मैले चुला छोएकोले आमा त्यो दिन भोकै बस्नुपर्‍यो

समय, आस्था र विश्वास

डा. अर्जुनदेव भट्ट

म स्कूलमा पढ्दा लामो बिदा भनेको मीनपचास र दशैँसँग गाँसिएको हुन्थ्यो । यी दुवै बिदा हामी काठमाडौँमा बसेर पढ्ने बच्चाका निम्ति बुबाआमा भेट्न जिल्ला जाने अवसर सबैभन्दा ठूलो उत्सव हुन्थ्यो ।

एकपटक बुबाज्यूको सरुवा नुवाकोट भयो र बुबाआमा त्यहीँ बस्न थाल्नुभयो । त्यो हाम्रो निम्ति ज्यादै ठूलो खुशीको खबर थियो । २०१४-१५ सालतिरको काठमाडौँ अहिलेको जस्तो थिएन । जाडोको मौसममा डम्म कुहिरो लाग्नु सामान्य प्राकृतिक क्रिया थियो । सिङ्गै काठमाडौँ बिहान अबेरसम्म कुहिरोले ढाक्थ्यो ।

त्यो बेला काठमाडौँमा मध्याह्न १२ बजे तोप पड्काउने चलन थियो । कहिले त तोप पड्काएपछि मात्र कुहिरो हट्थ्यो । जाडो याममा विहान आँगनभरी सेतै तुसारो देखिन्थ्यो । बिहान पानी छुँदा हात झर्ला जस्तो गरी कठ्याँग्रिन्थ्यो । अबेर भए पनि घाम लाग्थ्यो । घामले काठमाडौँलाई नै कठ्याङ्ग्रिनबाट रोक्थ्यो । त्यो वातावरण वर्णन गर्नु र अनुभूति गर्नुमा ठूलो फरक पर्न सक्छ ।

त्यसबेला साधारण मान्छेहरूसँग अहिलेजस्तो न्याना र धेरै लत्ताकपडा र जुत्ता हुँदैन थिए । जाडोका मोटा र राम्रा लुगा, सोही अनुसारका जुत्ता लगाउन त उच्चवर्गमा जन्मिएको हुनुपथ्र्याे । जाडोमा कठ्याङ्ग्रिनु त सामान्य अनुभव थियो ।

हामी कालिकास्थानस्थित डा. यादवप्रसाद पन्तको दुई तले घर सिङ्गै लिएर बसेका थियौँ । त्यहाँ ठूल्दाजु आनन्ददेव, माइलो दाजु भीमर म, साइँलो बुबा, साइँलीआमा, बहिनीहरू पुष्पा, उषा र सुशीलाथिए । केहीपछि भाइ धु्रव पनि आएर पढ्न थाल्यो । म सोभियत संघ जानुअघि बहिनी एल्मिरा जन्मिन् । केही समय कान्छा बुबा पनि त्यही घरमा बस्नुभयो ।

हामी खाँदिएर बसेका थियौँ । दुई तले घर सिङ्गै हामीले लिएको भए पनि भुइँतला मान्छे बस्न उपयुक्त थिएन । बस्ने भनेको त बीचको तलामामात्रै थियो । त्यहाँदुई कोठा थिए । एउटा अलि ठूलो थियो र अर्को भ¥याङले गर्दा साँघुरिएको । बुइँकलमा भान्सा कोठा र भण्डार थिए, छेवैमा कौसी । जाडो याममा घामले ढाड सेकाउने एकमात्र खुला ठाउँ त्यही कौसी थियो घरभरिमा ।

हामी बच्चाहरू काठमाडौँमा पढ्न बसेका, त्यो त हाम्रो प्राथमिक काम भइगयो । बिहान पढाइसँगै घरमा सानोतिनो काम पनि सघाउनुपथ्र्यो । बिहान साग किन्न जाने, अरू समयमा पनि किनमेलमा सघाउने, घरमा पानी ल्याएर गाग्री र घैँटोमा जम्मा गर्ने इत्यादि काम गथ्र्यौं ।

शनिबारको दिन घाम लागेपछि र धारो खाली भएपछि पन्तजीको ठूलो घरको उत्तरपूर्वतिर रहेको कलधारामा नुहाउने र कपडा धुने गथ्र्यौं । चर्पी बाहिर अलग्गै थियो, अर्को सानो घरजस्तो । त्यहाँ पानी हुने कुरै भएन । ट्वाकमा पानी लिएर जानुपथ्र्याे । गर्मीमा झिँगा भन्किएका हुन्थे । हामी सबै खालीखुट्टा नै चर्पी जान्थौँ । त्यहाँ सलसल कीरा हुन्थे । तिनले हाम्रा खुट्टा सुम्सुम्याउन थाल्थे । शौचको काम सकेपछि पनि धेरैबेर सिकसिक भएर ग्लानि भइरहन्थ्यो ।

घरको काममा सबैभन्दा रमाइलो त भुसे चुलोमा भुस खाँद्ने र त्यसमा आगो सल्काउने जस्ता काम गर्नमा थियो । अहिले सम्झँदा त दन्त्यकथाजस्तो लाग्छ तर तिनै काम हाम्रा प्राथमिकतामा थिए ।

घरका सानातिना काम गरेपछि हामीमा ऊर्जा थपिएको महसुस हुन्थ्यो । धुवाँले आँखा पोल्थ्यो । आँखा मिच्दै त्यसमा पनि रमाउँथ्यौँ । त्यसले पछि छाती र फोक्सोमा असर गर्छ भन्ने कसले सोच्थ्यो र ! फेरि त्यस्तो कुरा थाहा नै कहाँथियो र ! दाउरा बाल्नुभन्दा भुसको चुलो केही सस्तो पथ्र्यो । दाउराभन्दा सजिलो पनि हुन्थ्यो ।

साँच्चै, भुसको चुलो त्यो बेलाको नयाँ आविष्कार नै थियो । घरमा एक ठाउँमा बनाइएको चुलोजस्तो अचलथिएन, यताउता सार्न पनिमिल्थ्यो । हामीलाई त खेलौनाजस्तो रमाइलो हुन्थ्यो । हाम्रो त्यो बाल्यकालमा हामी जे काम गर्न पनि पछि पर्दैन थियौँ । जाडोमा भने खास गरेर बिहान बेलुका दोलाइँ ओडेर काम गथ्र्यौं । त्यसरी काम गर्न निकै अप्ठ्यारो हुन्थ्यो ।

त्यो बेला हाम्रो डेरामा मेच र खाट केही पनि थिएनन् । थिए त केवल सुकुल, पातला दरी, बस्नका लागी केही चकला । सुत्नलाई पराल खाँदिएका जुटका थैला, जस्तो डसना थिए । आश्चर्यजनक त के थियो भने, त्यस्तो डसनामा निद्रा भने अहिलेको एक लाखको खाटमा भन्दा कम मिठो र गहिरो थिएन ।

बिहान उठ्नासाथ हामी सबै डसना कुनातिर एकै ठाउँमा खात लगाउँथ्यौँ र माथिबाट एउटा तन्नाले ढाक्थ्यौँ । यसो गरेपछि त्यसले गज्जबको सोफाको रूप लिन्थ्यो । राति सुत्ने कोठा दिउँसो बैठक कोठामा परिणत हुनुपथ्र्यो । दोलाईं इत्यादि कुनै पनि कपडा नपट्याई छाड्ने चलन थिएन । भौतिकरूपमा कष्ट भए पनि जीवन अनुशासित थियो, सुन्दर थियो ।

सुरुमा राति पढ्नको निम्ति टुकी वा लालटिन थियो । प्रकाशका ती स्रोत राम्रो उज्यालो दिन योग्य बनाउन हामी दाजुभाइहरू सिसा पुछ्ने मट्टितेल हाल्ने, बातोको अवस्था हेरेर ठिक पार्ने, नयाँबातो राख्ने इत्यादि काम गथ्र्यौं । बत्ती बालेपछि हात जोडेर नमस्कार गर्ने चलन थियो । त्यसो गर्न कसैले सम्झाउनु आवश्यक थिएन, घरको संस्कार थियो । बत्तीलाई नमस्कार गर्नु स्वतस्फूर्त थियो । त्यसरी सम्मान गरेको प्रकाशले त्यो समयका हामीलाई आजका हामी बन्न ठूलो सहयोग ग¥यो । त्यो टुकीबत्ती धुवाँ आउने हुन्थ्यो, अलिकता हावालाग्दा पनि निभ्थ्यो तर पनि हाम्रो नमस्कारको हकदार थियो ।

Ad

हामी बसेको घरको पूर्वपट्टि पन्तजीको अर्को अग्लो घर थियो । केही दिनपछि हामीले झयालबाटै त्यो घरबाट बिजुलीको तार तान्यौँ । बेलुकामात्र र घरभरिमा जम्मा तीनवटा बत्तीबाल्नपाउने शर्तमा बिजुलीपायौँ । हाम्रो खुशीको सीमा रहेन । तीन वटा चिम रातो र कालो रङका मसिनो तारमा झुन्डिएका थिए । हाम्रो टाउको माथि पर्ने ती चिम हामी खेलौनाझैँ टाउकोले हल्लाउँथ्यौँ, दिउँसो कसैले नदेख्ने गरी ।

सुरुमा त मलाई आश्चर्य नै लाग्थ्यो, कसरी ती चिमले प्रकाश दिन्छन् ! त्यसैले पनि ती हाम्रा निम्ति निकै आकर्षक थिए । एक दिन दिउँसो उद्धव काका (उद्धवदेव भट्ट, जो पछि परराष्ट्र मन्त्रालयको सचिव र राष्ट्रसंघमा नेपालको तर्फबाट स्थायी प्रतिनिधि हुनुभयो) हाम्रो बैठक कोठामा ठूल्दाजु आनन्ददेवसँग हृदय खोलेर कुरा गर्दै बीचबीचमा उन्मुक्त पाराले हाँस्दै हुनुहुन्थ्यो ।
काका र दाजुको त्यो संवाद र वातावरण अहिले पनि मेरो सम्झनामा ताजा छ । कति मिठो, स्वच्छ र निष्कपट हाँसो थियो । मानौँ, त्यो हाँसो काका र दाजुको स्वरयन्त्रबाट होइन हृदयको कुनै विशेष स्थानबाट आएको थियो । मानौँ, कसैले पनि आजसम्म भेट्न र देख्न नसकेको स्थानबाट मस्तिष्कमा पुगेर कण्ठ हुँदै फोहरा झैँ शोभायमान र कर्णप्रिय भएर प्रस्फुटन भएको थियो ।

भीमदाजु र म अर्को कोठामा टाउकोले चिम हल्लाउँदै खेल्न थाल्यौँ । पल्लो, सानो कोठामा मस्त गफ गरेर बसेका काका र ठूल्दाजुले हामीलाई देख्दैनन् भन्नेमा ढुक्क थियौँ । हाम्रो अपेक्षाविपरीत अप्रत्यासित रूपले काका अचानक हामी भएको कोठामै छिर्नुभयो । हाम्रो चर्तिकला देखेर अनौठो मान्दै त्यसरी हल्लाउँदा चिम जल्न सक्छ, फुटेर चोट पनि लाग्न सक्छ भन्दै अगाडि उभिनुभयो ।

हामी रङ्गेहात पक्राउ परेका थियौँ । हाम्रो अनुहारको रूपरङ नै हराउने गरी लाजले भुतुक्कै भयौँ । त्यो घटनाको सबैभन्दा राम्रो पक्ष के भयो भने टाउकाले चिम हल्लाउने खेल सदाका लागि बन्द भयो । हामी खेलिरहेको कोठामा काका अचानक प्रवेश गर्नाले हामी सधैँका लागि सुध्रियौँ ।

भीमदाजुलाई बेलुका छिट्टै निद्रा आउँथ्यो । म टुकी, लालटिन वाचिमको उज्यालोमा धेरै बेर पढ्न सक्थेँ । ज्यादै छिटो सुते वा पाठ पूरा गर्न नभ्याए भीमदाजुले ठूल्दाजुको चड्कन खानुपथ्र्यो । कहिलेकाहीँ त अलिक दह्रै मुड्की पनि सहनुपथ्र्यो । त्यो देखेर म आफैँ कुटिए झैँ डरले भुतुक्क हुन्थेँ । भित्र मुटुदेखि नै डराउँथेँ ।

पाल्पाका परम्परागत गुरुहरूले ठूल्दाजुलाई बेतको छडीले हातखुट्टा र पिठ्युँमा राता मुस्लाहुने गरी पिट्दै पठाउँथे भनेर आमाले भनेको धेरै चोटी सुनेको थिएँ । पिटाइको चरम सीमा नाघेपछि दाजुले स्कुल नै फेर्नुपरेको थियो रे ! परम्परागत गुरुहरूले त्यसरी शिष्यलाई काबुमा राख्न खोजेपछि ती भविष्यमा गुरुजस्तै तगडा बन्छन् भन्ने सोच थियो ।

दुर्भाग्य ! आजका दिनसम्म पनि नेपालका स्कूलमा यस्तो सजायँ हुने गरेको छ ।

बेलाबखत हुने कुटाइबाट छुटकारा पाउन र खास गरेर बुबाआमासँगको अर्को स्तरको बसाइ अनुभव गर्न पनि हामी मीनपचासको बिदा नुवाकोटमा बिताउन दिन गन्ती गर्दै पर्खिन्थ्यौँ । सोह्रखुट्टे र मुलाको खानी ककनी हुँदै हिँडेर जाँदाखुट्टा गलेर फतक्कै हुन्थे । नुवाकोटका डाँडातिर सोझिएका राता बाटा हिँड्न पाउँदा हामी जोसिला भएका हुन्थ्यौँ । दिनभरिको यात्रापछि पुगिन्थ्यो नुवाकोट, बुबाआमाकहाँ ।

त्यहाँ बिजुली थिएन । बेलुका भात खाएपछि लालटिनकै प्रकाश हुन्थ्यो । खालि त्रिशूलीको आँप बगैँचानगिच हाइड्रोपावर बन्छ भन्ने हल्ला सुनिन्थ्यो । बिजुली नभएकाले रात्रिकाल सुनसान हुन्थ्यो । बेलुकाको खाना खाएपछि मानिसहरू चाँडै सुत्थे ।

एक दिनबिहान म उठ्दा मधुरो घाममा बुबाज्यू शरीरभरि तोरीको तेल लगाएर जिउमालिस गर्दै हुनुहुन्थ्यो, धाराको नगिच बसेर । तेल मालिस गरेर बुबाज्यूले बडो आनन्दका साथ नुहाउनुभयो साबुन लगाएर । बुबाज्यू बेलुका घुँडा धसेर लाल्टिन अगाडि घोप्टिएर केके लेखिबस्नुहुन्थ्यो । लेख्दा बुबाज्यूले केरमेर गरेको वाकतै लेख्न नसिध्याई त्यसै छोडेको देखिँदैनथ्यो ।

त्यसबेला नेपाली कागजमा कालो मसीले लेख्ने चलन थियो ।

बुबाज्यू फाउण्टेन पेनको सौखिन हुनुहुन्थ्यो । कालो मसीले भरिएर लेख्न तयार भएका दुईतीन वटा फाउन्टेन पेनले बुबाज्यूको कोटको खल्तीलाई सधैँ शोभा दिएका हुन्थे । बुबाज्यू केही नगरेर त्यसै टोलाएर बसेको वा समय खेर फालेको सम्झना छैन ।

अर्को दिनको एउटा सम्झना छ जसले मलाई आजर्यन्त पछ्याइरहेको छ । आमा चोलो फुकालेर, सफा धोती लगाएर, एउटा सानो पिर्कामा बसेर चुलोमा केही पकाइरहनुभएको थियो । एकछिनपछि मैले आमालाई चुलोमा देखिनँ । खै किन हो, चुलोमा भएको एउटा गिलास मलाई आवश्यक पर्‍यो । काठमाडौँमा चुलोमा जान परहेज थिएन । त्यही सम्झेर म चुलोमा पुगेँ । बुबाज्यूले खाइसक्नुभएको थियो तर आमाले खान बाँकी थियो । मैले चुला छोएको कारणले आमा त्यो दिन भोकै बस्नुपर्‍यो ।

बल्ल मेरो घैँटोमा घाम लाग्यो । मैले आमाको नरम गाली पाएँ । म त्यसरी चुलोमा जानु हुने थिएनरहेछ । मेरो मन आफूले गर्न नहुने काम गरेकोमा र गाली खाएकोमा भन्दा बढी आमा दिनभरि भोकै बस्नु परेकोमा दुःखी भयो । त्यसपछि म चुलो भनेपछि सातहात टाढै रहने भएँ । नजिक जानै पर्ने हुँदा पनि सतर्क हुनथालेँ ।

नाइटोमुनि शरीर नचल्ने भएर एउटा खाटमै थलिएको अवस्थामा पनि आमाले लामो समयपछि मात्र अरूले छोएको र पकाएको खान थाल्नुभयो । त्यो पनि रोटी तरकारी इत्यादिमात्र, भात होइन । विश्वासको कुरा न हो । आस्था र विश्वासले मानिसलाई जे गर्न पनि सक्षम वा बाध्य पार्दोरहेछ ।

आमाले आफ्नो चुलोमा गोलभेँडा, लसुनप्याज, माछामासु कहिल्यै पस्न दिनुभएन । कुखुराको अण्डा पनि घरभित्रहुने कुरै थिएन । मैले पहिलोपल्ट कुखुराको अण्डा खाएको भिनाजु डा. मदन उप्रेती भारतबाट काठमाडौँ आएको समयमा हो । उहाँले मलाई पनि अरूहरूसँगै डिल्लीबजारको लप्टनको होटलमा लैजानुभएको थियो । मैले पहिलोपल्ट उसिनेको अण्डा छोडाएर खाएको देखेको पनि त्यहीँ हो, करिब तेह्र वर्षको उमेरमा । त्यहीँ मैले पहिलोपटक उसिनेको अण्डाको स्वाद लिएँ ।

कताकता मनको गहिराइमा अलिकता सङ्कोच पनि भयो, डर पनि लाग्यो । शायद त्यसैले होला इजरायली प्राज्ञ युभलनोआ हरारीले निचोड निकालेका, प्राणीमध्ये मानवले मात्रै झुटलाई सत्यको खोल ओडाउन सक्छ र सत्यलाई झुट सावित गर्न सक्छ भनेर । मानिस अरूलाई मूर्ख बनाउन सक्छ र आफू पनि सहजै मूर्ख हुन्छ । स्वर्गको काल्पनिक कथा रचेर पृथ्वीमा सबै दुःख सहेर बस भन्दै पण्डित्याइँ छाँट्छ ।

शाकाहारी आमाले खाएको खाना वा मांसाहारी सर्वभक्षी खाना कुन उत्तम ? सबै आआफ्नो पक्षपोषणका लागि अनेक तर्क गर्छन् । शारीरिक काम गर्ने, हिँड्डुलमा पछि नपर्ने र खान पायो भन्दैमा अति नगर्ने शाकाहारी हुन् वा मांसाहारी नै किन नहुन्, त्यै खानाको कारणले छिटो वा ढिलो बितेको भन्ने प्रमाण कहाँ छ कुन्नि ! आमाको समयमा आस्था र विश्वास भने बेजोड थियो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button