
महंगी हिमाल चढिरहेको छ
कविताः गरीवविरोधी राजनीति
योगेन्द्र घिसिङ
गरीवको
चुलोले स्वाद फेर्न नसकेर
सेतीजस्तै भासिएको छ ।
बृद्ध-बालकका गाँस
आत्महत्या गरी हराएको छ ।
महंगी हिमाल चढिरहेको छ
आम्दानी सागरमा झरिरहेको छ ।
यति मात्र होइन
उपचारको भिख माग्दै हिँड्दा
सडकमा हृदयघातले मर्छन् ।
जलाउने दाउरा किन्न नसक्दा
परिवार आँशु झारी टोलाउँछन् ।
यो पनि छ
ड्रेस, किताब र झोला नपाउँदा
प्रथम विद्यार्थी कुनामा रुन्छन्
लाचार अभिभावाक बेचैनीले
विष पिएर अस्पताल पुग्छन् ।
त्यस्तै गरी
ऋणको ज्वालाबाट डढेर
त्रिशूली नदीमा हामफाल्छन् ।
कसैले उद्धार गरेपछि विचरा
धिकार्दै फेरि बाँच्न थाल्छन् ।
साथै,
मानिस मन्दिर, पाटी र सडकमा
रातभर काँपेको भेटिन्छन् ।
घरबेटीले भाडा लिदै गर्दा
महा डन बनेको देखिन्छन् ।
यहाँ
त्यही गरिबलाई राजा मन्त्री फेर्न
मर्न र मार्न आगोमा हिँडायो ।
ओ सरकार र ठूलाठूला नेताहरु
तिनीहरु बाँच्नलाई के दिलायौ ?
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



