बस् बदलामा मिल्छ बाँचुन्जेललाई पुग्ने आँशु

सुप्रिया खनाल

दुई दिनको जिन्दगी अनि दुई दिनको जिन्दगीमा पीडा भने कति हो कति ? मन नै सम्हाल्न नसक्ने । आखिर पीडा के हो ? पीडाको परिभाषा के दिँदा ठिक होला ? हुन त मान्छे जन्मिन्छ अनि मर्छ । जन्मपश्चात मृत्यु निश्चित छ अनि मृत्यु पश्चात कोही फर्केर आउँदैन जति नै माया गर्ने अनि जति नै मनको नजिक किन नहोस् ।

आफ्नो मनभित्र सजिएका मान्छेहरू आफ्नो जीवनका महत्त्वपूर्ण मान्छेहरू सदासदाका लागि टाढा हुनु जति पीडा केहीमा छैन । अरु कुनै पनि घाउ त समय अनुसार खाँटो बस्दै जाला तर आफ्ना मनका अनि जीवनका नजिकका मान्छेहरूसँग सदाका लागि टाढिँदा मुटुमा लागेको घाउ त जति पुरानो भयो त्यति दुख्ने रहेछ। एकदम आउने रहेछ याद । कहिले ती यादहरुले ओठमा मुस्कान ल्याउने रहेछन् । कहिले ती यादहरुले नै मुटुमा झस्का दिनेरहेछ । यो याद पनि कस्तो अचम्मको ? नचाहँदानचाहँदै पनि अनायासै यी आँखामा आँशुका मूल फुट्छ अनि यी निर्दोष नयनहरु बाध्य हुन्छन्, आफूलाई रुझाउनलाई । सायद गइसकेका मान्छेहरूले पनि हामीलाई भुल्न नसकेर होला बेला बेला सपनामा आएर आफ्नो याद दिलाइराख्ने, घरिघरि झस्काइराख्ने । जति नै याद किन नआओस् न भेट्न जान सकिन्छ न मनका भावनाहरु मेट्न नै । बस् त्यही भित्तामा मालासहित झुन्डिएको फोटो हेरेर मुटु टुक्राटुक्रा बनाई डाको छोडेर रुन भन्दा विकल्प पनि त छैन ।

साँच्चै नै मान्छे यादले पागल झैं बन्छ । यो संसारबाट खरानी बनेर उडिसकेको मान्छेको फोटोसँग पनि उति नै माया अनि स्नेह हुन्छ जति जीवित हुँदा ती मान्छेहरूलाई गरिन्थ्यो । दुख हुँदा त्यति फोटो समातेर गुनासो गर्न मन लाग्छ अनि खुसी हुँदा त्यही फोटोसँग खुसी साट्न मन लाग्छ । आखिर यो सृष्टी किन यस्तो छ ? किन कोही गइसकेपछि फर्केर आउँदैन ? के हाम्रो माया नहोला र जाने मान्छेलाई ? कहिलेकाँही त लाग्छ, साँच्चै नै मरेपछि कसैलाई भेट हुन्छ भन्ने निश्चित भाको भए आफू पनि जाने थिएँ ।

मनमा पीडा अथाह हुन्छ । न सुनिदिने कोही हुन्छ न बुझिदिने कोही । हरेक कुरा थाहा हुँदाहुँदै पनि यो मन सम्झिन मान्दैन । आफूलाई छोडेर गइसकेका प्यारा मान्छेहरूलाई सम्झेर झरेका आँशु पनि मूल्यहीन लाग्छ अनि यो जिन्दगी नै अर्थहीन । बस् यति माग्छु, भगवानसँग कसैलाई कोही आफ्नासँग दुई दिनको लागि भेटाएर सदासदाको लागि टाढा नगराइदिनु साह्रै नै चोट पुग्छ कोमल मुटुमा अनि बिग्रिन्छन् हरेक दिनहरू । फेरिन्छन् हरेक गन्तव्यहरु लुटिन्छन् हरेक खुसीहरू । बस् बदलामा मिल्छ बाँचुन्जेललाई पुग्ने आँशु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button