
मेरा बा मेरा साथी
बाहरुका मुख मात्र होइन, उमेर, स्वास्थ्य अनि निभाएका जिम्मेवारी पनि हेरौं
सुशीला शर्मा
औशीको छेको पार्दै बाको मुख हेर्ने दिन भनेर छुट्याईदिएका छन् हाम्रा पौराणिक हिन्दु धर्मग्रन्थले । समाज व्यवस्था विकसित हुँदै जाँदा मानिस विवेकशील प्राणी भएकैले आफ्ना बुद्धि विवेक कल्पनाको मूर्त रुप दिने क्रममा परिवार पहिलो प्राथमिकताभित्र पर्यो । लाग्छ नि बा आमा सन्ततीका जन्मदाता हुन् र सधैं छोराछोरीको लागि बा आमा दिवस भनेर । तर पनि संगै रहँदा बस्दा बा आमाको मूल्यमा हृास आयो कि भनेर फेरि झसङ्ग बनाउन र एकैदिन भएपनि बा आमासंग मुख हेराहेर गर्न भनेर पो यस्तो चाड राखियो कि । खैर जे होस आमाको मुख हेर्ने दिन अनि बाको मुख हेर्ने दिन भनेर वर्षमा एकचोटि यो संस्कृति मनाउँछौं हामी ।
आमाहरुका प्रसव लगायतका शारीरिक वेदना र सामाजिक बिभेदका वेदना एकातिर पन्छाएर बाहरुका बा हुनुका वेदना पनि के कम होलान र ? हिन्दु संस्कतिको समाजका निम्नवर्गीय ब्राम्हण समुदायमै पनि बाहरुले जीवनका कठिन समय भोगेकै हुन् । पुरुष हुनुले एकप्रकारको जिम्मेवारीको बोझ उठाएकै हुन् बाहरुले । पुरुष हुनुको गलत सुविधालाई अप्नाएर कतिपयले परिवारमा श्रीमती र छोराछोरीलाई दुःख दिदा बाप्रति निराशभाव आउने सन्तान पनि हाम्रो समाजमा थुप्रै छन् । तर समग्रमा हेर्दा सन्तानका लागि बा आमा उतिकै अर्थ राख्छन् । र, कम्तिमा अहिलेको समयमा असल, खराबका कुराहरु तत्काल नै केलाउनुपर्छ र आवश्यक कदम चाल्नुपर्ने हुन्छ । कोही खराब पाटोतिर लाग्नुका जड कारण पनि विश्लेषण गर्नुपर्ने हुन्छ । खैर हामी यो बाको मुख हेर्ने दिनको कुरा गरिरहेका छौं ।
दुर्गम पहाड, धेरै जहान, छोराछोरी, अन्नबालीले खान लाउन धौ धौ । जीवनलाई सहज बनाउन, भोलिको सुखको ध्याउन्नामा तराई बसाई सरेर उखरमाउलो गर्मीमा एक तमासको झाडी फाँडेरै पनि सम्ममा बस्ने आँट जुटाउनु पनि ठूलै उपलब्धी हुन सक्थे बा का पनि बाहरुका लागि ।
बा का बाहरु छोरीलाई सन्तान त हो अनि खान लाउन दिनुपर्छ र घर व्यवहार कुल इज्जत जोगाउन पर्छ भन्ने मान्यता राख ेपनि कम्तिमा पनि छोराहरुले अरु अलि जान्ने सुन्ने र मौका सुविधा पाएकाले जस्तै गरेर वेद पुराण पढ्न सके हुने त्यस्तै परे सरकारी जागिर खान सके हुने भन्ने दूरको ध्याउन्ना त साँचेका नै थिए होलान् ।
श्रमिक किसान परिवारमा दुईछाक खाने जोरजामकै लागि जन्मिएर हिँड्ने भएपछि आ आफ्नो भूमिका त निभाउनै थियो । यस्तै सिलसिलामा थुप्रै बा जस्तै हाम्रा बाले पनि जीवन चलाउन शुरु गर्नु भएकै हो । सोझो, ईमान्दार, लगनशील अनि नयाँ नौलो कुराप्रति चासो लिने भएकैले होला हाम्रो बाले आफ्नो चेतनालाई फराकिलो बनाउन सक्नुभयो । त्यतिबेलाको पृष्ठभूमिमा पनि । निम्न वर्गीय र बाँच्नको लागि श्रममा संघर्षशिल परिवारमा हुर्किएर पनि असमानता, अन्याय आफ्नो बर्ग राजनीतिबारे किशोर वयमै चेतनशील हुँदै विचारहरुको संगठनमा संगठित हुनु नै मेरा बाका प्रगतिका बाटाहरु थिए ।
कतिपय चलन र रीतिथिति उस्तै थिए । हाम्रा बा लगायत थुप्रै अन्य बाहरु प्नि आफैंमा चेतनशील भईसक्दा पनि । जरैदेखि ती कानुन जस्तै बनेका जडहरुलाई भत्काउन सफल भईसक्नुभएको थिएन् । विचार र व्यवहारमा परिवर्तन आउनु या ल्याउनु भनेको साँच्चै ठूलै क्रान्ती नै रहेछ र यो एकै चोटी सम्भव पनि नहुने रहेछ ।
यस्तैमा हामी छोराछोरीहरु जन्मिसकेपछि हामीलाई आफ्ना आदर्श सिद्धान्तबारे बुझाउने, सही गलत के हो भनेर बताईदिने, छोराछोरीलाई साथीलाई जस्तै व्यवहार गर्ने बाको बानीले अहिले पो झन नतमस्तक बनाउँछ । अहिले हामी पुराना र निरन्तर चलिआएका रीतिथितिभित्रका गलत र अमानवीय पक्षलाई केलाउन सक्ने भएका छौं । यो पहिले बाले नै हामीलाई सम्झाउनु हुन्थ्यो । बा को कुरा गरिरहँदा आमालाई छुटाउन मन लाग्दैन । किनकि आमाहरु वाह्य चेतनाप्रति मौन हुनुहुन्थ्यो । सामाजिक कानुनको संरचना नै पुरुषप्रधान थियो र अझै पनि कतिपय अवस्थामा विद्यमान नै छन् । तै पनि बाले मानव अधिकार अनि महिला अधिकारबारे परिवारभित्रै कुरा गर्नुहुन्थ्यो । यो कुरा तीजमा हामीलाई ब्रत बस्नु पर्दैन, पञ्चमी पूजाआदिबाट पापको मोचन हुने होईन भन्ने जस्ता कुरा सम्झाउनुहन्थ्यो । बरु आफू पनि संग संगै आमा दिदी बैनी हो भन्ने जस्ता गीत गाएर हौसला प्रदान गर्नुहुन्थ्यो । बाको यो परिवर्तनकारी सोचले हाम्रो सोचविचारमा केही न केही सोच नौलोपन थपिदिएको छ । असल कार्यमा निरन्तर लागिरहे महिलाले मात्रै पापको भारी किन बोक्नु पर्छ र? मानवीय कार्य नै धर्म हुन नि भन्ने खालका विचार लिएर अगाडि बढ्न मद्धत गरिरहेको छ ।
झण्डै एक दशक हुन लाग्यो बाआमाका पाँच सन्तान मध्ये दुई सन्तान डेढ वर्षको अन्तरालमा अवसान भए । करिव विछिप्त अवस्थामा पुगेर पनि आफूलाई सम्हाल्दै मृत्युको असमयमै पनि प्रवेश हुने गर्छ मान्छेको जीवनमा भन्ने बोध गर्दै आफूलाई उठाएर बाँकी सन्तान र सन्तानका पनि सन्तान र प्रियजनलाई सम्हाल्दै सकारात्मक र असल जीवन ज्यूने प्रेरणा दिदै अगाडि बढ्नु हाम्रा बा आमाको महानता जस्तो लाग्छ । मैले बाका नितान्त आफ्नो बारेमा लेखिरहनुपर्दैन । यो उहाँ आफैंले हस्ताक्षर गर्दै आउनु भएको छ । यो त मेरो बा प्रतिको महसुस मात्रै हो ।
बासंग डराउनु पर्छ, बालाई उच्च सम्मान गर्नुपर्छ भन्ने खालको अनिवार्यता नभएकैले हामी बासंग बसेर राजनीतिक गफ गर्न सक्छौं । समसामयिक विषयमा छलफल गर्न सक्छौं । कुनै चित्त नबुझ्दो कुरा लागे झर्केर रिसाउन पनि सक्छौं । भलै त्यो महसुस गर्दा नमिठो नै किन नहोस् ।
एक आम मान्छे, त्यसमाथि पनि जीवन गुजारा गर्नको लागि संघर्ष गर्नुपरेको मान्छेभित्र जे जस्तो उतार चढाव र स्वभाव हुन्छन ती हाम्रा बामा पनि छन् । भावुक, दयालु, प्रष्ट र ठूलो आवाज यी हाम्रा बाका विशेषता हुन् । साना बालबालिकालाई माया गर्ने छुट्टै विशेषता बाबाट हामीले सिक्नु नै पर्ने हुन्छ ।
तर ईच्छा,चाहना समाज र देशकै लागि केही गरौं भन्ने त भएको तर पारिवारिक अवस्था, आर्थिक जोहोको पिरलोले सधैं गाँजिरहेकै अवस्थामा पनि आफूमा अन्तरनिहित सीप र क्षमतालाई उजागर गर्न भने हाम्रा बाले छोड्नु भएको छैन् । आफ्ना कलममार्फत जीवन जगतका बोधहरु, सिद्धान्त अनि व्यवहारका कुराहरु, साहित्यहरु सबैमा केही न केही योगदान गर्नु भएको छ ।
हाम्रा बा हाल रिडायर्ड जीवन जस्तो व्यतित गरिरहनुभएको छ । जेष्ठ जीवनलाई पनि भरिसक्य जागरुक र लेखन तथा सामाजिक कार्यमार्फत केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी चलिरहेकैै हुन्छ वहाँमा । भलै श्रोत, साधन, समय अनि स्वास्थ्यले साथ दिदैनन् भनेको बेलामा । तर पनि जीवनप्रति सकारात्मक भाव छ, उर्जा छ । आईपरेका समस्याहरु हामीलाई मात्र होइनन्, संसारमै यस्तै छ भन्दै हामी छोराछोरीलाई पनि हौसला दिईरहनु हुन्छ ।
अरु धेरैका छोराछोरीका जस्तै मेरो पनि जीवन बुझाईप्रतिको प्रेरणाको श्रोत बा नै हुनुहुन्छ । बा आमाको सम्मान, हेरचाहको कतव्र्य एकदिनको औंशीले पूरा त हुने होइन, तर बाप्रतिको सम्मान भावको दिवस नै मानिन्छ भने नि केही फरक परेन । कम्तिमा यो दिनले परिवारको मुखिया बालाई मानिने हाम्रो समाजमा बाका संघर्ष कस्ता थिए, जीवनप्रतिको बुझाई के थियो, पारिवारिक जिम्मेवारी के के थिए, सामाजिक उत्तरदायित्व कस्ता रहे भन्ने विश्लेषण गर्न पनि सहयोग हुने रहेछ । हामी जो जेष्ठताउन्मुख छौं, आफूले आफैंलाई नियाल्न पनि मद्धत नै पुग्छ यस्ता तिथिमितिले ।
बासँग कुरा गरौं, बालाई प्रश्न गरौं । बालाई सहयोग गरौं, बासँग पनि सहयोग मागौं । यति गर्दागर्दै बालाई सम्मान पनि गरौं । यसो गर्दा बाले छोराछोरीप्रति र छोराछोरीले बाप्रति गर्ने एकतर्फी आशाहरु कम हुनेछन् र जीवन चक्र घुमाउन सहज हुनेछ ।
कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको सबैलाई एकमुष्ठ शुभकामना ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)