म छोरीलाई उसले रोजेकै कोठा राखिदिनेछु

… अनि कुन कोठामा जाऊँन त विचरी ठुली फुपु ?

मीरा पुडासैनी

ठुली फूपू आज दुई वर्षमा आफ्नो माईती आउनु भएको थियो ।

पछिल्ला केही वर्षदेखि उनको माईतीमा आवतजावत निक्कै पातलिएको छ । एक त बुड्यौलीले गाल्दै गएको शरीर । त्यसमाथि पछिल्लो दुई वर्ष त कोरोनाले गर्दा धेरैको माईती मावलको यात्रा बन्द नै गरिए झैं भएको थियो । मेरी फूपू माईती आएपछि बाहिर राखिएको काठको फलैचामै बस्नुहुन्थ्यो । अनि कोहि घरबाहिर ननिस्किएसम्म भित्र पस्नु हुन्नथ्यो ।

हाम्री ठुली फूपूजस्तै मेरी आमाको पनि माईती नभएको त हैन, दाजुभाइ पनि हुनुहुन्छ । तर, वर्षको एकपटक दशै तिहारमा पनि उहाँलाई मुस्किल पर्छ माईती जान, रोगले गर्दा । हामी छोरीहरू आउँछन् भनेर होला अनि घरकी एकमात्र बुहारी भएकाले पनि होला, आमाले माईती जाने छुट कहिल्यै पाउनु भएन । आमाका भदा भदैहरू धेरै छन् माईतीमा । सायद तिनलाई नि यस्तै लाग्दो होला कान्छी फूपू किन आउनु हुन्न भनेर । आमाबुवाको शेषपछि छोरीका निम्ति माईतीका आँगन साँघुरिने पो हो कि वा आफ्नै घरव्यवहारले बाध्य भएर हो ? माईती र चेलीको सम्बन्ध निक्कै गहिरो हो हुनलाई त, मेरी आमालाई पनि सानोमा अचम्म लाग्थ्यो रे, जब उहाँकी फूपू माईती आएका बेला सिधै घरभित्र नछिरिकिन बाहिर फलैचामा नै बस्नु हुन्थ्यो रे । ‘किन फूपू दिदी तपाईं बाहिर फलैचामा बस्नु हुन्छ, सिधै घरभित्र पस्नु हुन्न ?’ सोधिहाल्ने रे ।

‘नानी ! भोलि थाहा पाउलिस् नि तैले पनि’, भन्नु हुन्थ्यो रे ।

‘के भन्छिन् यी फूपू, हामी सबैले त यति धेरै माया गर्छौं त’, यस्तै सोच्नु हुन्थ्यो रे उहाँ ।

अहिले मेरी आमाले यो कुरा धेरै सम्झिनु हुन्छ । हो पनि, दाजुभाइ छन्, भदाभदै छन्, तर उबेला जस्तो माईतीबाट बोलावट, आउजाउ छैन । चाडवाड, तिथि श्राद्द, बोलाएको बेला जान पाउनु हुन्न, अनि मन लागेको बेला जान सक्नु हुन्न ।

हाम्रै फूपूको पनि त माईतीमा आउजाउ घटेको छ । आमा छिन् र त हामी पनि सिधै कोठाचोटा चहार्दछौं तर फूपू भने सिधै बुवाको कोठामा जानु हुन्छ । हामी फूपूभन्दा एक पुस्ता नजिक छौ, उहाँ बुवाकी दिदी, हामी बुवाका छोरीहरू । यस्तै नै हुने होला है सृष्टिको नियम । ‘भोलि हाम्रो पनि …’, सोचेर खल्लो हुन्छ मन ।

हामी माईती गएको बेलामा पनि त्यति खुल्न सक्दैनौं, जति विवाह हुनुभन्दा पहिले खुल्थ्यौं । जन्म त हाम्रो त्यही घरमा भएको हो नि, जुन घरमा हाम्रा भदाभदै जन्मिईसकेका छन् अहिले । तर, त्यही घरमा दाजुभाइ, भदाभदै र हाम्रो उपस्थितिको बेग्लाबेग्लै अनुभूति गर्ने गरेका छौं ।

आमाको माईतीको दुरी लम्बिएजस्तै, मेरै फूपूको पनि त दुरी लम्बिएको छ । अहिलेसम्म त मेरो बुवाले फूपूलाई चाडवाड, तिथि श्राद्दमा सम्झिरहनु भएको छ तर हामी माईतीमा जसरी उपस्थित हुन्छौं, फूपू त्यसरी निस्फिक्रि खुल्न सक्नु हुन्न ।

‘मामु ! हजुरको सुत्ने कोठा खै ? ठुलोमामुको, कल्पना मामुको, अनि सुन्तुको सुत्ने कोठा खै त’, मामाघरमा हुर्कदै गएकी छोरीले माईती गएपिच्छे सोध्छे । अब माईतीमा छोरीहरूको निम्ति भनेर छुट्टाछुट्टै कोठा तयार गरेर राखेकै त हुन्न नि । चारतले माईती घरको हरेक कोठाचोटामा, केवल भित्तामा टाँसिएका हामी सबै सन्तान ६ जनाकै फोटाहरू त राखिएका थिए माईतीमा हामी छोरीहरूको अस्तित्व र उपस्थिति देखिने गरी ।

‘मामु ! हजुर जन्मेको घर भनेको हैन त मामाघर, अनि खै त हजुरहरूको आ आफ्नो कोठाहरू ? अनि हजुरहरूका सरसामानहरू खै त मामाघरमा ?’

मसँग उनलाई दिनको निम्ति गतिलो जवाफ थिएन । साँच्चै मेरो माईतीको घर आँगनको सरंचना, परिवेश, नापनक्सा र परिधि सबै फेरिईसकेको थियो । मैले पनि हामी छोरीहरूको अस्तित्व देख्दिन थिएँ, मेरो जन्मघरमा । मेरा नन्द आमाजूहरूले पनि माईतीमा आफ्नो अस्तित्व खोज्दा हुन है । छोरीले आफ्नो माईतीमा आफ्नो अस्तित्व अनि उपस्थित खोज्नु के सामान्य हैन र ?

भोलि मेरो घरमा पनि छोरीको अस्तित्व यस्तै त हुने होला है भनी मन सार्है अमिलो भयो ।

छोरीका बालसुलभ जिज्ञासाहरूको मसगँ उत्तर हुँदैन । तर पनि भन्छु, ‘के तिम्रो घरमा चाहिँ दुर्गा दिदी, सरू दिदी, अमेरिकामा हुनु भएको लक्ष्मी दिदीको निम्ति कोठा छ त छुट्टाछुट्टै ? यस्तै हो छोरी, छोरीहरू, भान्जाभान्जी पाहुना हौं माईती मावलका ।’ ‘त्यसैले हामी सबैका निम्ति छुट्टाछुट्टै कोठा बनाएर राख्न सकिदैन नि’ भनेर त्यो बाल हृदयले कति कुरा बुझ्छ । तर, मुटु नराम्ररी चिमोटिन्छ, म जन्मेको घरमा मेरै सन्तानले आफ्नी आमाको अस्तित्व खोज्दा मैले उसलाई चित्तबुझ्दो जवाफ दिन सकिनँ भनेर ।

हाम्रा बुवाले, मेरा ससुरा बुवाले अनि कयौं बुवाहरूले आफ्ना दिदीबहिनी, तथा छोरीहरूका निम्ति घरमा एउटै कोठा पनि बनाएर राख्न सक्नुभएन । तर, मेरो मनले प्रण गर्छ, भोलि मेरी छोरीले मात्र एउटा कोठामा आफ्नो अस्तित्व खोज्दा मैलै उसलाई कदापि निराश बनाउने छैन । म उसको निम्ति सधै उसले रोजेकै कोठा राखिदिनेछु उसको यो घरमा पनि, अनि सके छोरालाई झैं घरै नै पनि बनाईदिनेछु । त्योभन्दा पर छोरीलाई माईती वा घरैमा पनि आफ्नो अस्तित्व खोज्नु पर्ने अवस्थै आउन नदिन उसले आफ्नै खुट्टामा उभिनसक्ने बनाउन हरसम्भव प्रयास गरिरहने छु । हामी छोराहरूका निम्ति सम्पति जोड्छौं, साँच्छौं भने छोरीको निम्ति घरमा एउटा कोठा छुट्टाउनु सक्दैनौ त ? सधैको निम्ति उसकै निम्ति खुल्ला गरेरै राख्न सकिँदैन र ?

मेरी फुपुसगँ पनि त्यही प्रश्न होला मनमा । उनले पनि सरासर गएर आफ्ना सामानहरू बिसाउने र थकाई मार्ने आफ्नै कोठा नै पो त खोजेकी थिईन कि आफू जन्मिएको घरमा उनको अस्तित्व स्वरूप ? विचरी ! कुन कोठामा जाउन त उनी सरासर आफ्नो विरानो हुँदै गएको माईतीमा ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button