अबेर भयो, गन्तव्य टाढा छ

दीन पन्थी

समयले कज्याउँछ कोर्रा हानी–हानी । पर्दा खुल्दछ, पर्दा बन्द हुन्छ । रंगमञ्चमा अभिनय हुन्छ । यो खेल, यो तमासा–हामी हौं–नट, विट, विदूषक र सूत्रधारहरु । नाच्नै पर्छ बाजा बजेपछि ।

हामी अविरल यात्रामा छौं । मोडहरु आउँछन्, चौबाटाहरु भेटिन्छन् । बाटो पहिल्याएर हिड्नुपर्छ । अँध्यारोमा, उज्यालोमा, उकालोमा ओरालोमा, भीरहरुमा, मैदानमा हिड्नुपर्छ अविश्रान्त । नदी झैं बग्नुपर्छ प्रतिपल अधोगामी भएर समुद्रसम्म । बग्नुपर्छ–साँघुरा गल्छेंडा र फराक मैदानहरुमा पनि । बादल झैं उडेर सगरमा आफै सकिनुपर्छ । यो यात्रा हो । यो जीवन हो । यो नाटक हो । निर्लक्ष्य यात्राका मुसाफिरहरु बाटामा हिडिरहन्छन् । भूलहरुमा पछुताउँछन् । ठेस लागेर रुन्छन् । आनन्द मानेर हाँस्छन् । मोहमायामा भुलेर बाटो काट्छन् । कुनै बाटामा पछारिन्छन् । कुनै आफू नपछारिएकोमा मख्ख हुँदैखिस्स हाँस्छन् । यो बाटो सबैको हो । यी चौपारी, यी धारा, यी ठाँटी र पौवाहरु साझा हुन् । चौपारीमा अटाएर बस, धारामा पालो बाँधेर पानी पिऊ । न ओगट एक्लैले यी ठाँटी र पौवाहरु । भोलि झिस्मिसेमै उठेर बाटो लाग्नुछ । यी एक रातका लागि हुन् ।
यात्रामा कष्ट छन्, आनन्द पनि छन् । मनमोहक दृश्य छन् । झरी छन् । घाम छन् । एकरसता छैन यात्रामा । एकरुपता छैन यात्रामा । नटुंगिदासम्म यो यात्रामा सहयात्रीहरु छुट्छन्, जुट्छन् । कति यात्रीहरु हिडे यस बाटोमा पदचिह्नहरु मेटिएका छन् । कति यात्रीहरु बास बसे यी पौवा र ठाँटीहरुमा नामहरु लेखिएका छैनन् । यात्रीहरु हिजो पनि हिडेथे यस बाटामा । यात्रुहरु फेरिन्छन्, यात्रा जारी रहन्छ । यस एकोहोरो यात्रामा फर्कने कोही छैन, अनुभवी कोही छैन । एउटा पछारिन्छ, एउटाले हेर्छ, अर्को खितित्त हाँस्छ । पछारिनेलाई उठाउने कोही छैन । पछि छुट्नेलाई हात समाएर हिडाउने कोही छैन । यो यात्रा हो, यात्री आफै हिड्नुपर्छ । निष्ठूर छन् यात्राका नियमहरु । निष्ठूरी छन् यात्रीहरु । पूर्वजहरु हिडें यहीं बाटामा । हामीहरु हिडिरहेछौं यहीं बाटामा ।

अनादि कालदेखि हिडेको यो बाटो । अनन्त कालसम्म मान्छेका पाइलाका छापहरु छातीमा थापेर यो बाटो पसारिइरहनेछ–धुलाम्य भएर । यो यात्रा चलिरहनेछ । पालो फेरिनेछ । यात्रीहरुका अनुहार फेरिनेछन् । युग फेरिनेछ तर यात्रा जारी रहनेछ–पानी बगे झैं, बादल उडे झैं, हावा चले झैं, पृथ्वी घुमे झैं अविरल र अविराम ।

वाक्क लाग्छ हिड्दा हिड्दै यस निस्सार र निर्लक्ष्य यात्रामा । आशा, मृगतृष्णा र रागहरुले रसमय बनाउलान् । लोभ र वासनाले हात समाएर हिडाउलान् । द्वेष र मात्सर्यले उछिनपाछिन गर्न सिकाउलान् । यात्रा पूरा हुनेछ । पूर्णविराम लाग्नेछ यात्रामा । सिसिफसको कथाजस्तो निरर्थक यात्रा । यात्राका हरेक घुम्तीमा, हरेक नेटामा, हरेक देउरालीमा उभिएर आफू हिडेको बाटो हेर्नुपर्छ, अनुहारका चाउरीहरु छाम्नुपर्छ, सुस्केरा हाल्नुपर्छ र फेरि अर्को क्षितिजतिर पाइला सार्नुपर्छ । अडिन मिल्दैन, विश्राम गर्न मिल्दैन । यात्रामा निस्केपछि मरुभूमि पनि हिड्नुपर्छ, पहाड पनि हिड्नुपर्छ, जब्घार पनि तर्नुपर्छ । फर्कन मिल्दैन यात्रामा ।

कति बिते दिनहरु ! कति बिते रातहरु ! कति बिते संवत्सरहरु ! लेखाजोखा भएकै छ । प्रत्येक दशैंमा टीका थाप्दा ‘जीवेम शरदःशतम्’ को आशीर्वचन गाइएकै छ । हामी हिडेका शैशवहरु, यौवनहरु कति उल्लासमय थिए ! कति छिटै तय भयो त्यो बाटो बिजुली चम्के झैं । सूर्यजस्तै जीवन अस्ताचलतिर ओरालो लागिरहेछ । यात्री लौरो टेकेर झरिरहेछ यात्राको बिसौनीतिर । कोही उकालो चढिरहेछन् हाँस्दै । कोही ओरालो झरिहेछन् । एउटै बाटो निस्कनेले उकालो भन्छ । झर्नेले ओरालो भन्छ ।

एउटाले भन्छ यो बाटो मेरो हो, ममात्र हिड्नुपर्छ यस बाटामा । अर्कोले भन्छ यो ठाँटी मेरो हो, ममात्र बस्नुपर्छ यस ठाँटीमा । बाटो सँगै जान्न यात्रीसँग । ठाँटी सँगै जान्न मुसाफिरसँग । बाटामा हिजो हिडेका यात्रीहरु देखिन्नन् आज । ठाँटीमा हिंजो बास बसेका यात्रीहरु भेटिन्नन् अब । यात्रीहरु कुरेर बाटो पसारिएको छ । बाटामा रित्तो ठाँटी उभिएको छ । फेरि कोही हिड्नेछन् बाटामा । फेरि कोही बस्नेछन् ठाँटीमा ।

यी आफूले रोजेका बाटाहरु हुन् । चौबाटामा उभिएर लिएका निर्णयहरु हुन् । भूलहरुमा पछुताउनु पर्ला । बाटामा काँढा भए फाल्नुपर्ला । जब्घार भए तर्नुपर्ला । भीर–पहरा भए फोर्नुपर्ला । यात्रा चलुन्जेल हिड्नु नै पर्ला । लोट्दै, पछारिदै, रmँदै, हाँस्दै बाटो काट्नैपर्ला ।

यात्रामा भेटिएका हुन् सबै । धन, जन, यौवन सबै । बाटामै छाड्नुपर्छ यी सबै । हिजो संयोग नहुँदा वियोग पनि थिएन । शोक पनि थिएन । हामी थिएनौं । भोक पनि थिएन । हामीसँगै आए संयोग वियोग, शोक र भोकहरु । संयोगसँगै सुख आयो । वियोगसँगै शोक आयो । शरीरसँगै भोक आयो । शून्यमा छैनन् संयोग–वियोगहरु । यात्रामा छन् सबै। हामी कलह गर्छौं, प्रेम गर्छौं, लोभ गर्छौं, शोक गर्छौं केवल यात्रामा । यात्रान्तमा सब शून्य, चकमन्न छ । सृष्टि, स्थिति र प्रलयका अधीनमा चल्छ हाम्रो यात्रा । यात्रामा छन् आचार, विचार, नीति र पुरmषार्थहरु । यात्रामा तय गर्नु छ लामो बाटो । दौड यात्रीहरु ! अबेर भयो, गन्तव्य टाढा छ ।

पुर्खा हिडे । हामी हिड्यौं । सन्तान हिड्लान् । यो अनन्त यात्राक्रम जारी छ । हाम्रा रागद्वेषहरु, लोभलालचहरु यो यात्राजस्तै अनन्त छन् । हामी फगत् यात्री हौं, मुसाफिर हौं । हाम्रो यात्रा चल्छ बाल्य, यौवन, प्रौढ, वृद्ध हुँदै । संग्रहका बोझहरु, मायामोहका आसक्तिहरु बोक्दा–बोक्दै यात्रामा हामी पछारिन्छौं ।
यात्रामा हल्का हुनुपर्छ । अजंग भारी बोकेर हिडिरहेछौं हामी । चाहिने–नचाहिने सबै भारीमाथि भारी राखेर सकस भयो हाम्रो यात्रा । अरुको भाग खोसेको पछि बकपत्रमा भन्नुपर्ला । खोइ सहयात्रीहरु ? खोइ बन्धुबान्धव र अनुयायीहरु ? तिम्रो यात्रा पूरा भयो । विश्राम गर । तिमीबाट छुट्यो अब हिडिरहेको बाटो, तिम्रा संग्रहहरु र ठाँटी पौवाहरु ।

यात्रान्तमा अलिकति धुवाँ उड्यो, बस् अलिकति खरानी !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button