पितालाई ‘पुत्री’ पत्र
सुशीला नेपाल
‘स्वतन्त्र छु म । आफ्नो खुसीले हिँड्न र फेसन अनुसार चल्न पाएकी छु । आफ्नो कमाइमा आफै रमाएकी छु । कति छिटै दिनले कोल्टो फेरेछ । तपाइले सिकाएको संघर्षले आज बाँच्न जानेको छु, हार्न होइन बाबा ।’
…
माइतीको आँगन त स्वर्ग लाग्छ । रातो माटोले पोतेको पिँढी । अनि पूतलीका रंग झै चम्किएको सपना अनि मेरो लक्ष्य कोरिएको त्यो मन्दिरघरको पूजारी तिमी थियौ । आज ८ बर्ष भएछ, तीजमा माइतीको आगनँ नटेकेको । तर अस्ति जस्तो लाग्छ, तपाइले मलाई बिदाइ गरेको । थाहै पाइनँ घरको धन्दा र अरुको स्याहार गर्दागर्दा आफ्ना खूसी त ओझेलमा परेको ।
तीज आयो भन्छन् सबै तर मलाई त कहिल्यै लागेन तिज । आमाले दिएको गून्द्रुकको झोल नि मेरो लागि मासु झैँ थियो । आज तिम्रा हातले पकाएको दर खान नपाउँदा म त कुन दुनियाँमा छु जस्तो लाग्छ ।
बाबा बिहान ४ बजे उठ्छु । सबैलाई तातो खानाअगाडि राखी अफिस ढिलो होला भनी एक गाँस भात मूखमा राखी पानीले निल्छु । फलानो को छोरी त छोरा जस्तै छ भन्थे । साँच्ची नै छोरा नै भएको भए बरु एकोहोरो त हुन्थ्यो कि ? अफिसमा दिनभरी कामले मेरा शरीर मेरा हुँदैनन् । घर आउँछु, न त गाह्रो भयो भनी सोध्छन् न त बिरामी हुदाँ तातो पानी नै दिन्छन् । तपाईका ज्वाईं अफिसबाट आउँदा कोठामै तातो चिसो पानी टक्र्याउनुपर्छ । छोराछोरी मम्मी भनी पछि लाग्छन् । घरमा बेसीन भरी भाँडा हुन्छ ।
बुहारी हुँ, त्यसैले भाँडा माझ्नैपर्छ । हजुरले फोन गरी आउ तिजमा भन्नुहुन्छ । मन त कति छ कति तर के गर्नु एक दिन मात्र छुट्टी हुन्छ ।
अर्को तिजमा आउने कोशिस गर्छु ।
अभागी छोरी
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)