । उहाँको बुहारीप्रतिको सोच र माया कुनै आमाले छोरीलाई गर्ने माया र व्यवहार भन्दा कम थिएन । सायद लाखौंमा एक हुन्छन् यस्ता सासू त ! उहाँ त मायाको विशाल सागर नै हुनुहुन्थ्यो । नत्र म कहाँको कहाँको मान्छे ! उहाँको मायाको छहरामा यसरी नुहाउन पुग्थेँ कि मैले उहाँभित्र आफ्नै जन्मदिने आमा देख्थेँ । आज उहाँको स्वर्गवासले म आफूलाई फेरि एकपटक टुहुरो महशुस गरिरहेकी छु । अब आमाको न्यास्रो मेटाउने बाटो बन्द भएको छ ।
उहाँको त्यो फुर्तिलो शरीर, उज्यालो अनुहार, त्यो मीठो चिया र बिस्कुट अनि त्यो असीम माया हमेशा याद गर्दै यिनै शव्दपुष्पसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै त्यो पून्यात्माको वैकुण्ठबासको कामना गर्दछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)