छोराको जन्मदिनमा लैङ्गिक समानताको सन्देश

बुद्धिकुमार श्रेष्ठ

प्यारो छोरा विवेक

आज तिम्रो जन्मदिन । यस अवसरमा तिमीलाई अशेष शुभकामना, जीवनका हरेक पलहरुमा असल बन्ने र खुशी रहने प्रयास गर्नु ।

यो बर्ष तिम्रो लागि अलि बिशेष पनि रहेको छ । तिमी १६ बर्ष लागेको, स्वीट सिक्सटिन पनि भन्ने गरिन्छ, यसर्थ तिम्रा रुचि, चाहना र आंकाक्षाहरुले बादलसँगै हावाको कावा खाँदै उड्ने अलि गतिवान हुने समय । बिस्तारै परिवार, छिमेक र आफन्तको दायराबाट फैलिँदै अब आफ्नै साथीसँगीको सर्कलमा रमाउने बेला । त्यसमा पनि प्रचलनको हिसाबले विद्यालय शिक्षाको अन्तिम बर्ष, जति नै नाम फेरे पनि औपचारिक शिक्षाको यात्राकाक्रममा शिक्षासम्बन्धी सरोकारवाला निकायदेखि शिक्षाको पसल चलाउने साहु ब्यापारी समेतले अलि हल्लाखल्ला र महत्वको साथ हेरिने भएकोले सबैको ध्यानाकर्षण हुने जसले गर्दा तिमीमा पैदा भएको दबाव म महशुस गर्न सक्दछु । विद्यालय शिक्षा पश्चातको विद्यार्थी जीवन तुलनात्मक रुपमा केहि स्वच्छन्द पनि हुने गर्दछ । हालको प्रवृत्ति हेर्दा उच्च शिक्षाको क्रममा अभिभावकसँगको भौतिक दुरी बढ्नसक्ने कुराले आम आमाबुवाहरु जस्तो हामीलाई पनि अत्यास लाग्छ ।

यसै सन्दर्भमा किशोरावस्थाको राप र ताप, अनि हाम्रो सामाजिक संस्कार तथा प्रचलन अनि त्यसले पैदा गर्ने पुरुषहरुको मानसिकताको सेरोफेरोमा आज १६ औं जन्मदिनको अवसरमा असल पुरुष बन्नु भन्ने शुभकामनाको साथमा तिमीलाई अरु पनि केहि भन्न मन लाग्यो ।

तिमी जन्मेको दिन, हरेक बर्षजस्तै विश्वव्यापीरुपमा मनाइने १६ दिने लैगिक हिंसा बिरुद्धको अभियानको १३ औं दिन थियो । हरेक मातापिता र परिवारजनमा जस्तै हामीमा पनि तिमी गर्भमा आएदेखि नै एउटा किसिमको हर्ष, उत्सुकता र त्यागको भावनाको प्रेमिल वातावरण बनेको थियो । भारतीय विद्धान अब्दुल कलामले भनेका थिए नि, जन्म दिन भनेको आफ्नो बच्चा रुँदा आमाले हाँस्ने एकमात्र अवसरको दिन हो । तसर्थ, यो अवसर र सम्पुर्ण प्रक्रिया नै हाम्रो लागि अविस्मरणीय रहेको छ ।

तिमीजस्तो जिज्ञासु विद्यार्थी अनि असल छोरा, गर्भावस्थामा एउटा आमाले पार गर्नुपर्ने शारीरीक चरणहरु र त्यसले श्रृजना गर्ने मानसिक अवस्थाको बारेमा केहि हदसम्म जानकार नै छौं । तिमी गर्भमा आएको दोश्रो महिनामा नै आमालाई अफिसको लागि यात्रा गर्न कठिन भएपछि हामी बसाई सरेर तिम्रो आमाको अफिस नजिक बस्न गयांै । यसरी बासस्थान सर्नु सुन्दा सामान्य जस्तो देखिन्छ, तर भोग्नेलाई थाहा हुँदो रहेछm आफू हुर्केबसेको ठाउँ छाडेर नयाँ ठाउँमा गएर स्थापित हुँदाका कठिनताहरु । बसेको ठाउँसगै नजिक भएका धेरै आफन्त परिवारजनसँगको भौतिक दुरी बढ्योे, जसले बिस्तारै आउजाउ सम्पर्क र सामिप्यता नै पातलियो । ममीका बर्षौदेखिका सखीहरुसँग पर भइयो, त्यतिमात्र हैन, यसो गारो अप्ठेरोमा आएर सहयोग गरिदिने हातहरु, पुग नपुग के छ भनेर सोधिदिने वाणीहरु अनि यसो दुखसुख आमोदप्रमोद गर्ने माहोलहरु सबैबाट दुरी भइयो । नारीहरु श्रृजनाका बाहक हुन्, यसै भनिएको हैन रहेछ । आफ्नो सन्तानको लागि श्रृष्टिका हरेक अवसर र सुविधा पनि त्याग गर्न तयार हुन्छन । नयाँ ठाउँमा सरे पनि आमाको स्वास्थ्यले जागिरलाई निरन्तरता दिन समर्थ भएन अनि सोच्यांै पनि आखिर केही बर्ष त तिमीलाई रेखदेख गर्न समय चाहिन्छ नै, अनि तिम्रो आमाको चौघेरा नै घर बनेर आयो । हिजो स्वावलम्वी बनेर रहेको मान्छे, दुनियालाई परिवर्तनका योजना बुनेर सिकाउने योजनामा तल्लिन मान्छे अब बिहान रविको किरणसँगै दुध लिन जान लौ न पैसा दिनु भन्ने परनिर्भरतामा रुपान्तरण भयो अनि त्यसले खस्काउने आत्मबल त कसरी भनौं र ? यसबाट तिमीले बुझ्नुपर्छ कि मानव जातीको अस्तित्व निरन्तरतामा नारीहरुको महत्वपुर्ण योगदान रहेको छ । तर, दुराशयपुर्ण तवरले जैविक फरकपनलाई सिमित सामाजिक भूमिकामा साँघुरो बनाइदो रहेछ ।

घर, परिवार, साथीको सम्बन्ध र जागिरको निरन्तरतामा आएको रोकावट मात्र कहाँ हो र, उनका खाने रमाउने रुचिका प्राथमिकतामा नै परिवर्तन हुन थाले । यो त चिसो हुन्छ, पेटको बच्चालाई राम्रो गर्दैन, अहो यो खायो भने त बच्चालाई गारो हुन्छ, यसले पो राम्रो हुन्छ आदि आदि । यसरी तिम्रो आमाका हरेक रुचि, आहार, बिहारको केन्द्रमा, कल्पनामा, हरेक पलहरुमा तिमी नै रहन गयौ । यसरी एउटा महिलाले तिमी जत्तिको किशोर तयार गर्न गरेका त्याग, मिहिनेत र प्रयास शव्दमा ब्यक्त गर्न नै सकिदैन । तर बिडम्वना, तिनै नारीहरुलाई हिंसा गर्ने, दुव्र्यवहार गर्ने यसरी नै जन्मिएका पुरुषहरु हुन् । व्यक्तिलाई मात्र के भनौं, राज्यले समेत फेरि तिम्रो पहिचान गराउन अधिकार त्यहि आमालाई दिँदैन, बाउ पो खोज्छ त । यो त सामान्य प्रतिनिधीमुलक अवस्था मात्र हो । यद्यपि अधिकांश नारीले गर्ने त्याग र समर्पणको बिम्व हो । यसै भनिएको हैन रहेछ, नारी महान हुन्छन् । मलाई आशा छ, तिमीले हरेक नारीसँग ब्यवहार गर्दै गर्दा तिमीलाई जन्म दिने हुर्काउने क्रममा महत्वपुर्ण योगदान गर्ने ब्यक्ति पनि नारी नै थियो भनेर हरबखत मानसपटलमा राख्नेछौ । अनि तिनै नारीलाई त्यहीरुपमा आदार सम्मान गर्ने र महत्व दर्शाउने सन्दर्भमा वर्तमान समाजमा भएको असमानता र विभेद तिमीले मनन गर्न सक्नेछौ ।

अर्कोतर्फ, यसरी सारा स्रोत र शक्ति आफ्नो बच्चा जन्माउन र हुर्काउन केन्द्रित हुँदै गर्दा, अब आफै भन त एउटा महिलाको आफ्नो ब्यक्तित्व विकास गर्ने मौका कति पाउँदछ ? उनको सार्वजनिक र पेशागत जीवन कहाँ पुग्दछ होला ? एक पटक शीतल दिमागले सोच त ।

छोरी भएको कारणले नै थुप्रै भ्रुणहरुले यो संसारको दर्शन नै गर्न नपाइ गर्भावस्थामा नै मारिएका हुन्छन । कतिपय जन्मेदेखि नै आफूमात्र हैन, जन्मदिने आमासमेत छोरी जन्माएको निहँुमा विभेद, दुब्र्यवहारको अवस्थामा पर्दछन् । तिमीलाई पक्कै थाहा छ, हरेक ३ जना छोरीहरुमध्ये २ जना छोरीहरु लैगिंक हिंसा र यौजजन्य दुव्र्यवहार भोग्न बाध्य छन् र त्यसको पिडक तिमी र म जस्तै पुरुष हुने गर्दछन् । अनि दुखद आश्चर्य त, त्यो पनि धेरैजसो त आफन्त र परिवारकै सदस्यहरु ।

तसथर्, मलाई आशा छ तिमी यो चक्रलाई तोड्ने कडी बन्नेछौ । आफुले गर्ने हरेक ब्यवहारले तिमीसँगैका साथीहरुलाई कुनै चाहे शाब्दिक वा आशयजन्य रुपमा नै किन नहोस्, कुनै पनि नारीलाई असहज हुने छैन भन्ने कुरामा तिमी सदैव सजग र सचेत रहनेछौ । संस्कृतमा एउटा श्लोक छ नि ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’ जहाँ नारीहरुको पुजा हुन्छ त्यहाँ नै ईश्वरको बास हुन्छ, यानिकि खुशी, सुखी र शान्तिको आभास हुन्छ । यहि वाणी ह्दयगंम गर्दै, किशोरअवस्थाको पुर्वाद्धतिरको यात्रा तय गर्दैगर्दाको यस जन्मदिनको अवसरमा तिमी एक सभ्य र जिम्मेवार पुरुष बन्ने उर्जा मिलोस्, जन्मदिनको एकपटक फेरि पनि शुभकामना ।

तिमीलाई सदैव माया गर्ने
बावा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Vivek babu lai janna dina ko dherai dherai suvakaman… Lekh bata samajama bhairaheko chitran gender violence yethart rupama chitra garnu vayako xa. ….. praya sabai mahilako katha lai hajurne …. lekhnu vayo… happy to read …???

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button