
ठूलो रोग लेखाएर विदेशमा उपचार
डा. अर्जुनदेव भट्ट
जनकपुरमा म अस्पतालमा विरामीको सेवा र निजी क्लिनिकबाट हुने आयका कारण कहिल्यै बेखुशी हुनु परेन ।
दिन, हप्ता, महिना, वर्ष गरेर समय बित्दै थियो । मेरी श्रीमती अक्सानाले बच्चालाई स्कूल भर्नाका लागी सामान्य अक्षर चिन्न, अंकहरु पढ्न र लेख्न सक्ने बनाएकी थिइन् । समयसंगै छोरी आल्योना क्वाटरकै पछाडि रहेको पर्खाल नाघेर बारबिघा हुँदै स्कूल जान सुरु गरी ।
स्कूलमा विद्यार्थी बस्ने डेस्कबेन्च इत्यादि केही पनि थिएन । घरबाट बोरो वा यस्तै केही लिएर जानुपथ्र्यो र त्यही ओछ्याएर भुइँमा बस्नुपथ्र्यो । स्कूलमा पढेको जस्तो गरेर आउनु जानुबाहेक बच्चाले कुनै नयाँ कुरा सिक्ने खासै वातावरण थिएन ।
अनि म सानो छँदाको आफ्नो कुरा सम्झन्थे, बैतडीमा उरघौँको स्कूलमा सालको घोच्ने र बिझाउने चमरामा बसेर पढ्नुपथ्र्यो । अलमडे र कनसुत्ले कीरा यताउता सलबलाउँथे । मैले त्यहाँ गुरु दादाजीसँग पढ्दा आफ्नो राष्ट्रिय गान ‘जनगण मन आधिनायक…’ भनेर घोकेँ । प्रधानमन्त्री ‘पण्डित जवाहरलाल नेहरू’ भनेर पढेँ । त्यो समयपछि नै २०१० साल जेठ १६ गते (सन् १९५३ मे २९ मा) तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले संसारको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर संसारलाई नेपाल भन्ने चिनारी दिए तर मलाई लाग्यो, यो देश, यो समाज पुरानो संस्कार र परम्परा जोगाउनमै मरिमेटी गरिरहेछ । उसलाई युग सुहाउँदो परिवर्तनसँग त्रास र घृणा छ । मानिसलाई अन्धकार, अशिक्षा र दरिद्रतामा राखेर खालि धर्मको डण्डाले टाउकोमा ठटाउँदै जे पनि सहनुपर्छ, तिमीहरू पूर्वजन्मको पाप लिएर जन्मेका हौ भन्ने भ्रममा र काबुमा राख्ने नीति लिएको ठानेँ । पच्चीस वर्षको लामो अन्तरालपछि पनि मेरा छोराछोरी पनि यस्तै परिस्थितिमा थिए । यसले मलाई पीडा अनुभव गरायो । आफ्नो कामको आनन्दमा रमाउन बच्चाहरूको भविष्य अन्धकार बनाउने अधिकार मलाई हुँदैन भन्ने सोचेँ । छोराछोरीलाई समय र युग सुहाउँदो शिक्षा दिनु बाबुआमाको कर्तव्य हुन्छ । यस्तो ज्ञान पुस्तकका पङ्क्ति घोकेर प्राप्त हुने हैन ।
यसपछि मैले स्वास्थ्य विभाग तथा स्वास्थ्य मन्त्रालयमा भक्तपुरको सर्जनको रिक्त स्थानमा सरुवा गरिदिन अनुरोध गरेँ । मेरो अनुरोधको विरोधमा पञ्च, कांग्रेस र कम्युनिस्ट नेताहरूले मोर्चाबन्दी गरे, मलाई सरुवा हुन नदिन । यही मोर्चामा अञ्चलाशीध शंकरराज पाठक पनि बम्किँदै जुट्न पुगे । ‘श्री ५ को सरकारले यहाँ अर्को सर्जन नपठाउन्जेल तपाईंले सरुवा हुने कुरा गर्न पाउनुहुन्न’ भन्ने अडान लिए ।
त्यस बेलाको हाम्रो देशको अलिखित कार्य सिद्धान्त नै यस्तो थियो कि सर्वसाधारण कोही पनि भरसक चिकित्सक हुन नजाऊन् । गए पनि पढाइ सकिनासाथ तुरुन्त फर्केर आऊन् र मेडिकल अफिसरमात्र भएर जिन्दगीभर बसून् । यदि ती ठूला व्यक्ति भनाउँदाका छोरा, ज्वाइँ वा नगिचका नातेदार होइनन् भने ती विशेषज्ञ हुनलायक छैनन् जस्तो गरेर कहिल्यै पनि उच्चशिक्षाको निम्ति मौका दिँदैनथे ।
नेपालको जनसंख्या अनुसार कति चिकित्सक चाहिन्छन्, कसरी चाँडोभन्दा चाँडो देशभर अस्पतालको स्तरोन्नति गर्ने जस्ता आदी सोधखोजमा कसैको चासो थिएन । हुन त अहिलेसम्म पनि धेरै मात्रामा त्यही प्रवृत्ति हावी छ । म भक्तपुर सरुवा हुने सम्भावना रहेन । म पर्नुसम्म दोधारमा परेँ । कामको हिसाबले त जनकपुर छोड्ने मन थिएन तर साना छोराछोरीको शिक्षाका बारेमा मैले सोच्नै पथ्र्यो । खालि अस्पताल र शल्यक्रियामै रमाएर बस्दा अबोध छोराछोरीप्रति अन्याय हुन्थ्यो । यी छोराछोरीको शिक्षा र भविष्यबारे सोच्नु पर्दैन ? यो प्रश्नले मेरो माथामा लगातार घन ठोक्न थाल्यो ।
जनकपुरमा मैले काम गरेको चार वर्ष पूरा भयो । तीन वर्ष पूरा भएपछि सरुवा हुन पाउने नियम थियो । यता आफ्नै आँखा अगाडि केही डाक्टर दुई दिन जनकपुरमा हाजिर गरेर काजमा काठमाडौँ पुगिसकेका थिए । यस्तो स्थितिले मलाई भित्रैदेखि आहत बनायो । अनि मैले निर्णय गरेँ, काठमाडौँ जाने र डीएससी पढ्न फेरि सोभियत संघ जाने । उता गएर पेडिअट्रिक सर्जन बन्ने विचार आयो । कान्ति बाल अस्पतालमा एक जना पनि सर्जन थिएन । फर्केर आएपछि कान्ति बाल अस्पतालमा सर्जन भएर काम गर्ने इच्छा जागेर आयो ।
यसो गर्दा मेरा बच्चाहरू काठमाडौँका स्कूलमा पढ्न पाउनेछन् । अक्साना पनि नेपाली भाषा पढ्न विश्वविद्यालय जान सक्नेछिन् । ठिक यही समयमा थाहा भयो कि डा. केशवराज राजभण्डारी पेडिओट्रिक शल्यचिकित्सा पढ्न ब्रिटेन जाने तय भएको रहेछ । फेरि मैले विचार गरेँ, म किन युरोलोजीमा डीएससी नगरूँ ! मेरो यो विचारमा मेरा काका उद्धवदेव भट्ट (जो तत्कालिन परराष्ट्र सचिव हुनुहुन्थ्यो) लाई सुनाएँ । उहाँले मलाई ठूलो समर्थन र सहयोग गर्नुभयो । सोभियत संघबाट यूरोजोजीमा डीस्सीका लागि एक सिट उपलब्ध गराई स्वास्थ्य मन्त्रालयबाट अध्ययन बिदा पनि मिलाइदिनुभयो ।
अब मलाई जनकपुरबाट हिँड्न कुनै पनि स्थानीय मोर्चाले रोक्न सक्ने भएन । अञ्चलाधीश र राजनीतिक नेताहरूको पनि केही सिप नलाग्ने भयो । सरुवापूर्जी मेरो हातमा परिसकेको थियो । स्तरीय अध्ययनको निम्ति जान पाउने कुराले मन खुशी र उत्साहित भएको थियो । यससँगै जनकपुरका अति अभावग्रस्त र दमित बिरामीहरूलाई छोड्नु पर्दा मेरो मन उदास पनि थियो ।
ती बिरामी र पीडितहरू मेरो मनमा बादल भएर मडारिन थाले । ती मानिसहरू अशिक्षित गरीव थिए । पौष्टिक खाना थिएन । मानव सुहाउँदो घर र शौचालय थिएन । दिसापिसाबका लागि खुला मैदान धाउनुपथ्र्यो । सर्पदंशको बिगबिगी थियो । आपतकालीन स्वास्थ्य सेवाको कुनै प्रबन्ध थिएन । हुन त मेरो उपस्थितिले मात्र त्यहाँ उपचारको सबै समस्या समाधान हुन्थ्यो भन्ने होइन तर केही राहत अवश्य हुन्थ्यो । मसँग अर्काे विकल्प पनि थिएन । म जनकपुरबाट बिदा हुने पक्का भयो । धेरै राजनीतिक नेताहरूले मलाई घरमा बोलाएर शुभकामना दिए । यसो गर्नेमा कांग्रेस, कम्युनिस्ट र पञ्च पनि थिए । ती सबै कुनै न कुनै रूपमा अस्पतालको गतिविधिमा मेरा सहयोगी थिए । ती सबैको घरमा पुगेर मैले अपरिवहनीय बिरामीहरू ओछ्यानमै हेरेको थिएँ ।
जनकपुर छोड्ने दिन अस्पतालका कर्मचारी, चिकित्सक साथीहरू र परिचारिकाहरूले हामीलाई मालाले सिँगारेर शुभयात्राको कामना गरे । जनकपुरवासीले गरेको बिदाइ र उनीहरूको शुभकामना मेरो स्मरणमा अमर बनेर बसेको छ । कति युवायुवतीहरूले रूखमा चढेर हात हल्लाए । कैयौँ वृद्धवृद्धाहरू रोए । त्यो समय अहिलेको जस्तो प्राविधिक सुविधायुक्त थिएन । हुन्थ्यो भने ती हृदयस्पर्शी दृश्यका तस्वीरहरू आज पनि मसँग हुने थिए । त्यसो भएन तर पनि मेरो मस्तिष्कमा ताजा छ ।
हामी काठमाडौँ आयौँ । म आमाबुबा र दाजुभाइ भएको आफ्नै घरमा पुगेँ, मेरो ‘विदेशी परिवार’का साथ । आमाबुबा र प्यारा परिवारजनसँग कालिकास्थानस्थित घरमा पुनर्मिलन भयो । म त फेरि पनि विदेश जानुपर्ने थियो । घरमा केही दिनको पाहुना जस्तै भएँ– पारवहन सुविधा उठाउन । यो पारवहन शिविरमा सबैभन्दा ठूलो चुनौती र मौका मैले जुनसुकै हालतमा पनि मेरी जननी, मेरी आमासँग धित मर्ने गरी मन खोलेर कुरा गर्नु थियो । मेरो मनमा गुम्सिएको भारी बिसाउनु थियो । म यो धोको कुनै पनि हालतमा यही पटक पूरा गर्न चाहन्थेँ । म ट्रान्जिटको मुसाफिर जस्तो छोरो, फेरि आमालाई कहिले भेट्न सक्छु, के थाहा ! ज्योतिषीहरूलाई चिना देखाएर अर्को सम्भावनाको खोजीमा पनि म लाग्नेवाला थिइनँ । अहिले मलाई राम्रो मौका परेको थियो । आमासँग कुरा गर्न मलाई पर्याप्त फुर्सद पनि थियो । यस्तो राम्रो मौका चुक्न नदिन म दृढ थिएँ ।
लाग्थ्यो, मेरो मनको व्यथाको सबैभन्दा ठूलो विशेषज्ञ चिकित्सक मेरी आमा हीरादेवी भट्टमात्र हुनुहुन्थ्यो । म यो विश्वको सर्वश्रेष्ठ चिकित्सकलाई देखाउन लाइनमा बसेर पालो पखिरहेको थिएँ ।
एक दिनआमा कौसीमा घाम तापेर एक्लै बस्नुभएको थियो । म पनि आमाकै सामुन्ने घुँडा मारेर बस्न आइपुगेँ । म आमालाई आफू फेरि विदेश जानुपर्ने बाध्यताबारे वर्णन गर्न चाहन्थेँ । म बोल्न अघि सरेर ‘आमा’मात्रै के भनेको थिएँ, म त रुन थालिहालेछु । आँसुको वर्षा भयो असारलाई पनि जित्ने गरी । आँसु थामिएन, घुँक्कघुँक्क भइरह्यो । वैज्ञानिकहरू विश्वास गर्छन्, भावनात्मक भएर रोएको बेलाको आँसु अरू बेलाको भन्दा निकै फरक हुन्छ । संवेगात्मक समयको आँसुको रासायनिक बनावट तथा सम्मिश्रणमा धेरै मात्रामा प्रोलाकटिन हर्मोन, एड्रेनोकोरटिको ट्रोपिकहर्मोन, लिउ– एनकेफालिन, पोटास, म्याग्नेसियम इत्यादि हुन्छन् । यीहर्मोन र तत्व मैले कति खर्चे हुँला ! मानौँ त्यति आँसुले म यी हर्मोन र तत्वबाट अझै भरिएको छु । खहरे भयङ्कर नदी नहुन्जेल त्यसले आँसुको मुहान फुटाएको फुटायै छ ।
म त अझ जोरले रुन थालेछु । बालकृष्ण समको एउटा निबन्ध छ ‘रुनेको केही विराम छैन’ । म यसरी रुन थालेपछि आमाले मेरो टाउको मुसार्नुभयो । मलाई आफ्नो नगिचमा राखेर मेरो टाउको आफ्नो शरीरको तकियामा राखिदिनुभयो । मेरो टाउको विश्वकै सबैभन्दा हलुका प्वाँखहालेर बनाएको तकियामा झैँ भएर अडियो । आमाले आफ्ना नरम हातले मेरो घुम्रिएको कपाल मुसारिराख्नु भयो । अनि भन्नुभयो, ‘तँ थाकिस् ।’ म मौन रहेँ । एकै छिनपछि आमाले फेरि भन्नुभयो, ‘धेरै थाकेपछि पनि आफ्ना मनका व्यथा कसैलाई भन्न नपाउँदा रोएर मन हलुङ्गो पार्नुपर्छ । मैले पनि मनको व्यथा समाप्त नहुँदासम्म डाँको हालेर रोएरै मन हलुङ्गो पारेकी छु । धेरैपल्ट ज्यूको काखमै मुन्टो राखिवरी रोयो हुँ… ।’
झण्डै आधा घन्टापछि मेरो मन शान्त भयो । मानौँ, आँसु नै सिद्धियो । आँसुको मुहानै सुक्यो । आँसुको खडेरी प¥यो । आँखा मरुभूमि भए । रुन बन्द भएपछि म बोल्न थालेँ ।
आमा ! म बच्चाहरूलाई अलिक राम्रो स्कूलमा पढाउन चाहन्थेँ, अक्सानाले नेपाली भाषा सिकेको हेर्न चाहन्थेँ । अक्साना नेपाली भाषा बोल्न, पढ्न र लेख्न सक्ने होऊन् भन्ने चाहन्थेँ । बच्चाहरू स्कूल गएपछि अक्साना कुनै काम गर्न चाहन्छिन् । उनलाई नेपाली पढाउने राम्रो गुरुबाट भाषा सिक्ने ठूलो रहर छ । त्यसपछि उनी ब्रिटिस वा अमेरिकी इङ्लिस सिक्न चाहन्छिन् । जनकपुरमा यस्तो केही पनि सम्भव थिएन । चार वर्ष जनकपुरमा काम गरेपछि मैले भक्तपुर भए पनि सरुवा गरिदेऊ भनेर हारगुहार गरेँ तर कसैले सुनेन । मेरो समस्या कसैले बुझ्न चाहेन, कसैले चासो राखेन ।

मसँगै काम गर्ने सर्जनहरूलाई ल्याप्रोस्कोपिक ट्रेनिङको निम्ति अमेरिका पठाउँदैछन् । मलाई एक शब्द पनि कसैले भनेन । म पनि त त्यो प्रशिक्षण लिन चाहन्छु । खोइ मलाई त्यो मौका ! मैले बेहोस गर्ने डाक्टर नभएको ठाउँमा जति ठूला शल्यक्रिया गरेँ, त्यति त मेरा सहपाठीले बढी जनशक्ति हुँदा पनि बाहिरतिरका अस्पतालमा गर्दैनन् । काठमाडौँमा सेवादिने चिकित्सकहरूकै बीचबाट मात्र थप उच्चस्तरीय अध्ययनका लागि विदेश पठाउँदैछन् । के म नेपालीआमाको छोरो होइन ! आमा ! विभाग र मन्त्रालयमा बस्ने हाकिमहरू विवेकशील हुन हिच्किचाउँदा रहेछन् । तिनीहरू त ऐनकानून पनि उल्लंघन गर्न लाजसरम केही मान्दा रहेनछन् । ती त त्यहाँ रवाफ देखाएर आफ्नो स्वार्थपूर्तिका निम्तिमात्र जागिर पचाउँदा रहेछन् । अञ्चलाधीश जस्तो उच्चकार्यालयका मान्छे पनि भाँचिएको हड्डी केही नभएको भन्न र शव परीक्षणमा मृतकको वर्णन उल्टो पारिदेऊ भन्दै कड्किन सक्दा रहेछन् । आफ्नै मुखले भनेको कुरा त्यही मुखले फेर्न सक्दा रहेछन् ।
यहाँ थुप्रै मानिस आँखाअगाडि एउटा र आँखापछाडि अर्को नाटक रच्दारहेछन् । अनेक खेल हुँदोरहेछ । कपट गरेर फाइदा लिनेको संख्या गनेर साध्य नै रहेनछ । उनीहरू बिरामी नभए पनि हामी सरकारी चिकित्सकले ठूलो रोग देखाएर लेख्नुपर्दो रहेछ । अनि महँगो र धेरै औषधि लेखिदिएर दस्तखत गरिदिनु पर्दो रहेछ । त्यतिले पनि नपुगेर कतिलाई त विदेशमा उपचार गर्नुपर्ने भन्दै कडा रोगको नाम लेखेर सिफारिस दिनुपर्दो रहेछ । त्यसो नगर्दा धम्क्याउँदा रहेछन् । बदमास चिकित्सक, भनेको नमान्ने, सरकार विरोधी इत्यादि भनेर ‘माथि’ विवरण पठाउँदा रहेछन् । एउटाले पाउन लागेको तक्मा खोसेर अर्कैको छातीमा टाँसिदिँदा रछन् ।
आमा ! यहाँ त कति बुझेर सक्नु र, जताततै नाटकै नाटक रहेछन् । रङ्गमन्च नै रङ्गमन्च रहेछन् । आमा ! आफ्नो काम र जागिरको लोभ गरेर मैले परिवारका सबै सदस्यको अधिकार हनन गर्न मिल्छ र ! के म त्यतिसम्म निर्दयी, अबुझ र अहङ्कारी हुन सक्छु र ! मलाई त्यसो गर्न सुहाउँछ र ! आमा ! भन्नुस् त के म कामको नसामा लट्ठ छु भन्दैमा परिवारप्रति क्रुर, निर्दयी र विकृत हुन पाउँछु र ! के मैले कमाएर परिवार पालेको छु भन्दैमा उनीहरूको अधिकार हनन गर्न मिल्छ र !
यसरी म बोलिरहेँ । आमाले शान्त मुद्रामा मेरो कुरा सुनिरहनुभयो ।
मेरो कुरा सकिएको बुझेर होला, आमाले भन्नुभयो, ‘हो बा ! यहाँ तँलाई गाह्रो छ । यो देशमा इमानदार मान्छेलाई धेरै गाह्रो छ । तँ जा तर सधैँ उतै नबसेस् ।’
मेलै भने, ‘आमा ! उता बस्ने रहर भए सुरुमै बस्थेँ, किन फर्किन्थेँ र ! अमेरिका जान खोजेको भए उतै हुन्थेँ, उहिल्यै उद्धव काकाले बोलाउनुभएको हो तर म गइनँ । युरोपमा भएका मेरा अफ्रिकी साथीहरूले छिटै यता आइज, तँलाई कामको छेलोखेलो छ भनेर चिठी लेखेका लेख्यै थिए । मसँगै पढेका धेरै साथीहरू अहिले त्यतै रमाएका छन् तर म गइनँ । मलाई र अक्सानालाई नेपालमै काम गर्ने रहर थियो । हामी अमेरिका वा ब्रिटेन गएको भए बच्चा पढाउन र अक्सानाले भाषा सिक्न सजिलो हुने थियो । कुनै समस्या हुने थिएन । म पनि प्रशस्त काम पाउँथेँ, आत्मसन्तोष नहुने थिएन होला तर म नेपालमै काम गर्न र यहाँका गरिब बिरामीको उपचार गर्न चाहन्थेँ । आफ्नो यही चाहनाका कारण म नेपाल आएँ ।
आमा ! म काठमाडौँ, पोखरा, विराटनगर वा अरू जुनसुकै शहरमा बसेर आफ्ना बच्चा पढाउन सक्छु, अक्सानालाई पनि कुनै काममा लगाउन सक्छु । अहिले म फेरि विदेश गएर नयाँ र उच्च उपाधि लिनेछु अनि एक घण्टा पनि त्यहाँ बढी नबसी हजुरहरूका अगाडि उपस्थित हुनेछु ।
मेरो कुरा सुनेर आमाले भन्नुभयो, ‘झा बा झा, तसो भया झा ।’
हामी आमाछोराले धेरै बेर कुरा ग-यौँ । मैले कहिल्यै पनि यति धेरै बेर आमासँग एक्लै कुरा गरेको थिइनँ । आमासँग मन खोल्न पाएको थिइनँ । बुबाज्यूसँग त यसरी मैले दुई मिनेट पनि कुरा गर्ने अवसर कहिल्यै पाइनँ । बुबाज्यूसँग मनको कुरा गर्ने गरी सँगै बस्ने अवसर नै मिलेन । आमासँग अघाउने गरी कुरा गर्न पाएर प्रफुल्ल भएँ । मानौँ, मैले सगरमाथाको चुचुरो टेक्ने रहर मेटेँ । मेरो मन चङ्गा भयो । म आफू मनको जेलभित्र थुनिएको अनुभव गर्थें, अब मुक्त भएँ । मनमा औडाह थिएन । भयमुक्त भएको थिएँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
“उसलाई युग सुहाउँदो परिवर्तनसँग त्रास र घृणा छ ।”
याे उक्ति युग पर्दर्शक हुन सक्ने सबै शिक्षितहरूमा लागू हुन्छ हाम्राे नेपालमा
Thank you for publishing this article of a noble person a great Urologist,
my friend of 46 years Dr.Arjun Dev Bhatta.
Thank you also for making it easier for busy or lazy or handicapped person who are unable
to write themselves.All the Best!
म पनि सोभियत संघबाट पढेर आएको इन्जिनियर हो । दस गोटा कितबब प्रकाशित छन् केही लेखेर पठाउनेछु उपयुक्त लागे प्रकाशित गरिदिनुहोला । हुन्छ भने भर्खरै प्रकाशित दर्पण महाकाव्यबाट केही कविता पठाउन पन सक्छु
चन्द्रकान्त आचार्य
Huss sir. nepalnamcha@gmail.com
मन छोयो ! मनका कुरा बाँडेकोमा डाक्टरसाहेबलाई धन्यवाद।