
सहमतिमै भएका भनिएका कैयौँ सम्बन्धहरु बलात्कार हुन्छन्
कथाः महारानी
माया पन्थी
अस्ट्रेलिया
उसले धेरै म्यासेज पठायो ! डर देखायो । घुर्की लायो । कारण सोध्यो । धम्की पनि दियो । इमोसनल ब्ल्याकमेल पनि गर्न खोज्यो ।
उनले केहि भनिनन्, जवाफै फर्काईनन् । उसका कुनै पनि म्यासेजमा क्षमायाचना, पश्चात्ताप महसुस भएन उनलाई । अलि कति पनि ‘मबाट केहि गल्ती भयो कि ?’ भन्ने भावको म्यासेज आएको भए सायद उनी अली पग्लिँदि हुन र जवाफ दिँदी हुन्, ‘मलाई तिम्रो अँगालो पासो जस्तै महसुस भयो । तिम्रो स्पर्श अचानक सिँउडीका काडाले घोँचेजस्तो भयो । आफू तिमीलाई सुम्पन मनले आदेश दिएन !’
घिन लागेर आयो उसको सामिप्यता सम्झेर अचानक । दिगमिग भयो । र, पनि पहिलेका सम्बन्धहरुमा कुनै पश्चात्ताप भने भएन । न त आत्मग्लानी नै । हिजो जे ठिक लागेको थियो, आज पनि लाग्नु पर्छ भन्ने त छैन नि ! हिजो सम्बन्ध भएकै कारण सधै नै हुनुपर्छ भन्ने पनि त छैन- ‘समय हो बद्लिन्छ, सोच बदलिन्छ र बदलिन्छन् सम्बन्धहरु । मान्छे सम्बन्धहरुको दास हुनै सक्दैन !’, आफैसँगको तर्कनामा उसले आफैलाई जिताई ।
त्यो दिन उनीहरु बर्षदिनपछि भेटेका थिए । सँगै खाजा खाए, यताउताका गफ भए । उनलाई धेरै कुरा बाँड्नु थियो, अलि सन्चो पनि थिएन । शरिरमा थकान थियो, मष्तिस्क बेचैन । पारिवारिक समस्याले मनमा एउटा बोझ थियो, जुन बिसाउन एउटा साथको खोजले डोर्याएर उसको समिप ल्याएको थियो खास त्यो दिन ।
उसको पछिपछि लागेर कोठासम्म पनि पुगी ऊ । ढोका थुन्यो । खाटमा पल्टियो, हात समातेर आफूतिर तान्न्यो । ऊ हच्किई खाटको छेऊँमा टुसुक्क बसी । उसले सुम्सुम्याउन थाल्यो । यो कुनै नयाँ कुरा थिएन । सहमतिमै उनीहरुबीच धेरैचोटी सहवास भएकै हो ।
खोई किन त्यो दिन ऊ जुरुक्क उठी, ढोका खोली र बाहिर निस्केर पछाडी नफर्की हिँडी, हिँडिरही !

उसलाई आकाशमा पखेटा फिँजाएर उडेको महसुस भयो । खल्तीको मोबाईलले म्यासेज आएको संकेत गरिरह्यो, उसले वास्तै नगरी निस्फिक्री हिँडिरही, आफ्नै चालमा, आफ्नै गतिमा । अलि पर पुगेर टेम्पो रोकी, चढी गीत बजिरहेको थ्यो- ‘बनकी चरी उडी उडी आकाश छोउँ भन्छे … ।’ कस्तो मिठो संयोग, ऊ मुस्कुराई । अघिसम्म दुखेको टाउको अचम्मले हलुँगो महसुस भयो ।
उसले भेट्नलाई अनेक कोशिश गर्यो । कहिले आफू बिरामी भएँ भन्यो त कहिले आत्महत्या गर्ने धम्की पनि । कहिले आफूसँग भिडियो भएको र त्यो सार्वजनिक गरेर बदनाम गर्दिने चेतावनी पनि दियो ।
उनलाई महसुस भै सकेको थियो कि त्यो सम्बन्ध केवल शारिरिक आवस्यकताले जन्माएको थियो, प्रेमरहित थियो । जब शरिर नै दिगमिग हुन थालेपछि त्यो सम्बन्धको निरन्तरता व्यर्थ हो भन्ने आवाज मनबाट निस्क्यो त्यो दिन ।
ऊ विवाहित थियो, एउटी छोरी १५ बर्षकी थिईन उसकी । परिवार गाउँमा बस्थे, ऊ क्याम्पस पढाउने मास्टर । ऊनी उसकी विधार्थी, त्यतीबेला उनी जम्मा अठार बर्षे जवान केटी थिईन जब उनीहरुको सम्बन्ध शुरु भयो थियो ।
पढाईका लागी अर्को शहर जान पर्ने भएपछी पातलिएको थियो भेटघाट ।
उनको मन मस्तिष्कमा जे रोपेर सम्बन्ध स्थापित भएको थियो, त्यो केवल म्यानिपुलेसन मात्र थियो भन्ने बुझ्न उनलाई निक्कै समय लाग्यो ।
उनी त कलिलो मस्तिष्ककी थिईन्, उसका सबै कुरा पत्याईन् । प्रेमपुर्वक फकायो । कत्ति इमोसनल ब्ल्याकमेल गर्यो होला । यो सम्बन्धलाई प्रेमको नाम पनि दियो । उनलाई असाध्यै प्रेम गर्छु पनि भन्यो होला ।
ऊ त परिपक्क थियो यो सब बुझ्नलाई । उसलाई त थाह थियो कि यो प्रेम होइन, शारिरिक भोकको तृप्ती मात्र हो भन्ने । तर उसले ढाँट्यो । आफ्नो झुठलाई सत्य सावित गर्न अनेक जालहरु बुन्न्यो ।
हो सहमतिमै भएका भनिएका कैयौँ सम्बन्धहरु बलात्कार हुन्छन् । जबरजस्ती गर्नु मात्र बलात्कार कहाँ हो र ? कसैको दिमाग भुटेर, भ्रम सृजना गरेर खेलवाड गर्नु पनि बलात्कार हो । – यो उसले बल्ल अहिले बुझ्दै छे । उसले बाँचेको समाजमा भने दोषि ऊ नै हो । लोग्नेमान्छे पद, पैसा र सामाजिक प्रतिष्ठाको आडमा चोखिन्छ ।
ढोँगीहरुको भिडले निर्णय गर्ने चरित्रको परिभाषा भित्र नपरेकोमा उसलाई कत्ति पनि खेद छैन ।
बदनाम गरिदिने धम्कीसहितको एउटा म्यासेज आएको थियो- उनलाई बेसरी हाँसो लाग्यो । एउटा शरिरको अर्को शरिरसँग भएको सम्बन्धलाई इज्जतसँग मापन गर्ने कस्तो शिक्षक होला यो ? यसको मानसिक चेत कति होला ? ठूला ठूला दर्शन पढेर पनि सोच किन सँकृण भएको होला ? ऊ सोचिरही- एक्लै मुस्कुराईरही । उसको कोठाको ठूलो दराजमा सजाईएका बडा बडा किताबहरु केवल सजाउनकै लागी त रहेछन् । अलिकति पनि पढेर बुझेको भए यस्ता कुरा गर्थ्यो होला त- गमलामा माटो भर्दै गर्दा तर्कना आए । उसले फूल रोप्ने तयारी गर्दै छे ।
आफूमा अचानक आएको सोच र उत्ति नै खेर लिएको निर्णयले उसलाई गर्वानुभुती गरायो । आफ्नो मुहारको भावभङ्गीमा महारानी देखी- फेरी मुस्कुराई ! !
भर्खरै रोपेको सानो बिरुवाले साथ दियो । बसन्तको हावा नै कति प्यारो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)