ब्युँझन्छु, बिछ्यौनामा एक्लै हुन्छु


जब चोट उम्लिन्छ, आँशु नपोखिएर अरु के नै पो पोखिन्छ र ?

सरु खनाल

लेख त सुरु गरेँ तर सम्बोधन गर्ने शब्दहरुको कमीले होला, सम्बोधन नगरी सुरुवात गरेँ, आज तिमीलाई मेरा जीवनका भोगाईहरु लेख्न ।

आजभोलि किन किन एकान्तमा आत्मा कहालिन्छ । अतीतको मीठो सम्झनाले मुटु पोल्छ अनि मनको अन्तरङ्गमा पिडाका लप्काहरु दन्किन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विपतमा झरिदिने दुई थोपा आँशु छैन र हर्षमा मुस्कुराइदिने एक निस्वार्थ मुस्कान छैन । त्यहि कथित जिन्दगीलाई नै अपर्याप्त खुशीको आशामा सकिनसकी थामिरहनुलाई पुरुषार्थ ठानिरहेछु ।

बम, बारुद अनि ती मानिसको चिडचिडाहटबाट निस्किएका आवाजहरु मात्र ठोकिने गर्छन् कानमा आजभोलि यो मनको मरुभुमिमा । म त चङ्गाजस्तै विना उद्धेश्य कहिले बादलपारी लर्बरिँदै त कहिले मरुस्थलमा पछारिँदै उडिरहेछु ।

सायद मेरो दुर्भाग्य नै होला, अनन्तमा बर्षा र आँधीको प्रहारसँगै म च्यातिएछु । निस्ठुरी चट्याङ्ग पनि मेरो जीवनको पाखामा नै परिदिन्छ । विक्षिप्त मेरो जीवन आखिर अँधेरो गल्लीमा रुमलिइरहेको बस्ती भित्रको बेवारिसे आकृति बन्न पुगेछ, जो असैह्य पीडाले खोक्रो रुपमा परिणत भइसकेको थियो ।

म त्यो पल अझै पनि सम्झिरहन्छु, जब तिमी गोधुली साँझमा क्षितिज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर खम्बाहरु उभ्याउने गथ्र्यौ । मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम बहार आएको थियो, जसले मृत मेरो जीवनलाई पुन जगाउन थालेको थियो । तिमी भन्ने गथ्र्यो, झरनाहरुमा थोपा थोपा मिले झै दुई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरिका वेग र आवेगमा संगमका लहराहरुमा मिल्न सक्छौं ।

Ad

आखिर तिम्रै चाहना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै हृदयको क्षितिजमा बुट्टाका रँगहरु भर्दै हामीले यात्रा सुरु गर्यौं अनि मनको मिलनका आशामा तिमी र म अघि बढ्दै गयौं, खुला आकाशका दुई पन्छिहरुजस्तै । जुन ताराहरु मिले झैँ हिमाल मुस्कुराए झैँ कता कता प्रकृति नै हर्षित भए झैँ आभाष हुन्थ्यो । त्यस बखत मलाई तिमी कति महान थियौ, कति उदार थियौ, जो आफ्ना सारा रहरहरुलाई थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ति संगाल्दै सप्तरँगी इन्द्रेणीका रेखाहरुले सजाए झैँ मेरो खण्डहर जीवनलाई सजाउन चाहन्थ्यौ ।

माया गर्नेहरु सबै सफल हुने भए पनि यो संसारमा विछोड शब्द उत्पति हुने थिएन । म पनि त्यो विछोड शब्दबाट साह्रै डराउँथे अनि त्यो देखि टाढा बस्न चाहन्थेँ । सोच्यो पिडा कस्तो हुन्छ, कहाँबाट आउँछ ? हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगेछौ, म तिमीभन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पाइलाको फरकमा हामी फेरि पनि एक्लाएक्लै भएछौं अनि नितान्त बेग्लैबेग्लै । जिन्दगीको यो दोधार पलमा खै कसरी मनलाई सम्झाऊँ ? सपनीको संसारमा सधैँ आएर जिस्काउने गथ्र्यौ ।

ब्युँझन्छु बिछ्यौनामा एक्लै हुन्छु । मानिसको माझमा पनि मैले आफुलाई नितान्त एक्लो पाइरहेको छु तर पनि म के नै गर्न सक्छु र ? तिम्रो यादमा दिनहरु काटिरहेको छु, मनमा हरपल तिमीलाई राखेको छु । जिन्दगीको यात्रामा सायद मैले तिम्रो साथ पाउन सक्दिनँ तर पनि हरेक पल मैले तिमीलाई त्यति नै चाहँदै आएको छु । जिन्दगीमा सधैँ चाहेकै हुनुपर्छ भन्ने रहेनछ । कहिलेकाहीँ चाहँदाचाहँदै र गर्दागर्दै पनि ती चाहनाहरु पूरा हुँदा रहेनछन् । म जति तिम्रो नजिक पुग्न खोज्थेँ, सामिप्यताको बन्धन तोड्दै तिमी झन् टाढा पुगिसकेका हुन्थ्यौ, मेरा निम्ति फगत मृगतृष्णा बनेर । मैले ठम्याउँनै सकिनँ, खै कहाँबाट असमानताको पर्खाल खडा भइदिएछ । विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अप्ठ्यारो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिएछौ ।

आखिर मुटु नै हो, जति सम्झाउन खोजे पनि कहिलेकाहीँ चसक्क घोच्दोरहेछ । नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे झैँ जीवनको क्षण–क्षण बिताउन युगौँ लाग्दोरहेछ । अझै मुटुमा दन्केको वियोगको ज्वालालाई आँशुको धाराले निभाउने अथक प्रयास गर्दागर्दै पनि दन्किरहेको छ । हुन त जब चोट उम्लिन्छ, आँशु नपोखिएर अरु के नै पो पोखिन्छ र ? जे होस्, अब त समय पनि धेरै टाढा छैन होला, जब सुक्नेछन् मेरा सारा आँशुहरु अनि पिडाले रोकिनेछ, तब जीवनको बाटोमा तिमी आउनेछौ होला ।

मेरा लागि श्रद्दाका दुई थोपा आँशु चढाऊ तर त्यतिखेर तिमी चाहे खुशी मनाऊ या आँशु बगाऊ, कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वाससँगै चिर निन्द्राको बिछ्यौनामा सुस्ताइरहेको हुनेछु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. लेख उत्कृष्ट छ, अझै लेख्दै जानु होला । शुभकामना सरु।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button