
जब साधना गर्न थालेँ, तब स्वस्थानी व्रतप्रति मेरो धारणा बदलिएको छ

शान्ता सिम्खडा
माघ महिना भन्ने बित्तिकै श्री स्वस्थानी माताको व्रत कथा मानसपटलमा आइहाल्छ । बच्चा बेलादेखि नै स्वस्थानी कथा श्रवण र वाचन गरियो । तर स्वस्थानीको महिमा बुझ्न सकिएको थिएन । कथाभित्र भएका रोचकता र भयानकतामा मात्र हराइरह्यो बालमस्तिष्क ।
उमेर किशोरावस्थामा प्रवेश गर्दै गर्दा कथाप्रति त्यही अनुसारको भाव प्रवल हुँदै जाँदो रहेछ । भगवानप्रतिको आस्था र विश्वास गर्ने भावनाको स्तर पनि फरक पर्दो रहेछ । अध्यात्मलाई नबुझेको कारणले अरु शास्त्रीय कर्मकाण्ड जस्तै लाग्थ्यो यो व्रत विधि पनि । एक पटक साथीहरूको लहैलहैमा लागेर मैले एक महिनाको व्रत अनुष्ठान गरें । स्वस्थानी व्रतको अनुष्ठान केटाहरूले गरेको विरलै सुनिन्थ्यो । तर हाम्रो समुहमा एकजना दाइ पनि हुनुहुन्थ्यो । उहाँले हाम्रोभन्दा कट्टर भएर व्रत गर्नुहुन्थ्यो । व्रतको महिमामा पार्वतीले शिवलाई मागेजस्तै हाम्रो समुहमा पनि विवाहितहरूको आफ्ना पतिका लागि स्वास्थ्य, दिर्घायु, समृद्धि र सद्बुद्धिकै माग हुन्थ्यो । अविवाहितका माग भने सरकारी जागिरे, असल र इमान्दार पति नै हुन्थ्यो । दाइ पनि अविवाहित नै भएकाले पत्नीको हकमा पार्वती जस्तै सुशील पत्नी नै मागे होलान् । आआफ्ना अन्तकरणमा बिम्बित भएका अन्य मागचाहिँ अरुले थाहा पाउने कुरा भएन पनि ।
मेरो किशोर मस्तिष्कमा पनि एक असल, प्रेमिल र इमान्दार पतिको चाह नभएको भने हैन । तर किन हो माग्नै चाहिँ मन लागेन । मलाई जे चाहिन्छ, त्यो भगवानलाई थाहा छ, त्यसैले चाहिएको भगवानले दिइहाल्नुहुन्छ नि, किन मागेर दुख दिनु भन्ने धारणा थियो त्यसबेला मेरो । तर अहिले के पाएँ पाइन नै थाहा छैन । तर भगवानप्रति म सधैं कृतज्ञ हुन्छु । मैले जे पाएको छु, त्यो मेरै आवश्यकता थियो । अब जे पाउँछु, त्यो नितान्त मेरै आवश्यकताका वस्तुस्थिति हुनेछन् ।
जब म अध्यात्मको बाटोमा हिंड्न थालेँ र साधना गर्न थालेँ, तब स्वस्थानी व्रतप्रति मेरो धारणा बदलिएको छ । स्वस्थानी व्रतकथा नामैले नारीवादी जस्तो लाग्छ । तर यहाँ एउटी स्वस्थानी देवीबाहेक अरु कुनै पनि नारीको प्रभुत्व देखिँदैन, कथालाई नै आधार बनाउने हो भने पनि । नारीको उत्थानभन्दा दमन नै बढी देखिन्छ । सात वर्षकी गोमा र सत्तरी वर्षका शिव शर्माको विवाहले नारीको दमन त छँदैछ, त्यो भन्दा बढी पुरुषको नीचतालाई नै बढी उजागर गरेको छ । शिव शर्माले आफ्नी नातिनी पनातिनी सरहकी बालिकालाई विहे गर्न नपाए, आफूले जीवनभर गरेको तपको दुरुपयोग गरेरै भए पनि गोमालगायत उनका मातापितालाई श्राप दिएर आफू पनि आत्महत्या गर्ने धम्की दिनुले पुरुषहरूको हिन मानसिकतामाथि प्रश्न उठाएको छैन र ?
मैले सुनेको थिएँ, मर्ने बेलासम्म पनि पुरुषहरूको चेतनालाई कामवासनाले नै थिचेको हुन्छ । त्यो शिव शर्माको चरित्रले प्रमाणित गरिदिन्छ । सात वर्ष र सत्तरी वर्ष, त्यो त अत्ति हो । त्यतिबेलाको समाज रजोवती नभएकी आफ्नी नाबालक छोरीलाई वस्तुसरह दान गरेर पुण्य कमाउने धुनमा थियो । त्यसबेलाका मान्छेले पुण्य कमाए, कमाएनन्, थाहा भएन । तर अहिलेको आधुनिक र शिक्षित भनेको समाजको पनि त्यही गति छ । सम्पतिको लालचमा आफ्ना हजुरबुबा समानका वृद्धसँग विहे गर्ने केटीहरू जत्ति नि छन् । एक्लो व्यक्तिसँग विहे गर्दा त ठिकै पनि होला । तर सम्पतिको लालचमा वा वासनाको प्रभावमा परेर परिवार, श्रीमती, छोराछोरी भएकाहरूसँग विहे गरेर अरुको जीवनसमेत बर्बाद पार्ने आइमाई (केटी)हरू धेरै छन् समाजमा, खोज्ने नै हो भने ।
यहाँ शिव शर्मा र गोमाको मात्र अनमेल विवाह छैन । स्वस्थानीलगायत पुरै स्कन्धपुराणका वाचक कुमारजीको विवाह पनि अनमेल नै थियो । उनकी धर्मपत्नी देवसेना विवाहयोग्य हुने बेलासम्म पनि कुमारजी जन्मिएकै थिएनन् । विवाहयोग्य देवसेनाको लागि सारा पृथ्वीमा उनको योग्य वर नभेटेपछि चिन्तित बनेका उनका पिता दक्ष प्रजापतिले इन्द्रसँग सल्लाह गरे । इन्द्र, ब्रम्हा लगायतका देवताहरूले देवसेनाको लागि कोहि पनि योग्य नदेखेपछि उनको योग्यतालाई ध्यानमा राखेर स्कन्ध अर्थात् कुमारजीको सृष्टि गरे, जुन महाभारतमा उल्लेख छ । हो, यहाँ यो कुरा पनि लेखिनु पर्थ्यो भन्ने लाग्छ ।
यहाँ एकातिर स्वस्थानीलाई सर्वशक्तिमान देखाइएको छ भने अर्कोतिर स्त्री जातीको स्वतन्त्रलाई कुन्ठित पार्न खोजिएको छ । किनकी, यस कृतिमा समानुपातिक रुपमा घटना तथा विषयवस्तुहरू प्रस्तुत गरिएको छैन । जस्तैः गोमा र शिव शर्माको विहेलाई हाइलाइट गरेर देखाइनु तर कुमारजी र देवसेनाको विहेलाई लुकाइनु । अर्को पत्नीले पतिलाई मुख चलाए भकभके हुछे, लुकाएर खाए कुकुर्नी हुन्छे आदि इत्यादि । तर शास्त्र अनुसार यो नियम पुरुषहरूमा अर्थात् पतिमा पनि लागू हुन्छ । पत्नीको खुसी र आत्मसम्मानको रक्षा गर्न नसक्ने वा नगर्ने पतिलाई पशुको दर्जा दिइएको छ । अरु पनि थुप्रै छन् । सप्तऋषिका पत्नीहरू आफ्ना पतिका अपूर्ण तप र ढोंगी रवाफबाट वाक्क भएर परम बैरागी शिवको पछि लाग्दा उनीहरूको चरित्र र यौनिकतामाथि प्रश्न उठाएर श्रापित गरिएको छ । तुलनात्मक रुपमा हेर्ने हो भने पुरुषमा भन्दा स्त्रीमा संयमता बढी हुन्छ । अधिकांश पुरुषको कामवासना शरीरमा पोखिन्छ भने अधिकांश त्रीको समर्पणमा । पुरुषहरू बुर्का लगाएका स्त्रीलाई समेत आँखैले नङ्ग्याउँछन् । तर अधिकांश स्त्रीहरूको मनमा नाङ्गा पुरुष देख्दा वासना हैन, घृणा उत्पन्न हुन्छ । उनीहरू आफ्नै आँखाले लज्जा र संयमको वस्त्र लगाइदिएर उपेक्षा गर्ने सामर्थ्य राख्छन् । हो, त्यही विवेकहिनताको कारण ऋषिहरूले महादेवबाट श्राप पाए, अपूर्णता र पाख०डीपनको । ब्राह्मण त्यसमाथि पुरुष भइकन विवेकहीन, असंयमित र मर्यादाहिन हुनु लज्जास्पद कुरा हो । यो हरेक शास्त्रको अध्ययन पछि अनुभूत हुन्छ ।
स्वस्थानी र साधना
जब साधनाको बाटोमा हिंडेर धेरथोर अनुभव गरेँ, त्यसपछि शास्त्रहरूप्रतिको मेरो दृष्टिकोण बदलिँदै गएको छ । हामी अधिकांशलाई शास्त्र भनेको कपोलकल्पित कथा जस्तो लाग्छ । सामान्यवस्थामा यो स्वभाविक नै हो । किनकी हामी आफैँले आधा जीवन बाँची नसक्दा आफू जन्मेर खेलेको, कुदेको स्थान र परिस्थिति त अहिले आफैँलाई एउटा कथाभन्दा बढी केही हैन जस्तो लाग्छ भने हजारौं वर्षको इतिहासलाई हामीले जीवन्त देख्न नसक्नु कुनै नौलो कुरा होइन । यो हाम्रो कमजोरी पनि होइन । तर यसको खोज गर्न नसक्नु, नगर्नु अनि यसबारे अनर्गल कुरा गर्नु चाहिँ हाम्रो कमजोरी मात्र नभई अज्ञानता पनि हो । तर स्वस्थानीको सन्दर्भमा स्कन्ध पुराणका घटना र त्यसलाई पुष्टि गर्न दिइएका दृष्टान्तहरूका टुक्राहरूलाई संकलन गरेर तयार गरिएको स्वस्थानी व्रतकथाको पुस्तक भने आफैँमा छुट्टै अस्तित्व बोकेको शास्त्रचाहिँ होइन ।
यो एउटा गौंण साधनाको विधि बताइएको रहस्यमय पुस्तक हो । स्वस्थानी कथालाई गहन अध्ययन गरी निष्ठावान भएर व्रत र अनुष्ठान गर्नु भनेको सहज र सरल रुपमा कुन्डलिनी जागरण गर्नु हो । स्वस्थानी अर्थात् आफ्नो स्थानमा स्थिर र अडिग भएर रहने देवी । जसलाई शास्त्रले पराशक्ति भनेको छ । साङ्ख्यले प्रकृति भन्छ भने ज्ञानयोगमा पराप्रकृति भनिएको छ । आआफ्ना यौगिक साधनाका मान्यता अनुसारको सम्बोधित नाम फरक हुनसक्छ । यहाँ पुरै कथा शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको कठिन तपस्यामा आधारित छ, जसलाई कतिपय बुद्धि विलासी विद्वानहरूले अतिरंजित बनाएर प्रस्तुत गरेका छन् । टीका टिप्पणी गरेका छन् । जसले उनीहरूको दरिद्र विद्वतालाई प्रमाणित गरिरहेको हुन्छ । पार्वतीले तप गरेर शिवलाई प्राप्त गर्नु भनेको मुलाधारमा स्थित पराशक्ति जागृत भएर सहस्रारमा स्थित परम चैतन्य पुरुष तत्वमा लय हुनु हो । लय भएको जुन संयुक्त र स्वतन्त्र स्वरुप छ, उनै हुन परम शक्तिशाली स्वस्थानी देवी ।
त्यसैले यहाँ स्वस्थानीलाई एकल तर सबैलाई वशीभूत गर्ने सामर्थ्य भएकी स्वतन्त्र सत्तायुक्त देखाइएको छ, जुन अवस्थामा कुन्डलिनीको पूर्ण जागरणपछि मान्छे स्वयं पनि पुग्छ । पार्वती अर्थात् स्त्रेणगुण हामी सबै मानव हौं । हामीलाई स्त्री र पुरुष अंगको भेद मात्र सृष्टि सम्हाल्नको लागि दिइएको हो । शास्त्रले मान्छेलगायत ब्रह्माजीसम्मलाई स्त्री स्वरुप मानेको छ । त्यसैले चैतन्य पुरुषको प्राप्तिको लागि सबै देवता पनि जप र तपमा बस्ने कुरा शास्त्रमा उल्लेख छ । यस अर्थमा स्वस्थानीको व्रत अनुष्ठान इच्छुक साधक (महिला, पुरुष) सबैले निष्ठापूर्वक गर्न सक्छन् ।
जय स्वस्थानी माता ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)