देउता आए, भाइ गयो
मामाघरको त्यो कालो रात
विष्णु पादुका
केटाकेटी उमेरमा मामाघर सार्है प्यारो हुन्छ ।
उमेरले नेटो काट्दै गर्दा जिम्मेवारीको बोझले सबै कुरा विस्मृतिको गर्तमा विलिन हुने रहेछन् । कति कुरा बिर्सन खोज्दा पनि बिर्सन नसकिने हुन्छन् । कास्किकोटको दोपहरे बाट मराइँचे टाढा नै हो । शुक्रवार आयो कि मामाघर जानपाए हुन्थ्यो भन्ने लाग्थ्यो । मराईँचेमा मामाहरुका लामा लामा घरहरु तलमाथि गरेर चारोटा लामा घरहरू थिए । सात भाइमामाहरु छुट्टिएर बसेपनी घरका कोठा कोठा बाँडेर बस्नु भएको थियो । सबै घरको आँगनबाट दक्षिण-पश्चिम दिशामा कमेरे डाँडो थियो ।
कास्कीतिरका महिलाहरु सधैं दशैँ तिहार अघि कमेरो लिन त्यहीँ पुग्थे । कमेरे डाँडो र मामाघरको बिचमा एउटा खोलो छ । हिउँदमा जताबाट पनि ओहोर दोहोर गर्न सकिने । पानी थोरै हुन्थ्यो । धम्पुसको फेदिमा पुगेर अरु खोला मिसिदै सेतिमा मिसिएको खोलोको सिरान मराईँचे नै हो । सानोमा नौडाँडा देखि उता जाँदा साथी चाहिन्थ्यो । वन छिचोलेर पुग्नु पर्थ्यो मामाघर । कहिले मामाहरु कहिले जौसिनी भाउजुका आफन्तको आउजाउ हुन्थ्यो । साथ लागेर गैन्थ्यो । त्यो बेला पोखरा बाग्लुङ्ग सडक बनिसकेको हुनाले नौडाँडा देखि काँडेसम्म बसमा जान पाइन्थ्यो । काँडेको बिकास त पहिल्यै खुलेको हो बाटो बन्नु अघि नै । मामाका छोरा, दाइहरुसँग धेरैपटक काँडेको बिकास हेर्न जाँदा खुब मजा आउँथ्यो । कहिले त हेलिकप्टर बसेको पनि हेर्न पाइन्थ्यो विकासभित्र । कृषि अनुसन्धान केन्द्र रहेछ विकास । खुब ब्यवस्थित थियो ।
म एसएलसी सकेर चितवनबाट पोखरा पुगेको थिएँ । साइँलो दाजु मात्र हुनुहुन्थ्यो पोखराको घरमा । पोखरा भन्नुमात्र हो । खासमा हाम्रो घर कास्कीकोटमा हो । कास्किको डाँडामा न यातायात न बिजुली पानी आदिको बिकास पुगेकै थिएन । मुलबाटोलाई सर्बाटो भनिन्थ्यो । वरिपरि वन जंगल र बुट्यान मात्र थियो । विन्ध्याबासिनीदेखि सराङ्गकोट हुँदै नौडाँडासम्म अहिले बनेको पिच बाटो त्यो बेला हुने कुरै भएन । पुरानो घर बेचेर दाइ पनि सिमलचौरमा घर बनाएर बस्नु भएको थियो । दाइको घरमा एक दुई दिन बसेपछि मलाई मामाघरको याद आयो । त्यतिबेलासम्म धेरै मामाहरु चितवन र नवलपरासी तिर बसाई सरिसक्नु भएको थियो । थाइँला मामा र ठुलाकान्छा मामा मात्रै हुन्थ्यो त्यो पुरानो ठाउँमा । सरेर जाने मामाहरुले बेचेका घर उस्तै थिए । ठाउँ उस्तै थियो । मामाहरुको माया उस्तै थियो । जेठको आधा आधी हुनुपर्छ । म गुन्टेचौरदेखी हिँडेर नौडाँडा पुगेँ । केहिबेर कुरेपछी बाग्लुङ जाने बस आयो । पाँच रुपैया भाडा तिरेर काँडेमा झरेँ । गुरुङ बस्तिको छेउछाउ हुँदै मराइँचे पुग्दा बेलुकाको पाँच बजिसकेको हुँदो हो । कोदो रोपेर खेतालाहरु घरमा फर्कँदै थिए । म मामाघरमा पुग्दा मामा माइजू भर्खर आउनु भएको रहेछ । नजिकैको धारोमा हातखुट्टा धुँदै हुनुहुन्थ्यो ।
‘लौ देउता पो आए त ।’
ठुलाकान्छा मामाले थर्कटी ओछ्याएर बसाल्नु भयो र खुट्टामा ढोग गर्नु भयो । माइजुले नमस्कार गर्नुभयो मैले नमस्कार गरेपछि । उमेरमा म मामा भन्दा चालीस बर्ष सानो थिएँ । खुट्टा समाएर ढोग्दा मलाई सार्है अफ्ठ्यारो लाग्थ्यो । तर मामाले देउता भनेर ढोग्ने मुसार्ने खुट्टा धोइदिने गर्नुहुन्थ्यो । भाइहरुलाई पनि बाहुन्दाइलाई ढोग भन्नुहुन्थ्यो । बेलुकी भै सकेको थियो । कान्छो भाइ देखिएन ।
कान्छो खोइ त मामा ? सोधेँ ।
मलाई मामाघरमा त्यो भाइको खुब माया लाग्थ्यो । म जाँदा सबैभन्दा खुशी ऊ नै हुन्थ्यो । उसैसँग धेरै पल्ट गोठालो र विकास घुम्न गइन्थ्यो । म पुग्दा ऊ मसँग बस्न खेल्न खान र सँगै सुत्न पाउँदा खुशी हुन्थे ।
‘पाँउदुरको स्कुलाँ हो के बाबु, अरु सबै साथेरु त आइ सके तेल्लाइ सन्चो भन अरे । सिल्मेल साइलालाई लिन पठाको छ । आउलान् नि ।’
मामाले त्यसो भनेपछि म झन् आत्तिएँ । के भएको होला भाइलाई । माइजुले मकै भुटेर महि र मकै ल्याउनु भयो । मामा भान्जा भएर मकै खाँदै थियौं । पटुकाको फेरले बोकेर ल्याइ पुर्याए भाइलाई । ऊ बेस्सरी गलेको थिए । दिनभरि पखाला लागेको रहेछ । बेलुकीपख पेट दुख्न थालेछ । रिंगटा लागेर स्कुलमा नै सुतेको अवस्थामा भेटेर उनीहरूले बोकेर ल्याइपुर्याएका थिए । साँझ सम्लक्क पर्न थालेको थियो ।
पानी ख्वाउने सेकताप गर्ने कार्य भयो पिँढिमा सुताएर । पेट बेस्सरी फुलेको र सार्हो थियो । पानी पिउन पनि गार्हो थियो भाइलाई । अलिअली बोल्न सम्म सक्थे । बिरामी भएको थाहा भए पछि आँगन भरी मान्छेहरु भरिए । उपचारका लागि पोखरा लैजाने कुरा भयो । कोदोको बीउ बोक्ने डोको काटियो । बिरामी बोक्न मिल्ने गरि कम्मल मिलाएर डोकोमा राखेर भाइलाई काँडे पुर्याउँदा टर्च लाइट बालेर पुर्याइयो । बाटो छेउमा राखेर गाडीको प्रतीक्षा गर्यौं ।
एउटा ट्रक आयो । रोकेन । त्यस्को केही बेरमा एउटा जिप आयो । दुइजना विच बाटोमै उभिएर रोक्न खोजियो । जिपले मान्छेनै मार्ला झैँ गरि एकरती गति नघटाई हुईकियो । बिरामी बोकेर पोखरा पुर्याउन असम्भव जस्तै थियो । कम्तिमा चार पाँच घण्टाको बाटो थियो । बेलुकीको आठ बजेको घण्टी बज्यो काँडेको गेटमा । अब गाडी नकुर्ने बरु बिकासमा एउटा प्राथमिक उपचार केन्द्र छ त्यहाँ लैजाने र त्यही रहेको टेलीफोनबाट एम्बुलेन्स बोलाउने कुरा भयो ।
बाटो छेउमा सुताइएको भाइलाई फेरि डोकोमा राखेर लुम्ले कृषि केन्द्रमा पुर्याइयो । पेट झन् झन् फुल्दै थियो । प्राथमिक केन्द्रमा कुस्मा अस्पताल र गण्डकी अस्पताल पोखराको एम्बुलेन्सको फोन नं रहेछ । कुस्मा र पोखरा दुवैतिरका एम्बुलेन्स बिरामी लिन गएको खवर आयो । एम्बुलेन्स पनि नआउने कुराले मामा र म निकै आत्तियौँ । भाइलाई त्यही उपचार केन्द्रको बेडमा सुतायौँ । स्वास्थ कार्यकर्ताले बिरामिको पाइन्ट सर्ट खोलिदिन भने । स्कुलकै पोसाकमा थिए भाई । ढाका टोपी निलो सर्ट अनि निलो पाइन्ट । कट्टु मात्र बाँकी राखेर सबै लुगा निकालिदियौँ । खुट्टा पनि दुबै सुन्निएका रहेछन् । मामाले खुट्टामा तेल लाइदिनु भयो । म भाइको टाउको काखमा लिएर बसेको थिएँ ।भाई अचेत भै सकेका थिए । घरी बुवा तिर घरी म तिर हेर्थे । आँखाबाट आँसु चुहिरहेका थिए । मेरो हात समात्दै दाई भन्दै हेर्दै गर्थे ।
स्वास्थ्य कार्यकताले वासिङ्ग पाउडर घोलेर ठूलो सुइमा भरे । पेट खुलाउन सकिन्छ कि भनेर गुदद्वारबाट साबुन पानीको झोल घोचे । तर पेट खुलेन ।
‘एपेन्डिसाइटिस भएको हो अप्रेसन नै गर्नुपर्छ । अस्पताल नलगी यहाँ सम्भव छैन ।’
स्वास्थ्य कार्यकर्ताले सकेको गरे । हार मानेर मौन बसे । सडकमा कुनै साधन आउलाकि भनेर कुर्ने र रोक्ने भनेर बसेका मान्छेहरू पनि आएनन् ।
रातको दस बजेछ । गेटमा घण्टी बज्यो । जून पनि देखिए । भाइलाई असह्य भयो । हात खुट्टा छटपटाउन थाले । अघि सम्म जति तेल लगाउँदा मालिस गर्दा नि नतातेका हातगोडा र ज्यान रनक्क तात्यो । भाइले तनक्क पारे आफ्नो ज्यान टाउकोको टोपी झिकेर मेरो हातमा राखिदिए । फेरि एक पल्ट ज्यान हल्लियो अनि शान्त । झ्यालको उज्यालोमा आकाशतिर हेरेँ । एउटा बत्ती बल्दै आकाशतिर गएर विलिन भयो । भाइको टोपी हातैमा थियो । आफ्नै हातलाई थिचिरहेजस्तो लाग्यो । म रुन पनि सकिनँ । मामा घुप्लुक्क घोप्टिदै रुनु भयो ।
‘छोड्यो भान्जा पापी साहुले छोड्यो ।’
उहाँ डाँको छोडेर रुन नि सक्नु भएन । कुनै सवारी नभेटिएको निरासा लिएर बाटोमा बस्ने तिनचार जना पनि आइपुग्नु भयो । अब के बाँकी थियो र । अघि भर्खरको भाइलाई शवको रूपमा घरमा लानु थियोे । डोकोमा लान असजिलो हुने भयो । स्वास्थ्य केन्द्रकै स्टेचरमा राखेर घरमा पुर्याइयो । आँगन र पिँढी भरी मान्छेको रुवाबासीमा रात गयो । सोर्ह बर्ष भर्खर टेकेको भाइको आफ्नै काखमा सकिएको इहलिला आजपनी मामा र मामाघर शब्द सुन्दा पनि यो घटना बल्झी रहन्छ । मामाका बाँकी परिवार नवलपरासी बसाइँ सर्नु भयो त्यसपछि ।
परिवारमा नयाँ नयाँ सदस्य त थपिएका छन् । तर ती भाइको अभाव आज पनि उत्तिकै खड्किएको छ मेरा लागि ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)