बुवाले ‘यस्तो बेला नहिँड, फर्क’ भनेको सम्झेँ, आँखा भरिएर आयो

उनन्तीस घण्टे यात्रा अनुभूति

गौरी देवकोटा

केही अगाडिसम्म रमाइलोलाई माध्यम बनाएर समय कटाइरहेका साथीहरू अधिकांश निद्रामा थिए । मेरो शरीर शिताङ्ग हुँदै गैरहेथ्यो । पसिनाले पुरै भिजेथेँ । मलाइ के हुँदैछ अड्कल पाउन सकिरहेको थिइन । उकुसमुकुस भैरहेथ्यो । भित्र भित्र डराएँ । अक्सिमिटर सम्झेँ- कसैसित थियो कि …? ज्यान शिथिल भएकोले आँफै उठेर सोधखोज गर्न मन लागिरहेको थिएन । वरपर हेरेँ सबै निदाइरहेथे । भन्न सकिन । मोवाइल हेरे, घडीमा १२:५ देखियो । मोवाइलमै हार्टविट हेरेँ ७९ थियो । ठिक होला कि भन्ने पनि लागेथ्यो तर हात खुट्टा काँप्न थाल्यो ।

मलाई केही त भइरहेको थियो । साथीहरूलाई भनौँ कि नभनौँ के गरौँ कसो गरौँ भयो । छटपट छटपट हुँदा हुँदै करिब आधा घण्टा बित्यो । मुख एकदम सुकिरहेथ्यो । बोतल हेरेँ । नजिकैको बोतल खोलेर पानी खाने हिम्मत आएन । बेहोस् पो हुन्छु कि भन्नेतिर मन गयो । हात खुट्टाले आफ्नो भूमिका छोड्दै थियो । झनै डराएँ । यो मध्ये रातमा सिटमै बेहोस भएँ भने कसैले पत्तो नै पाउँदैनन् भन्ने पनि मनमा आयो । सिटबाट ज्यान लत्रिँदै थियो । अब साथीलाई भन्नु पर्छ भन्ने सोचले दायाँ सिटकी साथी सुधालाई हातले बोलाउन खोजेँ । हात सर्न अल्छी गर्यो तर मन भने छोराछोरी भएसम्म पुग्यो । के के सोच्यो सोच्यो । हिँडेदेखि नै चितवनबाट बुवाले पटकपटक फोन गरिरहनु भएथ्यो । यस्तो बेला नहिँड, फर्क भनेको सम्झेँ । आँखा भरिएर आयो ।

साथी निश्चल र निरेन्द्र उज्यालैमा स्थानीय साथीको बाइकमा कतै गएथे । उनीहरू गाडि खोज्दै आइपुगेछन् । अलिअलि अगाडि बढिरहेको गाडि रोकियो । उनीहरू उक्लिए । गाडिभित्रको शून्यता खजमजियो । म जबरजस्त बोलेँ- ‘मलाई गाह्रो भयो’ । योगा टिचर सुधा जीले ‘हँ, के भयो ?’ भन्दै हामछुम गर्नु भयो । गैंडाकोटको गर्मीमा मेरो चिसोपनले उहाँलाई पनि अत्याएछ । हात रगड्दै ‘लौन ! गौरीजी त चिसो पो हुनु भा छ’ भने पछि नजिकका साथीहरू उठे । कसैले नाडी छामे । कसैले पानी छम्किए । मैले जति हेर्न खोजे पनि सकिरहेको थिइन तर सबै सुनिरहेथेँ । मेरो हात रगट्ने र हम्किने गरिरहे साथीहरूले । पछाडिबाट कसैले फ्रुटी पठाए सुधाजीले मुखमै मिलाइदिनु भयो । अघिदेखि मुख भिजाउन मन थियो । फ्रुटी चुसेँ । ओइलाएको विरूवाले पानी पाए झैँ भयो । ‘जलशा, तिमीसँग जीवनजल छ हैन ?’, कसैले सोध्यो । जीवनजल पनि खान पाएँ । उर्जा थपियो । यो सद्भाव र मायाले आखाको बाँध नाघ्यो । मनमनै आभार व्यक्त गरेँ ।

आयाम तिम्रो पङ्खा देऊ त ! निरेन्द्रले आयामको हाते पङ्खा मागे । म मर्न लागिसकेँ गर्मीले, पंखामा चार्ज छैन आयाम बोले । She is literally dying देऊ न म चार्ज गर्छु । अलिक पछाडिका आयामले पंखा पठाए । यति बेलासम्म मैले यौटा फ्रुटी र एक बोटल जीवनजल खाइसकेथेँ र धेरै ठिक पनि भैसकेथेँ । अब पर्दैन म ठिक छु भन्दैथेँ । यस्तो गर्मी छ काँ हुन्छ ! भन्दै पावर बैंकमा चार्ज जोडेर पङ्खा लगाइ नै रहे साथीहरूले । सुधा जीले मलाई निदाउन दिनुहुन्न भनेर झक्झकाउने, आँखा हेर्न कर गर्ने गरिरहनु भयो ।

सोधेँ- ‘प्रेसर हेर्ने केही छ कि ?’

साथीहरूसँग घडी रहेछ । प्रेसर हेरे । मलाई धेरै सहज भैसकेथ्यो ।

सके जति बल निकालेर बोल्न खोजेँ, मसिनो स्वर निस्कियो- ‘थ्याङ्क्यु ! सबै जनालाई । मलाई ठिक भा को छ । बस्नुस् तपाईहरू ।’

हामी लुम्बिनीबाट बस चढेको १८ घण्टा हुँदैथियो । साँझमा हतार हतार जे भेटिन्छ त्यै खाने प्रयासमा सबैले केही न केही खाने काम भयो । हामी ३ जनाले एक प्लेट चाउमिन बाँडेर खाएथ्यौँ । केरा बिस्कुट यस्तैमा रात काटिएला नि त भन्ने सोचियो तर तगातारको कठीन यात्रा र कु-टाइमको खानपानले मेरो शरीर कमजोर भैसकेको रहेछ । पट्यारलाग्दो बसाईबाट आजित भएर केही अगाडि बसबाट ओर्लिँदा जमिन हल्ले जस्तो लागेथ्यो । यति धेरै होला भन्ने सोचिएन ।

हामी NATHM (Nepal Academy of Tourism and Hotel management) बाट टुर गाइड ट्रेडिङको भ्याली बाहिरको आठ दिने अध्ययन भ्रमणमा थियौँ । हाम्रो टोलीमा विद्यार्थी २४ जना, नाथम प्रतिनिधि २ जना, चालक र सह चालक गरि २८ जना थियौँ ।

श्रावणमा पानी परिरहेकोले भदौ लागेपछि जाने सल्लाह अनुसार नै टुर शुरू गरिएता पनि भदौको शुरूदेखि नै पानी पर्ने क्रम जारी थियो । नाथमले तय गरिसके पछि नरोक्ने कुरा गरेकोले भदौ १० मा हाम्रो ग्रुप ‘बि’ को टोलि चितवन, लुम्बिनी, पाल्पा, पोखरा हुँदै फर्कने योजनामा निस्किएको थियो तर चितवन पुगेपछि गैडाकोटमा पुल भत्किएकोले रुट परिवर्तन गरेर पोखरा, पाल्पा, लुम्बिनी हुँदै फर्किने भयौँ । पोखराबाट बुटवल पुग्दासम्म सयौँ पहिरो र जोखिमलाई जितिसकेका थियौँ । यो अन्तिम दिन थियो । अब खासै पहिरोमा परिन्न कि भन्ने लागेथ्यो तर दाउन्ने नजिकको पहिरोमा करिब चार घण्टा परियो । दाउन्नेमा चिया खाजा खाने कि भनेर सल्लाह पनि भएको हो तर चालकले हैन गैंडाकोटको जाम छिचोल्न टाइम लाग्छ कटेपछि खानु होला भनेकोले अगाडि बढिएको थियो ।

पुल भाँचिएको ७/८ दिन भैसकेकोले अलि सहज भयो कि भन्ने पनि सोचियो तर चार किलोमिटर त जाम नै रहेछ ! आठ बज्नै लाग्दा घरबाट नव जीको फोन आएथ्यो । हामी त गैडाकोटको जाममा नै छौँ । गाडी फिटिक्कै चलेको छैन भने । उहाँले ‘युद्धले वीर चिनाउँछ, योद्धाले दु:ख भयो भन्न हुन्न’, फोन गर्दै गर भन्नु भयो । ‘अँ, साथीहरू छन्, पीर छैन’, भने । लामो कुरा भएन ।

गाडी पौने चारमा नारायणघाट आइपुग्यो । अब त पुगिन्छ भनेर मन ढुक्क भयो । रातभरको अत्यासले मलाई घर परिवार सम्झिदा पनि आँखा रसाउने भएथ्यो । जुगेडी पुगेपछि नव जीलाई म्यासेज गरेँ- हामी जुगेडी कट्यौ । ‘बल्ल’ लेख्नु भयो । ‘हो, म ज्युँदै यहाँसम्म आइपुगेँ’ मनमनै भनेँ केही लेखिन ।

भोक र थकाइले सबै आलसतालस थियौँ । ६:३० हुँदै गर्दा ब्लु हेवन मलेखुमा गाडि रोकियो । हिजो बिहानको लागि खाना अर्डर थियो । अर्डर सर्दै सर्दै भोलिपल्ट पुगेको थियो । खाना खाए पछि ३५ घण्टाको समय हामीले कटाइसकेका थियौँ । सबै जनाले भात नै खाने सल्लाह बमोजिम सबेरै खाना खाइयो । खाना फ्रेस थियो जसले हामीलाई पनि फ्रेस बनायो र काठमाडौसम्म ल्याइपुर्यायो ।

लुम्बिनीमै साथी सुधाले प्लेनमा जाउँ तपाईं र म भन्नु भएथ्यो । ‘गाँस छोड्नू साथ नछोड्नू’ भन्छन्, यति लामो यात्रा गरेको साथीहरू छोडेर म त जान्न भनेँ । साच्चै मलाई यात्राका सहयात्रीहरूले ठूलो गुन लगाउनु भयो । म बसमा बीचतिर थिएँ । अघिल्ला सिटका साथीहरूले र निद्रा नखुलेका साथीहरूले पत्तै पाउनु भएन । ज-जसले मेरो निम्ति सद्भावपूर्ण रेखदेख गर्नु भयो, सबैलाई सम्झिरहने छु र उहाँहरूको ऋणी रहिरहनेछु ।

साथीहरूमा पुन: हार्दिक धन्यवाद !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button