के ‘मानकुमारी’हरुका लागि गाउँठाउँमा सिंहदरवार छ ?

स्थानीय महिलाका लागि स्थानीय सरकारको भुमिका

कल्पना तिमल्सिना

असल नारीले संसार बदल्न सक्छ ।

नेपालको कुल जनसंख्याको आधाभन्दा बढी (५१.५०%) हिस्सा ओगटेका महिलाहरु राज्यको हरेक पक्षमा पिछडिएका छन् । चाँडो विवाह लैंङ्गिक असमानता, साधन स्रोतको कम पहुँच, विभिन्न प्रकारका हिंसा, बलत्कारका कारण महिलाको स्तर निकै पछाडि परेको छ । महिला अधिकार र सशक्तिकरणका लागि विभिन्न गैरसरकारी संस्थाहरुबाट काम नभएको होइनन् तर यि मात्र पर्याप्त हुँदैन र छैनन् पनि । स्थानीय स्तरमा चुनिएका महिला सदस्यले यस बिषयमा सजग र जागरुक हुनुपर्छ ।

जन्मिँदा धर्तीमा झर्दादेखि के जन्मियो ? छोरी पो ? भनेर सुरु हुने महिलाको जीवन चितामा जलुन्जेलसम्मै विभेदको शिकार भएका हुन्छन् । सकेसम्म छोरी जन्माउनै दिइन्न । जन्मिन सफल छोरीको न्वारान गर्दा पनि छोरी को हो र ? ७ दिनमा गरे पनि हुन्छ, छोराको चाहिँ ११ दिन नभइकन हँुदैन भनेको सुनिन्छ । न्वारान गरेपछि चोखिने र काम गर्न तयार रहेको हो । छोरी हुँदा ७ दिनमा नै काम गर्न तयार हुनुपर्छ ।

छिमेकी मानकुमारी दिदीसँग २ घन्टा कुराकानी भयो एक दिन । उहाँलाई कसले मेरो कुरा सुनिदेला भएको रहेछ । रुँदै आफ्नो दुःख यसरी व्यक्त गर्नुभयो ।

दिदीबहिनी ४ वटी, एउटा भाइ हो मेरो । आम्दानी कम, खाने धेरै भएकाले खान लाउन पनि पुग्दैनथ्यो । १२ वर्षको उमेरदेखि साहुकोमा काम गर्न जानुपथ्र्यो । बारम्बार साहुको गिद्दे नजर ममाथि परिरहेको पिरले कहिले यहाँबाट उम्कौंला झैं हुन्थ्यो मलाई नानी ।

आमाले एक दिन भन्नुभयो, नानी घरको अवस्था तँलाई थाहा नै छ । भाइलाई पनि पढाउनै पर्यो । तँ अर्का घर जाने जात । भोलि तँलाई हेर्न आउँदै छन् । नाइ नभन्नु नि है । त्यो रातभरि सोचेँ, त्यो साहुको गिद्दे नजरबाट त बच्छु । यसरी सानै उमेरमा बिहे भयो मेरो नानी ।

श्रीमान्को जाँड रक्सी खाएर झगडा गर्ने स्वभावका कारण, सासुको वचन र खानले कहिले पनि सन्तोष छैन । मर्न मन लाग्छ । दुई पटक प्रयास गरेँ, अरुले बचाए मलाई । डाक्टरकोमा गएको थिएँ अस्तिका दिन । हिंसा पिडित म शारिरिक त छ नै मानसिक रोगी हुन पुगेछु । डाक्टरले भन्नु भएको । नानी मेरो जिन्दगी बर्बाद भएको त कसैलाई चिन्ता छैन बरु हरे मेरो छोराको भाग्य । कस्तो केटी परिछे भन्छन् आफन्तहरु । एक दिन माईतिको आफन्तसँग घुम्न गएको थेँ, घर आउन अलि ढिलो भयो, सीरिमानले कुट्न आउनु भयो । धन्न छोरीले लठ्ठी समाती ।

बहिनी हजुर त यताउता हिँडिरहनु हुन्छ, मान्छेहरु पनि चिन्नु हुन्छ । हामी जस्ताको सहयोग गर्ने कोही छैनन् ?

मानकुमारी दिदीले प्रश्न गर्दा म झसंग भएँ । रातभरि मनमा धेरै कुरा सोचेँ मैले पनि । कठै छोरीको जिन्दगी । अर्को दिन वडा कार्यालय गएर बुझेँ, महिलाका नाममा के–के कार्यक्रम र बजेटका बारेमा । महिला बालबालिका तथा समाजकल्याणका क्षेत्रमा एकल महिला भ्रमण कार्यक्रममा ५ लाख र पाठेघरको मुखको क्यान्सर जाँचका लागि २ लाख मात्र भएको थाहा पाएँ । सार्है दुःख लाग्यो ।

स्थानीय सरकारले मानकुमारी दिदीका जस्ता समस्या सामाधानमा के पहल गर्ने ? खोइ त अन्धविश्वास, कुरिती हटाउने, सशक्तिकरणका कार्यक्रम ? हिंसा बलात्कारका पिडितलाई लड्नका निमित्त सघाउने कार्यक्रम खोई ? जसले हिंसा गरेको छ, उसैसँग बसेर आवाज उठाउनु पर्ने वाध्यता छ । जसले गर्दा कतिको ज्यान गएको छ । हिंसा पिडितको सुरक्षा व्यवस्था मिलाउने सुरक्षित घर खोइ ? समाजको सकारात्मक परिवर्तनका निमित्त स्थानीय महिला जागरण अभियान गर्ने कार्यक्रम खोइ ? आत्मनिर्भर हुने खालका तालिम लिएकाहरुले यसलाई निरन्तरता दिएको छ छैन अनुगमन किन नगरेको होला ? हस्तकला र उत्पादन भएका सामानको बजारिकरणको लागि खोइ त कार्यक्रम ?

देशको आधा जनसंख्याका महिला नै हुन् । महिलाको शारिरिक, मानसिक र संवेगात्मक विकास नभइ देश विकास असम्भव छ । हर घर हिंसामुक्त हुनुपर्छ । हर घरमा महिला स्वस्थ्य हुनुपर्छ । हर घरका महिला शिक्षित र आत्मनिर्भर हुनुपर्छ । प्रत्येक महिलाको आत्मस्वभिमान उच्च हुनुपर्छ । अनि मात्र समृद्ध समाजको निर्माण हुन्छ । यसका लागि स्थानीय स्तरमा चुनिएका सदस्यहरुले नै कदम चाल्नुपर्छ ।

यि सबै महिलाको समस्या समाधान गर्न सर्वप्रथम त प्रत्येक वडामा एक सुरक्षित आवास गृह हुनुपर्छ, जहाँ बसेर महिलाहरुले हिंसा विरुद्धको लडाइँ लड्न सकुन् । आजभन्दा पहिले दिएको तालिम र यसको प्रभावकारिता बुझी बजार ब्यबस्थापन गर्नुपर्छ । प्रत्येक टोल टोलमा, गाउँ गाउँमा बाल क्लव स्थापना गरी हक अधिकार सुनिश्चित गराउने कार्यक्रम सञ्चालन गर्नुका साथै अन्याय नगर्ने र गर्न नदिने संस्कार सृजना गर्नु पर्छ । अनि महिलाहरुलाइ पाठेघरमा मात्र रोग लाग्दैन मानसिक, र अन्य शारीरिक रोगको उपचारको पनि ब्यवस्था गरिनुपर्छ । साथै महिलाहरूलाई आवश्यक परेको बेलामा आफ्नो मुद्दाहरु लड्ने एक वकिलको प्रत्येक वडा कार्यालयमा व्यवस्था गर्नुपर्ने देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button