
… तर कमर शाह र शम्भुरामलाई त्यस्ताे भाेलि भाेलिपल्ट आएन
घस्रिँदै आइरहेको पुसका भयावह रात !
हेर्दाहेर्दै दुई वर्ष बितिसकेका थिए । २०१५ सालका दशैँ- तिहारका रमाइला चाडपछि उसकाे अफिस, निजी जीवनमा धेरै परिवर्तन आइसकेका थिए । मित्रमण्डली फराकिलाे भएकाे थियाे । उसले दिल्ली विश्वविद्यालयकाे कानून फ्याकल्टीमा भर्ना भई पढाइ पनि छाडिदिसकेकाे थियाे- बिहान साढे ६ बजे निस्केकाे बावु राती ९ बजे मात्र फर्किनेहुँदा छाेराछाेरीहरुले पनि चिन्न छाेड्ने परिस्थिति आई पर्दा ।
यसबीच विश्वमा र नेपालमा पनि राेचक तथा सकारात्मक परिवर्तन भइरहेका थिए । मुलुकमा राजनीतिक बाटाे अबउप्रान्त चुनाैतीपूर्ण भए पनि शान्तिपूर्ण तथा संस्थागतरूपमा स्थापित हुने उसकाे विश्वासले बल पाइरहेकाे लाग्दथ्याे, उसलाई ।
तर, नेपालकाे र विश्व राजनीतिमा नकारात्मक भूमिका खेलेर वातावरणलाई बिगार्न, झन्झन् बिगार्ने शक्तिहरूकाे पनि कमी रहेन छ । याे कुराले उसलाई २०१७ सालकाे मंसीरतिर बडाे आशंकित गराइरहेकाे थियाे । खासगरी याे नेपालभित्रकाे सत्ता राजनीतिका र विश्व कम्युनिष्ट आन्दाेलनका घटनाक्रमबाट प्रस्टिँदैथ्याे । त्यसमाथि राजस्थानी मरुभूमिकाे शीतलहरले घाममा ओढ्ने ओढेर बस्दा पनि जीउ ठिहिराउन नछाड्ने दिल्लीकाे जाडाेले मनै नरमाइलाे पारिरहने मंसीरकाे आखिरआखिरी समय बेग्लै ।
राजा महेन्द्रले संवैधानिक राजतन्त्री संसदीय प्रजातन्त्रमा चित्त बुझाउन नसकेकाे घटनाक्रम प्रकट हुन समय लागेन, भलै प्रधानमन्त्री विश्वेश्वरप्रसाद काेइराला २००८ सालका घटनाहरुबाट शिक्षा लिन सचेष्ट देखिन्थे । उनले त २०१६ सालकाे प्रजातन्त्र दिवस टुण्डिखेल चाैरमा संसदमा प्रमुख प्रतिपक्षी नेता भरतशम्शेर राणा र नेकपा महासचिव डा. केशरजंग रायमाझीलाई सहभागी बनाई मनाएका थिए । राजनीतिकाे एउटा महत्त्वपूर्ण सकारात्मक पक्ष थियाे । तर, सुवर्णशम्शेरमार्फत विप्रलाई शुरुमै सत्तामा आउन नदिने चाल विफल भएपछि महत्त्वाकांक्षी राजा आफ्नाे स्वार्थ पूरा गर्नगराउन अरु चलखेलमा व्यस्त थिए । आखिर नेपाली काँङ्ग्रेस संगठनका दृष्टिबाट एक ढिक्काे देखिए पनि अनेक स्वार्थहरुकाे भीडन्तबाट कमजाेर पनि छँदैथ्याे ।
राजाका आफ्ना यस्ता चेष्टाहरूमा अब चिताउँदै नचिताएको पक्षबाट घुमाउरो तालले सहयोग प्राप्त भइरहेकोले गर्दा उनी बराबर धृष्ट पनि हुन सकिरहेका थिए । भारतीय सत्ता प्रतिष्ठान प्रम काेइरालाविरुद्ध सक्रिय भइरहेकाे गाेप्य थिएन । नेपालका प्रखर कम्युनिष्टविराेधी भनिने प्रधानमन्त्री चीनसँग सम्बन्ध सुधार र विकासमा दृढ रहेकाे पनि चीनपक्षीय भनिने नेपालका राजा तथा प्रजातान्त्रिक भारत सरकारका प्रधानमन्त्रीलाई पनि नपचेकाे भइरहेकाे थियाे । अर्काेतिर, विश्व कम्युनिष्ट आन्दाेलनकाे हकमा व्यक्तिगतरूपमा मात्र नभई राजनीतिकरूपमा पनि स्तालिन- नीतीका घोर विरोधी रहिआएका माओ त्से तुंग अब स्तालिनकै जयघोष गर्दै सोभियत नेतृत्वको विरोधमा विमतिको झण्डा फहराउँदै थिए । यो झण्डा सोभियत नेतृत्वद्वारा स्तालिन व्यक्तिपूजाको निन्दाप्रति मत्थररूपमा विरोध जनाउँदै शुरुशुरुमा सन् १९५७ मा उठाउन थालिएको थियो । विश्व कम्युनिष्ट जगतमा देखापरेका मतभेद र फुटको वातावरणलाई निवारण गर्ने हेतुले सोही साल विश्वभरिका कम्युनिष्ट पार्टीहरूको मास्कोमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यसमा सोभियत नीतिको विकल्पमा चीनियाँ कम्युनिष्ट पार्टीबाट ल्यू शाओ – चि तथा तेंग शियाओ पिंगले बेग्लै नीतिको प्रतिपादन गरे जसमा ‘समाजवादमा शान्तिपूर्ण संक्रमण’को प्रस्थापना तथा ‘शान्तिपूर्ण सहअस्तित्व’काे सिद्धान्त तथा व्यवहारलाई चुनौती दिइएको थियो । विश्वका दुई कम्युनिष्ट महारथिहरूबीच हुन थालेको मल्लयुद्ध हाललाई शब्दहरूमै सीमित भएता पनि विश्व पूँजीवादी जगतको नेतृत्व गर्ने अमेरिकी प्रशासनलाई ‘के खोज्छस् कानो आँखा’ भएको थियो । यहाँनेर एउटा विचित्रको र पत्याउन नसकिने कुरा के देखिँदैथ्याे भने अमेरिकी साम्राज्यवादलाई जरैदेखि उखेलेर फ्याँक्ने ‘परम क्रान्तिकारी’ चीनियाँ नेतृत्व अमेरिकीहरूको लागि कत्तिपनि खतरनाक नहुनु र माओ त्से तुंगले आफू नेपथ्यमा रहेर आफ्ना वैरीद्वय ल्यू शाओ चि र तेंग शियाओ पिंगलाई आफ्नो राजनीतिक तुरूपका पत्तीहरू बनाउनु । चीनियाँ कम्युनिष्ट पार्टीको सन् १९५६ मा भएको आठौँ महाधिवेशनमा माओको राजनीतिक लाइनलाई विफल ठहर्याई उनलाई राष्ट्राध्यक्षपद छाड्न बाध्य गर्ने अरु कोही नभई स्वयं ल्यू शाओ चि तथा तेङ्ग शियाओ पिंग नै थिए । तथापि किन यिनीहरु विश्व कम्युनिष्ट विभाजनमा माओका मतियार हुन राजी भए ? यी सबै चिरफार आदि कदाचित केही उसकाे ‘१९९७ सालदेखि २०१७ साल- एक अवलाेकन’मा भए पनि विस्तृत व्याख्या- विश्लेषणका लागि अँङ्ग्रेज इतिहासकार Archie Brown काे ‘The Rise and Fall of Communism’ ग्रन्थ तथा Mohit Senकाे ‘The Traveller and the Road: A Journey of an Indian Communist’ पढे थाहा हुनेछ।
सन् १९५७ को अन्तर्राष्ट्रिय सम्मेलन टालटूल सम्झौतामा टुङ्गिएकाे रहेछ । सोभियत नेतृत्व र विदेशी कम्युनिष्ट पार्टीहरूका अधिकांश नेतृत्वले मतभेद तथा विवादलाई हाल चर्काएर काम छैन, त्यसबाट अमेरिकी शिविरकै दुनो साेझ्झिने काम हुनेछ अतः आन्तरिक बहस र छलफललाई प्रशस्त समय दिइनुपर्छ भन्ने ठहर गर्याे । चीनियाँ नेतृत्वले पनि विश्वव्यापी कम्युनिष्ट विभाजनको लागि अहिले नै ‘समय परिपक्व’ नभएको ठानेर होला, चूपै लाग्नु ठीक सम्झ्यो । त्यसैले मास्को सम्मेलनपछि जारी गरिएको ‘मास्को घोषणापत्र’ मा त्यसमा उपस्थित सबै पार्टीहरूले हस्ताक्षर गरे । ने.क.पा. को तर्फबाट त्यस सम्मेलनमा पुष्पलालले भाग लिएका थिए । अब हेरौंँ त, आठौँ चीनियाँ कम्युनिष्ट महाधिवेशनको एक वर्षपछि नै विश्व कम्युनिष्ट सम्मेलनमा स्वयं पुष्पलालले प्रतिनिधिमण्डलका नेताको रूपमा भाग लिएका थिए । तर, त्यतिबेला चीन जान नपाउँदाको आक्राेशबाट उनले देखाएको राजनीतिक केटाकेटीपन, ‘infantile disorder’ ले नेपालको कम्युनिष्ट राजनीतिमा कत्तिको अनिष्टकारी परिवर्तन ल्याइसकेको थियो ।
यता सोभियत र चीनियाँ कम्युनिष्ट पार्टीबीच मतभेदले विवादकै रूप लिन थालिसकेकोले स्थितिलाई बिग्रनबाट बचाउन सकिन्छ कि भनेर प्रभावशाली अनेक कम्युनिष्ट पार्टीहरूले सोभियत नेतृत्वलाई मास्कोमा एउटा अन्तर्राष्ट्रिय बैठक आयोजन गर्न मनाएका थिए । सोभियत संघको राष्ट्रिय चाड महान अक्टोबर समाजवादी क्रान्तिको वार्षिकोत्सव पारेर सन् १९६० को नोभेम्बर महिनामा त्यस्तो सम्मेलन मास्कोमा भयो । त्यस सम्मेलनमा पहिलाकै तेंग शियाओ पिंगले सोभियत नीतिको विरोधमा झण्डा उठाए र चीनले विश्व कम्युनिष्ट आन्दोलनमा विभाजन गराइछाड्ने संकेत दिए । उनको भाषण आरोपैआरोपहरूले भरिएका थिए । सोभियत र चिनियाँ कम्युनिष्ट पार्टीका मतभेद एवं विवादबाट निश्चय नै विश्वको कुनै पनि कम्युनिष्ट पार्टी बच्न सकेन र ने. क. पा पनि यसमा अपवाद थिएन ।

यता नेपालभित्र ने. कां. सरकारको विरुद्ध राष्ट्रिय सम्प्रभुता तथा धर्म संस्कृतिको रक्षाको आवाज उठाएर योगी नरहरि नाथले गोर्खा जिल्लाबाट चलाएका अभियानले जनसहभागिता जुटाउन सकेको त थिएन तर सरकारको नीतिको आलोचना र विरोधचाहिँ मुद्दाविशेषको आधारमा भइरहेको थियो जसको नेतृत्व मुख्यतः ने.क.पा. ले नै गरेको थियो । तर, कुन विराेध सही वा उपयुक्त, कुन दरबार स्वार्थप्रेरित भन्ने छुट्टाउन गाह्राे परेकाे समयमा राजा महेन्द्र स्वयं सैनिक पोशाकमा जिल्ला भ्रमण गर्दै श्री ५ को सरकारकै विदेश नीतिको स्पष्ट एवं अस्पष्टरूपले आलोचना गरिरहेका थिए । त्यो आलोचनाको चरम प्रहार नेपालगञ्जमा उनको भाषणबाट बज्याइएको थियो । भारत सरकारप्रति पनि छद्म प्रहार रहेको उपरोक्त भाषण भारतसँग सीमाना जोडिएको शहरबाट गर्नाको उद्देश्य त स्वयं राजा नै जानून् तर याे,निश्चय नै, अशुभ सङ्केत थियाे । देशभित्रका विवाद र बाह्य सरकारसित मतभेद सुल्झाउने तरिका बेग्लै हुन्छन्, त्यस्तो धम्कीको राजनीति त कहिल्यै लाभकारी हुँदैन । तर याे पनि राजाकाे पछि खुलेर थाहा पाइएकाे कुटनीतिक चाल रहेछ, संसदीय प्रजातान्त्रिक सरकारलाई गिराउँदा भारतीय सत्ताकाे देखावटीमा विराेध र भित्रभित्र मूक समर्थन प्राप्त गर्ने । प्रम काेइरालाका भारत तथा चीनप्रति सकारात्मक हुँदै गएकाे परराष्ट्र नीत- व्यवहारमा गण्डकी सम्झाैता र घाँसे घ्यू नाम पाएकाे भारतीय डालडाघ्यू झिकाउने जस्ता असन्तुलित नीतिप्रति आन्तरिक राजनीतिक क्षेत्रहरू र जनसाधारणको न्यायोचित आक्रोशलाई राजाले अब आफ्नै स्वार्थमा लगाउन थालेका थिए ।
सोभियत सूचना विभागको काम दिउँसो २ बजे सकेर बेलाबेलामा ऊ कि त नेपाली दूतावासमा, कि त ईश्वर बरालकहाँ मित्र हरिचरण श्रेष्ठलाई लिएर वा एक्लै जाने गर्थ्याे । बरालजी तिनताक बारखम्बा राेडमै रहेकाे Sapru House स्थित Indian Council of World Affairs भन्ने नाम चलेकाे संस्थामा नेपाली विभागका प्रमुख थिए ।
‘गोरखापत्र’ अखबार अलि ताजै भन्नुपर्याे दूतावासमा र अरु सामयिक राजनीतिक साप्ताहिकहरू- नेपाल पुकार, नवयुग, राष्ट्रवाणी आदि चाहिँ बरालजीकहाँ हेर्न पाइन्थ्यो । दूतावासमा केही नबोलिकन पनि आउँदो आँधीबेहरीको सुशेलो सुनिन्थ्यो भने बरालजीको कार्यालयमा विश्लेषणात्मक राजनीतिक कुराकानी हुन्थे । पूरै वातावरण अनिष्टसूचक थियो । अब त बरालजीकाे कार्यकक्षमा मीठाे चियाका साथ सदाबहार विनाेदप्रिय कृष्णप्रसाद पन्तका रमाइला ठट्टा, उनका बरालजीसँगका शायरी प्रतियाेगिता, अर्ज कीया है, बजा फर्माते हैँ सहित हरिप्रसाद शर्मा, हरिचरण श्रेष्ठ, यादवकान्त सिलवाल, देवेन्द्रराज दलीकाे वाह,वाह, शुभान अल्लाहका गुञ्जनहरुबाट पनि उस प्रसन्न हुन सकिरहेका थिएन ।
यस्तैमा २०१७ साल मार्ग २९ गते, सन् १९६० को डिसेम्बर १४ तारिखका दिन दिउँसोपख ने. क.पा.का पोलिटब्युरो सदस्य कमर शाह तथा केन्द्रीय समिति सदस्य शम्भुराम श्रेष्ठ उसकाे अफिसमा टुप्लुक्क आइपुगे। । उनीहरू दुबैलाई एकैसाथ देख्दा ऊ अत्यन्त खुशी भयाे । आखिर, उनीहरू ने.क.पा. नेतृत्व समितिका क्रमशः बहुमतपक्षीय र अल्पमतपक्षीय सदस्य थिए । दुबैजनालाई प्रसन्नचित्त देख्दा ऊ झन् आनन्दित भएकाे थियाे । रीतपूर्वक हातेमालो गरेपछि उसले उनीहरूलाई क्यान्टिनमा लगेर चियापान गरायाे । दुवैजना प्यान्टकोट लगाएका, गोरा, फूर्तिला यी नेपाल कम्युनिष्ट पार्टीका नेता रहेछन् भन्ने लख लगाइहाले क्यान्टिनमा चिया खाइरहेका उसका भारतीय मित्रहरूले ।
उनीहरू मास्कोमा विश्व कम्युनिष्ट सम्मेलनमा भाग लिएर फर्केका रहेछन् । नेकपा महासचिव डा.केशरजंग रायमाझी अलिदिन मास्कोमै बसेकाले उनीहरू दुबै भोलिपल्ट हवाइजहाजबाट काठमाडौं जाने कार्यक्रम रहेछ । अहिले आफ्ना मालसामानहरू चाँदनी चोकको एउटा होटलमा राखेर उसलाई नै भेटन आएका रहेछन् ।
उनीहरूलाई दिउँसोको खानेकुरा त्यहीँ कान्टिनमा ख्वाएर तीनैजना अफिसबाट बाहिर निस्के। त्यहाँबाट पाँच मिनेट पनि नलाग्ने प्रख्यात र आकर्षक कनाट सर्कसको शयर गर्दै उनीहरू बितेका कुराहरूलाई भावुक भएर सम्झन थाले । उसले राजनीति छाडेर यहाँ काम गर्न आएकोमा उनीहरुले दुःख मनाए । तर यो काम पनि कम महत्वको नभएको बताए । ऊ केही नबोली चूप लागेर, मुसुमुसु हाँस्दै सुनिरहेंकाे थियाे । उसलाईचाँहि कदाचित तीनैजना सन् १९५६ को अक्टोबर महिनामा चीनको प्रसिद्ध शांघाई शहरको एउटा अस्पतालमा क्षयराेगकाे उपचार गराइरहेका नामी राजनीतिज्ञ काशीप्रसाद श्रीवास्तवलाई भेटेर त्यस शहरकाे यस्तै गुलजार र आकर्षक पेटीबाट हिंडिरहका त छैनन् भन्ने लाग्यो । त्यही कुरा उनीहरूलाई बताउँदा उनीहरू पनि ‘हो त न भन्दै’ भनी मुस्काए । त्यतिबेला मतभेद, वादविवाद सबै ओझेलमा परेका थिए । त्यस्तै दुई अढाई घण्टाको शयर र चियाचमेनापछि उनीहरूलाई होटलसम्म पुऱ्यायाे, उसले ।
चाँदनी चोक मुगल बादशाहहरूको जमानामा र त्यसपछि अंग्रेज शासनकालमा पनि खूब शानशौकतको इलाका ठहरिन्थ्यो । अब त मानिस, गाई गोस- साँढे, कुकुर, रिक्सा, ठेला, साइकल, मोटरसाइकल, मोटरगाडी, लहरी र ट्रकहरूको भीड र कोलाहलले भरिएको, यसो टाउको माथि उठाउने बित्तिकै बिजुली र टेलीफोनका तारहरूको गुजुल्टो देखिनपुग्ने, त्यसमाथि काटिएका चंगाका ‘अस्थिपञ्जर’ झुण्डिएका र धागोहरू लत्रिरहेका कस्तोकस्तो विचित्रताबीच पनि कहीं न कहीं आकर्षकता भएको इलाका थियो, चाँदनी चोकमै कुनै समय उर्दू शायरीका सम्राट मिर्जा गालीब बस्थे । त्यहीँनिर कतै एउटा रुखमा ओैरङ्गजेबले राजसत्ताकाे दानवी महत्त्वाकांक्षा राखी आफ्नाे साख्खै दाजु दारा शिकाेहलाई गर्दन काटेर मार्न लगाएपछि लास झुण्डाएर राखेका थिया, कैयाैँ दिनसम्म, दिल्लीका जनतालाई तर्साउन भनेर लेखिएकाे कुरा साहित्यकार कमलेश्वरकाे कालजयी उपन्यास ‘कितने पाकिस्तान’मा पढेकाे कुरा पनि उसले सम्झ्याे ।
गालीब बसेको घर त आज पनि रहेछ, तर त्यो पत्थर कोइला बेचिने थलो र गरीब भाडावालहरू बस्ने ठाउँ हुनपुगेको रहेछ । त्यो घरदेखिको अलिक पर चोकको बीच भागमा रहेको पानी नआउने फोहराबाट केही अगाडिको एउटा गल्लीको ढोकाबाट उनीहरु भित्र पसे । फोहोर र अँध्यारो भर्याङ्गबाट एक तलामाथि उक्लेपछि उनीहरू बसेकाे एउटा कोठामा आयाे । मैलोमैलो तन्ना र तकियाको खोल, अलि ठ्वास्स गह्नाउने कोठा त उसलाई त अलि गाह्रै भयो भने हिजो मात्र त्यत्रो शानशौकतमा सोभियत कम्युनिष्टहरूको सम्मानित पाहुना भई बसेका कमर शाह र शम्भुरामलाई कस्तो लागेको होला ?
मास्कोबाट हवाइजहाजद्वारा दिल्ली ओर्लेपछि ट्याक्सी ड्राइभरलाई अलि सस्तोखाले होटलमा लैजाउभन्दा त्यहाँ पुर्याइदिएको रहेछ । ड्राइभरले आफ्नो दलाली कमिशन लियो होटल मालिकबाट र उनीहरू क्यै नलागि त्यहीँ बसे जसोतसो आज एक रात टरी हाल्छ, भोलि त आफ्नै घरको ओछ्यानमा आनन्दसँग सुत्न पाइहालिन्छ नि भनेर । तर कमर शाह, शम्भुरामलाई त्यस्ताे भाेलि भाेलिपल्ट आएन । पुस १ गते राजा महेन्द्रले फाैजी ‘कू’ गरी प्रधानमन्त्री र अरु मन्त्रीहरुलाई पक्री संसद भङ्ग गरी सङ्कटकाल लगाइसकेका थिए ।
आउला कि आउला कि भन्ने घाेर आशङ्का त भएकाे तर आइहाल्छ नै भन्ने नठानिएकाे पुसकाे कालाे रात आइहाल्याे । ओहाे, राजा भएर जनतालाई संक्रान्तिकाे यस्ताे भयावह ‘काेशेली’ दिएका ! अनि उनले एकपटक पहिला पनि राष्ट्र र जनतालाई एउटा चरम व्यङ्ग्यात्मक ‘काेशेली’ दिएका, उसले सम्झ्याे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)