
फेरि हजुरको काखमा आउँदै छु
मनका कुरा
सरु खनाल
तादी-५, नुवाकोट
आमालाई धर्ती भन्नेहरुले बालाई कहिले आकाश मानेनन् । र, त बा सधैं सधैं ओझेल परिरहे । मैले धेरै सुनेँ आमा महिमाका गीतहरु । आमाका वेदनाका कथाहरु । तर, कहिले पढिनँ बाका अनुहारमा सलबलाएका दुखका रेखाहरु । कहिले सुनिनँ मैले बा महिमाका संगीत ।
धेरै कविहरुले आमाका गुणगानमा कविता कोरेको देखेँ । आमाकै गीतमा संगीत भरेको देँखे । बिडम्बना ! यतिखेर लम्पसार बाको जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सधैं घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्योल जिन्दगी । तर, बा कर्कलाको पातमा टलपल पानी झै आँशु टिल्पिएका आँखामा निन्द्रा हराएपछि खुसीहरुको शिलारेखा खोज्दैछन परेलीका डिलहरुमा ।
बोल्दाबोल्दै भासिन्छ बाका स्वर । थाहा पाँउछु म बाको गला अबरुद्द भएको । र, पनि दवाएर सधैं पिडा मुस्कुराएको अभिनय गर्छन । म चिन्छु ती मुस्कान, ती नक्कली मुस्कान बाका हुँदैहैनन् । ग्राफ कपिजस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन । कपाल झरेर खुइलिन थालेका बाको तालुमा जिम्मेवारीका चर्को घामले उदाएदेखि अस्ताएसम्म ठुँगिरहन्छ । मभित्र मनमा कता कता विगत, वर्तमान र भविष्यको उहि चिन्ताको पहाड उभिएको छ । र, बा ती पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् । अनि बा हामीलाई बाँडिरहन्छन् पैंचो वा उधारोमा ल्याएका ती खुसीहरु । तर, बा यथार्थमा हारिरहन्छन् । पलपल हारिरहन्छन् ।
यो सहर हामीजस्तोको लागि हैन आमा । यो सहर त हामीलाई लुटेर जानेहरुको लागि हो । यो सहर राक्षसहरुको हो । यो सहरमा हाम्रो स्थान छ त केवल, सडकपेटी, गल्ली अनि फोहोरको थुप्रोमा छ । हो, आमा यहाँ मान्छेले मान्छेलाई बेचेर घर बनाउँछन् । निमुखाहरुको छातीमा गाडी कुदाउँछन् । यो सहर पैसाको मात्र हो । यो दुष्टहरुको घनघोर खाडलमा रम्न चाहन्नँ । हजुरले सिकाएको पवित्र मानवता यो दुसित सहरमा घोल्न चाहन्नँ । हजुरले सिकाएको नैतिकता कसैलाई आउँदैन रैछ आमा यो सहरमा । मलाई हजुरले दिनुभएको संस्कार कहिल्यै सिकाएन आमा यो सहरले । यो संसार चिन्न फेरि हजुरको काखमा आउँदैछु आमा ।

म सम्झन्छु आमा, हजुरले मेरो कानमा तेल राखिदिई कुर्र गरेको त्यो दिन । म सम्झन्छु, मेरो फोहोर हात खुट्टाधोइवरी हातमा छ रुपैया राखिदिइ स्कुल पठाको त्यो दिन । थाहा छ बाआमा म सबैभन्दा दुखी भएको दिन जिन्दगीको लक्ष्य भेट्टाउन हजुरहरुको काखबाट हजुरहरुको मायालाई संगाली हिँडेको दिन थियो ।
तर, मैले लक्ष्य भेटाउन सकिनँ । लक्ष्यको गन्तव्यमा पुग्न सकिनँ । मेरा पाइलाहरु अनायासै थरथराए । काँप्न थाले । कलम समाउने हातहरु थरथराएर कमजोर हुन थाले । जब म लक्ष्यमा पुग्छु भनेर साहस बटुलेर अघि बड्न खोज्थेँ, तब,मसँग लक्ष्यविपरित हस्पिटलको बेडबाहेक अरु केहि थिएन । र, सम्झन्थेँ, संसारकै दुखी मान्छे ।
त्यसैले मैले नापेको छु बाबाआमा मैले गल्ती गरिरहँदा हजुरहरुको गालीमा मिसिएको अनगिन्ती माया । मैले सम्झेको छु बाबा, हजुरले एक कप चियासँगै मेरो खुसीको लागि संघर्ष गरिरहँदा प्रत्येक फोनबाट दिएका कयौ उपदेशहरु । मैले सम्झेको छु, हजुर प्रत्येक पटक घर आउँदा के ल्याइदिनु भयो बुबा भन्दै हजुरको झोला खोतलेको दिन । तर बाबा मेरा लागि ल्याइएका ती भौतिक सामानभन्दा लाखौं गुणा बढी माया लिएर आउनुहुन्थ्यो र मलाई शिरोधार्य गर्ने शुभ अवसर मिल्थ्यो ।
मलाई याद छ दिदी, म स्कुल जान नमान्दा फकाईफुलाइ स्कुलको ढोकासम्म पुराएको त्यो दिन । मलाई राम्रोसँग थाहा छ दादा, मेरो लक्ष्यकेन्द्रित बाटोमा हजुरको साथ, माया, ममता, सहयोग र प्रेरणा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)