ती ललितपुरे, जो आफ्नै मतले हारे
अशोक सिलवाल
पाटन, ललितपुर ।
‘परापूर्वकालमा अहिलेजस्तो होटल र लज थिएनन् । त्यति बेला यात्रीहरु यहीँ आएर सुस्ताउँथे । खाना पकाउँथे । खान्थे । रात पर्दा बास बस्थे । यसलाई नेपालीमा पाटी भन्छन्’, पाटन दरबार स्क्वायरको उत्तरपट्टि रहेको पाटी छेऊ उभिएर टुर गाइडको रुपमा अमेरिकाका सिन्थिया, जर्ज र माइकललाई मैले नेपाली यात्रा संस्कृतिको एउटा प्रसंग सुनाएको थिएँ ।
यो केही बर्षअघिको कुरा हो ।
केही समयपछि म फेरि पाटीछेउ पुगेँ । भुकम्पले जर्जर भएका मन्दिरहरु काठका टेकाहरुले घेरिएका थिए । नेपालको उद्योग वाणिज्य क्षेत्र पनि भुकम्प आउनु अघिदेखि नै टेको लाउन पर्ने स्थितिमै त थिए । होइन भने दैनिक विदेश जाने मानव लहर एयरपोर्टमा किन देखिन्थ्यो ?
म पाटीको माथिल्लो तलामा पुगेँ । त्यो ललितपुर उद्योग वाणिज्य संघको कार्यालय हो । मैले त्यहीँ भेटेको हुँ उनलाई, जति बेला उनी त्यसका अध्यक्ष थिए ।
नागरिकता अनुसार क्वाकु (मंगलबजार), २० साउन २०२२ मा जन्मेका जोशीले ल्याब, नमुना, आर्दश शिक्षा, आदर्श सरल हुँदै विश्वनिकेतनबाट एसएलसी गरे ।
डाक्टर बन्ने सपनासहित उनले आइएस्सी पढे । यद्यपि त्यो सम्भव भएन । उनलाई लाग्छ, ‘तर, त्यसले जीवनमा बहुआयामिक जगको काम गर्दोरहेछ ।’ आइएस्सीबाट सुरु कलेज यात्रा कर्मशमा स्नातक गरेर टुँगाए । आइएस्सी पढ्दैताका उनले अल इन्डिया टुर गरे ।
रोचक के भने उनीहरु गएकै भोलिपल्ट १९८४ अक्टोबर ३१ मा इन्दिरा गान्धीको हत्या भयो । दिल्लीमा २ दिन बसाईको कार्यक्रम थियो तर त्यहाँ उनीहरु ८ दिन बस्नुप-यो ।
बुवाले २०२१ सालमा जोशी प्रेस सुरु गरेका थिए । त्यति बेला त्यो ललितपुरकै टप फाइभमा पथ्र्यो ।
३, ७ र १० कक्षाको जिल्लास्तरिय परीक्षाको प्रश्नपत्र जोशी प्रेसमा नै छापिन्थ्यो । उनले ती सबै प्रश्नपत्र हेर्न सक्थे । र, परीक्षामा चामत्कारिक अंक ल्याउन सक्थे । जीवनमा इमानदारीको सिलसिला बाल्यकालबाटै सुरु गरेको झैं गरी उनले भने, ‘तर, मैले ती प्रश्नपत्र हेरिन ।’
अझ स्वर गाढा पार्दै थप्छन्, ‘एसएलसीमै पनि गार्डहरु चिनेका परेका थिए । तर, चीट चोरिन ।’
८–१० बर्षकै हुँदा टोलमा उनीहरुले पुस्तकालय स्थापना गरेका थिए । उनीहरुले सुरु गरेको गणेश पुस्तकालय घरकै छतमाथि पाताले घेरेर बनाइएको थियो । त्यो बाकस पुस्तकालय थियो ।
५–७ महिनापछि टोलकै एकजना साथीको घरमा त्यो पुस्तकालय सारियो । त्यति बेलासम्म २–३ सय जति किताब जम्मा भइसकेका थिए । अलिपछि बाकस पुस्तकालयका सबै र उनका घरबाट पनि अरु थुप्रै किताबसहित गणेश पुस्तकालय अमर शहिद शुक्र पुस्तकालयमा विलय भयो । त्यसअघि शुक्र पुस्तकालय बन्द अवस्थामा थियो रे ।
५ बर्ष हुँदाको कुरा हो, उनी टेवलमा बसेर चेसको चाल हेर्थे । सुर्वणराम जोशी, प्रोफेसर जगदीश्वरमन प्रधान, इन्जिनियर हरिशंकर प्रधान, नारायणकृष्ण जोशीहरु अबेरसम्म चेस खेलिरहेका हुन्थे । उनलाई यस्तो लाग्छ, ‘हाम्रै घरबाट नेपालमा चसको सुरु भएको त होइन ?’
२०३६ सालमा दुई बाकस तासबाट खेल्ने एक प्रकारको बोद्धिक खेल ब्रिजका किताबहरु पनि भेटिएको उनी सम्झन्छन् ।
००७ सालमा स्थापित बकुम्मबहालस्थित श्री शान्ति उच्च माध्यमिक विद्यालयमा उनी तेस्रो पुस्ताको रुपमा अध्यक्ष थिए । अहिले छन् कि छैनन् कुन्नि ? संस्थापक अध्यक्ष सत्यमोहन जोशी र उनका बाजे संस्थापक सदस्य थिए । धेरै लामो समय बुवा अमरमान त्यसमा आवद्ध रहे ।
२०३६ सालतिर नेपाल मुद्रण संघको स्थापनाताका ललितपुरबाट बुवाको संलग्नता थियो । स्थापनापछिको पहिलो निर्वाचनमा कान्छो भाई बिरामी भएकोले बुवाको सट्टामा जोशी प्रेसबाट उनी गए । थापाथलीको रोटरी हलमा कार्यक्रम भएको थियो ।
त्यहाँ निर्वाचनको क्रममा उनी उम्मेदवार नभए पनि ललितपुरबाट जोशी प्रेसले प्रतिनिधित्व गर्नपर्छ भन्ने आवाज उठ्यो । त्यो बेला उनी मानसिक रुपमा उम्मेदवार बन्न तयार थिएनन् । रोचक के भने, ललितपुरका सबैले उठ्नु पर्छ त भने नै । काठमाडौंकाहरुले पनि उनलाई नै समर्थन गरे रे । उम्मेद्वारहरुबाट बोल्नु पर्छ भनियो । तर, उनले बोल्न आउँदैन भने ।
उनको तर्फबाट पुराना पत्रकार रामकृष्ण कर्माचार्यले भाषण गरे ।
गोविन्दबहादुर मल्ल गोठाले अध्यक्ष भए ।
सात सदस्यको लागि निर्वाचन भएको थियो । अरु उम्मेदवारले आफुलाई मात्र मत दिएर ६ वटा ठाउँ खाली छाडिदिए रे । उनले भने सातैजनालाई मत दिए ।
लास्ट हुने दुईजना भए । उनी गोलाप्रथाबाट हारे । यसरी उनी आफ्नै मतले हारे ।
०४५ सालतिर मंगलबजारमा घुमिरहेको बेला ललितपुर लियो क्लवको भेला भइरहेको थियो, आदर्श कन्या स्कुलमा । कसैले उनलाई त्यहाँ बोलायो । अध्यक्षका आकांक्षी अर्कै थियो । परिस्थिति उल्टियो । उनी पो अध्यक्ष भए, एक्कासी ।
त्यही बीचमा बिशालबजार लियो क्लवको पदस्थापन समारोह सोल्टी होटलमा भएको थियो । त्यो कार्यक्रममा भरतलाल श्रेष्ठ, मन्दिरसिंह पन्थीलगायतले उनलाई बोल्ने मौका दिए ।
मञ्चमा त उक्लिए तर सम्बोधन नै गर्न सकेनन् । हातखुट्टा काम्यो ।
‘के अपराध गरेको थिएँ र यस्तो भयो ?’, उनलाई हिनताबोध भयो । तर, त्यसपछि उनले आफुभित्र आत्मविश्वास विकास गरे ।
सानैदेखि उनी ललितपुर उद्योग वाणिज्य संघको गतिविधी र साधारणसभासँग परिचिति थिए । ०४७ सालमा संघको रजत जयन्ती थियो । उनी प्रचार प्रसार विभागको सदस्यमा मनोनित भए । लगत्तै ३ सदस्यीय रजत जयन्ती विशेषांक कमिटी गठन भयो । उनी त्यसको पनि सदस्य भए । त्यसपछि संघको स्थापना कालदेखिका माइन्युट हेर्ने, इतिहास बुझ्ने, धरैसँग अन्तर्वार्ता गरेर अनुभव लिने मौका पाए ।
०४९ मा उनी लोकप्रिय मत ल्याएर ललितपुर उद्योग वाणिज्य संघको कार्यसमिती सदस्य भए । ३ कार्यकाल १ नम्बर भोट ल्याएर सदस्य भए । त्यसपछिको चुनावमा फेरि म १ मतले हारे । अर्को पटक फेरि सदस्य भए, १ नम्बरकै भोट ल्याएर । अर्को कार्यकालमा आन्तरिक रुपमा पद विभाजन अनुसार सहमहासचिव भए, ०६२ देखि ०६४ सम्म । २ कार्यकाल प्रत्यक्ष निर्वाचित महासचिव भए । दोस्रो पटक निर्वाचित अध्यक्ष भए ।
०५३ देखि ०५५ को कार्यकालमा तालिम तथा गोष्ठी समितीको संयोजक हुँदा जर्मन संस्था जीटीजेटलगायतको सहयोगमा तालीम, गोष्ठी तथा अन्तरक्रियाहरु गरेर चेम्बरको छविलाई उजिल्याने काम गरेको उनको अनुभव छ ।
संघमा महासचिव हुँदा अन्तराष्ट्रिय रुपमा २००९ मा भुटान उद्योग वाणिज्य संघसँग एमओइ गरेको सम्झन्छन् उनी । अरु वैदेशिक सक्रियताका सन्र्भ पनि सुनाए उनले । त्यसैगरी दुई तीनओटा मजदुर मुद्धा टुँग्याइएको प्रसंग पनि सम्झन्छन् ।
कुरा गर्दै जाँदा उनी चैत २०६९ को ललितपुर महोत्सव सम्झन्छन्, ‘त्यो एउटा मेघा इभेन्ट थियो । आयोजकको रुपमा ललितपुर उद्योग वाणिज्य संघ, उपमहानगरपालिका र ज्यापु समाज थियो । समग्र वस्तुगत समिती र टोल सुधार समितीहरु सहआयोजक थिए । त्यसले समग्र ललितपुरलाई राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा चिनाएको थियो ।’ सयभन्दा बढी टोलमा कार्यक्रम भएका थिए । कुनैमा खाना त कुनैमा मुर्ति कुँद्ने । सिंगो जिल्ला नै महोत्सवमय भएको थियो ।
महोत्सवमा विभिन्न देशका नेपालस्थित कुटनीतिज्ञहरु बोलाएर हेरिटेज वाक पनि गराइएको थियो ।
एक जिल्ला एक उत्पादन अनुसार उनीहरुले ललितपुरलाई हस्तकला जिल्ला घोषणा गर्न माग गरे । तर, उनलाई लाग्छ, ‘एक गाउँ एक उत्पादनको अवधारणा जापानबाट आएको भनिए पनि त्यसका लागि हामी पहिला हौं । तर, हामीले समयमा भन्न जानेनौं । ललितपुरमा त्यो पहिलेदेखि निरन्तर छ ।’
जस्तो कि भिन्छेबहाल प्रस्तर कलाका प्रसिद्ध छ भने जोमबहाल काष्ठकलाको लागि । ओकुबहाल र नागबहाल धातुका मुर्तिकलाका लागि प्रसिद्ध छ भने बुबहाल चाँदीका हस्तकलाका लागि । त्यसैगरी च्यासल माटाका भाँडाकुडा, सुबहाल परालजन्य उत्पादन र टंगल ताम्रकलाको लागि प्रसिद्ध छ ।
खोकना तेल, बुंगमती काष्ठकला, सिद्धिपुर परालजन्य उत्पादन, लुभु ठैव टेक्सटाइल, चापागाउँ खुवा, गोदावरी फ्लोरीकल्चर, बडिखेल बाँसको उत्पादन, प्यांगगाउँ प्यांग र गोटीखेलभन्दा माथिको गाउँ दुग्ध तथा तरकारी र अझ माथि ठुला दुर्लूंग बेल्ट चियाकफीका लागि प्रसिद्ध छ ।
‘त्यसलाई उचित र आक्रामक बजारीकरण गर्न नसक्नु कमजोरी हो’, छुट्टिनुअघि अजरले सुनाए ।