सम्बन्धहिन सम्बन्धहरु

प्रतिभा तिमल्सिना

हिजो कोमल स्पर्शले आनन्दित हुनेहरु
आज श्वास फेराइको समेत आलोचना गर्न थालेका छन्
मिठो बोली सुन्न लालायित व्यक्तिहरु
घृणाको पात्र बनेका छन्
सम्बन्धभित्रका खिचातानीले सिर्जेका सम्बन्धहिन सम्बन्धहरु ।

ऐंचो पैंचो चल्ने घरहरुमा
बोलिचालीको कुनै स्थान रहेन
पर्दाका जन्ती मर्दाका मलामी भन्थे
सम्बन्धको नामोनिसान रहेन
प्रतिस्पर्धा हुन थालेका छन् सबैतिर
उपलब्धी केवल सम्बन्धहिन सम्बन्धहरु ।

धनीहरु भन्छन् रे, गल्ती हाम्रो कहाँ छ
भन्छन् गरीबहरु, दुःखले एक मानो पुगेको छ
सबैजना आवश्यकता आफै पुरा गर्छन्
मानिस र मानिसबीचको सम्बन्ध नकार्छन्
सत्य, त्रेता र द्वापरपछि कली आउँछ भन्थे
भनेको कली रहेछ सम्बन्धहिन सम्बन्धहरु ।

दुःखमा अरुको हसिमजाक गर्छन् सबजना
सान्त्वना त कहाँ हो कहाँ सम्बन्ध आफन्तको छैन
बोल्न त बोली मानिसकै बोल्छन्
मानवताको साइनो र धर्म मरिसकेछ यहाँ
घृणा गर्छन् सबै यहाँँ सम्बन्धहिन सम्बन्धहरु ।

जीवन बाँच्छौ भनेर बाँचे आखिर दोषी प्रवृति
निर्दोषी मन एकाध रहे बिग्रिए हरे सब मति
निर्माण हुने दिन पर्खेर बाँचिरहेछ एउटा विचार
प्राण कहिले भरेर बाँच्लान सम्बन्धहिन सम्बन्धहरु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button