
के म मानिस होइन र ?
सुनिलबाबु स्याङ्तान
मैले सिलाएको वस्त्रले तिम्रा लाज ढाक्ने
अनि मलाई नै तिमीले छोएको नचल्ने ?
मैले पोतेको जुत्ताले तिम्रा शोभा बढ्ने
अनि मलाई नै तिमीले हिँडेको बाटो नचल्ने ?
मैले बनाएको सुराहीले तिम्रा प्यास बुझ्ने
अनि मलाई नै तिमीले छोएको पानी नचल्ने ?
मैले खोपेको मुर्तिमा तिम्रो आस्था रहने
अनि मलाई नै मन्दिरमा प्रवेश नहुने ?
के म मानिस होइन र ?
उदेक लाग्छ यो सुन्दा
तिमीले गरेका अपहेलना र सजाय गुन्दा,
बरू मलाई त मानिस होइन भन्दे,
होइन भने पटक पटक मार्नु भन्दा एकै पटक मारिदे ।
मेरो लगनशीलता, पसिना र श्रम चल्ने
अनि अपहेलित हुँदै मेरो घरचाहिँ किन जल्ने ?
योवनमा मेरो चेली तिम्रो चेलालाई चल्ने
अनि तिम्रो चेली मेरा चेलालाई किन नचल्ने ?
खोला तारी तारी मारिनै पो हाल्नु पर्ने ?
के म मानिस होइन र ?
उदेक लाग्छ यो सुन्दा
तिमीले गरेका अपहेलना र सजाय गुन्दा
बरू मलाई त मानिस होइन भन्दे
होइन भने पटक पटक मार्नुभन्दा एकै पटक मारिदे ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)