
राम्री ! पुरुषको नजरमा झनै
राम्री मान्छेको अर्थ
गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही
मान्छेमा पुरुष र महिला हुन्छन् तर समाजले मान्छे भन्दा पुरुष मात्र बुझ्ने गर्छ । मान्छे आयो भनिन्छ, मान्छे आइन् भनिन्न । अनि मान्छेको स्त्रीलिङ्ग मान्छेनी हुन्छ भनेको पनि होइन । राम्री मान्छे भनिन्छ । आज मैले महिला मान्छेको बिषयमा गफ गर्दैछु । महिलासभ्यता, महिलागुण, महिलासुन्दरता, महिलाशक्ति, महिलाचरित्र, महिलावाद, महिलाविकृति आदि ।
महिला र पुरुष बराबर हो । यस मानेमा बराबर हो कि, जसरी महिला उत्पन्न हुन्छन् पुरुष पनि त्यस्तै हो । अन्यथा महिला र पुरुष फरक हो । फरक हुन्थेन भने पुरुष मात्र भए पनि हुन्थ्यो वा महिला मात्र भए पनि पुग्थ्यो । यो फरक बनोट र स्वभाव दुबैमा छ । महिला लज्जालु हुन्छन् वा लाज मान्छन् । लाज पुरुषप्रतिको आकर्षण हो । लाज पुरुषको लागि पनि आकर्षण हो । लाजले स्नेह उत्पन्न गराउँछ । महिलाको फरक खालको लाज सम्पूर्ण स्त्रीलिङ्गको लाजसँग मिल्दछ । यही लाजको कारणले महिला नम्र स्वभावका हुन्छन् । नम्रता महिला मात्रको फरक सभ्यता हो । लाज र नम्रताले परिवार मायालु बन्दछ । लाज र नम्रता बचाउन सहनशीलताको आवश्यकता हुन्छ । अथवा लाज र नम्रताले सहनशीलता उत्पन्न गराउँछ । यसैलाई महिला सभ्यता भन्दछन् ।
महिलामा दयालु गुण हुन्छ वा दयालु हुन्छन् । पुरुष दयालु बन्नु पर्छ अर्थात दयालु बन्न पढ्नु पर्छ, सिक्नु पर्छ । महिला स्वतः दयालु हुन्छन् । दया सृष्टिले उत्पन्न गराउँछ । आमा हुने गुणले दयालु बनेका हुन्छन् । अपवादबाहेक सन्तान उत्पादन गर्ने क्षमता नभएका वा निःसन्तान महिलामा महिलाजन्य दया थोरै हुन्छ । निष्ठुरी हुन्छन् आमाको हकमा । यस्तो गुण सबै स्त्रीलिंङ्गीमा हुन्छ । आमा बन्ने हैसियत वा क्षमता भएका तर पतिको कारणले आमा बन्न नसकेका महिलामा भने आम महिलामा हुने गुण कायम रहन्छ । बरु उनीहरुमा यदाकदा हीनताबोधको शिकार बन्दछन् ।
महिला राम्री हुन्छन् । उनीहरु आफैमा भन्दा पुरुषको नजरमा झनै राम्री देखिन्छन् । राम्री हुन प्रकृतिले सिकाएको हुन्छ । राम्री नहुने हो भने सृष्टिमा अवरोध हुन्छ । गर्भाधान योग्य भएको उमेरदेखि सन्तान उत्पादनको क्षमता समाप्त नहुँदा सम्म एक प्रकारको सुन्दरता हुन्छ । त्यो सुन्दरता र अरु सामान्य अवस्थाको सुन्दरतामा फरक हुन्छ । यही सुन्दरताले विवाह गराउँछ । यस अवस्थाको सुन्दरता प्राकृत हुन्छ जसमा कुनै मेकअपको आवश्यकता पर्दैन । सुन्दरतामा कमी आयो कि भनेर मेकअप गर्ने हो । सामान्य मेकअप महिला सभ्यताभित्र पर्छ । दुःखको कुरो भन्ने कि नरमाइलो कुरो भन्ने, भद्दा मेकअपले मौलिक सुन्दरतालाई नष्ट गरेको हुन्छ । भद्दा मेकअप गर्नु भनेको सन्तान उत्पादन क्षमतामा कमी छ वा ह्रास छ भनेको पनि हो । शरीरको बनोट अनुसार, रङ्ग अनुसार मेकअप गर्नु भाँडा माझेर टल्काएजस्तो हो । टल्काउनुको नाममा भद्दा पालिश लगाइयो भने जसरी भाँडा भद्दा देखिन्छ, शृङ्गार पनि त्यस्तै हो ।
वर्तमान मानव सभ्यतामा तत्कालै बढी सुन्दर देखिनुपर्ने भएर हो सायद, खास गरेर किशोरी महिलाले अर्धनग्न पोशाक र भद्दा शृङ्गार गर्ने गर्छन् । यस अवस्थामा उनीहरु आकर्षण भन्दा पुरुष प्रति बिकर्षण बढी हुन्छन् । खराब नियतले गरिएको शृङ्गारको परिणाम पनि खराबै हुन्छ । सुन्दर देखिनु सबैसँग सहबास योग्य छु भनेको होइन । तर, म पूर्ण वयस्क छु भनेको पक्कै हो । पुरुषले पनि राम्री देखिने महिलाहरु सबैसँग सहबास गर्ने इच्छा राख्छ भन्ने होइन । राम्रो वा राम्री हुनुको अर्थ भावी सन्तान राम्रो जन्मन्छ भनेको हो ।

दम्पत्तिको सहबास र त्यसको अघि पछिको मानसिकता जति सभ्य हुन्छ सन्तान पनि प्रायः सोहि अनुकूलको जन्मन्छन् । आक्रोश, अभाव, इष्र्या, क्रोध आदि अवस्था पुरुष वा महिलामा करीब ६ महिनासम्म कायम रहेको अवस्थामा गर्भाधारण भएको बच्चा सज्जन नहुन सक्छ । प्रजनन अवस्थामा एक मिनेटमै बीज तयार हुने कुरो होइन । कतिपय अवस्थामा त पुरानो पुस्ताको गुण वा अवगुण सात पुस्ता सम्म सरेको पाइन्छ । बंश सुधार्ने प्रमुख भुमिका पुरुषको तुलनामा महिलाको बढी हुन्छ । यसैले त कुलकी छोरी बिहे गर्नु भन्छन् । कुल भनेको सभ्यता हो । फटाहा परिवारलाई कुल मान्ने सामन्ती संस्कार पनि छ, यसलाई भने परिवर्तन गर्नु पर्दछ ।
सामान्यतया पाखुराको बललाई शक्ति भन्ने बुझिन्छ । यो भन्दा बढी बल मनमा हुन्छ । यसलाई आत्मबल पनि भन्छन् । सोझो हिसाबले पुरुष बलिया हुन्छन् । नैतिक बलका कुरा गर्ने हो भने पुरुषको तुलनामा महिला धेरै बलिया हुन्छन् । नैतिक बल हुन मान्छेले नैतिकता पालना गर्नु पर्दछ । चरित्रमति महिला चरित्रवान पुरुषभन्दा बलिया हुन्छन् । चरित्रको अर्को नाम आचरण हो । विकृतिलाई उदाहरण बनाउनु हुँदैन । देख्नमा गहनतम् सुन्दरता, चरित्रमा दृढ, दृष्टिकोण स्पष्ट, सन्तानोत्पादनमा सक्षम यस्ता महिला शक्तिशालिनी हुन्छन् । यस्तो गुण बाल्यावस्थामा नै झल्केको हुन्छ । गहनतम् सुन्दरता भनेको रुप र यौवनले पूर्ण हुँदाको अवस्थामा पनि पुरुषको नजरमा दिदी, बहिनी, छोरी, भाञ्जी, साथी जस्तो देखियोस् । अथवा उनमा भएको काम बासना पूर्णतया नियन्त्रणमा होस् । यस अवस्थामा जस्तै जटिल काम पनि महिलाले सम्पन्न गर्न सक्षम हुन्छन् जुन काम बलवान भनिने पुरुषले गर्न सक्दैनन् ।
महिलामा एउटो अनौठो चरित्र हुन्छ त्यो हो नाटक वा बहाना गर्ने । भनाइ नै छ स्त्री चरित्र वा तिरिया चरित्र । सोझो हिसाबले काम भएन भने घुक्र्याउने सवालमा होस् वा अन्य संकटकालीन अवस्थामा यो बिधि प्रयोग गर्छन् । रुने, रिसिने, माइत जान्छु भन्ने, सञ्चो छैन भन्ने, सपनामा देखेको भनेर जिद्दि गर्ने आदि यस्तो चरित्रमा प्रयोग गर्ने विधि हुन् । कहिलेकाहीँ त यसले राम्रै पनि गर्ला नत्र यस्तो स्वभावले महिलालाई कमजोर साबित गर्छ । यसै चरित्रका कारणले महिला पछाडि परेका हुन्छन् । यस्ता बहानाबाजीबाट मुक्त हुन नितान्त जरुरी छ ।
महिलावादको अर्थ राजनीति र सामाजिक न्यायको सन्दर्भमा फरक होला । ब्यवहारतः महिलावाद भनेको सजिलो काम खोज्नु, कठीन काममा म त महिला हुँ भनेर पन्छिनु यसका दुर्गुण हुन् । नामर्द, आईमाईको जात, छोरीमान्छे इत्यादि उदाहरण यसैकारणले बनेका हुन् । कुनै बेला पुरुष सरह हक खोज्ने र कुनै बेला महिला हुँ भनेर पन्छिने स्वभावले कल्याण गर्दैन । सक्षम, निरोगी, जाँगरिली महिलाले म त महिला हुँ भनेर बसमा सीटको लागि झगडा गरेको देखिन्छ । दाजु, बाबु वा हजुरबा सरहका पुरुष तथा अन्य मान्यजनलाई सीटबाट उठाएर महिला भएकै कारणले गजक्क सीटमा बस्नु निरीह महिला बन्नु हो । यसको सट्टा अमुक व्यक्तिलाई सीट छोडिदिनुले धार्मिक मान्यतामा देवी भनिने अलौकिक शक्तिको उदय भएको पाइन्छ । यस्ता उदाहरण पनि देखिने गरेको पाइन्छ । प्रशंसायोग्य कुरो हो ।
समाजमा महिलाजन्य विकृति धेरै पाइन्छन् । जबर्जस्ती हुन गएका दुर्घटनाबाहेक हरेक विकृतिबाट महिलाहरु जोगिनु आवश्यक छ । छिटै प्रभावमा पर्नु वा विश्वास गर्नु आम महिलाको कमजोरी हो । गहना, कपडा, पैसा, सुख र यौवनले महिलाहरु छिटै लोभिन्छन् । लफङ्गा पुरुषको कमजोरी त छँदै छ, ५ किलोमिटरको बसको यात्रामा पनि कोखैमा बसेको पुरुषको फन्दामा परेर विवाह वा यौन सम्पर्कमा जान तयार हुनु हदैसम्मको कमजोरी हो । यस्तो देखिने गरेको छ । यसैलाई लभ प-यो भनेर जिद्धि गरेको सुन्दा टिठ पनि लाग्दछ । यस्तो अवस्थाबाट मुक्त हुन चेतना र आत्मबलको जरुरी छ । नेपालका तथा नेपाली चरित्र मिल्ने अन्य देशका बाहुन, क्षेत्री, ठकुरी तथा दलितवर्गमा यो समस्या बढी पाइन्छ । तुलनात्मक रुपमा तराइ मधेश मुलका किशोरीमा यस्तो अवस्था न्यून छ । महिलाहरु, संकटमा परेको बेलामा सहयोग गर्ने तथा आफ्नो सन्तानलाई माया गर्ने मान्छेसँग छिटै प्रभावित हुने कारण बुझेर कुनै पुरुषले नक्कली संकट सिर्जना गरी यौन कुकर्मको घाट बनाउने गरेको यदाकदा पाइन्छ । यस अवस्थाको समेत ध्यान दिनु जरुरी छ ।
राम्री मान्छे, जसको सुन्दरता हेरेर सम्मानको भावना झल्कियोस्, मानवीय मर्यादाको स्मरण होस्, अलौकिक श्रद्धा उत्पन्न होस् । यस्तै मेरी बहिनी भैदिएको भए, छोरी भैदिएको भए, दिदी भैदिएको भए, अथवा देवताको कथा नै सही, पूजनीय देवीजस्ती देखिउन् । अर्ध नग्नताले गर्दा दृष्टि घुमाउनु पर्ने तथा भद्दा श्रृंगारले ठुस्स गन्हाउने भए भने मान्छेको हुल भनेर चित्त त बुझाउँला तर यसले आम महिलाप्रति नकारात्मक प्रभाव पार्दछ । फेरि पनि, संयम सबैको सम्पूर्ण सुन्दरताको गहना हो । त्यसमा पनि महिलाको त अमूल्य गहना नै हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)