थाहा छैन ऊ कहाँ छ तर पेटमा उसको बच्चा छ

समानुभुति चाहिँदा सहानुभुति

सुशीला चौरेल

काठमाडौं उसको लागि सपनाको शहर थियो ।

काठमाडौंको नाम, यहाँको जीवनशैली र सुविधाको बखान साथीमार्फत सुनेदेखि कलेज त दुःखसुखले काम खोजेर भए पनि काठमाडौंमै पढ्छु भन्ने सपना नै थियो गंगाको।

सानैमा आमालाई बाबुले गरेको हिंसा अनि सौतेनी आमाको टोकसो । साथै अभाव नै अभावमा उसकी आमाले ३ जना छोराछोरी हुर्काउँदाको दुःख पीडा आँखामा झल्झल्ती आउँथे । आमाको दुःखमा साथ दिने, साना भाइबहिनीलाई सहयोग गर्ने, पढेर असल मान्छे बन्ने र रमाउने आकर्षणको केन्द्र काठमाडौं नै होला जस्तो भान हुन्थ्यो गंगालाई। रहरैरहर अनि केही बाध्यता र केही आकांक्षाले उसलाई काठमाडौं ल्याइपुर्यायो ।

सानो छिडीको अँध्यारो कोठाको बसाई, सरकारी कलेजको पढाई अनि एउटा गार्मेन्ट पसलको जागिर । यही नै उसका आकांक्षाहरू पूरा गर्ने खुड्किलाका सुरुआत हुन् भन्ने सोचेर खुसी नै थिई गंगा ।

बिहानको कलेज र दिनभरिको कामपछि जब साँझ हुन्थ्यो, सम्पूर्ण थकान र दुःख बिर्साएर दिनहुँ जसो आमा र भाइबहिनीसँग फोन गर्दै मीठा सपना बाँडिदिन्थि गंगा ।

दिन बित्दै थिए । खुशी खोज्दै रमाउँदै थिई गंगा । निराश बनेकी थिइन ।

उसको बसोबास छेउको छिमेकी बनेको रञ्जन चिनापर्चीपछि साथी सहयोगी बनेको पनि ४ महिना भइसकेछ । रञ्जन एकदम प्रिय लाग्न थालेको छ गंगालाई । उसलाई नदेखी, नभेटी अनि नबोली बस्नै नसक्ने भई ऊ । उसको अनगिन्ती माया व्यक्त गर्न कहाँ सक्थी र उसले ।

हुन त बाबुले आमाप्रति गरेका हिंसाका एक एक घटनाले पुरुष भन्ने जातप्रति नै वितृष्णा थियो गंगालाई । तर, गंगा आजकल रञ्जनको सहयोगीपन र मायाले यति परिवर्तन भई कि पुरुषहरुप्रति सानैदेखि मनमा बसेको घृणा सबै फालियो उसको मनबाट बिस्तारै बिस्तारै ।

‘यतै कतै एउटा कम्पनीमा काम गर्छु । शहरको बसाई खर्च धान्न सारो छ । त्यसैले अब हामी सँगै बसौं । राम्रो कमाई गरेर बचत गरेपछि गाउँ गएर विवाह गरौं’, रञ्जनको प्रस्तावलाई सहजै स्वीकार गरी गंगाले ।

सधैँ साथ दिने, कहिले नछोड्ने कसम खाँदै जिन्दगी मनोरम बनाउने सपना देखाउँथ्यो रञ्जन अनि त्यसमै मक्ख पर्दै दिन अनि वर्ष नै बिते । गंगाले न रञ्जनसँगको सम्बन्ध आफ्नी आमालाई बताउन सकी न त रञ्जनको घर परिवारको खोजी गरी । ऊ त केवल नयाँ बुहारी बनेपछि सम्पूर्ण चिनाजानीको पर्खाइमा थिई अनि बेहुली बनी रञ्जनको घर भित्रिने कुरामा ढुक्क पनि थिई ।

झण्डै वर्ष दिन भएछ रन्जनको साथमा बसेको पनि । सोची, अब विवाह गर्नु पर्छ । पेटमा बच्चा बसेकोले उसलाई छिट्टै विवाह गर्नु पर्छ जस्तो पनि लाग्यो । सल्लाह मिलेजस्तो भयो । अर्को महिना गाउँ जाने अनि विवाह हुने कुरामा रञ्जन पनि मन्जुर देखियो । आफ्नो मोबाइल र गंगाका मोबाइलका सम्पूर्ण तस्बिरहरू हटायो रञ्जनले, दुलाहा दुलही बनेर प्रशस्त तस्बिर खिच्नलाई मोबाइलमा यथेस्ट स्पेस बनाउँ भन्ने बहानामा ।

‘छिट्टै विवाहको कुरा गर । तिम्रो नासो पेटमा हुर्कदै छ’, गंगा थोरै आतिदै पनि थिई ।

भोलिपल्ट बिहान कम्पनी गएको रञ्जन फर्केन । कयौ पटक फोन गरी उसले । रन्जनको नासोले पेटमा टिङ टिङ पारेजस्तो भान हुन्थ्यो । ऊ निहुरिदै त्यो धुन पनि सुन्न खोज्दै थिई । मातृत्व भरिएको हातको स्पर्शले अनुभव अनि के के कल्पना गरी गंगाले । अनि अर्को हातले रन्जनको नम्बर डायल गरी र मात्र केटीको एक आवाज सुनिरही, ‘तपाईंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ ।’

पटक पटक यो आवाज दोहोरियो । उसको मूड पुरै अफ भयो ।

त्यो मोबाइलमा आउने केटीको आवाजले उसलाई पटक पटक एउटै कुराले जिस्क्याए जस्तो लाग्यो । ऊ रिसाई त्यो आवाजसँग । बस् धेरै पटक त्यो आवाज सुनी जुन ऊ सुन्न चाहन्न थिई । ऊ त चाहन्थी सुन्न रञ्जनको आवाज, रञ्जनले हिजो खाएका कसम अनि मीठा सपना र योजना । विडम्बना न त रञ्जन फर्कियो न त फोनमा उसले रञ्जनको बोली सुनी ।

गंगा निराश हुँदै रन्थनिदै नजिकको पसलमा पुगी अनि गफगाफ सुनी, रन्जनको छोराको व्रतबन्ध छ रे ।

रञ्जन गाउँ गएछ । गंगालाई आकाश खसेजस्तो भयो अनि धर्ती भासिएजस्तो । ऊ डुबी पुरै घिनलाग्दो मायाको दलदलमा । फसी ऊ । रञ्जनले त अविवाहित हुँ भन्थ्यो तर कसरी छोराको व्रतबन्धको कुरो आयो भनी चिच्याउन खोजी । फेरि आफैलाई सम्हाली गंगाले ।

उसका वेदना र व्यथाहरु पोख्ने ठाउँ पनि त थिएन । ऊ निस्सासिएर भित्र पसी । कति मायालु छौ कति राम्री छौ भन्थ्यो रञ्जन उसलाई अनि फेरि विश्वास नै नगरेको धोकाको मन लिएर ऐना अगाडि उभिई अनि आफूलाई पुरै रंगहिन तस्बिर जस्तो देखी गंगाले ।

जीवनमा सुख बुझ्दै नबुझी दुःखमा लडेँ भन्दै लामो सास फेरी अनि कता कता सास फेर्न बिर्सने चेष्टा पनि गर्न खोजी गंगाले । पेटमा भएको शिशुको धड्कन छामी अनि ती कल्पना र चेष्टा बिर्सन खोजी ।

गंगाले संघर्ष गरिरही रन्जनको नासोलाई पेटमा हुर्काउँदै अनगिन्ती खोज गरी । उसले भेटाउने सम्भावना र प्रमाण केही थिएन । बिना बाउको सन्तान भन्ने आरोप र ट्याग लाग्दै थियो उसको शिशुलाई ।

सहानुभुति दिने त कहिलेकाँही टुप्लुक्क आउँथे गंगालाई भेट्न । गंगालाई समानूभुति चाहिएको थियो ।

उसले सोची, ‘साँच्चै हो रहेछ, तिम्रो साथ कहिले छोड्दिन भनेको थियो । जता हन्डर ठक्कर खाँदा पनि उसकै नाम जोडिन्छ अनि याद आउँछ । हो, साँच्चै उसले छोडेकै छैन, जिन्दगी भर घाउ रहिरह्यो उसकै नामको ।’

फेरि अर्को पाटोबाट पनि सोची गंगाले, ‘आमाको नामबाट पनि नागरिकता बनिहाल्छ ।’ फेरि कल्पना गरी, ‘त्यही नागरिकता बनाउने क्रममा कति प्रमाण जुटाउन पर्ला अनि कति प्रश्न ओइरो लाग्ला । नचाहेको प्रश्नको जवाफ कति दिनु पर्ने होला ?’

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button