चुँडाइएका चौबन्दीका तुना सम्हाल्दै थिएँ

कविताः न्यायबिनाको मेरो जीवन

सुनिलबाबु स्याङतान

सन्नाटा छायो मनमा
जागर हरायो तनमा
अन्धकार छायो नयनमा
कोलाहाल हरायो कर्णमा
स्वास हरायो नासिकामा ।

अघि भर्खरसम्म
हात र खुट्टा बाँधिदै थिए,
शरीर लडाईंदै थियो
चिर हरण हुँदै थियो
अस्मिता लुटिँदै थियो
चिच्याउँदै गरेका मुख थुनिँदै थिए ।

तर पनि
साहस बटुलिरहेकीे थिएँ
चुँडाइएका चौबन्दीका तुना सम्हाल्दै थिएँ
भर्खरै सिईएका घाङ्गर च्यातिएर डराउदै थिएँ
रगतताम्य खुट्टाहरू पखाल्दै थिएँ
चोटै चोट निहार्दै थिएँ
असैह्य पीडाले भक्कानिदै थिएँ ।

एक्कासी
मेरा घाँटी थिचेझै लाग्यो
स्वास फुलेझै लाग्यो
होस हराएझै लाग्यो
हवास हराएझै लाग्यो ।

न त बोल्नै सकें
न सोच्न
न रोक्न
न त कठै बरा मैले … भन्न सकें ।

केही समयपछि
कोही मेरो छेउमा आइ सुकसुकाए झै लाग्यो
ओल्टाइ पल्टाइ गरी मेरा वस्त्र उतारे झै लाग्यो
फेरि सेतो हो कि पहेलो लुगा ओढाइ दिए झै लाग्यो ।

डोलीमा चडाउन नसकेका मेरा दाजै
रूदै मलाई अर्थीमा चढाइ बिदा गर्न लागे
होम हाली मंन्त्र वाचनको सट्टा मुढामा राखी
रूदै बूढाबावैले दागवत्ती दिनथाले
लाम लस्कर जन्तीको सट्टा मलामी भइ
रूदै बिदा हुन थाले ।

अनि पो मलाइ थाहा भो म त मरी पो सकेछु ।

खोजी भइरहेको छ रे ती पापीहरूको
पेशी भएन रे मुद्दा र फैसलाहरूको
सोझी मेरी आमालाई के थाहा ?
लुकेको ठाउँ पो देखिन्छ
लुकाइएको ठाउँ कताबाट देखिन्छ ?
अझै न्याय पाउछु भन्ने आस लागेर होला
धुलिएका मेरा फोटा पुछ्दै
चौवाटोमा मैनवत्ती बाली हिँडेकी ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button