
पहिले नै चाउरिइसकेको आमाको निधारमा अरु दुई जोर मुजा थपिन्छन्
लघुकथाः टर्रो फल
विभा निरौला
चार दाजुभाइको रोइलो देखेर आमा आजित भइसकिन् ।
जेठो छोरो भन्छ, ‘आमा ! तिमीले सधैँ मलाई बेवास्ता ग¥यौ, तिमीले खाली अरु छोराहरुलाई माया ग¥यौ, मलाई मात्र काममा पेलायौ । हाम्रा बाँझा खेतमा प्रजातन्त्रको पानी ल्याउन मैले कम्ता मिहिनेत गरेको थिएँ ! रात–रातभर नसुती, भोक–तिर्खा केही नभनी मैले काम गरेँ तर तिमीले त मलाई कहिल्यै राम्रो सोचिनौ । खाली माइला र साईँलालाई मात्र नजिक ठान्ने तिमी ?’
आमाले जेठालाई जवाफ दिन नपाउँदै माइलो छोरो गर्जन्छ, ‘जेठो साथ, कान्छो काख, म माहिलो चाहिँ सधै पाखा ! आमा, तिमी आमा भएर पनि यति निष्ठुरी ? घरभित्र तिमीले चिसा दाउरा बाल्न नसक्दा, मैले नै होइन छिमेकीकामा गएर हात जोरी–जोरी मट्टितेल र पेट्रोल ल्याइदिएको ! झलमल्ल बत्ती बालेर तिम्रो घर उज्यालो पारिदिएको ! वाह आमा वाह ! अब म नै छुच्चो भएँ हैन ? यो सब जेठो र साईँलाका कारणले हो । अब छोड्दिन यिनीहरुलाई ।’
यतिकैमा रुदैँ र गनगनाउँदै आएको साईँलोतर्फ आमा हेर्छिन्, ‘सधैँ यी जेठा र माइलाको मात्र कुरा सुन्छ्यौ आमा ? म सानो र पातलो छु भनेर मलाई हेला गरेको ? आमा ! अहिले पो म दुब्लो पातलो भए त, ऊ बेला त म भरिलो थिएँ नि ! त्यत्रो पूर्वदेखि पश्चिमसम्म बाँझो जमिन खनी मैले, तिमी हिड्ने बाटो बनाईदिएको थिएँ, हाम्रा सबै खेतबारी खनजोत गरी अन्न, फलफूल आपैm उत्पादन गराएको थिएँ । त्यो सबै तिमीले बिर्सेउ र आमा ! बिन्ती आमा, मेरो हात फेरि थामी देऊ एक पल्ट, म फेरी पन्पिनेछु अनि फेरि गलेको तिम्रो मुहारमा कान्ति ल्याउनेछु ।’
हँसिलो मुद्रामा आएको कान्छो छोराको अनुहारतर्फ हेर्छिन् आमा । कान्छो छोरो हातभरी फलफूल र मिठाईका झोला ल्याउँदै आमाका अगाडि राखिदिन्छ र भन्छ, ‘आमा मैले लोकतन्त्र, गणतन्त्र, संघीयता, समाजवाद र यस्तै यस्तै मिठा फलफूल र मिठाईहरु लिएर आएको छु । ऊ… पल्ला घरका छिमेकीको बारीमा फलेका हुन् आमा । सारै मिठो छ, ल खाएर हेर्नुस् त ! दाजुहरु पनि यता आउनुस् न ! सबै मिलेर खाऔं, यो स्वादिष्ट फलहरूको ग्रहणपछि हाम्रा शरीरका सम्पूर्ण तन्तुहरु स्फूर्त हुनेछन्, हाम्रा शरीरमा भएका सबै बिकारहरु नष्ट हुनेछन् । हामी पूर्ण रुपमा स्वस्थ्य हुनेछौं, हृष्टपुष्ट हुनेछौं, सुनौलो किरण आउनेछ, सबैतिर उज्यालो देखिनेछ । हामी सबैको मुहारमा लालिमा भरिनेछ । अनि हामी हाम्रा सन्तानलाई पुस्तौंसम्म पुग्ने गरी अरु फलहरु फलाउने छौं … ।’
आमाको मुहारमा थोरै खुशीको हाँसो झल्कियो । हत्तपत्त एउटा फल हातमा लिएर मुखमा हाल्छिन् आमा । अलि टर्रो र अमिलो फल परेछकी क्या हो ! पहिले नै चाउरिइसकेको आमाको निधारमा अरु दुई जोर मुजा थपिन्छन्, नाक र मुख दुवै एकै ठाउँमा जोडिन्छन्, हातबाट फल फ्यात्त भूईँमा खस्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)