गो अहेड अशोक !

गो अहेड

हामी कुहिरोको उडानमा !

काठमाडौको सुन्दरता नै यहि हो कि आधा-एक घन्टा ड्राइभ गर्यो कि कंक्रिटबाट प्रकृतिमा पुगिन्छ । धुँलो-धुँवाबाट स्वच्छतामा पुगिन्छ । घरबाट रुख–जंगलमा पुगिन्छ ।

काठमाडौका चार नाकामध्ये एक वाड्भन्ज्याङमा दिउँसै कुहिरो लागेको छ । दिउँसो २ः०० बजे नै कतै केही नदेख्ने कुहिरोभित्र थियौँ हामी । ऊ (अशोक सिलवाल) र म । उसँग हुँदा त अँध्यारोमा पनि मज्जा आउने । केही नखाए पनि मज्जा आउने । त्यसैले त कुनै विद्वानले भनेका थिए, ‘तिमीसँग दुई मिल्ने साथी र तीन राम्रो किताब भए तिमी भाग्यमानी हौ ।’

समयक्रममा ऊ पनि यस्तै साथी बन्यो । हरेक कुरा शेयर गर्ने र केयर गर्ने । झगडा गर्ने र बेस्कन मिल्ने । ऊसँग धेरै दिन नबोल्दा र नभेट्दा ‘कहाँ–कहाँ के–के नभएको’ झैँ हुने । ह्वात्तै कुनै कुरा खनाउन मिल्ने ऊ मस्त हाँस्छ । विश्लेषणसहित बोल्छ । उसको प्रत्युत्मन्न मति मलाई मन पर्दछ ।

सपनामा धार लगाउन पनि कहिलेकहिँ साथी चाहिन्छ । साथीले आफ्नो सपनामा देखेर वा नदेखेर, लेखेर वा नलेखेर, भनेर वा नभनेर सपनामा धार लगाइरहेको हुन्छ । दिउँसै देख्ने र रातमा देख्ने सपनाका र विपनाका कुरा गर्ने मान्छे साथी नै त हो ।

ऊ र म पनि २०५९ सालदेखि यस्तै सपना र विपनाका कुरा गर्ने साथी भएका थियौं । साथी हुन नाम, दाम, इनाम मिल्न पर्दैन । उमेर र स्वास्थ्य हेर्नु पर्दैन । व्यवहार र विचार मिल्नु पर्दछ । मान्छेलाई एक घन्टा कुर्दा समय बित्दै नबितेकोे झैँ लाग्दछ ।

डाँडोबाट कुहिरो छिचोल्दै आएको गाडी हेरेर म भन्दै थिएँ, ‘ओहो यार ! समय त कत्ति चाँडै बित्ने रहेछ ।’

हुन पनि २० बर्ष हुन लागेको थाहै भएन । दुवै ४० प्लसको एजमा छौै । प्रकृतिको नियममा हामी पनि नियमसंगत भएर चलेका छौं । थाहा भएको छ, हातले छोपे पनि कपाल फुल्ने रहेछ । दुवैैको कपाल तिलचामले हुँदै गएको छ । लगाउने लुगाहरुका साइज बढेका छन् । अनुहार अलिक चालिसेले छोए झै भएको छ । ज्ञान बढेको भ्रम भै रहेछ । दुवैै बच्चाको बाउ भएका छौं । घरमा पत्नी, आमा, दाजु, भाइ, दिदीबहिनी छन् । उसको र मेरो नै बुबा यो संसारमा हुनुहुन्न । ऊ मेरो परिवार सबैलाई चिन्दछ र म उसको सबै परिवारलाई चिन्दछु । घर आउने जाने, संगै खाने, सँगै सुतेका पल पनि सामान्य हुने नै भए ।

म त्यो समय सम्झन्छु, तिमीले म्हैपीको तिम्रै घरमा मलाई गरेको अपमान ! त्यसपछि मैले तिमीलाई चाहेर पनि त्याग्न नसकेको माया मनमा हुँदाहहुँदै तिमीसँग नबोलेको हाम्रो मित्रताको त्यो कालो काल ! सम्बन्ध टुटेका ती महिनाहरु । अनि एक दिन एक्कासी तिमी मेरो मुलपानी घरमा आकस्मिक आइपुगेको क्षण । न तिमीले माफी माग्यौ । न मैले त्यस्तो चाहेँ । हाम्रो मित्रता एकअर्काका लागि अझ पवित्र भयो ।

हरेक भेटमा उही र उस्तै कुरा हुँदा पनि फेरि भेटौ झै लाग्ने चीज पनि त साथी नै रहेछ । अजबगजब चीज छ दुनियाँमा साथी भनेको । साथीसँग भेटेपछि नहाँसी बस्न सकिँदैन । सबैभन्दा सुन्दर यहि लाग्छ साथीको । साथीको कुरा गर्दा मलाई धेरै बर्ष पहिले एक दैनिक पत्रिकाको फ्रन्ट पेजमा छापिएको फोटोको याद आउँछ ।

फोटोको कथा यस्तो थियो, ‘९० बर्षको उमेरपछि भेटिएका दुई साथी छुटिएको ५५ बर्षमा भेटिएका रहेछन् । यहि राजधानी शहरमा बसेका उनीहरु आ–आफ्नो काममा व्यस्त भए । एकै पल्ट मच्छेन्द्रनाथको रथ यात्रामा उनीहरु ५५ बर्षपछि भेटिए । दुवैले लजाइलजाई कुरा गरे । पछि साथी भन्ने थाहा पाएपछि उनीहरु आफ्नो थोते दाँत देखाएर खोकी लाग्ने गरी र आँशु आउने गरी हाँसे ।’

बुढेशकालसम्म निर्वाध रुपमा मनका कुरा खोलेर गर्ने मान्छे हुनु भनेकै साथी हो ।

साथीको कुरा गर्दा ‘थ्री इडियट’ फिल्मको डाइलग पनि याद आउँछ, ‘यार फेल होता हे तो दुःख होता हे, यार फस्ट होता हे तो उस्से बढी दुःख होता हे ।’

कहिलेकाहिँ उसको र मेरो यस्तै कुरा पनि हुन्छ । पोजिटिभ कुरा गर्दा गर्दै नेगेटिभ लोकमा र नेगेटिभ कुरा गर्दा गर्दै पोजिटिभ मुडमा पुगिन्छ । लेखनको यात्रा उसको र मेरो सबैभन्दा मिल्ने कुरा हुन् । यसै बिषयमा देश, विदेशका कुरा हुन्छन् ।

कुरा गर्दागर्दै उसले आफूलाई ठुलो देखाउन र मैले आफूलाई ठुलो देखाउन दुई चार वाक्य झुट आउँछन् पनि । उसले झुटो बोलेको म बुझ्दछु । मैले बोलेको ऊ बुझ्दछ र पनि कहिले कसैलाई केही भन्दैनौँ र कहिले ‘यो हावा कुरा हो यार तिम्रो’ भनेर उसले मलाई भन्दछ । अनि म उसलाई भन्दछु अनि बेस्कन हाँस्दछौ ।

कुरैकुरामा कहिले बहुत सिर्जनात्मक कुरा निक्लन्छ ।

उसले नेपाल समाचारपत्रको सम्पादक-प्रकाशक पुष्करलाल श्रेष्ठलाई माध्यम बनाएर नेपाली पत्रकारितामाथि ‘कलम’ लेखेको कुरा हुँदै गर्दा मैले त्यहि पत्रिकामा ‘गो अहेड’ लेख्ने कुरा भयो । अहिले अशोक नेपालनाम्चाको सम्पादक भयो । म लेखनकुन्ज, नेपाल खोलेर लेखनका आयामहरु घोष्ट राईटिङ, क्रियटिभ राईटिङ र थियटर राइटिङ, पुस्तक लेखन प्रकाशन र वितरणमा लागिरहेछु ।

चिसो वाड्भन्ज्याङमा तातो कुरा गर्दै भन्यो, ‘तिमी तिम्रो फेमस कोलम ‘गो अहेड’ नेपालनाम्चामा लेख न ।’

मैले भनेँ, ‘ह्या यार ! २०६४ सालबाट लगभग १० बर्ष लेखेर पुस्तक समेत निकालेर मैले छाडिदिसकेँ । के लेख्नु !’

उसले भन्यो, ‘लेख न लेख यार ।’

‘अब फेरि मान्छेको अन्तर्वार्ता लिएर उसको जीवनवृत्तमा आधारित भएर हैन, म यस्सै लेख्छु ल त ?’

‘भैहाल्छ नि’, उसले भन्यो ।

जस्तैसुकै परिस्थितिमा पनि जीवन अगाडि गइरहेकै हुन्छ । हामीले हाम्रो जीवन पछाडि गयो भन्ने ठानिरहँदा पनि जीवनले हामीलाई सिकाउँदै अगाडि नै लगिरहेको हुन्छ । जस्तोसुकै परिस्थिति आओस्, मनस्थितिले कर्मयात्रा निरन्तर अगाडि लैजानु पर्दछ भन्ने आशा नै त हो ‘गो अहेड ।’

सृष्टिचक्रका यावत जीवित चीजबीजहरु यहि आशालाई पछ्याएर जीवन अगाडि बढाईरहेछन् । जिन्दगीप्रति सकारात्मक हुन सके वर्तमान रमाईलो बित्दछ । रोग, भोक र शोकका घटनाहरुले पनि मान्छेको जीवन अगाडि लगिरहेको हुन्छ । पछाडि फर्केर हेर्दा धोका, विश्वास, अविश्वास, घात, आघात र प्रतिघातले पनि मान्छेको जिन्दगी अगाडि नै बढाइरहेको हुन्छ ।

यहि ठानेर मैले १४ बर्ष अगाडि २०६४ सालदेखि समयको प्रतिकुलतालाई चिर्दै नेपाल समाचारपत्रमा त्यो कोलममार्फत अगाडि बढेका मान्छेको कथा लेखेथेँ । र, २०७० सालमा ‘गो अहेड’ पुस्तक निकालियो । पुस्तक दश संस्करणसम्म आयो ।

आज आएर अशोकले भनेपछि फेरि हार्न नसकेर यो लेखेँ । साथी पनि त जीवन यात्रा अगाडि लैजाने गजब चीज रहेछ । यो सुर्यलाई घुमिरहने पृथ्वीमा तिम्रो-मेरो सम्बन्ध पनि त ‘गो अहेड’ रहेछ । एकै देशका भए पनि भुगोल फरक मान्छे, शिक्षा फरक मान्छे । हामी दुवैलाई मिलाउने हामीले काम गरेको संस्था सेज नेपाल बन्द भैसक्यो । हामीले देखेका धेरै मान्छेको जीवन बन्द भैसक्यो ।

यो संसारमा को अगाडि र को पछाडि थाहा छैन । तर, आत्मामा धेरै सम्झना छ यार तिम्रो । त्यहि भएर जीवन रहे पनि नरहे पनि सम्बन्ध ‘गो अहेड’ छ । तिम्रो जीवन सधै प्रगति पथमा जाओस् । गो अहेड अशोक !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button