वासोवायको खोजी

कविता

शोभाकान्त सुवेदी
पोखरा ।

सबै वस्त्रहरू
जेलिएका तन्तुहरू न हुन्
तर, सबै जेलिएका तन्तुहरू
स्वयम्मा वस्त्रहरू होइनन् ।

ताना र बाना मिलेपछि
तन्तु जब समेटिन्छ मयुखमा
तन्त्रको प्रवय र अपवयमा
तसरको तन्तु, तन्तु रहँदैन
अनि, बन्दछ जब एक सुवस्त्र
र, ढाकिन्छ एक आङ निर्वस्त्रको ।

वासोवायहरू बुन्छन् वस्त्रहरू
तर, सबै वासोवायहरू
मिलाउन जान्दैनन कि
मिलाउन मान्दैनन, खै कुन्नी ?
ताना र बाना पहिले र
पछि बुनिदैनन् वस्त्रहरू
यानि, बुन्दैनन् वस्त्रहरू,
केवल जेल्छन तन्तुहरूलाई
र जेलिएका तन्तुहरूले ढाक्दैन शरीर
रहन्छ विचरा नाङ्गै
एक आङ निर्वस्त्रको ।

शील्प नभएका मान्कुर्त वासोवायहरू,
आए आए कहाँ कहाँबाट सलह झैँ
पसे हाम्रा शील्पी मनहरूमा
अनि, जेलेर छोडेका छन् सबै तन्तुहरू
नयाँ वस्त्रको भ्रम दिएर हामीलाई
भ्रमको नयाँ राज्य खडा गरेर
खोसेर हामीलाई हामीबाटै
आङ ढाक्छौँ भन्दै आँफै नाङ्गाहरू
निर्वस्त्र पारिरहेका छन्
बादशाहलाई झैँ हामीलाई ।

उज्यालो र अँध्यारोको
प्रवय र अपवयको नाममा
अनि, थरी थरी लिवासको भ्रममा
अँध्यारै अँध्यारोको तानाबानामा
उही शुरुवात, उही अन्त्यको
एउटा गजबको प्रहेलिकामा
बुनिएको छ यो हाम्रो समय
त्यसैले त
निर्वस्त्र गुज्र्यो हिँजोको समय
निर्वस्त्र गुज्रदैछ आजको समय
वस्त्रहीन उही फिरन्ते
आदिम युगलाई पछ्याउँदै
नगुज्रोस निर्वस्त्र भोलिको पनि समय
र नरहुन कोही फेरि पनि निर्वस्त्र
त्यसैले त मिलाउनु छ आज
मयुखको ताना अनि बाना
फुकाउनु छ, जेलिएका तसरका तन्तुहरू
बुन्नु छ फेरि आफ्नै लिवासको
वस्त्रहरू ।

(तन्तुहरूः धागो, मयुखमाः तान, प्रवयः तान्नु, अपवयमाः घचेट्नु, तसरकोः आग्लो, वासोवायहरूः नेतृत्व वा नेता, मान्कुर्तः रूसी साहित्यकार चेङ्गिज आईत्मातोभको कथाको शीर्षक पात्र)

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button