खगोलशास्त्रीसँग नगरकोटमा एक दिन, एक रात

मोहन के. श्रेष्ठ
५ माघ, नगरकोट

मेरो तालु खुइले साथीहरुको लिस्टमध्यको खगोलशास्त्री वैज्ञानिक साथी सरोजराज शाहीसँगको रात ।

हिजो आज पचास हजार बर्षपछि आकाशमा एउटा पुच्छ्रे तारा देखापरेको छ रे । वैज्ञानिक साथीको ठम्माई । बेधशालामा रहेको १६ ईन्चको नेपालकै एउटै मात्र खगोलसम्बन्धि अध्ययन अनुसन्धान गर्न राखेको टेलिस्कोप उत्तरतिर घुमाउदै हेर्दै थिए साथी । करिब रातको आठ बजेतिर । चिसो थियो नगरकोटमा । म भने उनको सहयोगीको रुपमा क्यामरा समाट्दै थिएँ । अधिक चिसो हुने नगरकोटमा एक घण्टाभन्दा बढी मेहनत गरे पनि फेला पार्न सकिइरहेको थिएनन् उनले C22ZTE नामक पुच्छ्रे तारा ।

उनको प्रयास जारी छ । त्यो लामपुच्छ्रे ताराको खोजमा । करिब रातको नौ बजिसकेको थियो । त्यो टेलिस्कोप भएको दोम भित्र हामी दुई जना । चिसो झन झन बढ्दो थियो । भोलि बिहान खोज्ने भनी सुत्न आयौं । त्यतिबेला रातको करिब साढे नौ बजिसकेको थियो ।

कहिलेकाहीँ तालु खुइलेहरुको क्लब नै बनाउँ जस्तो हुन्छ मलाई । धेरै मेरा तालु खुइले साथीहरुमा जमात बीचमा म पनि सँगै बस्दा यस्ता लाग्दो हो । कपाल रोप्न सल्लाह दिनेहरुलाई पनि हाम्रो जमात देखाउन मन लाग्छ । एक से एक तालु खुइलेहरुको जमात छ, मेरा साथीहरु । सायद बलिवूडको अनुपम खेरदेखि हलिवूडसम्मै छुन्छ होला हामीले क्लब खोलेको खण्डमा ।

खैर यो त ठट्टा मात्रै भो । मुल बिषयमा प्रवेश गरुँ ।

त्यो चिसो रात हामीले मिठोसँग कटायौं । भोलि पल्ट बिहान पाँचै बजे साथी उठे र खुरुखुरु अर्को भवनमा रहेको टेलिस्कोप घुमाउन हिँडे । फेरि त्यही तारा खोज्न । म भने थोरै कुम्भकर्णको निन्द्रामा । पांचै बजे निन्द्रा खोले पनि बिहान ६ः२० मा मात्र उठें । उनले उतिखेर सम्ममा आकाशमा रहेको चन्द्रमा लगायतको फोटो खिच्न भ्याईसकेका थिए । अध्ययनशील बैज्ञानिक साथी ।

त्यसपछि हामी बिहान हिड्न तयार भयौं । छोटो हाईकिङ भन्न सकिन्छ । नगरकोटको टावर नजिकै रहेको बेधशालादेखि हाम्रो हिँडाई सुरु भयो । क्लब हिमालयन हुँदै जंगलको हाईकिङ रुट समात्दा एकदमै रमाईलो हुन्छ त्यहाँ । पहिले पनि हिँडिसकेको बाटो हो त्यो । कातिकेसम्म हिँडेपछि पिच रोडमा छुन्छ त्यो रुटले । कातिकेको पिच रोडसम्म हिँडेर हामी त्यही जंगलको रुट फर्क्यौं । जंगलको हिँडाई अति नै रोचक र रमाईलो हुने गर्छ । त्यस्तै भयो, निकै रमाईलो हिडाई हाम्रो । मन मिल्ने साथीसँगको रोचक कुराकानीसँगै हाम्रो हिँडाई र अहिलेको टेक्नोलोजीले खिच्न पाएको फोटो, भिडियो जस्ताले पनि जीवन र यात्रालाई थप रोमान्चित बनाउँदो रहेछ । हिँडाई यादगार बनायौं । फोटो–भिडियोका केही क्लिप कैद गर्यौं ।

क्लब हिमालयदेखि कातिकेसम्म आउँदा–जाँदा ५ किलोमिटर र बेधशालाबाट त्यहाँसम्म हामीले ३ किलो गरी हामीले ८ किलोमिटर हिडिसकेका थियौं । जंगलमा हिँड्दा दुई जना विद्यार्थी केटाहरु भेट्दा मनमा एउटा कुरा खेल्यो । उनीहरु स्कुल पुग्न त्यो जंगलको बाटो हिड्दा रहेछन् । हाम्रो कहिलेकाहिँको हाईकिङ त उनीहरुको दैनिकी पो हुदो रहेछ भने थाहा पायौं । स्कुल पुग्न दिनकै आउजाउ गर्दो रहेछन् केटाहरु । उनीहरुको भविष्य राम्रो होस् ।

त्यस पछि क्लब हिमालयनको तल बन्दै गरेको सिई कन्ट्रक्सनको भिला बनाउने प्रोजेक्टमा पुग्यौं । बिस्तारैको हिडाईको नतिजा हामी त्यहाँ पुग्दा ११ बजिसकेको थियो । प्रोजेक्टको मेनेजर मेरो लंगौटे ईन्जिनियर साथी दिनेश श्रेष्ठसँग हाम्रो भेट भयो । ओहो, आ–आफ्नै ब्यस्तताको कारण भेट्न नपाएको साथी त्यहाँ भेट्दा त मन चंगा जस्तै भयो । खुलेर भलाकुसारी भयो हाम्रो । खानाको व्यवस्थासम्म गरिदिएर साथीसँग निकै बेर कुराकानी गरेका थियौं । नगरकोटको सिरसिरे हावासँग घाममा बस्दै तलको देखिने राम्रो भ्यु सँगैको कुराकानी त बिर्सनै नसकिने पो भो बा ।

खैर, जिन्दगी रमाईलो घामछाया न हो । छुटिने मन नभए पनि दिनेशसँग करिब दुई घण्टा समय बिताएर करिब १ बजेतिर त्यहाँबाट हिड्यौ । बाँकी ३ किलोमिटर हिड्न हामीले करिब एक घण्टा लगायौं । हामी उही बेधशालामा पुग्यौं ।

त्यसपछि केही समय टावरमा रमायौं ।

एउटा कुरा चाहिँ मैले नोटिस गरेँ त्यहाँ । नगरकोटमा रहेको बेधशालाको अफिसबारेमा धेरैलाई जानकारी नभएको थाहा पाएँ । नगरकोट टावरको ठिक्क तल (पश्चिम) एउटा डोम आकारको अफिस देख्नु हुन्छ । त्यहाँ मेरा साथी जस्ता थुप्रै खगोलशास्त्री वैज्ञानिकहरुले आकाशमा रहेका तारा, चन्द्रमाजस्ता खगोल विज्ञानको अध्ययन गर्ने थलो हो । शिक्षा तथा विज्ञान मन्त्रालय अन्तर्गतको बिपि कोईराला प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिती, राष्ट्रिय बेधशाला, नगरकोट नाम रहेको छ त्यो अफिसको । त्यो अफिसमा सरोज सरसँग थुप्रै रात बिताएको छु मैले पनि । त्यहाँ रहँदा थुप्रै ताराहरुको वैज्ञानिक नाम पनि थाहा पाएँ मैले । टेलिस्कोपबाट हेर्दै ताराहरुको पनि चन्द्रमा रहने कुरा जस्ता अन्य थुप्रै विज्ञानका ज्ञानबर्द्धक कुरा थाहा पाएँ साथीबाट । आहा, संगत गुनाको फल भन्थे नि, त्यस्तै लाग्छ मलाई ।

समय बित्दै गयो । बेलुका पनि केही ताराहरु हेर्यौं हामीले टेलिस्कोप घुमाएर । मौसम सफा भयो भने प्रष्ट देखिने रहेछ । जाडो भए पनि यो बेलामा नै ताराहरु राम्रोसँग देख्ने कुरा भन्दै थिए साथी सरोज ।

छोटो ज्ञानबर्द्धक रमाइलो नगरकोट बसाईबाट बिदा भएँ ।

अन्त्यमा, धन्यवाद तपाईलाई, मेरो सानो डायरी पढ्न समय निकाल्नु भएकोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button