कविताः दृश्यहरू
घनेन्द्र ओझा
विषालु फणा उठाएर
तम्तयार छ डस्न समय
हतारमा दौडिएको जीवन
ठोक्किँदै ठाउँठाउँमा
घिस्रिइरहेको छ- सरकसरक
ठेगान छैन
ढल्छ पुगेर कुन ठाउँमा !
बेठेगान बग्दो छ समय
विनागन्तव्य चल्दो छ समय
समयको गतिसँग
छैन पर्वाह जीवनको
हिँड्नु छ तथापि
हिँडिरहनु छ निरन्तर ।
देखिन्छन् दृश्य अनेक बाटामा
जस्तो कि-
आधुनिक छोरा-बुहारीबाट
घर निकाला गरिएकी
वृद्ध एकल आमा
आफन्तकै गिद्देदृष्टिले बिटुलिएकी
यौवना
दुधे बालक च्यापेर काखमा
भीख मागिरहेकी निरीह आमा ।
उसो त,
हाम्रै सुरक्षार्थ बोकेर हतियार
हाम्रै छातीमा सङ्गीन दाग्ने रक्षक
हाम्रै करले पोषित
हाम्रै घूसले फुलेल
भ्रष्ट कर्मचारी
वा हामीलाई मगन्ते बनाएर
हाम्रै रगत-पसिनाले मोटाएका शासक
यी अनेक देखिन्छन् यात्रामा ।
उता,
उज्यालो भविष्य खोज्न
वर्षौंअघि परदेश भासिएको लोग्ने
सुखको आसमा घरदेश छाडेको छोरो
वा सम्पन्नता लिन विदेशिएकी छोरी
कुरेर बसेका वृद्ध बा-आमा पनि देखिन्छन् यात्रामा ।
यस्ता अनेकौँ दृश्य हेर्दै
हिँडिरहनु छ निरन्तर
बनाउँदै खण्डहर आफैँलाई
तथापि, छैन कुनै उपाय समाधानको
– न छ सुरक्षा आफ्नै
– न छ भरोसा आफ्नै
– न छ विश्वास आफ्नै
जब बसेको छ क्रूर शासक सत्तामा
बचाउन आफ्नो सत्ता र शक्ति
दिइरहन्छ बलि
– गरिबको
– विपन्नको
– निर्धाको
– अबलाको
– असहायको
र, मस्ती लुटिरहन्छ
– हाम्रै आँसुमा पौडी खेलेर
– हाम्रै पसिनाले नुहाएर
– हाम्रै गाँस खोसेर
– हाम्रै आशा, विश्वास र भरोसामा
तुषारापात गरेर ।