… अनि बिस्तारै प्रेममा परिन्छ


सुप्रिया खनाल

भन्छन् नि, दुई दिनको जिन्दगी । दुई दिनको जिन्दगीमा जन्म र मृत्यु निश्चित हो भने प्रेम अति आवश्यक ।

हामीले आमाको गर्भबाट नै प्रेम पाएका हुन्छौं । जन्मेपछि हरेक व्यक्तिले प्रेम गर्छन् अनि समय अनुसार आफूले पनि प्रेम गरिन्छ । आफ्नो आमालाई, आफ्नो परिवारलाई, साथीसँगी र अनेकलाई । उमेरको मागसँगै मनका चाहहरू बढ्न थाल्छन् । यो मन कोहीप्रति आकर्षित हुन थाल्छ । कसैको बानीव्यबहार राम्रो लाग्न थाल्छ अनि बिस्तारै प्रेममा परिन्छ । हो, त्यो प्रेम तिमी हौ मेरो ।

सायदै जवानीको पहिलो प्रेमको रसमा घुलिदै भएर होला, त्यो प्रेम को मिठास कस्तो हुन्छ मैले चाख्न नै पाइनँ । जब प्रेम के हो बुझ्न थालेँ, त्यत्ति खेरसम्म तिमी मदेखि टाढा हुने सोच्न थालिसकेका रहेछौ । मैले सिउँदोमा सजाउन कल्पिएका सपनाहरुलाई तिमीले माटोमा विलीन बनाउन खोजिसकेछौ । मैले जिन्दगीभरी आफ्नो खुसी र दुखको भारी बिसाउन रोजेको काखमा तिमीले अर्कैलाई विश्राम गर्न दिइसकेछौ ।

तिमी मर्ने कुरा नगर, म सहन सक्दिनँ भन्ने त्यो ओठलाई मरे मर् बाँचे बाँच् भन्न सक्ने पाठ पढाइसकेछौ । तर पनि म खुसी नै छु । पाउनु मात्र पनि त माया होइन । माया भनेको त्याग र समर्पण पनि हो । तिम्रो मायामा मैले आफ्नो जिन्दगी, आफ्नो खुसी, आफ्नो हाँसो सब समर्पण गरिदिएँ । थाहा छ, तिमीले पनि मलाई भुल्न सकेका छैनौ । सायदै कसैको मनमा फुल्ने कोशिश भने पक्कै गरिरहेका छौ होला । हरेक पल तिम्रा यादहरुले तड्पाउँछन् मलाई । कोहीसँग नजिक हुन खोज्छु, तिम्रो झैं काचुली फेर्ने अनुहार छ कि भनेर डर लाग्छ ।

Ad

मान्छेको जीवनमा खास एक हुने गर्छ । जो आउँछ, सबलाई खास बनाउन सकिँदैन । मेरो लागि त्यो खास तिमी हौ । साथमा नभए पनि यादमा भने हरपल रहिरहने छौ । हिजो तिम्रो हातले रङ्गीने सपना देखेका सिउँदोहरु आज अरुकै हातले रंगिदै छन् तर हरेक प्रेम गर्नेहरुकै हातबाट सिउँदो रंगिन्छ भन्ने रहेनछ अनि सिउँदो भर्नेसँग नै प्रेम हुन्छ, यो पनि एउटा भ्रम मात्र रहेछ । भलै म आज अरूको भएँ तर तिमीलाई माया गर्ने मन र सम्झने दिल अरूको हुन कदापि सक्दैन । तिमी बसेको ठाँउ कसैले लिन सक्दैन । तिमी बाँधिएका यी अँगालोमा भलै अरु कोही बाँधिएला तर तिमीले अनुभव गरेको स्पर्श अरूले अनुभव गर्न पाउने छैन ।

तिम्रा लागि रोएका यी आँखाहरू अरुका लागि रुने छैन । तिमीले चोट नै चोटको दलदलमा मलाई धकेलेर गए पनि, आँशुको तालमा डुबाएर गए पनि यो मनले सधैं तिम्रै खुसी चाहनेछ । पाउन नसके पनि हरेक पल तिमीलाई खोज्नेछ । तिमीलाई पाउने कुनै भाग्यमानी हुनेछ जसले बिना चोट, बिना मेहेनत तिमीलाई पाउनेछ । तिमीसँग रमाउनेछ । दुख अनि सुखमा तिम्रो हात समाउनेछ । भगवानसँग यही माग्नेछु, जुन पीडा र दुख मैले भोगेँ, त्यसको एक छिटासम्म नि तिमीलाई नपरोस् ।

आजकाल तिम्रो मेरो बोलचाल बन्द भयो । भेटघाट हुनै छाड्यो । आजभोलि मेरो मोबाइलमा तिम्रो नामको कुनै पनि मेसेज र कलहरु आउँदैन । तिमीले पोस्ट गरेका तिम्रा तस्बिरहरु मैले देख्दिनँ अनि मैले पोस्ट गरेका तस्बिरहरु तिमीले देख्दैनौं । तर प्रिय, यस्को अर्थ हाम्रो सम्बन्धमा पुर्णविराम लाग्यो कहिल्यै नसोच्नु । सम्बन्धमा पुर्णविराम त तब लाग्छ जब सम्बन्धको नयाँ अध्याय सुरु हुन्छ ।

हुनसक्छ, तिम्रो जीवनमा सम्बन्धको नयाँ अध्याय सुरु भैसक्यो तर म दिनदिनै म मेरो जिन्दगीका पानाहरु पल्टाएर हेर्ने गर्छु, त्यहाँ कुनै पनि त्यस्तो एउटा पाना छैन, जहाँ तिमी छैनौ । तिम्रा यादहरु छैनन । सुरुवाती पानाको अन्तिमसम्म तिमी छौ, तिम्रा यादहरु छन् अनि तिमीसँग जोडिएका केहि मिठा र रङ्गिन सपनाहरु छन् ।

फरक त यत्ति मात्र हो कि सुरुवातमा हामी दुवै मिलेर एउटै सपना देख्ने गर्थ्यौं । अहिले यो जिम्मा तिमीले म एक्लैलाई सुम्पिएर गयौ । जहाँ जस्को साथमा भए पनि धेरै खुशी हुनु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button