बुढेशकालमा किन मनाउनु बर्थडे बेकारमा !
मेनुका शर्मा
किन मनाउनु पर्यो बर्थडे सर्र्थडे बेकारमा, बुढेशकालमा पनि के रहर लाग्या होला ? यस्ता कुरा धेरै भन्ने गरेको पाइएको छ । हुन त जन्मदिन मनाउँदा या नमनाउँदा पनि आफ्नो लिएर आएको आयु बढ्ने र घट्ने त पक्का होइन होला तर जन्मदिन मनाउँदा,आफ्नो जन्मदिन भनेपछि मन भने खुशी अवश्य नै हुन्छ ।
साँच्चै भन्ने हो भने जन्मनु भनेको नै मृत्युको दिनगन्ती सुरु हुने हो । भनुँन आइ एम अलाइभ क्ष् बm बष्खिभ भन्नु र आइ एम डाइङ भन्नु एउटै हो । तैपनि हामी म मर्दै छु भनेर भन्यौ भने त अचम्म लाग्छ र म बाँचिरहेको छु भन्दा खुशी लाग्छ । तर एक साश्वत सत्य यो हो कि एक दिन चिहानसम्म हामीले पुग्नुपर्ने नै छ ।
मान्छेको जिन्दगी हो, कतिबेला प्राण जान्छ पत्तै हुँदैन । यद्यपि मरेर लानु के छ र बाँचुञ्जेल खुशी हुने हो भनेर जथाभावी गर्न भने अलि सुहाउँदैन तर आफ्नो जन्मदिन खुशी भएर मनाउन भने पछि पर्न भने कदापी हुँदैन ।
जन्म दिन भनेपछि सबैलाई रमाइलो नै लाग्छ । बिहान उठेर छ भने नयाँ कपडा नभए त्यही जस्तो छ, धोएर सफा कपडा लगाएर मन्दिरमा गएर पूजा गरिन्छ । यसलाई नराम्रो कुरा भन्न त मिल्दैन नि । आफ्नो खुशीमा अरुलाई सामेल गराउन पनि सकिन्छ तर देखासिकी गरेर वाईयात खर्च गर्न पो हुँदैन त, परिवार जम्मा भएर खुशी व्यक्त गर्नु राम्रो पनि हो ।
छोराछोरीको जन्म दिन हुँदा त आफुलाई आफ्नो जन्म भएको जस्तो लाग्छ । त्यस दिन धेरै पैसा नभए पनि सकिन्छ भने नयाँ लुगा, उनीहरूलाई मन पर्ने खाना पकाएर, टीका लगाई, आशिर्वाद दिँदा सबैजना खुशी हुन्छौं ।
मानिसले आफू यो धर्तीमा रहुञ्जेल अनेकौँ कर्म गरिरहेको हुन्छ । सधैभरी अथवा वर्षभरी अरूको निम्ति कैयौँ दुःख गरेको हुन्छ, बस् एकदिन अरूले आफ्नो जन्म दिन मनाउँदा अरूले त्यति धेरै चासो राख्न भने अनावश्यक नै हो ।
अहो, हेर त, बुढेसकालमा पनि केक काटेर खानी–ख्वाउनी, मलाई त खपिनसक्नु लाज लाग्यो । यो, त्यो भनेको सुन्ने गरिन्छ । हो, जन्म दिनमा केक काट्ने चलन पश्चिमी सभ्यता अन्तर्गत नै पर्छ तर यसलाई धर्मको रुपमा भन्दा रमाइलोको रूपमा हेरियो भने के फरक पर्ला र ? आफ्नो धार्मिक मूल्य–मान्यता अनुसार आफ्नो कर्मधर्म त गरेकै छ नि । यति बुझ्नुपर्छ जति पनि नियम, धर्म, मूल्यमान्यता सब बाँचुञ्जेल हो । सत्यको बाटो हिँड्नुस्, धर्म कहिँ जाँदैन ।
बाल्यकालमा जस्तो रमाइलो पक्कै होइन तैपनि परिवार, छोराछोरी र नातिनातिनाको खुशीमा पनि त समावेश हुनुपर्छ अभिभावक भएपछि । कैयौँ रहर छोराछोरीको खुशीमा छोडिएको हुन्छ । बर्षमा एक दिन आफ्नो लागि अरूले शुभकामना दिन्छन् भने खुशी त अवश्य नै लाग्छ, खुशी हुन पाउनु आफ्नो मौलिक अधिकार पनि हो ।
मनाउनु या नमनाउनु आफ्नो ईच्छा हो तर अरूले शुभकामना आदानप्रदान गर्दा हियाउनु भने गलत प्रवृति हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)