म अम्बिकादेवीको कान्छो छोरा

राजन सिम्खडा

गणेश हिमालको छातीमा छ गणेशकुण्ड । त्यसैबाट निःसृत नेत्रावती नदी (आँखु खोला) दार्खाको पाउ पखाल्दै पश्चिम मोडिन्छ । त्यही दार्खा गाउँको केन्द्र भागमा छ, मेरो जन्म घर ।

हाम्रो पूर्खा दार्खामा आँखुपारिको साल्दुमबाट, साल्दुममा धादिङकै बसेरीबाट र बसेरीमा जुम्लाको सिम्खाडा गाउँबाट आएका रहेछन् । अछामको तिमल्सेनबाट जुम्ला सदरमुकाम खलङ्गा नजिकैको सिम्खाडामा आएर बसेका मौदगल्य गोत्रीय बाहुन–क्षेत्रीहरू आफूलाई सिम्खडा भन्छन् तर थर तिमल्सेना वा तिमल्सिना लेख्छन् र सिम्खाडाबाट अन्यत्र गएकाले चाहिं थरमा तिमल्सिनाको सट्टा सिम्खडा नै लेखेको पाइन्छ ।

श्रुतिअनुसार सिम्खाडाबाट बसेरी आएका हाम्रा पूर्खा रिमै पाध्या हुन् । वेदका अध्येता रिमै पाध्याका दुइटी श्रीमती रहेछन् । विवाहित श्रीमतीपट्टिका सन्तान कालान्तरमा बूढीगण्डकीपारि गोरखाको चौतारा मञ्ज्याङमा बसोवास गर्न पुगेछन् । कान्छी श्रीमतीपट्टिका एक मात्र छोरा जयरामका सन्तानचाहिं धादिङकै साल्दुममा आएर खेतीकिसानी गर्न थालेछन् । साल्दुमको थुम्को र त्यसैको फेदीमा आँखुखोलाको पश्चिमी किनारको काँसघारी, वनबुट्यान फाँडेर धान, पाङदुर र कपासखेती गरेपछि साल्दुमका सिम्खडा धनी किसान बनेछन् । तर जयरामका एक मात्र छोरा रहेछन् शिवदेव । शिवदेवका पनि एकै मात्र छोरा जन्मिएछन् गोविन्द । गोविन्दका पनि एक मात्र छोरा दयाराम र दयारामका पनि एउटै मात्र छोरा बालकृष्ण जन्मिएछन् । बालकृष्णका भने ६ जना छोरा जन्मिएछन्– हरिलाल, श्यामलाल, कृष्णलाल, छविलाल, गोपीलाल र नन्दलाल ।

६ भाइका लागि साल्दुमको थुम्को साँघुरो हुन थालेपछि उहाँहरूले वरिपरिका डाँडामा बसोवास गर्ने चाँजो मिलाउनुभएछ । माइला श्यामलाल कारिगाउँमा र काइँला छविलाल रातमाटे बसाइँ जानुभएछ । साइँला कृष्णलाल र कान्छा नन्दलाल साल्दुममै बस्नुभएछ । रामका लागि आफ्ना तीन भाइमा लक्ष्मण प्रिय भएझैं हरिलालका लागि पाँच भाइमध्ये ठाइँला गोपीलाल प्रिय हुनुहुँदो रहेछ । उहाँले आफ्नो एउटा परिवार साल्मेटारमा राखेर अर्को परिवार र ठाइँला भाइ गोपीलालको बसोवास आँखुखोलापूर्वको गाउँ दार्खामा गराउनुभएछ ।

उत्तरी धादिङका हामी सिम्खडाहरू यिनै ६ बाजेका सन्तती हौं । पूर्वराजदूत तथा कूटनीतिज्ञ डा. शम्भुराम सिम्खडा, पत्रकार ध्रुव सिम्खडा जेठा बाजेको खलक हुनुहुन्छ । सांसद जगत सिम्खडा साइँला बाजेको खलकका हुनुहुन्छ भने बेलायतको लिभरपुल जोन मोर युनिभर्सिटीका एसोसिएट डिन प्रा.डा. पदम सिम्खडा, कर्णेल गोविन्द सिम्खडा (अप्रा), प्रशासक शिव सिम्खडा, पर्यटन व्यवसायी गणेश सिम्खडा कान्छा बाजेका । चर्चित हाँस्यव्यङ्ग्य कवि एवं कलाकार शैलेन्द्र सिम्खडा, राजधानी तथा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका पूर्वसम्पादक जिवेन्द्र सिम्खडा र म ठाइँलाबाजेका सन्तान हौं ।

०००

साल्दुमबाट दार्खा आउनुभएका ‘जेठा बाजे’ हरिलाल सिम्खडा गोदाममा र ‘ठाहिंला बाजे’ गोपीलाल गोदामभन्दा केही तलै रहेको खास दार्खामै बसोवास गर्नुभएको रहेछ । ‘नेपाल’ मा डिठ्ठा रहेका हरिलालले आफ्ना प्रिय भाइ गोपीलालका जेठा छोरा रामनाथलाई द्वारे बनाइ दिनुभएको रहेछ ।

गोपीलालका जेठा छोरा द्वारे भएर सातसय खोला कजाएछन् भने माइला भवनाथ र कान्छा सूर्यप्रसादले घरव्यवहार सम्हालेछन् । उहाँको शेषपछि मूलघरमा कान्छा सूर्यप्रसाद, अलिकति माथि जेठा रामनाथ र त्योभन्दा पनि माथि माइला भवनाथको बसोवास भएछ । त्यसपछि भवनाथको घर ‘सिरानघर’, रामनाथको घर ‘माझघर’ र सूर्यप्रसादको घर ‘पुछारघर’ भनिन थालेछ । रामनाथले पच्चीस वर्ष द्वारे चलाएपछि त्यो जिम्मेवारी कान्छा छोरा घनश्याम सिम्खडा (मेरा हजुरबुवा) लाई दिलाउनुभएछ । राणा शासनको अन्त्यपछि २००८ सालमा त्यो पद नै खारेज नहुँदासम्म ३३ वर्ष उहाँ सातसय खोलाको द्वारे रहनुभएछ । हजुरबुवाका दुई घरजमबाट ६ छोरा र ७ छोरी जन्मेछन् । जेठी पत्नीपट्टिबाट मनप्रसाद र मीनप्रसाद तथा तीन छोरी ।

कान्छीपट्टिबाट जेठा बाबुराम सिम्खडा (जो शर्मा उपनामले प्रख्यात हुनुहुन्छ), माहिला हरिप्रसाद सिम्खडा, साहिंला नारायणप्रसाद सिम्खडा (मेरो बुवा) र कान्छा कृष्णप्रसाद सिम्खडा तथा चारवटी छोरी । धनी किसानमा गनिनु हुने हाम्रा हजुरबुवाले जेठीपट्टिका छोराहरुलाई केही कोस परको धोकरपुरमा र कान्छीपट्टिका छोराहरु दार्खामै बसोबास व्यवस्था मिलाउनु भएको रहेछ । २०२५ सालमा उहाँको देहावसान भएछ पिताको सेखपछि पनि सात वर्षसम्म सगोलमै रहनुभएका हाम्रा बुवाहरु धनी किसानै हुनुहुँदो रहेछ ।

्२०१७ सालमा पश्चिम १ नम्बर काण्डका कारण मोरङ मालको जागिर छाडेर घर व्यवहार सम्हाल्न गाउँ फर्कनुभएका ठूलो बुवाले दार्खामा स्कुल खोल्न अगुवाइ गर्नुभएछ । उहाँले आफ्ना बुबा घनश्याम सिम्खडाको आशीर्वाद लिएर गाउँका गन्यमान्य हेमप्रसाद सिम्खडा, पञ्चसिंह वाइबा, भोजप्रसाद सिम्खडा, मानबहादुर सापकोटा, खड्गप्रसाद सिम्खडा, जितमान तामाङ (थुम्बुली), वीरबहादुर तामाङ (ग्याम्दी) सँग विद्यालय खोल्न सरसल्लाह गरी साथ–सहयोग जुटाउनुभएको रहेछ । उहाँले नातामा भतिजा तर बालसखा पुरुषोत्तम सिम्खडालाई पनि काठमाडौंबाट दार्खामै डाक्नुभएछ । बीएको परीक्षा दिएर बसेका पुरुषोत्तम दाइ हेडमास्टर तथा मानबहादुर सापकोटा र जितमान तामाङ मास्टर भएर २०१८ पुसमा दार्खामै पहिलो विद्यालय खुलेको रहेछ । गणेशकुण्ड प्राइमरी स्कुल, जुन अहिले १२ कक्षासम्म पढाइने विद्यालय बनिसकेको छ ।

मेरा कान्छा काका र दुइटी फूपुले तथा हाम्रो पुस्ताका सबै दाजुभाइ दिदीबहिनीले त्यही विद्यालयबाट प्रारम्भिक शिक्षा आर्जन गरेका हौं । गणेशकुण्ड स्कुल राम्ररी चल्न थालेपछि ठूलो बुवाले साह्रै नै पिछडिएको छिमेकी गाउँ झार्लाङमा आफैं स्वयंसेवक शिक्षक भएर मेङ्गाल प्राइमरी स्कुल खोल्नुभएछ । उहाँले झार्लाङमा अन्धविश्वास र कुरीतिमा जकडिएका गाउँलेमा सचेतना जगाउने प्रारम्भिक पहल पनि गर्नुभएछ । पछि ठूलो बुवाकै नेतृत्वमा दार्खाको वीरचेत र कुरीमा पनि प्राथमिक विद्यालयहरू खोलिएछन् । बिग्रिएको घरव्यवहार सम्हाल्न गाउँ फर्किनुभएका ठूलो बुवा यसरी समाजसेवातिर लाग्नुभएछ ।

गाउँका साथीभाइको लहैलहैमा लागेर भारतीय सेनामा भर्ना हुनुभएका मेरो बुवा २०३२ सालमा छुट्टीमा आएकै बेला कान्छो काका पनि एसएलसी सकेर घर आउनुभएछ । ठूलो बुवा समाजसेवी, मेरो बुवा लाहुरे, काका काठमाडौंमा पढ्ने । सारा गृहस्थी चलाउने बोझ माइलाबुवाको काँधमा । उहाँले छुट्टीभिन्न हुने प्रस्ताव गर्नुभएछ । ठूलो बुवाले ‘ठीकै छ नि त केरा र छोरा सधैं एकै ठाउँमा राख्न हुँदैन पनि भन्छन्, भाँडिनुभन्दा बाँडिनु राम्रो हुन्छ’ भनेर अंशबन्डा गराइदिनु भएछ ।

उपमा, उखानटुक्का समाजको सयौं वर्षको अनुभवबाट बन्छ भनिन्छ तर उखान जिन्दगीमा सजिलै अनुवाद हुँदो रहेनछ । छुट्टीभिन्न हुँदा हाम्रो परिवारमा अनेक अप्ठेरा देखा परेछन् । कान्छा काकाले कलेज गएर उच्चशिक्षा आर्जन गर्ने आकाङ्क्षा अधुरै छाड्नुप¥यो । (पछि गणेशकुण्ड विद्यालयमै शिक्षक बन्नुभएका उहाँले प्राइभेटबाट स्नातकसम्म पढ्नुभयो ।) बङ्गलादेश स्वतन्त्रता युद्धमा समेत सरिक मेरो बुवा भारतीय गोर्खा सेनाको जागिरमा फर्कन पाउनुभएन । माइला बुवालाई गृहस्थीको बोझ हल्का भए पनि आफू हर्ताकर्ता भएर भोगचलन गर्दै आएको सम्पत्ति एक चौथाइ मात्र उपभोग गर्नुपर्ने भयो, देशको प्रधानमन्त्री प्रदेशको मुख्यमन्त्री बनेजस्तो । अनि सरकारी जागिर खाएर हिंडेको र गाउँ फर्केपछि पनि सामाजिक कार्यमै व्यस्त ठूलो बुवाका लागि गृहस्थी ‘झन्झट’ हुने नै भयो । समग्रमा भन्दा छुट्टीभिन्नले एउटा धनी किसान परिवार चार मध्यमवर्गीय परिवारमा परिणत भएछ ।

दार्खाको त्यही मध्यमवर्गीय किसान परिवारमा अम्बिकादेवीको कोखबाट कान्छा छोराको रूपमा २०३३ भदौ २६ गते शनिबार मेरो जन्म भएको हो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button