मरिछन् मासु काट्ने ‘मायालु’
अनुभुतिः पीडाबोध
प्रकाशप्रसाद उपाध्याय
मासु नखाएको महिनौं भएको थियो । कारण थिए, कोभिड १९ को संक्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्नु र किनमेलका लागि बाहिर ननिस्कनु । दूध, तरकारी, नून–तेल आदिको आवश्यकता पानीको जार ल्याउने साहुजीले पूरा गरिदिन्थे । त्यसै गरी आफ्नो औषधिको मासिक आवश्यकता फार्मेसीको भाईले घरमै सप्लाई गर्दै पूरा गरिदिन्थे । दुई डोज भ्याक्सिन खोपाएपछि र कोभिड १९ को संक्रमण दर घट्न थालेपछि चाडलाई मांसाहारी रूप दिनुप-यो भन्ने सोच बनाउँदा बाहिर निस्किने सोच आयो ।
छिमेकमा भएको बगरेभाईको पसल अन्त सरेको भए पनि उनी बेला–बेलामा बोका काटिँदा मासु ल्याइ दिने गर्दथे । तर कोरोनाकालमा मासुको खपत बन्द भएको थियो । सामाजिक दूरीको प्रश्नले बाधा तेर्साएको थियो । तर यसपालि दशैंको अवसर पारेर उनलाई फोन गरेँ, ‘साहुजी, के छ हालखबर ? बोकाको स्थिति के छ ? दशैँ त मनाउनु प-यो नि ।’
‘बिजोग छ बुआ । म स्कूटर एक्सिडेन्टमा परेँ । हात र खुट्टामा रड लागेको छ । ओछ्यानमा लडेको तीन महिना हुन लाग्यो । फोनमाथि फोन आइराख्छ । तर म असमर्थ छु बुआ । व्यवसाय ठप्प छ ।’
‘हरे ! थाहा पाएर दुख लाग्यो साहुजी । भगवान पशुपतिनाथले रक्षा गर्नुभो । ज्यान बाँच्यो, ठूलो कुरो हो । व्यवसायमा उतारचढाव भइरहन्छ । तँग्रिएपछि सबै ठीक हुन्छ । चिन्ता नगर्नोस् । मेरो शुभकामना छ, चाँडै स्वस्थ हुनोस् ।’
दुई डोज भ्याक्सिनको खोप र कोभिड १९ को संक्रमण दरमा हुन थालेको ह्रासलाई ध्यानमा राख्दै बाहिर निस्कें र गएँ त्यस पसलतिर जहाँबाट मैले सुरू–सुरूका दिनहरूमा मासु किन्ने गर्दथें । त्यहाँ साहुजीलाई देखेँ, अन्यथा पसलको शोभा साहुनीले बढाउने गर्दथिन् । साहुनी गोरी, हँसिली र चिटिक्क परेकी मात्र होइन, रमाइलो कुरा पनि गर्ने । कुरा गर्दै मासु काट्नमा सिपालु । उनका कुरा र काम गर्ने सीप मलाई मन पर्ने गरे पनि कुरा गर्दै मासु काट्दै गरेको देख्दा डर पनि लागिरहन्थ्यो । एक दिन आफूलाई रोक्न नसकी भनें, ‘साहुनी कुरा गर्दा एक छिन यो छुरा रोके हुन्न ? कुरा गर्दै मासु काट्दा कतै …’
‘चिन्ता नगर्नोस् बुआ । मलाई बानी परिसकेको छ । फेरि मासु टुक्र्याउने काम रोकेर कुरा गर्न थाल्यो भने अरु गाहकीहरू कुरेर काँ बस्छन् र बुआ ।’
‘त्यो त हो साहुनी ।’
‘हजुरसित कुरा गर्दा रमाइलो लाग्छ बुआ । मेरो बुआ पनि हजुरकै उमेरको हुनुहोला । दाँत अझै बलिया छन् । अहिले पनि मकै भट्मास मरमरी चपाउनु हुन्छ । हजुरका दाँत पनि त सक्कली नै देखिन्छन् । बलियै देखिन्छन् । सबै छन् होइन ?’
‘हो साहुनी ?’ भन्दै म हाँस्छु ।
‘मेरो बुआ पनि यसै गरी हाँस्नुहुन्छ’ भन्दै उनले तराजुबाट एउटा चोक्टा झिकिन् । मैले जिस्कँदै भनें, ‘साहुनी, एउटा कुरा भनुँ, रिसाउनुहुन्न भने ।’
‘हरे, भन्नोस् न बुआ ।’
‘तपाईं बुआ भन्नुहुन्छ । यति मान दिनुहुन्छ । तर तराजुबाट एउटा चोक्टा पनि झिक्नुहुन्छ ।’
उनी हाँस्छिन् र भन्छिन्, ‘हो बुआ, झिक्नु त नपर्ने हो । तर मेरो व्यवसाय नै यस्तो छ । दिनभरि हजुरजस्तै गाहकीहरू आउँछन् । माया गर्न थालेँ भने व्यवसाय नै बन्द गर्नुपर्ने हुन्छ ।’
‘म बुझ्छु साहुनी । म जिस्केको मात्रै हो ।’
साहुनीका यस्ता कुराबाट म खुसी हुन्थें । खुलेर कुरा गथ्र्यौं । तर यो वाक्पटुता उनको व्यावसायिक ट्रिक हो कि यथार्थ भावना, बुझ्दिनथें । तर उनीसित कुरा गर्न रमाइलो लाग्दथ्यो ।
दशैं सकियो । तिहार आयो । भाईटीकाको अवसर पारेर फेरि मासुपसलतिर गएँ । आज पनि साहुनीको सट्टा साहुजी छन् पसलमा कुखुरा जोखिराखेका । कुखुरा किन्ने गाहक गए पछि मेरो पालो आउँदा सोधें, ‘साहुनी मन्दिरतिर गा’हो कि कसो साहुजी ?’
‘होइन । … उहाँ बित्नुभो ।’
‘हरे ! कहिले ?’
वृत्तान्त बताए तर रोग बताएनन् । कोरोना कारण रहेनछ, यो भने प्रष्ट भयो । मैले आइमाईको मामिला भएकोले धेरै सोधिनँ र भनें, ‘थाहा पाएर दुख लाग्यो साहुजी । उहाँको आत्मालाई शान्ति मिलोस् । मिजासिली हुनहुन्थ्यो ।’
‘के गर्ने सर ! यत्तिकै दिनको साथ रहेछ । … अँ कति जोखुँ ?’
उनले व्यथा लुकाउन चाहे । मैले पनि कुरा छोट्याउँदै आफ्नो आवश्यकता बताएँ । उनले त्यसअनुसार मासु जोखे र टुक्र्याए । म पैसा तिर्दै घरतिर हिँडें । तर बाटोभरि साहुनीको हँसिलो छवि आँखा अगाडि आइरहे । साहुनी र ओछ्यान परेका बगरेभाईका मीठा कुराहरू कानमा गुँजिरहे । अनि दुवै बगरेभाईहरूका व्यथाले मनलाई द्रवित पनि गरिराख्यो ।
चाडपर्व आए र गए पनि । यस उल्लासमय अवसरमा रमाइलो गर्नुको सट्टा मानसिक वेदना बोक्दै जीवनयापन गर्न कर्मक्षेत्रमा ओर्लनुपर्ने त कसैले शारीरिक व्यथा सहँदै जीविका चलाउन असमर्थ हुने यी पात्रहरूको वाध्यता सम्झिँदा मन बेला–बेलामा खिन्न हुने गर्दछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)