तिमीलाई भुलाउने बहानामा अनेक बहाना खोज्दै हुन्छु

कविता

अभिषेक रिसाल

झरी परेको रात
पानीको रिमझिम अनि चिसो बतास
बताससँगै लहराएका मेरा अनगिन्ति रहरहरु
रहरसँगै बितेका ति अनिदो पलहरु
बिहानीको सुनौलो किरण कुर्दै छ
डाँडा पारीबाट झुल्किने घामको प्रकाश कुर्दै छ
किनकि,
त्यो प्रकाशसँगै मेरो एकान्तपन बिलिन हुदै जान्छ
तिम्रो सुन्दरतामा मोहित भएका मेरा इन्द्रियहरु
निस्क्रिय हुँदै आफ्नो सरल परिस्थितिमा आउँदै गर्दा
मेरा ज्ञानचक्षु हरु घामको किरणसरी अन्यत्र फैलिदिन्छन्
अनि बल्ल मलाई केहि पाइला अगाडि सार्ने साहसले तान्छ
नत्र
नत्र त त्यो अनिदो रातले हरपल पोलिरहन्छ
ज्वालामुखी सरह त्यो नसालु हाँसोको जलन
भित्र मनमा गढिरहन्छ
अनेकौ रंगमा आउने ति बिषालु मुहारले
हरपल मेरो मस्तिस्कमा समाहित भएर बसेका
बेचैन तरंगलाई उथलपुथल गराई
मलाई फेरि उही मेरो शुन्यतातिर धकेलिदिन्छ
अनि,
अनि फेरि म हर रात झैँ
बिहानीको सुनौलो किरण कुर्दै हुन्छु
डाँडा पारीबाट झुल्किने घामको प्रकाश कुर्दै हुन्छु
भुलाईदिन खोज्छु त्यो कालो रात अनि तितो कथा
मेटाई दिन खोज्छु शुन्यता भित्रको व्यथा
चकमन्न रात पारी डाँडामा
धिपधिप गर्दै बलेको बत्ति सरी
तितो कथा भित्रको सानो मिठासले
चोटै चोटले भरिएको विशाल हृदयलाई
फेरी उही पुरानो शुन्यतातिर धकेलिदिन्छ
विलिन हुदै गएका यादका पोकाहरुबाट
छियाछिया भएका मुटुका टुक्राहरु छरिन थाल्छने्
अनि,
अनि फेरि म हर रात झैँ
बिहानीको सुनौलो किरण कुर्दै हुन्छु
तिमीलाई भुलाउने बहानामा अनेक बहाना खोज्दै हुन्छु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button