आफ्नो शरीर आफ्नै श्रीमानलाई बेच्ने आन्टी
घरकी रखैल
एलिशा थाम्देन लिम्बू
कोशी सेन्ट जेम्स कलेज, इटहरी–९, सुनसरी
‘नानीहरु तिमीहरू अर्कै कोठा खोज्नु ल यो पाँच दिन भित्रमा ।’
‘हामीबाट कुनै गल्ती पो भयो कि ?’ कृति र म दुवै अक्क न बक्क भयौं र डरायौं पनि, ‘किन आन्टी ?’
‘तिमीहरुको अङ्कल आउने कुरा सुन्दैछु । त्यसैले अब हामी छोराछोरी र आमा नि यो घर छोड्न लागेको ।’
श्रीमान् घर आउन लाग्दा सबै श्रीमती खुसीले फुरुक्कै हुन्छन् । तर ती सबैमा हाम्री घरबेटी आन्टी पर्नु हुन्न थियो । श्रीमान् घर आउने खुसीमा श्रीमतीको पाउ जमिनमा हुँदैन तर आन्टीको मुहारमा त बर्खाको कालो बादल छाइरहेको थियो । श्रीमान् घर पुग्ने दिन श्रीमतीलाई लाग्छ कि दसौं वर्षपछि बल्ल उनको जीवनमा चखिलो घामको किरण पर्ने भयो तर आन्टीको जीवनमा अङ्कल आउने खबरले त घामको छाया मात्र पारिरहेको थियो । खै आन्टीको जीवन संघर्षलाई कथा भनी सम्बोधन गरुँ कि पिडा भनी ?
‘तिमीहरुको उमेरमा त म यो घरमा बिहे गरेर आइसकेकी थिएँ’, आन्टीले आफ्नु कथा सुरु गर्नु भयो ।
‘तिमीहरुको जति नि बुद्धि थिएन मेरो त झन् तर यति चैं थाहा थियो कि मेरो बिहे इटहरीकै एक धनी घरमा भएको हो भनेर । बाहिरको संसार मज्जाले चिनेकी थिइनँ तर घर परिवार कसरी सम्हाल्ने, एक बुहारी र श्रीमतीको जिम्मेवारी के–के हुन्छ सबैको ज्ञान चै थियो मलाई । त्यसैले यस्तो धनाढ्य परिवारले मेरो हात मागेका थिए होला । तर मलाई धनसम्पति केही नि चाहिएको थिएन । बस् यति चैं चाहेको थिएँ कि मलाई मेरो श्रीमानबाट साथ र स्नेह मिले जीवनमा जस्तोसुकै युद्ध लड्नु परे नि हाँसी हाँसी लडिदिन्थिएँ । एक बुहारीले पाउनु पर्ने कुरा मैले सबै पाएँ तर एक श्रीमतीले पाउनु पर्ने कुरा विवाहमन्डपमा पाएको सिन्दुर र पोतेबाहेक केही भएन ।
सुनेकी थिएँ, लोग्ने स्वस्नीबीच जब शारीरिक सम्बन्ध हुन्छ, तब उनीहरुको सम्बन्ध बलियो हुन्छ रे । गलत सुनेछु । संसर्गले मेरो गर्भाशय दुइपल्ट बढायो तर उहाँको मनमा मेरो लागि अलिकति नि माया बढाएन । प्रायः उहाँ घरमा बस्नुहुन्थेन । कहिलेकाहीँ रातमा घर आउनुहुन्थ्यो, संभोगको प्यासी भएर । म कुन कस्तो अवस्थामा हुन्थेँ, उहालाइ केही मतलब थिएन । सरासर कोठामा छिर्थें अनि मलाई विस्तरामा निर्जीव वस्तु हुत्याए झैँ हुत्याउँथे । ममा नाइ, हुन्न भन्ने न त आँट नै थियो, न त ज्ञान नै । थियो त केवल एउटा ठुलो अन्धविश्वास कि म पत्निघर्म निभाउँदै थिए । तर सायद मलाई थाहा भएन कि म त उहाँको लागि घरकी रखैल मात्र रहेथेँ । बाहिर सल्केको छोरोलाई न त बुढा बाआमाको मायाले नै तान्न सक्यो न त नाबालक छोराछोरीको ममताले । मेरो त नाम लिन नि बेकार । एक दिन ससुराले उहाँको अगाडि घर जग्गा मेरो नाममा गर्दिने के नै भन्नू भएको थियो ज्वालामुखी नै फुट्यो । दुर्भाग्यको कुरा त के भयो भने सासू ससुराको केही दिनमै मृत्यु भयो । त्यसपछि अब घरखर्च चलाउन मलाई पुरै उहाँमा निर्भर हुनुपर्ने भयो । महिनामा एक दुई पल्ट घर आउनु हुन्थ्यो, त्यो नि मध्यरातमा । आमा र स–साना छोराछोरी सुतिरहेको कोठामा आएर उनीहरुलाई भालेले चल्ला पछारे झैँ ढोका बाहिर फ्याँकिदिनुहुन्थ्यो अनि ढोका ढ्याम्म लगाउनुहुन्थ्यो ।
एउटा दुधे छोरी र अर्को सात वर्षको छोरो रोएको आवाज मेरो कानमा गुन्जिरहन्थ्यो । उनीहरुको आँखाबाट झर्दै गरेका आँसुका थोपा मेरा आँखा वरिपरि घुमिरहन्थ्यो । तैपनि म उहाँलाई धकेलेर आफ्ना छोराछोरीकहाँ जान सक्दिन थिएँ किनकी घरमा रासन सकिएको हुन्थ्यो र मलाई पैसाको जरुरत थियो । त्यो बखत मेरा छोराछोरी भन्दा बेसी म रोइरहेको हुन्थेँ तर आँसु झार्न सक्दिन थिएँ । हो, मैले आफ्नु शरीर आफ्नै श्रीमानलाई बेचिरहेको थिएँ । कहिले छोराको स्कुलको शुल्कको लागि त कहिले छोरी बिमारी हुँदा औषधी किन्ने पैसाको लागि म आफ्नै श्रीमानको अगाडि धेरै पटक नाङ्गिनु पर्यो । म र मेरा छोराछोरी न त उहाँको लागि परिवार नै थियौ न त पराई । यति थाहा थियो कि म उहाँको अनगिन्ती रखैलमध्ये एक थिएँ । जब चुम्बकको चुम्बकीय शक्ति निर्बल हुन्थ्यो, तब मात्र मेरो शरीरले राहत पाउँथ्यो र म हतारहतार ढोकाबाहिर पुग्थेँ । ढोकाबाहिर जुन दृश्य मेरो आँखामा पर्थ्यो, मेरो मनमा सिरुपाते खुकुरीको धारले चर्रर चिरिदिन्थ्यो । सात वर्षे दाजुले आफ्नु सानो काखमा तीन वर्षे बहिनीलाई कान्छी औंला चुसाउँदै सुताउन खोज्दै गरेको हुन्थ्यो । म मेरो काँप्दै गरेको हात र पानीले भरिएका आँखा लिएर भक्कानिन आँट्दा छोराले बहिनी भर्खर निधाकी आमा भनी मुख टालिदिन्थ्यो ।
सुन्ने गर्थेँ, उहाले सबै धनसम्पति खाइसक्नु भयो रे । उहाँको नजरमा रखैल भए नि म समाजको नजरमा उहाँकी अभागी पत्नी थिएँ । छरछिमेक सबैलाइ मेरो पिडा थाहा थियो । त्यसैले मेरो निम्ति एक दिन सबैले आवाज उठाउने निर्णय गरे । त्यसै रातको कुरा हो, घरको मुल ढोका ढक्ढकियो । मलाई उहाँ आउनु भएको जस्तै लाग्यो र ढोका खोल्न विवश भएँ । खोल्नासाथ एउटा मान्छेले ममाथि चक्कु प्रहार गर्यो तर म बाँच्न सफल भएँ । हारगुहार माग्न थालेपछि त्यो मान्छे भागेर गयो । सबैलाई थाहा थियो कि त्यो मान्छेलाई म र मेरा छोराछोरी मार्न सुपारी दिने व्यक्ति को हुन् भनी ।
अब घरखर्च चलाउन मैले नै एउटा स्कुलको क्यान्टिनमा काम गर्न थालेँ । धेरै मुस्किल त भयो तर साथीभाईले सहयोग गरे । धेरै महिनापछि घरमा व्याङ्कवालाहरु आए । पापीलाइ घरले नि पुगेन छ । छरछिमेक सबै भेला भएर मेरो व्यथा व्याङ्कवालाहरुलाई बेलिबिस्तार लगाए । बालबच्चा सानै थिए अनि एक्ली महिला भएकोले व्याङ्कवालाहरुले ढोकामा ताल्चा भने लगाइदिएनन् । खुसीको कुरा चैं उनीहरुको बाउको कालो छाया हाम्रो जीवनदेखि हटिसकेको धेरै समय भएको थियो ।
छोराछोरी हुर्किदै गए । मलाई खर्च पुराउनु धेरै कठिन हुँदै गयो । बिजुलीको शुल्क तिर्न नसकेर बिजुली नि काटिदिए । एक हप्ता जति त अन्धकारमै रात काट्यौं । पल्लो घरको दिदीले हाम्रो बिजोग देखेर एउटा कोठा दिनु भयो । छोराको स्कुल सकियो, उसका सबै साथीहरू काठमाडौ जानेहरु मात्र थिए । उसको नि मन नभएको त होइन तर मलाई एक पल्ट नि प्रस्ताव राख्न सकेन । उसको भन्दा धेरै त मलाई मन थियो कि मेरो छोरा पनि अरु जस्तै राम्रो कलेजमा पढोस् तर म लाचार र गरिब थिएँ । यो कुराले मेरो मन जहिले कटक्क खाइरहन्छ ।’
आन्टीको अझै व्यथा सकिएको थिएन तर खै किन हो म एउटा प्रश्न गर्न आतुर भैहालेँ, ‘आन्टी अनि हजुरलाई अङ्कलको माया लाग्छ कि लाग्दैन ?’
‘उहाँ मेरो लागि सब थोक हुनुहुन्थ्यो तर म त उहाँको लागि एउटा रखैल जति नि थिइनँ किनकी एउटा रखैलले सायद समाजमा इज्जत नपाउली तर उनले लोग्नेमान्छेबाट मैले भन्दा सयौं गुना धेरै माया र ध्यान पाउँछिन् होली । जुन दिन मलाई यो कुराको अवगत भयो, त्यही दिन मैले बुढी खोलामा गएर उहाँले दिनुभएको सिन्दुर र पोतेको रामनाम सत्ये गरिदिएँ ।’
यतिसम्म भएर नि आन्टीले अङ्कललाई माया गर्नु भनेको आफुप्रति ठुलो अन्याय गर्नु सरह हुन्थ्यो । मैले यस्तो प्रश्न गरेकोप्रति म आफै लज्जित थिएँ ।
‘ … त्यसैले नानीहरु, बरु मेरो छोराले नपढ्दा केही जाँदैन तर तिमी छोरीहरुले पढ्नै पर्छ है । आफ्नु खुट्टामा आफै उभिन सक्ने नभई अर्काको दैलो टेक्नु हुन्न किनकि आफ्नै श्रीमतीलाई नि आफ्नै रखैलको भुमिका दिने पात्रहरुको कमि छैन यहाँ । शिक्षाले यस्ता युद्ध जीवनमा आइपर्नै ननिे भन्ने त होइन तर शिक्षाले छोरी मान्छेलाई यस्ता युद्ध एक्लै लड्नु धेरै मद्धत गर्छ नानी हो ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
मन छोयो ।
मन छुने लेख मेरो भदैनिको अनि यस्तो यथार्थ समाज मा धेरै भेटिन्छन । शिक्षा एउटा जागिर खाने हतियार मात्र हैन आत्मबिस्वस बढाउने र अन्याय सग लड्ने हतियार पनि हो ।त्यसैले नारी शिक्षित हुनु पर्छ ।
True.