इच्छापत्रः प्रिय धोकेबाज म मर्दै छु, अन्तिम पटक मलाई हेर्नु

इच्छापत्र र जिन्दगी

सोफिया (नाम परिवर्तन)

एम्बुलेन्सको तीव्र गतिमा अक्सिजन मास्क लगाएर अगाडिको जीवन सोच्न सक्नुहुन्छ ? के तपाईले अब मर्दै छु भनेर प्रेमीलाई भेट्न कसैलाई आग्रह गर्नुभएको छ ? मर्नलाई प्रयोग गरिएको बिष पिए भनेर पे्रमीलाई भन्न सक्नुहुन्छ ? अन्तिम पटक प्रेमीलाई भेट्छु अनि उपचार गर्छु भनेर जित गर्न नि ? कि हातमा विषादीको बोत्तल लिएर अरुको जीवनको लामो आयुको बारेमा सोच्नुहुन्छ ? आफ्नाहरुको माया मारेर अरुका लागि बाँच्न नि ? आफै मरेर अरुको एक दिन आयु बढोस् भनेर सोच्नुहुन्छ ? कि प्रेमी बचोस् लामो आयु भनेर आफैलाई मार्न सक्नुहुन्छ ? उसलाई बाचोस् भनेर प्रेमीको बिहे होस् भनेर भन्न नि ? उसको विहेको शुभकामना दिन सक्नुहुन्छ ? रातभरि आँखामा काली र भेरी बगाएर सुख्खा हुन सक्नुहुन्छ ? मनमा आँधी तुफान बोकेर शान्त रहन सक्नुहुन्छ ? अनि जिन्दगी सकाउन गरेको हर असफल प्रयास । अरुको घरको कोठामा तीन महिना आफैलाई बन्द गरेर प्रेमीलाई आफैसँग छ भन्न नि ? यदि सक्नुहुन्छ भने मलाई भेट्नु ।

अहो ! यति धेरै प्रश्नहरु मैले किन सोधेँ हुँला ? यो मेरो विगत थियो । म निकै अभावमा पनि बाँच्न सक्ने मान्छे हुँ सायद । या मैले अभाव देखेकै छैन । कि अभाव नै छैन । यति बेला मन मौन छ । ती प्रश्नहरुको जवाफ मसँग छ । के ती मेरो पेवा हो ? कि यी कुराहरु भन्दा माथि उठेर लेख्न नि ? या ती सबै कुरा अरुको जीवनमा पनि लागु हुन्छ ? अझै पनि यो मलाई थाहा छैन ।
अँ तपाईले मुटु निकालेर अरु कसैलाई बाँच्न प्रेरणा दिनु भएको छ ? अनि प्रेमी बाचोस् भनेर उसलाई छोड्न नि ? मृत्यू जीवनको अन्तिम विन्दु हो । हुन त मान्छेले जीवनको डोर अरु कसैको हातमा सुम्पिन्छ । अनि जुन दिन डोर फुस्किन्छ, त्यहि दिन उसको जीवन सकिन्छ । तपाईलाई माया गर्ने मान्छे खुशी होस्, यो हरकोहीको चाहना हुन्छ । तपाई खोसेर लिन सक्नुहुन्न कसैको जीवन । तर, तपाईँलाई तपाईँसँग खोसेर लिन्छन् मान्छेहरु अनि बस् तपाईको अस्मिता लासभन्दा फरक हुन्न । मैले अरुलाई रुवाउन कहिल्यै सकिनँ, मैले त्यसो पनि गरिनँ, जुन उसलाई अप्ठ्यारो होस् । गरिनँ । तर, बाँच्नलाई र मर्नलाई गरेको कोशिस सायद कसैले गर्न सक्दैन । म जन्मै हारेको मान्छे । मैले कसैलाई रुवाउँदा हुने पीडा बुझ्न सक्छु । कसैले तपाईसँग गरेको मजाकले मुस्किल भएको कुरा तपाईबाहेक अरुले सायद बुझ्न सक्दैन । मैले खोस्ने हिम्मत पो किन गथेँ हुँला र ? मैले बाँचेको खोव्रmो पनले त्यस दिन साच्चिकै पीडा भएको थियो । सहन नसकेर मुटुको उचाई मभन्दा अग्लो भएको थियो । म अन्तिम पटक उसलाई अँगाल्न चाहन्थेँ । अनि धन्यवाद दिन चाहन्थेँ । त्यति अँगालोको लागि । तर उसलाई छोएर मैले मलाई झन् मैलो बनाउन मन थिएन । जीवन सकियो भनेपछि केही चीज आफ्नो लाग्दैन । रित्तो पारेर खोक्रो बनाउनेहरु खुशीले बाँच्दा रहेछन् । अनि सहजै झुट बोलेर बाँच्न पनि ।

मर्न गरिएको नकाम प्रयासपछि मैले एम्बुलेन्सको सीटमा अक्सिजन माक्स लगाएर उसलाई कल लगाएँ । उसले त्यहि दिन नम्बर बदलेको रहेछ । त्यसपछि उसको नजिकको एकजना उसकै साथीलाई कल गरेँ । उसले उठाएन । मैले हस्पिटल नपुग्दै माक्स हटाएँ । गाडी रोक्न लगाएँ । कापी किन्न लगाएँ, अन्तिम पटक पनि उसलाई सम्बोधन गर्नु थियो मलाई । मभित्र भएको असहजता ठिक भयो भन्दै साथीलाई अनौठो व्यवहार देखाएँ ।

लेख्न बसेँ,

प्रिय धोकेबाज, तिमीलाई यो शुभकामना । म मर्दै छु । तिमी खुशीले बाँच्नु तर अन्तिम पटक मलाई हेर्नु । मेरो लासलाई अग्नि तिमी नै दिनु । सक्छौ भने एक पटक तिम्रै हातबाट अबिर लगाउनु । सिन्दुरको हक त रहेन । तिमीले यति सहजै झुट बोल्यौ, तिम्रो मन पोलेन । आगोजस्तै रहेछौ तिमी, कमसेकम मेरो लास तिमीले जलाउनु । मेरो खुशी, मेरो अस्मिता मेरो जीवन तिमीसम्म त कोरेको थिएँ । भैगो, तिम्रो झुट तिमीलाई तिम्रो दाम्पत्य जीवनको उपहारस्वरुप राख । मेरो मृत्यूपछि तिम्रो जीवन कहिल्यै दख्खल हुने छैन ।

मेरी आमा मलाई माफ गर्नु । मेरो जीवन बाँचेर केही छैन । दिदी बहिनी भाइ र आफन्तले के सोच्लान् । यो नसोच्नु म सधैँ तपाईँहरुको यादमा त हुने नै छ । मलाई माफ गरिदिनु । तपाईलाई थाहै छ आमा तिनीहरुले गरेको मजाक । सयौँ पटक मैले उसकै कुरा लिएर भनेको मानिनँ, तपाई सही हुनुहुँदो रहेछ । मैले मान्छे चिन्न सकिनँ ।

त्यसपछि के भयो । उसको नाम लिँदै बेहोस भएको कुरा थाहा भयो । १५ दिन कसरी बित्यो थाहै भएन । मलाई हस्पिटलको बेडबाट उठ्नासाथ यो पत्र दिए ।

Advertise
Hike & Write

यो पत्र जीवनको नयाँ अँश हो । मैले अरुको लागि गरेको त्याग हो १५ दिन । मेरो लागि यो नयाँ जीवन हो । बाँचियो किन भनेर पछुतो शुन्य नै छ । मरिनँ किन भन्ने पनि उति नै । दुखी हुन, आँशु झार्न, पीडा सहन त मैले मास्र्टस् नै गरेँ । तर मानवता मारेर बाँच्नेहरु कहिल्यै पछुतो नमान्दा रहेछन् । चिसो नपस्दो रहेछ । यदि म मरिहालेको भए मेरी आमाले सन्तान गुमाउँथिन् । तर, उसले जीवनको महत्वपुर्ण समय कुनै जेलमा या पश्चतापमा बिताउन पर्ने थियो । मैले बाँचेर उसलाई खुशी दिन सकेको छु जस्तो लाग्छ ।

आज पनि म हेर्छु जस्तोसुकै परिस्थिती होस् । मरेर बाँच्नेहरुको बीचमा म पर्छु । लडेर हिँड्न नसक्नेहरुको कमजोर कडी हो विश्वास । त्यसैले विश्वासको आग्लो नलगाउनुहोस् । हरकोहीलाई शंकाले हेर्नु । धोका दिने भनेको नजिककै मान्छे हो र शत्रु त हाँक दिएर चोट दिन्छन् । तर, आफ्नाहरु नजिकै बसेर छुरा रोप्छन् । प्रेमी मार्छन् । त्यसैले जीवन अमुल्य छ । कसैलाई बाँधिराखेर कोही खुशी हुन सक्दैन । जीवन यही हो ।

कुनै दिन हाँसेर याद गरौँ नमिठा पलहरुलाई । गुम्नेहरुलाई डाहा होस् । गुमाउनेहरुले आहा होस् । कतिले प्रिय मान्छेहरु गुमाएका छन् कतिले जीवन नै । हामी भाग्यमानी छौँ जसले जीवन पाएको छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button