
बचराका बास भत्काइए, उजाडिए काख
कविताः नेपाल हरायो
किरन कार्जित
बाढी पैह्रोले जीवन बगायो यो साल पनि
माटो बग्यो भेलसँगै, बगायो यो देशै पनि
उठिबासै भो मान्छेका जिन्दगी बेहाल पारी
कसममात्र नयाँ, माछा मार्ने त्यै जालहारी ।
हरियै रुख काटिए अनगिन्ति लाखौंलाख
बचराका बास भत्काइए, उजाडिए काख
थुँगा रहरको फूल कोशीमा बगाईदिएँ
अर्को थुँगा हिमालको फेदमा चढाईदिएँ ।
नेता आ आफ्नै डम्फु बजाउन ब्यस्त जात
कोही कोईली भै बोल्छन, कोही कागको बात
जसले जे स्वाँग रचेनि यिन्लाई नचाउने आँट
एक उत्तरमा खडा छ अर्को चैं दक्षिणी ठाँट ।
शहिद भए वीर सन्तान बाँकी छ जो छोरो
बलिन्द्र आँसु झार्छौ आमा ठानी मायाको डोरो
कुर्सीको मोहमा स्वाभिमान राख्यो बन्धकीमा
चन्द्र कोशीमा डुबाए सूर्य नि त्यही गण्डकीमा ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




Beautiful. Contemporary short poem.