सेमिकोलनहरु हुन सक्छन् तर अहिले नै फुलस्टप होइन

छोटो कथा: सेमिकोलन (;)

प्रतिमा पन्थी

म उसलाई ‘हे हे !’ गर्दै भन्दैथेँ कि ‘अब त जिन्दगी दवाईकै भरोसा चल्ने भयो ।’

हाँसेर अभिव्यक्त गरेको यो भावनाले मलाई नजानिदो किसिमले चिमोट्यो । पिरो भयो मन । छातीमा पिडा गाँठो पर्यो । अनेक भाव जागृत भए !

एउटाले‌ मैलाई प्रश्न गर्यो, ‘साँच्चै हाँसिस् त !? आफ्नै पिडामाथि ? रोगमाथि !? जसले तलाई अड्कलेको छ बारम्बार । रोकेको तलाई तेरो बिच रफ्तारमा ! तेरो निर्णयमा तगारो बनेको छ । मानसिक र शारीरिक शिथिलता दिएको छ । अनायासै आत्महत्याको लागि उक्साएको छ । चेतनालाई अचेत र समझलाई सुस्त पारेको छ । तँ हाँसिस् ! हाँसेर टार्न खोजिस् । त्यो सत्यमाथि पर्दा लाउन खोजिस्, जुन सत्यले तेरो दैनिकीलाई नियन्त्रण गरेको छ !’

तन एउटा विन्दुमा अडिक रह्यो र भित्र मनमा हुटहुटी चल्यो !

त्यो दुवै टिकेन, म त झसङ्ग भएँ ! कुन सत्य भनि बेल्टाउनै सकिन एकछिन । त्यत्तिकैमा उताबाट रिप्लाई आयो, ‘मेडिसिन त छ कमसेकम, नभएको भा के हुन्थ्यो ?!’

यसले ढाडस दियो मलाई । मनको हुटहुटि थामियो । सत्य त्यो दुवै थियो । पिडा पनि थियो । हाँस्नु पर्छ भन्ने पनि थियो ।

एकछिनमा‌ पहिला तर्साएको थर्काएको सोचाई छायाँ परेजस्तो भयो । रोग त प्राकृतिक घटना हो । यसलाई स्विकार्नुबाहेक केहि उपाय छैन । बरु यसले दिने पिडा घटाउन हर प्रयास गर्न सकिन्छ ।

म त्यहि प्रयासमा आफुलाई क्रियाशील राखे । मनको रोग गारो छ यहाँ । ब्यक्त गर्दा बहुला भइने डर, नगर्दा मन भित्र पिडाको थुप्रो लाग्ने, अनि बहुलाउने डर । हाम्रातिर कोहि मान्छे ऐकोहोरो भएर हिडे, बड्बडाए, एक्लै एक्लै बसे, रोइराखे, कराइराखे, रिसाइराखे, हाँसिराखे भने, फलाना त बौलाएछ/ बौलाईछ भन्ने चलन छ । कसैले आत्महत्या गर्यो भने, बौलाहा/ बौलाई जस्तो थियो/थिई, बदमासी गरेहोला/गरिहोलि भनेर जज्मेन्ट गरिन्छ ।

त्यो फलानालाई किन यस्तो भएको होला ? त्यो अवस्था के कारणले आयो होला ? कसरी सहयोग गर्न सक्थे होला या सक्छु होला ? भनेर सोच्ने संस्कार यहाँ छैन । यहाँ आफैंले आफैंलाई अङ्गाल्नु, आफैंले आफैंलाई माया गर्नु, हेरचाह गर्नु बाँच्नको लागि गर्नुपर्ने प्राथामिक कुरा हो रैछ ।

यस्तै एउटा प्रयास त गर्नु नै पर्छ मैले पनि । आफ्नो लागि ! किनकि मेरो जीवनको सार्थकता यतिमै विराम हुँदैँन !

‘यहाँ केहि सेमिकोलनहरु हुन सक्छन् तर अहिले नै फुलस्टप होइन,’ यो विचारलाई जिताउन व्याग राउण्डमा पनि हुटिङ चलेजस्तो लायो’, मनभित्रका सिपाहीहरु द्वन्दात्मक भुमिबाट युद्दविरामतर्फ मोडिए ।

परिस्थिति सामनाको सकारात्मक तरिका मेरो रोजाई बन्यो । केहि संघर्षपुर्ण अवश्य ! स्विकारोक्तिले सहज बनाउँदो रैछ । अन्तत: म अब अर्थपुर्ण यात्राको प्लान ‘बि’तर्फ मोडिने निर्णय भयो ।

झझल्को यत्तिकैमा टुङ्गियो ! मोडहरु धेरै काटियो, आफ्नै जीवनमा अनेक पाटा बाँचियो । प्लान बि हुदै सि, डि, ई पनि जाँचे मैंले । आखिर हर कुइनेटामा‌ फन्को मार्नु र उकालीओरालीमा विश्राम गदै अगाडि बड्नु‌ नै जीवन रैछ । हतास र विडम्बना आफैंले पन्छाउन सकिने रैछ ।

आज त्यसबेला बेलैमा रिप्लाई गर्ने, मन बिसाएको चौतारोसँग क्याचअप छ । मैंले विगतको एक टुक्रोलाई सलल दृश्यमा बगाएँ । र, सेमिकोलनहरुप्रति आभार भएँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button